काठमाडौं विश्वविद्यालयले एमबिबिएस र बिडिएसका लागि बिहीबार लिएको दोस्रो प्रवेश परीक्षामा खुलेआम चिट चोरी भएको छ। यो अनियमितताबारे विराटनगरबाट प्रकाशित उद्घोष दैनिकको अनलाइन उद्घोषडेली डटकमले लेखेको छ।
समाचार अनुसार विश्वविद्यालयले ती शैक्षिक कार्यक्रममा खाली सिटका लागि बिहीबार विराटनगरमा सञ्चालन गरेको प्रवेश परीक्षामा मोबाइल प्रयोग गरी अनियमितता गरेको पाइएको हो।
प्रवेश परीक्षाका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा परीक्षा केन्द्र तोकिएको थियो। प्रवेश परीक्षाको केन्द्र र समय भने गोप्य राखी सीमित विद्यार्थीलाई मात्र सो परीक्षा केन्द्र तोकिएको थियो।
परीक्षा केन्द्रमा परीक्षार्थीहरूलाई मोबाइल एप्लिकेसन ह्वाट्स एपको माध्यमबाट वस्तुगत प्रश्नको उत्तर उपलब्ध गराइएको पाइएको छ। सोका लागि मोबाइल एप्लिकेसन ह्वाट्स एपमा एसिस्टेन्ट ग्रुप र एसिस्टेन्ट ग्रुप-२ युजर बनाइएको थियो।
यो कामका लागि एनसेलका दर्जनौं सिमकार्ड प्रयोग पाइएको छ। कुनै नाम प्रयोग नगरी नेपालको एनसेल र भारतीय मोबाइल नम्बर प्रयोग गरिएको छ। (हेर्नुहोस् ह्वाट्स एप च्याट )
दिउँसो १ बजेदेखि सुरू भएको परीक्षामा आधा घन्टापछि नै परीक्षार्थीहरूको मोबाइलमा उत्तर उपलब्ध गराइएको थियो। प्राप्त जानकारीअनुसार ९३ प्रश्नको समाधान उपलब्ध गराइएको थियो।
स्रोतका अनुसार विश्वविद्यालयबाट खटिएका पर्यवेक्षकलगायत भारतीय एजेन्टहरूको समेत संलग्नतामा यस्तो अनियमिता भएको हो। प्रवेश परीक्षा उत्तीर्ण गराउन एजेन्टहरूले प्रतिविद्यार्थी १० लाखभन्दा बढी रकम लिएको स्रोतको दाबी छ।
नेपालबाहेक सार्क मुलुकका विद्यार्थीका लागि भएको प्रवेश परीक्षामा ठूलै गिरोहको संलग्नतामा यस्तो अनियमितता गरिएको हो। विदेशी विद्यार्थीबाट बढी रकम प्राप्त हुने भएकाले अधिकांश कलेज त्यो सिट खाली राख्न चाहँदैनन्।
एमबिबिएस र बिडिएस अध्ययनका लागि प्रवेश परीक्षामा न्यूनतम ५० प्रतिशत अंक ल्याउनै पर्छ। पहिलो प्रवेश परीक्षामा विदेशी विद्यार्थी कोटा खाली भएपछि विश्वविद्यालयले पुनः परीक्षा सञ्चालन गरेको हो।
काठमाडौं विश्वविद्यालयले मंसिर १९ गते पुनः प्रवेश परीक्षाको सूचना प्रकाशित गरेको थियो। सूचनामा सो विश्वविद्यालयबाट सम्बन्धन पाएका मुलुकका नौ वटा मेडिकल कलेजका लागि प्रवेश परीक्षा लिइने उल्लेख छ।