पृथ्वी घुम्न आएको ‘पाहुना’ ओउमुआमुआ #NepalVotes #NepalElection2017 पृथ्वी घुम्न आएको ‘पाहुना’ ओउमुआमुआ

पृथ्वी घुम्न आएको ‘पाहुना’ ओउमुआमुआ

तस्बिरः लाटाइम्स डटकम


त्यो आउँदै थियो, कसैले देखेनन्।

धेरै नजिक आइसकेपछि पनि त्यसलाई पहिलोपटक देख्ने कुनै मान्छे थिएन, टेलिस्कोप थियो।

अमेरिकाको हवाइस्थित ज्वालामुखी पहाडमा रहेको टेलिस्कोपले अक्टोबर १९ मा त्यसको तस्बिर खिचेको थियो, पृथ्वी छेउछाउ आउने उल्का र क्षुद्रग्रहझैं।

त्यही तस्बिर हेर्ने पहिलो मान्छे थिए, हवाइ विश्वविद्यालयका अनुसन्धानकर्ता रब वेर्क।

टेलिस्कोपका गतिविधि जाँच्दै गर्दा उनले देखे– हाम्रो सौर्यमण्डलमा कोही आगन्तुक छिरेको छ। रातको आकाशमा त्यो एकदम तीव्र गतिमा उडिरहेको थियो। रबले सोचे– सौर्यमण्डलमा बेला–बेला घुम्ने कुनै क्षुद्रगह होला!

त्यो सामान्य क्षुद्रग्रह मात्र थिएन।

‘पहिलोपटक देख्दा मलाई कुनै सामान्य क्षुद्रग्रह लागेको थियो,’ रबले भने, ‘भोलिपल्ट फेरि हेरेँ, त्यो अरू नै केही थियो। यस्तो चिज मैले देख्छु भनेर कल्पना पनि गरेको थिइनँ।’

यो रहस्य बन्यो।

एकदमै छिटो–छिटो चलिरहेको त्यो चिज पत्ता लगाउन रब र उनका साथी लागिपरे। धेरै समय टेलिस्कोपमै बिताए। अरु खगोलशास्त्रीलाई बोलाए।

प्रारम्भिक निगरानीमा उनीहरूले त्यसलाई एक अनौठो आकारको चट्टानझैं देखे, जसलाई धूमकेतु भन्ठाने।

उनीहरू यसमै ढुक्क भने भएनन्।

अनुसन्धान जारी रह्यो। नयाँ डाटाहरू निकालिए। ती डाटाले धूमकेतुमा हुनुपर्ने आधारभूत गुण त्यो चट्टानमा देखाएन। अन्ततः उनीहरूले यसलाई क्षुद्रग्रह नै माने।

यो उनीहरूले देखेजस्तो क्षुद्रग्रह भने थिएन। क्षुद्रग्रहमा हुनुपर्ने व्यवहारभन्दा यो धेरै अलग थियो।

यसले रहस्यका पोका खोल्नुको साटो उल्टै गुटुमुटु पारिदियो।

खगोलशास्त्रीहरूले यसलाई बारम्बर जाँचे। त्यसको चाल नापे, अनि चकित खाए।

त्यो सौर्यमण्डल परिवारको हिस्सा थिएन, दूरदराजबाट आएको ‘पाहुना’ थियो। कुनै अन्जान ठाउँबाट आएर हाम्रो अन्तरिक्षमा घुमिरहेको। त्यो कति लामो यात्रा गरेर यहाँसम्म आइपुग्यो भन्ने कसैले बुझ्न सकेनन्।

अन्तरिक्षमा पृथ्वी र सूर्यसहित अन्य ग्रह छेउछाउ घुमिरहेको ‘पाहुना’ के हो, कहाँबाट आयो, कसरी आयो? – यो पत्ता लगाउन खगोलशास्त्रीहरूले धेरै रातका निद्रा माया मारे।

