मैले पनि बुवालाई आफ्नो कलेजो दिन पाएको भए


त्रिभुवन विश्वविद्यालयको घडी भवनअगाडि साथीहरूसँग गफिँदै थिएँ। मोबाइलको घन्टी बज्यो। हेरेँ। ड्याडीले गर्नुभएको रहेछ।

मैले खुसी हुँदै उठाएँ।

‘नानी, मलाई त पेट दुखेर अंकलसँग भरतपुर हस्पिटल आएको छु,’ ड्याडीले भन्नुभयो, ‘अल्ट्रासाउन्ड गरेको छ, रिपोर्ट आउन बाँकी छ।’

मेरो त होसै हावामा उड्यो। ‘एकाएक कसरी पेट दुख्यो? के भन्छ डाक्टरले? मैले एकै सासमा सोधेँ।

‘त्यस्तो केही छैन, म ठिक छु, रिपोर्ट आएपछि भनौंला,’ ड्याडीले मलाई आश्वस्त पार्दै फोन राख्नुभयो।

एकछिनअघि साथीहरूसँगको गफमा हाँस्दै भुलिरहेको मेरो मन एकाएक चितवन, आफ्नो घर र ड्याडीको स्वास्थ्यमा हराउन पुग्यो।

घरमा ड्याडी एक्लै हुनुहुन्थ्यो। हामी परिवारका पाँच जना आ–आफ्नो काम र पढाइका लागि पाँच ठाउँमा छरिएका थियौं।

म आफ्नो क्लास छाडेर छिटोछिटो कोठामा पुगेँ। बाहिरबाट शान्त देखिए पनि मेरो मन दर्किरहेको थियो। त्यो बेला सायद ड्याडी पनि त्यति आत्तिनुभएको थिएन, जति म आत्तिएको थिएँ।

कोठा पुग्नेबित्तिकै फोन लगाएँ, ‘के रिपोर्ट आयो त?’

‘अलि पेटमा दाग देखिएको छ, के हो थाहा छैन, फेरि चेक गर्नुपर्छ भनेको छ,’ ड्याडीले यत्ति भन्नुभयो।

त्यसपछि जे भन्नुभयो, त्यसले त म धुरुक्कै भएँ। मेरो सास घाँटीमै आएर अड्कियो। उहाँले भन्नुभएको थियो, ‘छोरी, तँ छिटै आइज।’

मैले दायाँबायाँ केही सोचिनँ। सोच्ने कुनै दरकारै थिएन। तुरुन्तै सामान प्याक गरेँ। र, घर हिँडेँ।

काठमाडौंदेखि चितवनको पाँच घन्टा यात्रामा मैले पाँच करोड कुरा मनमा खेलाएँ हुँला।

‘आजसम्म केही नभएको मेरो ड्याडीलाई के भयो होला? सामान्य नै होला, धेरै भए पत्थरी होला, अप्रेसन गरे त ठिकै होला नि,’ मेरो मन सडकको दाहिनेतिर गाडीको वेगसँगै पछाडि बत्तिरहेको त्रिशूली नदीको पानीसँगै अगाडि बग्दै थियो।

घर पुग्नेबित्तिकै ड्याडीलाई भेटेँ। सोधेँ, ‘कस्तो छ अहिले?’

‘ठीकै छ,’ उहाँ ढुक्क सुनिनुभयो।

ड्याडी घरमा एक्लै हुनुहुन्थ्यो। मेरो उपस्थितिले उहाँको मुहार उज्यालो भएर आयो। अब ड्याडीको उपचारमा प्रत्यक्ष संलग्न हुन्छु भनेर मलाई मनैदेखि खुसी लाग्यो।

हामीले अनेक रोगको अनुमान गर्दै कुराकानी गर्यौं। घरका सबै सदस्यलाई फोन गरेर खबर गर्यौं। मनमा कताकता डरले जरा हाल्न थालेको थियो, तर त्यो घडी म कमजोर हुन चाहिनँ। अलमल र छटपटले पोलिरहेको मनलाई मैले अँठ्याएर बाँधेर राखेँ। त्यो घडी म ड्याडीको भर बन्न चाहन्थेँ, अभर हैन। उहाँको साहस र हौसला बन्न चाहन्थेँ, कमजोरी र डर होइन।

भोलिपल्ट म र ड्याडी सँगसँगै भरतपुरको मेडिकल कलेज गयौं। फेरि जचायौं। नयाँ रिपोर्टमा पेटको दाग अघिल्लो दिनको भन्दा बढ्ता देखियो। मासुधरि फैलिएको रहेछ।

डाक्टरले मलाई सुटुक्क भने, ‘उहाँलाई कलेजोको क्यान्सर देखिएको छ, त्यो पनि लास्ट स्टेजको। भोलि क्यान्सर अस्पताल गएर जचाउनुस्।’

मान्छे छाँगाबाट खसेको अनुभूति गर्छन्, पैतलामुनिको जमिन भासिएझैं काम्छन्– यस्तै बेला होला!

