यो त्यस्तो उपन्यासको कथा हो, जुन उपन्यासलाई आफ्नो भूमिकाले न्याय गरेको छैन भन्ने शंकर लामिछाने स्वयंले स्वीकार गरे।
शंकर लामिछाने, जसले पारिजातको अत्यन्तै चर्चित उपन्यास 'शिरिषको फूल'मा लेखेको भूमिका नेपाली साहित्यमा आजसम्मकै सबैभन्दा चर्चित भूमिका बन्यो। शंकर लामिछाने, जो भूमिका लेख्नकै लागि चर्चित थिए। तिनै लामिछाने आफ्नो भूमिकाले यो उपन्यासको उत्कृष्टतालाई न्याय गर्दैन भनी पुनर्लेखन गर्न तयार भएका थिए।
तर दुर्भाग्य! उनले भूमिका पुनर्लेखन गर्न सकेनन्।
यो पिटर जे. कार्थकको उपन्यास 'प्रत्येक ठाउँ: प्रत्येक मान्छे' को कथा हो।
यो एउटा सत्य घटनामा आधारित उपन्यास हो।
कार्थकलाई तिथिमिति विक्रम सम्बतमा सम्झना हुँदैन। 'सन् उन्नीस सौ पैँसठ' मा उनी दार्जिलिङबाट काठमाडौं छिरेका थिए। काठमाडौं आउँदा एउटा नमीठो सम्झना उनीसँगै आएको थियो।
सुरुसुरुमा उनले त्यसलाई बिर्सन प्रयत्न गरे। सकेनन्। त्यही एउटा घटना उनको दिमागमा खेलिरह्यो। आफ्नो छटपटी अभिव्यक्त गर्न उनले लेखनको बाटो रोजे। र, उपन्यास लेख्ने निर्णय गरे।

घटना १९६५ अक्टोबर अर्थात् २०२२ कात्तिकको हो।
त्यसबेला दार्जिलिङमा 'रक एन्ड रोल' ब्यान्ड अत्यन्तै लोकप्रिय थियो। नाम 'रक एन्ड रोल' भए पनि यो ब्यान्डले सबै किसिमका गीत गाउँथ्यो। ब्यान्डका चेयरमेन थिए कार्थक, जो नेपाली संगीतका 'महागुरु' अम्बर गुरुङका चेला हुन्। उनैले गुरुङलाई 'माइस्ट्रो' भनेर सम्मान गर्न सुरु गरेका हुन्। कार्थककै नेतृत्वका कारण ब्यान्डले त्यसबेला दार्जिलिङमा लोकप्रियता कमाएको थियो।
'लक्ष्मीपूजाको रात थियो,' उनी आजभन्दा ५१ वर्ष पुरानो त्यो रात सम्झना गर्न थाले, 'तिहारको रमझमले दार्जिलिङलाई पूरै छोपेको थियो। राति हामी सेन्ट्रल होटलमा कन्सर्टमा थियौं।'
रातको साढे ११ बजेतिर कफी ब्रेक हुन्थ्यो। यसैबेला होटलका कर्मचारीले कार्थकलाई बोलाए, 'तपाईंको फोन आएको छ।'
त्यसबेला फोन आउनु चानचुने कुरा थिएन। थोरै मान्छेको घरमा मात्रै ल्यान्डलाइन फोन हुन्थ्यो। रातको साढे ११ बजे, त्यो पनि लक्ष्मीपूजाको रात, फोनले उनलाई अचम्भित बनायो।
उनी हतारिएर फोन भएतिर गए।
'हलो,' कार्थकले फोन उठाए।
'पिटर! हेल्प मी। दे रेप्ड माई गर्लफ्रेन्ड।' (मलाई सहयोग गर। उनीहरूले मेरी प्रेमिकालाई बलात्कार गरे।)
यो आवाज उनकै कलेजको साथीको थियो, जसलाई उनले उपन्यासमा दिनेश नाम दिएका थिए।