एक सातापछि उनीहरूले घोषणा गरे– सौर्यमण्डलमा ‘ए/२०१७ यू १’ नामको चिज भेटिएको छ। योबाहेक अरू जानकारी पत्ता लाउन उनीहरूलाई कठिन पर्यो।

अनुसन्धानपछि निष्कर्षमा पुगे– यस्तो कुनै चिज यसअघि हाम्रो अन्तरिक्ष हुँदै सौर्यमण्डल नजिक आएकै छैन।
त्यो अनौठो चिज पहिलोपटक सौर्यमण्डल भ्रमणमा आएको केही दिनपछि हवाइ विश्वविद्यालयका टोलीले त्यसको नामाकरणसमेत गरे। हवाइकै भाषामा यसको नाम राखियो– ओउमुआमुआ। जसको अर्थ हुन्छ– पहिलोपटक टाढाबाट आएको सन्देशवाहक।

खगोलशास्त्रीका अनुसार सिगार आकारको ‘ओउमुआमुआ’ करिब ८०० मिटर लामो र रातो रङको छ। अलग भए पनि यसको सतह भने अन्य क्षुद्रग्रह र धूमकेतुकै जस्तो देखिने उनीहरूले बताएका छन्। यो के चिजले बनेको छ भन्नेबारे थोरै मात्र जानकारी भए पनि यसको उपस्थिति सबैको चासो विषय बनेको छ।

सौर्यमण्डलको विकासक्रमका आधार अनुसन्धान गर्दा यस्तो कुनै चिज कुनै दिन हाम्रो अन्तरिक्षमा आउला भन्ने खगोलशास्त्रीहरूले पहिल्यै सोचेका थिए। उनीहरूका अनुसार विकास प्रक्रियाको मध्यतिर सौर्यमण्डल अस्थिर थियो। ग्रहहरू पनि विस्तारै विकसित हुँदै थिए। तिनीहरू आकार लिने प्रक्रियामा यताउति घुमिरहेका थिए। यीमध्ये केही ठूला ग्रह कुनै धातुका पिण्डसँग ठोक्किन पुगे। ठोक्किने क्रममा टुक्राटुक्री निस्किए र कुनै सौर्यमण्डलका किनार त कुनै त्यसभन्दा निकै परसम्म उछिट्टिए। कुनै त तारासम्म पनि पुगे।

ग्रहहरूको यही विकासक्रममा झट्का खाएर उछिट्टिएका टुक्रामध्ये एक ओउमुआमुआ भएको खगोलशास्त्रीको अनुमान छ। आफ्नै मण्डलबाट छुटेर गएको एक अंशका रूपमा यसलाई उनीहरूले व्याख्या गरेका छन्। त्यसो हो भने हाम्रो अन्तरिक्ष वा टाढा कुनै तारामा सौर्यमण्डलबाट अलग्गिएका यस्ता टुक्रा अरू पनि हुनसक्ने अनुसन्धानकर्ताको अनुमान छ।

हाम्रै सौर्यमण्डलबाट छुटेको भए पनि ओउमुआमुआ हाम्रो नियममा बाँधिएको छैन।

खगोलशास्त्रीले यसलाई लामो समय हेर्न पनि पाएनन्। पत्ता लगाएको दुई सातामै यो टेलिस्कोपले देख्न नसक्ने गरी अदृश्य भयो।

‘त्यो एकदमै चाँडो चलिरहेको थियो। त्यसको जुन प्रकाश हामी देखिरहेका थियौं, त्यो सूर्यबाट आएको थियो। त्यसैले यो जति छिटो चल्छ त्यति नै सूर्य र पृथ्वीबाट टाढा हुँदै जान्छ। अनि उज्यालोमा हराउँदै जान्छ,’ हवाइ विश्वविद्यालयका खगोलशास्त्री करेन मिचले भनिन्।

खगोलशास्त्रीहरूले हालसम्म ७ लाख ५० हजार धूमकेतु तथा क्षुद्रग्रह पत्ता लगाइसकेका छन्। गहन अनुसन्धानपछि ओउमुआमुआ भने अरू धूमकेतु वा क्षुद्रग्रहभन्दा अलग रहेको उनीहरूले पुष्टि गरेका छन्।