मेरो जिउभरि डर, अत्यास र चिन्ताका करोडौं काँडा उम्रिए। एक पललाई छातीभित्रको मुटु थामिएझैं मेरो ज्यान चिसो भयो। जिउभरिको रगत आँशु बनेर घाँटीसम्मै भुलुक्कै आइपुग्यो।

फरक्क फर्केर हेरेँ।

ड्याडी डाक्टरको क्याबिनबाहिर हुनुहुन्थ्यो। सिसाबाट देखेँ, उहाँ चस्मा लगाएर मोबाइलमा के–के हेर्दै बसिरहनुभएको थियो। सायद ममीलाई ‘मेसेज’ गर्दै हुनुहुन्थ्यो।

म मेरो मनको बर्खेझरीलाई उहाँको आँखा अगाडि दर्किन दिन चाहन्नथेँ।

घाँटीसम्मै आइपुगेको आँशुको भल आँखाको डिलनिर थामियो।

डाक्टरको क्याबिनबाट निस्केर उहाँको नजिक गएँ।

सोध्नुभयो, ‘के भन्यो डाक्टरले?’

‘हल्का दाग देखिएको छ रे कलेजोमा, क्यान्सर हो कि भन्ने शंका छ, त्यो जाँच्न क्यान्सर हस्पिटल जानुपर्छ रे,’ मैले आफूलाई एकदमै स्थिर राखेर सहज ढंगमा जवाफ दिएँ।

कम बोल्ने र मेरो कुरामा सजिलै विश्वास गर्ने ड्याडीले कुनै प्रतिप्रश्न गर्नुभएन। उहाँ मेरो काँध पाएर ढुक्क हुनुहुन्थ्यो, सायद। यही विश्वासले नै मलाई त्यो पल ड्याडीलाई सम्हाल्न सजिलो भयो।

हामी बाबुछोरी उहाँले नै चलाउनुभएको मोटरसाइकलमा कुराकानी गर्दै घर फर्क्यौं।

मैले ड्याडीलाई त कसैगरी सम्हालेँ, तर आफैंलाई कसरी सम्हालुँ!

डाक्टरको बोली दिमागमा यस्तरी गुञ्जिरहेको थियो, मानौं मेरो काननिर लाउडस्पिकर घन्किरहेको छ। कलेजोको क्यान्सर, त्यो पनि ‘लास्ट स्टेज’ को भनेपछि म आफूलाई भित्रैबाट असहाय महशुस गर्दै थिएँ।

मलाई यस्तो लाग्दै थियो, म बाबाको त्यो काखबाट विस्तारै चिप्लिएर भुइँमा खस्दैछु, जहाँ जन्मेदेखि आजसम्म लडिबुडी गर्दै आएँ।

मैले सधैं बुइ चढेको बाबाको त्यो काँधबाट मेरा दुई हातको मुठ्ठी विस्तारै फुस्किँदैछन्।

मेरा औंला समातेर ताते–ताते गर्न सिकाएका बाबाका ती औंलाहरूको कसिलो बन्धनबाट मेरो हात छुट्टिँदैछ।

म एक्लिँदैछु।

रित्तिँदैछु।

मेरो यो मुटु अब मेरो रहँदै छैन।

अस्पतालदेखि मुटुमा बाँध बाँधेर थामेको आँशु एक्कासि आँखाबाट साउनेझरीझैं बर्सियो। घाँटी यस्तरी निमोठिएर आयो, म भक्कानिएँ। आवाज कोठाबाट बाहिर नजाओस् भनेर म जति दबाउन खोज्थेँ, उति मेरो सास बन्द भएजस्तो हुन्थ्यो।