दिनेश आफ्नी प्रेमिका प्रिया (उपन्यासमा दिइएको नाम) लाई लिएर राति बाहिर डुल्न निस्किएको रहेछ। जिमखानाबाट अलि मास्तिर महाङ्काल गुफानजिकै केही केटाले हमला गरेपछि ऊ भागेछ। तर, प्रिया बलात्कृत भई।
दिनेशको कुरा सुनेर पिटर झसङ्ग भए। उनी तत्कालै त्यहाँबाट निस्किए र दिनेशसँगै अघि प्रियालाई छाडेको ठाउँतिर गए। तर, त्यहाँ अब घटनाको नामोनिशान केही थिएन। केटाहरू थिएनन्। प्रिया थिइन।
'भोलिपल्ट थाहा भयो,' कार्थकले भने, 'प्रियालाई आर्मीको मेजरले बिहान जिमखाना क्लब छेवैको खाल्डोमा भेटेछ। नाङ्गै जाडोमा कठ्याङ्ग्रिएको उसलाई क्वाटरमा लगेर राखेको रहेछ।'
प्रियाले नै भनेकी हो, बलात्कार गर्ने केटाहरू सात जना थिए।
भोलिपल्टदेखि पुलिसले ती सात जनाको खोजी थाल्यो। कार्थकको 'ग्याङ' पनि आफ्नै हिसाबले खोजी गर्न कस्सियो।
'ब्यान्डका साथीहरू र अरू पनि केटाहरू भएर सिआइडी गर्थ्यौं,' उनले भने, 'दार्जिलिङमा हाम्रो प्रभाव थियो। हामीलाई 'एजुकेटेड गुन्डा' भन्थ्यो दार्जिलिङको मान्छेले।'
उनीहरू प्रत्येक होटल र भट्टीपसल गए, सिआइडी गर्न। पसल-पसल गएर सोधे। तर केही पत्तो लागेन। पुलिसले पनि केही फेला पार्न सकेन।
बलात्कारी पत्ता नलागे पनि यो घटनाले दार्जिलिङमा एउटा तरङ्ग पैदा गर्यो।
'दिनेशको बाउको आसाममा सातवटा त चिया कमानै थियो,' उनी आफ्नो पात्रको वास्तविकता बताउन थाले, 'सयवटा ट्रकको मालिक थियो, सातवटा त सिनेमा हल मात्रै थियो, हो। त्यस्तोको छोराले भन्दा त पुलिसले केही गर्नु सकेन भन्ने भयो नि त्यो बेला।'
प्रिया पनि त्यस्तै धनीमानीकै छोरी थिई। ऊ होस्टलकी 'प्रिफेक्ट' पनि थिई।
'होस्टलको प्रिफेक्ट पनि बलात्कारमा पर्यो भन्ने भयो दार्जिलिङको मान्छेलाई,' कार्थकले सुनाए, 'एकखालको आतङ्क नै थियो। बूढाहरू हामी जवान केटाहरूलाई छड्के आँखाले हेर्नु थालेको थियो।'
यही साल उनी, अनुराधा गुरुङ (जो पछि अनुराधा कोइराला भइन्) र रञ्जीत गजमेर वीरगन्ज आए। त्यहाँ उनीहरु एउटा स्कुलमा शिक्षकका रुपमा काम गर्ने गरी आएका थिए। स्कुलमा कुरा नमिलेपछि उनीहरू तीनै जना काठमाडौं आए।
कार्थकले दार्जिलिङ छोड्दासम्म बलात्कार गर्ने सात जनाको पहिचान भएको थिएन।
काठमाडौं आएपछि पनि उनलाई यो घटनाले झस्काइ रह्यो।
उनले उपन्यास लेख्ने निर्णय गरे।
.JPG?1480938891564)
