२०५९ सालमा धोविखोला कोरिडोर निर्माण सुरु हुँदा धेरैले त्यहाँ सररर सवारी चलाउने आस गरेका थिए। आज सकिएला, भोलि सकिएला भन्दाभन्दै चौध वर्ष बित्यो। चौध वर्षमा निर्माण सकिनु त के आधा काम पनि भएको छैन।
उपत्यकाको भित्री रिङरोड विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकासका निम्ति धोविखोला कोरिडोर निर्माण गरिएको हो। कोरिडोर निर्माण काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको धोविखोला कोरिडोर आयोजनाले गरिरहेको छ।
कोरिडोरको निर्माण सुरू नै यो आयोजनाले गरेको भने होइन। निर्माणको जिम्मा तत्कालीन नगर विकास समितिको भए पनि महानगरले आफैं निर्माण गर्ने भनेपछि समितिले यो जिम्मेवारी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको थियो। महानगरले २०५९ वैशाख १७ देखि यो आयोजना हेरे पनि कुनै प्रगति हुन सकेन।
करिब ६ वर्षपछि पूर्वाधार विकासको लागि बजेट अभावजस्ता कारणहरु देखाउँदै महानगर यसबाट बाहिरियो। त्यसपछि २०६४ पुष २ देखि तत्कालीन काठमाडौं नगर विकास समितिले गठन गरेको धोबिखोला कोरिडोर सुधार आयोजना व्यवस्थापन उपसमितिमार्फत् कोरिडोर निर्माणको काम हुने भनियो।
जिम्मा पाएका निकायको खिचातानीका कारण निर्माणले गति लिन नसक्दा हालसम्म ४० प्रतिशत मात्र काम भएको छ।
निर्माण सुस्त हुनुमा आफ्नो दोष भने नभएको धोविखोला सुधार आयोजना बताउँछ। अधिकार सम्पन्न बाग्मती एकीकृत समाजले समयमै ढल बनाउने काम नसकेकाले आफ्नो काम पनि अड्किएको आयोजना प्रमुख दीपक श्रेष्ठको भनाइ छ।
‘हामी समयमै काम सकाउन निरन्तर काम गरिरहेका छौं,’ प्रमुख श्रेष्ठले भने, ‘अधिकार सम्पन्न बाग्मती एकीकृत समाजले ढल निर्माणको जिम्मेवारी पाएको छ। उसले द्रुतगतिमा काम गरेन, त्यसैले हाम्रो काम पनि सोचेअनुसार अघि बढ्न नसकेको हो।’
पछिल्लो योजनाअनुसार आर्थिक वर्ष २०७५/०७६ सम्म निर्माण गरिसक्ने भनिए पनि कोरिडोरमा सवारी गुड्न अझै ४ वर्ष कुर्नु पर्ने उनले बताए।
त्यसै पनि कोरिडोर निर्माण सुरु भएको दस वर्षसम्म कुनै काम भएको थिएन। एक दशकसम्म यसै सुस्ताइरहेको निर्माण कार्यले आर्थिक वर्ष २०६७/०६८ देखि मात्रै गति लिन थालेको थियो। तै, त्यो काम सन्तोषजनक भएन।
त्योबेला पनि आयोजनाले बजेट अभाव, स्थानीयको अवरोध, अन्तरनिकायबीच समन्वय अभाव लगायत कारण देखाउँदै कोरिडोर निर्माण सुरुवात नै ढिला भएको बताएको थियो। अहिले पनि अधिकार सम्पन्न बाग्मती एकीकृत समाजले ढल निर्माणमा सुस्तता देखाउँदा आफ्नो काम समयमै नसकिने बताएको छ।
कोरिडोर निर्माण गर्न आयोजनाले १ अर्ब ६० करोड खर्च गरिसकेको छ। आयोजनालाई वार्षिक ६० करोड आवश्यक पर्ने आयोजना प्रमुख श्रेष्ठ बताउँछन्।
उता, अधिकार सम्पन्न बाग्मती एकीकृत समाज आयोजना उपप्रमुख योगेन्द्र चित्रकार भने यो क्षेत्रमा विभिन्न निकायहरुले काम गरिरहेकाले ढिला भएको बताउँछन्। सबै निकायसँग समन्वय गरेर जाँदा सोचेअनुरुप नतिजा नआएको उनको भनाइ छ।
‘हामीले पनि काम गरिरहेका छौं। सबैसँग समन्वय गरेर जानु पर्ने हुनाले काम सुस्त भएको हो,’ उनले भने। यो आयोजनाले पनि ढल निर्माण सुरु गरेको तीन वर्षभन्दा बढी भइसक्यो।
धोविखोला कोरिडोरको हालसम्म कति काम सकियो?
आयोजनाको पहिलो चरण वैजनी पुल (चाबहिल रिङरोड) देखि खैरोपुल (वाग्मती दोभान) सम्म हो। यसअन्तर्गत खोलाको दुबैतर्फ ११ किलोमिटर लम्बाइको ९ मिटर चौडा सडक ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
दोस्रो चरणको वैजनी पुलदेखि कपन भंगाल पुलसम्म खोलाको दुबैतर्फ चार—चार गरी जम्मा ८ किलोमिटर लम्बाइको ९ मिटर चौडा सडक ट्रयाक खोलिदैं छ। यसको ८० प्रतिशत काम सकिएको आयोजनाले जानकारी दियो।
यही क्षेत्रमा दुबैतर्फ नदी नियन्त्रण गर्ने ९५ प्रतिशत काम सम्पन्न भएको छ। यो सडकखण्डमा धर्मया–गौरिगणेश र जावबाला जेभीले काम गरिरहेको छ।
तेस्रो चरणअन्तर्गत पर्ने कामको भने आयोजनाले सम्भाव्यता अध्ययन गर्न गृहकार्य थालेको छ। जसअनुरुप आयोजनाको कार्य क्षेत्र दक्षिणमा कपन भंगाल पुलदेखि करिब २.७ किलोमिटर उत्तरतर्फ राम मन्दिर क्षेत्रसम्मको काम छिट्टै सकाउने बताएको छ। कपन भंगाल पुल–चाबहिलको बैजनी पुल–खैरो पुल (बाग्मती दोभान)सम्म खोलाको दुबैतिर गरी १९ किलोमिटर कोरिडोरको सडक खण्ड बन्नेछ।