ड्याडीको आँखा छलेर जति रोए पनि उहाँको अगाडि म कमजोर देखिन चाहन्नथेँ।

मेरोसामु दुइटा जिम्मेदारी थियो – केही नभएजस्तो गरी आफूलाई भुलाउने, केही नभएजस्तो गरी ड्याडीलाई भुलाउने।

त्यो मेरो लागि जीवनकै कठिन मोड थियो।

म भित्रैबाट निशब्द थिएँ, तर ड्याडीको आवाज मैले नै बन्नु थियो। उहाँको स्वास्थ्यबारे आफूलाई थाहा भएको कुरा परिवार, आफन्त र समाजलाई जानकारी गराउने काम मेरै जिम्मा थियो। तर, यति ठूलो जिम्मा म पूरा गरुँ कसरी?

‘क्यान्सर’ भन्ने शब्दले नै म काम्थेँ। मानौं यो ‘मृत्यु’ नै हो। र, त्यही ‘मृत्यु’ को भयले मेरो मन खाइरहेको थियो।

आफूलाई जन्म दिने बाबुको मृत्युको कल्पना पनि एउटी छोरीले कसरी गरोस्!

थाहा छैन, त्यो बेला त्यति ठूलो हिम्मत मेरो मनमा कसरी आयो? कमजोरीले भित्रैबाट कामे पनि मैले आफैंलाई भर दिएको थिएँ। मैले हरेस खाएको थिइनँ। भरसक उपचार गरेर निको बनाउने वा जति समय छ त्यो ड्याडीसँगै हाँसीखुसी बिताउने अठोटले मेरो मन भरिएको थियो।

यही सोचाइले नै होला त्यो कठिन र कठोर समयमा पनि मलाई त्यत्ति अडिलो बनाएको, सायद।

हामी थप उपचार निम्ति क्यान्सर हस्पिटल गयौं।

बिरामीको भिड, टिकट काट्नदेखि डाक्टरलाई देखाउनसम्म बेहोर्नुपर्ने सास्तीले निरोगी मानिस पनि रोगी बनाउने बेथिति थियो त्यहाँ। यी सबैले मेरो मन जति अधीर थियो, ड्याडी भने उति शान्त।

म केही समय उहाँलाई बाहिर छाडेर बाथरुम गएकी थिएँ। फर्किएर आउँदा त के देख्छु, ड्याडी हस्पिटलको एक छेउमा रुद्राक्षको बोटमुनि मस्त सुतेर हावा खाँदै फोनमा झुन्डिनुभएको थियो।

उहाँलाई पेटको दुखाइ त थियो, सायद असह्य नै थियो होला, तर जतिसुकै पीडा भए पनि अनुहारमा सिकन थिएन। उहाँलाई आफू निको हुने पूरा विश्वास थियो। मलाई उहाँको यो सकारात्मक ऊर्जा देखेर खुसी पनि लाग्यो। उहाँ जति बलियो हुनुभयो, त्यति मलाई आफ्नो कमजोरी र पीडा लुकाउन सजिलो पर्थ्यो।

क्यान्सर हस्पिटलको रिपोर्ट पनि आयो। म एक्लै गएँ डाक्टरकहाँ। मेरो मनमा चमत्कारको आश थियो।

‘उहाँलाई कलेजोको क्यान्सर छ, अन्तिम चरणको। अब उपचार गरेर निको हुन्न। उहाँसँग अब ८ देखि ९ महिनाको समय छ। अब जे गर्नुस् तपाईंको इच्छा। किमो चढाए केही समय बढ्न सक्छ, अप्रेसन गर्न पनि सकिन्छ, तर केही फाइदा हुँदैन,’ डाक्टरले एकै सासमा भने।

म सुनिरहेँ। लाग्यो, चमत्कार त कथामा मात्र हुँदो रहेछ।

डाक्टर जे भन्दै थिए, त्यो उनका लागि एक जना बिरामीको कुरा थियो, तर मेरो लागि मेरो जिन्दगीको कुरा।

मैले आफ्नो धैर्य गुम्न दिइनँ।

‘सकेजति उपचार गर्ने हो,’ शान्त भावमा भनेँ, ‘जति सक्यो उहाँको आयु बढाउन कोशिस गर्छु।’

डाक्टरले सहमति जनाए।

फर्केर मैले ड्याडीलाई जवाफ दिनु थियो। साँचो बोल्न म सक्दिन थिएँ, झूटको सहारा कति दिन लिनु?

