नेपालमा भूइँचालो ल्याउने ‘प्लेट’ नै इरान-इराकमा जिम्मेवार

आइतबार राति गएको भुइँचालोमा भत्किएका भवन अगाडि आगो ताप्दै पश्चिमी इरानका बासिन्दा। इरान- इराकमा आएको ७.३ म्याग्निच्युडको भुइँचालोमा ४ सयभन्दा बढीको मृत्यु भएको छ भने ७ हजारभन्दा बढी घाइते छन्। मानवीय क्षतिका हिसाबले यो भुइँचालो सन् २०१७ कै शक्तिशाली हो। तस्बिरः एपी


एउटा भनाइ छ, भूइँचालोको दोस्रो दिन हरेक मान्छे भू-गर्भविद हुन्छ।

२०७२ वैशाख १२ को भूइँचालोले धेरै नेपालीलाई भू-गर्भविद त बनाएन, हिमाली क्षेत्रमा भूइँचालो जाने कारणबारे जानकारी अवश्य दियो।

त्यही आधारमा हामी धेरैलाई थाहा भइसक्यो, नेपाल भौगोलिक रूपले पृथ्वीको यस्तो दरारमाथि बसेको छ जहाँ दक्षिणबाट बग्दै आएको इन्डियन प्लेट उत्तरको युरेसियन प्लेटसँग ठोक्किएर त्यसमुनि घुस्रिरहेको छ। र, नेपाललाई वर्षौं वर्षदेखि भूइँचालोको धक्का दिइरहेको छ। इन्डियन र युरेसियन प्लेटबीचको यो घर्षण पाँच करोड वर्षदेखि सुरु भएको हो।

पृथ्वीको भौगोलिक सतहमा नेपालजस्तो भूकम्प जोखिममा रहेका मुलुक थुप्रै छन्। एसियाकै कुरा गर्ने हो भने इरान र इराक त्यसैमध्ये हुन्।

त्यही इरान-इराकको उत्तरी सीमामा आइतबार मध्यराति ७.३ म्याग्निच्युडको भूइँचालो गयो। भूइँचालोको झट्का कुवेत, कतार, टर्की, इजरायल र संयुक्त अरब इमिरेट्स (युएइ) सम्म महशुस गरियो। त्यहाँ आइतबारदेखि सोमबारसम्म ५० भन्दा बढी परकम्प आइसकेका छन्।

यो भूइँचालोमा अहिलेसम्म चार सय ५० जनाभन्दा बढीको ज्यान गएको अलजजिराले जनाएको छ। सात हजारभन्दा बढी घाइते छन्। यति ठूलो मानवीय क्षति भएको यस वर्षकै सबभन्दा ठूलो भूइँचालो हो।

यसअघि नेपालको भूइँचालोमा ८ हजारभन्दा बढीको ज्यान गएको थियो। त्यतिबेला घरबारविहीन भएकाहरूको अझै पुनःस्थापना हुन सकेको छैन।

झट्ट हेर्दा नेपाल र इरान-इराकको भौगोलिक अवस्थिति फरक देखिन्छ। तर, यी दुई भूइँचालोमा एउटा समानता छ- युरेसियन प्लेट।

अब प्रश्न उठ्छ, नेपालमा भूइँचालो गराउने युरेसियन प्लेटले इरान-इराकमा कसरी ल्यायो?

यसलाई बुझ्न पृथ्वीको आकार कस्तो छ भन्ने जान्नुपर्छ। बाहिरबाट हेर्दा एकै ढिक्का देखिए पनि पृथ्वी खासमा बोक्रा छोडाएर फेरि जोडिएको सुन्तलाजस्तो छ। त्यस्तो सुन्तलाको बोक्रा जसरी टुक्रा-टुक्रा छुट्टिएको देखिन्छ, पृथ्वी सतह पनि खण्ड-खण्डमा विभाजित छ। ती विभाजित भू-सतह निरन्तर आपसमा ठोक्किने, घस्रिने, खप्टिने र फाटिने गर्दै आएका छन्– लाखौं, करोडौं वर्षदेखि।

पृथ्वीका ती अलग-अलग खण्डलाई नै भू-गर्भविदहरू ‘प्लेट’ भन्छन्। अनि, ती प्लेटलाई सुन्तलाका बोक्राजस्तो टुक्राउने चिरालाई ‘फल्ट लाइन’, अर्थात् जमिनको दरार।