'सात जना बलात्कार गर्ने केटा, एउटा प्रिया, अर्को उसको ब्वाइफ्रेन्ड, गर्दा त नौ जना पात्र भइसक्यो,' उनले यो घटनालाई उपन्यासमा नै अभिव्यक्त गर्नुको कारण बताए, 'यति पात्र भएपछि त उपन्यास हुने नै भइगो नि।'
अलिअलि लेख्न सुरु पनि गरे। पछि लाग्यो, 'उपन्यासबारे केही नबुझी लेख्दा राम्रो हुँदैन। पहिले उपन्यास कसरी लेखिन्छ, यसको फिलोसफी के हो, सिद्धान्त के हो भन्ने पढ्नु पर्यो।'
एमएफए (मास्टर्स अफ फाइन आर्ट्स) मा लेखनकलाबारे पढाइ हुन्छ भन्ने उनले सुनेका थिए। तर काठमाडौंमा यो विषय पढ्ने सुविधा थिएन। भारतमा कतै छ कि भनेर बुझे। पार नलागेपछि उनले नेपाली साहित्यमा एमए गर्ने निर्णय गरे।
काठमाडौं आएको दुई वर्षपछि त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा भर्ना भएर उनी कीर्तिपुर गए। त्यहाँ वासुदेव त्रिपाठी, चुडामणि बन्धु लगायत नेपाली साहित्यमा चिनिएका व्यक्तिहरूले पढाउँथे। तर, नेपालीको कक्षा कार्थकले सोचेजस्तो भएन।
'त्यहाँ त नेपाली बोलेको पनि संस्कृतजस्तो पो हौ,' उनले दार्जिलिङे लवज अझै छाडेका छैनन्, 'क्रियापद मात्रै नेपाली बोल्ने, अरू त जम्मै संस्कृतजस्तो।'
उनलाई नेपाली पढ्न सकिन्छ जस्तो लागेन। त्यसैले, अङ्ग्रेजी साहित्यमा भर्ना भए।
त्यहाँबाट मास्टर्स गरेपछि उनी एउटा सडक आयोजनामा काम गर्न थाले। यही बीचमा उपन्यास पनि लेख्न थाले। सन् १९७१ मा थालेको उपन्यास उनले दुई वर्ष जतिमा लेखिसके।
उपन्यास लेखिसेकपछि पहिलोपटक अम्बर गुरुङलाई सुनाए।
दार्जिलिङमा नै उनी गुरुङसँग नजिक भइसकेका थिए। उनी काठमाडौं आएको केहीपछि गुरुङ पनि काठमाडौं आए। गुरु-चेलाको दोस्ती यता पनि जमिहाल्यो।
कार्थकको डेरा कमलपोखरी थियो, गुरुङको ज्ञानेश्वरमा। उनी प्राय: गुरुङलाई भेट्न ज्ञानेश्वर गइरहन्थे।
यस्तैमा एकदिन उनले सुनाए, 'सर! मैले एउटा उपन्यास लेखेको छु। अब त्यसलाई छाप्न पाए हुने।'
कार्थकले गीत गाउँछन्, बाजा बजाउँछन् भन्ने सबैलाई थाहा थियो। तर उनले 'उपन्यास लेखेको छु' भन्दा सुरुमा त स्वयं अम्बर गुरूङ नै छक्क परे।
कुरा गर्दै जाँदा गुरुङले भने, 'भूमिकाचाहिँ शंकर लामिछानेलाई लेखाउनुपर्छ।'
कार्थकलाई अलिअलि डर पो लाग्यो।
'शंकर फेरि फर्किएको छ, उसैलाई लेखाउनुपर्छ,' गुरुङले जोड दिए।
शंकर सन्यासबाट लेखनमा फर्किएका रहेछन्।
कार्थकले नमान्ने कुरै भएन। तर शंकर लामिछानेले आफ्नो किताबमा भूमिका लेखिदिएलान् भन्ने विश्वासचाहिँ उनलाई थिएन।