‘यसको गति सामान्यभन्दा धेरै नै छिटो छ। यस्तो हाम्रा सौर्यमण्डलमा भएका कुनै धूमकेतु तथा क्षुद्रग्रह छैनन्,’ ओउमुआमुआको चाल निगरानीमा संलग्न नासाका न्याभिगेसन इञ्जिनियर डेभिड फार्नोसियाले भने।

सूर्य वरपर घुम्ने ओउमुआमुआले चक्कर लगाउँदाको (कक्ष) आकार पत्ता लगाउन र नाप्न भने वैज्ञानिकहरू सफल भएका छन्। खगोलशास्त्री करेनका अनुसार अन्य क्षुद्रग्रह र धूमकेतुभन्दा ओउमुआमुआको घुम्ने बाटो र नाप धेरै अलग छ।

सूर्यको गुरुत्वबलमा अडेका सबै चिजको घुमाइको यो मापन शून्यदेखि एकसम्म छ। हालसम्म नापिएकोमध्ये सबभन्दा बढी सन् १९८० मा पत्ता लागेको एउटा धूमकेतुको थियो, जुन १.०५८ थियो।

ओउमुआमुआको भने झण्डै १.२ भएको खगोलशास्त्रीहरूको भनाइ छ। त्यसैले नै यो हाम्रो नियममा नचल्ने उनीहरूले दावी गरेका छन्।

‘दसकौंदेखि हामी भन्दै आएका थियौं, अन्तरिक्ष बाहिर यस्ता चिजहरू छन्,’ नासाका सहायक प्रशासक थोमस जरबुचेनले भने, ‘र, पहिलोपटक हामीले यसको अस्तित्व प्रमाणित गर्ने बाटो पाएका छौं।’ यो खोजका कारण सौर्यमण्डलभन्दा बाहिरका कुरा अध्ययन गर्ने बाटो पत्ता लागेको उनको भनाइ छ।

ओउमुआमुआको वैज्ञानिक नाम राख्न पनि उनीहरूलाई निकै सकस परेको थियो। सामान्यतया धूमकेतुको नाम ती पत्ता लागेका आधारमा राखिन्छ। क्षुद्रग्रहको भने त्यसको कक्षबारे यकिन तथ्यांक निकालेर ठोकुवा गरेपछि मात्र नाम राखिन्छ। ओउमुआमुआको भने वैज्ञानिक नाम राख्ने आधार नै नभेटेको ‘द इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन’ ले जनाएको छ। यो धूमकेतु र क्षुद्रग्रहका नाम राख्ने अधिकार पाएको संस्था हो।

खगोलशास्त्री र अनुसन्धानकर्तालाई चकित बनाएको ओउमुआमुआ अहिले देखिन छाडेको छ। निगरानी गरिरहेका चिली र हवाइका टेलिस्कोपले डिसेम्बरसम्ममा यो कहाँ पुग्यो पत्ता लगाउन सक्ने आशा गरिएको छ।

खगोलशास्त्रीका अनुसार ओउमुआमुआ अहिले मंगल ग्रहको कक्ष बाहिर छ र आगामी मे महिनामा यसले वृहस्पति ग्रहको कक्ष पार गर्नेछ। सन् २०२२ मा वरुण र २०२४ मा यमको कक्ष पार गर्नेछ। सन् २०२५ सम्म यो सौर्यमण्डलको बाहिरी किनारसम्म पुग्ने उनीहरूले अनुमान गरेका छन्।

पृथ्वीका खगोलशास्त्रीलाई उत्साहित बनाउन केही दिनको ‘पाहुना’ बनेर आएको ‘अद्भूत ओउमुआमुआ’ देख्न पाएकोमा निकै खुसी लागेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ता एन्डी रिभकिनको भनाइ छ।

उनीसहित अरू खगोलशास्त्री र अनुसन्धानकर्ता फेरि ‘ओउमुआमुआ’ देख्ने आशामा यसको छाया पछ्याइरहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.