‘कलेजोमा केही मासु देखिएको रहेछ, किमो चढाए ठिक हुन्छ रे,’ मैले फेरि पनि पूरा सत्य बताइनँ।

आफ्नो जिन्दगीको आधा झूट सुनेर ड्याडी खुसी हुनुभयो। बच्चाजस्तै मुस्कुराउनुभयो।

उहाँको तेजिलो अनुहार देखेर मलाई लाग्यो– ड्याडीको अनुहारबाट हाँसो खोस्ने सत्यभन्दा उहाँलाई उज्यालो पार्ने झूट नै लाख गुणा प्यारो।

उहाँको खुसीले मेरो अस्थायी खुसी पनि दुई गुना भयो।

मैले भारतको एपोलो हस्पिटलको डाक्टरलाई रिपोर्ट देखाएर सम्भावना खोजेँ। उनले पनि उपचार सम्भव नभएको र कलेजो प्रत्यारोपण गर्न लाखौं लाग्ने बताए। त्यति हाम्रो आर्थिक सामर्थ्य थिएन। जति खर्च गर्नुपरे पनि ड्याडीको ज्यान बचाउन पाए हुन्थ्यो भन्ने मनमा थियो, तर नेपालमा कुनै प्रविधि नभएकाले हामी चाहेर पनि केही गर्न सक्दैनथ्यौं।

मैले क्यान्सर विशेषज्ञ डा. भक्त्तमान श्रेष्ठसँग पनि धेरैपटक परामर्श गरेँ। उहाँले ‘नेपालमा मात्र नभई लास्ट स्टेजको क्यान्सर उपचार संसारमै नभएको’ प्रस्ट पार्नुभयो।

मेरो अब एउटै इच्छा थियो– ड्याडीको अन्तिम समय कष्टप्रद नहोस्।

उहाँको सास त म रोक्न सक्दिनँ। त्यो मेरो बूतामै छैन। तर, जतिबेला उहाँको सास जाओस्, उहाँको अनुहारमा यस्तै मुस्कान छरिएको होस्।

म कति सफल भएँ, कति भइनँ थाहा छैन, तर जुन दिन उहाँको सास गयो, त्यसको केही समयअघिसम्म उहाँ निस्फिक्री सास फेर्न समर्थ हुनुहुन्थ्यो।

ड्याडी ४६ वर्षमा बित्नुभयो। दुई महिना अगाडिसम्म पनि उहाँलाई देख्ने कसैले क्यान्सर लागेको अनुमान लगाउन सक्दैनथे। डाक्टरले दिएको समयमा छ महिना बित्दा पनि उहाँको रोग कसैको अगाडि सार्वजनिक भएको थिएन। उहाँको दैनिकी, बिहान दौडिने, साथीभाइसँग गफ गरेर समय बिताउने, सब उस्तै थिए। दिन बित्दै जाँदा भने ड्याडीको समस्या अलि बढेको थियो।

मैले ड्याडीको काँधको अंगालो गुमाएको, उहाँको काखबाट चिप्लिएको र मेरो हातमा उहाँका औंलाको सहारा छुटेको हिजो चार वर्ष बित्यो। चौथो पुण्यतिथिमा उहाँको आत्माले शान्ति पाओस्– म यही कामना गर्छु।

तर, आज मेरो मन खुसी छ।

किनभने, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले नेपालमै दोस्रो कलेजो प्रत्यारोपण गर्यो।

काठमाडौंका ५७ वर्षीय बुवालाई २४ वर्षीया छोरी सरिता महर्जनले आफ्नै कलेजोको टुक्रा काटेर दिइन्। आफ्नो बाबुको ज्यान जोगाउने अवसर पाएकी सरिता साँच्चिकै भाग्यमानी हुन्। नेपालमै यस्तो प्रत्यारोपण सुरु हुनुले कलेजोको समस्याबाट ज्यानै गुमाउनुपर्ने अवस्था अब रहेन।

धेरै छोरी भाग्यमानी भए। धेरै छोरा भाग्यमानी भए।

सरिताको कथाले मलाई आज मेरो परिवारको त्यो घडी सम्झना आयो। त्यो समय यस्तो प्रविधि हुँदो हो त म पनि मेरो ड्याडीलाई आफ्नै कलेजो काटेर दिन्थेँ।

मनमा एउटै खेद छ, म सरिताजस्तो भाग्यमानी भइनँ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.