जसरी नेपाल इन्डियन र युरेसियन प्लेटको दरारमाथि बसेको छ, त्यसरी नै इरान-इराक त्यस्तै अर्को दरारमाथि छ जसमध्ये एउटा युरेसियन प्लेट नै हो।

यता हाम्रो क्षेत्रमा इन्डियन प्लेटसँग ठोक्किएर भूइँचालो ल्याउने त्यही युरेसियन प्लेट उता इरान-इराकमा अरेबियन प्लेटसँग ठोक्किएर भूइँचालो ल्याउँछ। यताजस्तै उता पनि युरेसियन प्लेट अरेबियनसँग ठोक्किँदै आएको छ, दुई करोड ५० लाखभन्दा बढी वर्षदेखि।

भू-गर्भविदका अनुसार इन्डियन प्लेट वार्षिक २ सेन्टिमिटरका दरले युरेसियनमुनि धस्सिनुपर्छ। यो धस्सिने क्रम कहिलेकाहीँ लामो समय रोकिन सक्छ। यसरी रोकिँदा अड्किएको गाँठो फुस्केर ठूलो भूइँचालो आउँछ।

इरान-इराकको अवस्था लगभग यही हो।

त्यहाँ पनि अरेबियन प्लेट वार्षिक २ सेन्टिमिटरकै दरले युरेसियनमुनि घुसिरहेको छ। इरान-इराकको दक्षिणपूर्वी क्षेत्रमा अरेबियन प्लेट युरेसियनमुनि घुसिरहेको छ भने उत्तरपश्चिम क्षेत्रमा यी प्लेटबीच घर्षण भइरहेको भू-गर्भविद बताउँछन्। यसपालिको भूइँचालो त्यसैको परिणाम हो।

यहाँनिर नेपाल र इरान-इराकबीच अर्को एउटा समानता छ।

नेपालको हिमाली क्षेत्र उत्पत्ति नै इन्डियन र युरेसियन प्लेटको घर्षणले भएको वैज्ञानिकले पुष्टि गरेका छन्। समुद्री पिँध र सगरमाथाको चुचुरोमा पाइने ढुंगाको प्रकृति समान हुनुले कुनै बेला हिमाली क्षेत्र समुद्र नै रहेको उनीहरूको भनाइ छ।

इरान-इराकमा पनि अरेबियन र युरेसियन प्लेटको घर्षणले ‘ज्याग्रोस’ र ‘अल्ब्रोज’ हिमाल उत्पन्न गराएको भू-गर्भविद बताउँछन्। तर, यो नेपालको हिमाली क्षेत्रभन्दा झन्डै आधा समयपछि उत्पत्ति भएको हो।

अरेबियनको इतिहास अफ्रिकी प्लेटसँग गाँसिएको छ। यो साढे २ करोड वर्षअघि अफ्रिकी प्लेटबाट टुक्रिएर उत्तरतिर सर्दै युरेसियनसँग जुध्न पुगेको हो। यी दुई प्लेट नजिकिएसँगै इरानसहित दक्षिणपूर्वस्थित टर्की पनि भूइँचालो, सुनामी र ज्वालामुखीको जोखिममा परेको छ।

आइतबार इरान-इराकमा आएको भूइँचालो केन्द्रविन्दु हालब्जा भन्ने ठाउँ हो, जुन दुई प्लेटबीचको दरारमै पर्छ। यो दरार १५ सय किलोमिटर लामो छ। र, पश्चिम इरानदेखि उत्तरपश्चिमी इराकसम्म फैलिएको छ।

इरानमा यो सन् २०१२ पछिको ठूलो भूइँचालो हो। त्यतिबेलाका दुई ठूला धक्काले २ सय जनाभन्दा बढीको ज्यान गएको थियो। त्यसअघि २००५ मा गएको ६.४ म्याग्निच्युडले ६ सयभन्दा बढीको मृत्यु भयो।

इरानकै बढी मानवीय क्षति गराउने भूइँचालो भने २००३ मा गएको मानिन्छ। राजधानी तेहरानबाट दक्षिण पूर्वको ऐतिहासिक सहर बामलाई केन्द्रविन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूइँचालोमा २६ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। बाम सहरको सम्पूर्ण संरचना नै ध्वस्त भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.