अन्तिममा अम्बरले भने, 'शंकरलाई दिनुअघि एकपटक म पढ्छु, अनि अलि बनाएर शंकरलाई देखाउनुपर्छ।'
भोलिपल्टै कार्थकले आफ्नो उपन्यासको पाण्डुलिपि गुरुङको हातमा राखिदिए। उनले केही दिनमै पढिसके।
'अहो! उपन्यास राम्रो छ,' गुरुङले भने, 'बुधबारको सिन त कस्तो राम्रो लेखेछौ।'
त्यसबेलाका गुरुङका शब्द अझै ताजै छन् कार्थकको दिमागमा, 'ए मुर्दार भन्नु भो नि उहाँले।'
चार दशकअघिको अम्बर गुरुङको हाउभाउ सम्झिएर एकपल्ट हाँसे उनी।
अम्बर सरलाई मन परेपछि बाँकी के थियो र! एकसाँझ शंकर लामिछानेको डेरा खोज्दै दार्जिलिङका दुई युवा पाण्डुलिपि बोकेर पाटनतिर हिँडिहाले।
डेरामै भेटिए शंकर।
अम्बर गुरूङले भनेपछि लामिछाने भूमिका लेखिदिन तयार भए। तर उनको सर्त थियो।
त्यसबेला लामिछानेले राखेको सर्त कार्थकले सम्झिए। शंकरले भनेका थिए, 'हेर भाइ! बालकृष्ण सम, माधव घिमिरे, (लैनसिंह) वाङदेलजस्तो तीन वाक्यको भूमिका लेख्ने मान्छे होइन म। लेखेपछि म जमेर लेख्छु तर उपन्यासमा दम हुनुपर्छ। उपन्यास राम्रो भएन भनेचाहिँ तीन वाक्य होइन एक वाक्य त के एक शब्द पनि लेख्दिनँ।'
हामीसँग कुरा गर्दागर्दै कार्थक पुरानो सपनाबाट ब्युँझिएझैं भए। आफैंसँग बोलेजस्तो गरी भने, 'त्यस्तो मान्छे कहाँ पाउने अब नेपालमा।'
अनि फेरि त्यही दिनमा फर्किए, 'त्यसबेला जाउलाखेल भोड्का खुब चलेको थियो, शंकर दाइलाई भनेर हामीले त्यही बोकेका थियौं। तर बूढा त थोरै खाएपछि ढलिहाल्दो रै'छ हो…'
रक्सी लागेपछि शंकर विछ्यौनातिर गए। उनीहरु फर्के। तर, शंकरको सर्त अम्बर गुरुङलाई मन परेको थिएन।
'शंकरले त्यसो भन्ने?' अम्बर फर्किँदा बाटोमा रिस पोख्दै थिए, 'त्यसले त्यसो भन्ने? पर्दैन त्यसलाई लेखाउनु। पिटर! मै लेखिदिन्छु तिम्रो किताबमा भूमिका।'
कार्थकले सम्झाए, 'तपाईंले पो किताब पढ्नुभएको छ र थाहा छ त! शंकर दाइले त किताब पढेको छैन नि त। पढेपछि लेख्छु भन्ला नि।'
'त्यो चाहिँ हो है,' अम्बरलाई पनि उनको कुरा ठीक लाग्यो।
.JPG?1480938962692)
१५ दिनपछि शंकर लामिछानेबाट कार्थकलाई 'बोलावट' भएछ। फेरि अम्बर गुरुङसँगै उनी पाटनतिर लागे।
'यसपालि चैं भोड्का लगेको थिएनौं, बूढा सुतिहाल्ने रक्सी खाएपछि,' कार्थकले भने।
शंकरले पाण्डुलिपि पढिसकेका रहेछन्।
'ओल्ड म्यान,' शंकरले अम्बर गुरुङलाई सम्बोधन गरे, 'अब शंकर लामिछानेहरूले नेपाली साहित्य नलेखे हुन्छ, यस्ता युवाहरू आएपछि।' शंकर र अम्बर एकअर्कालाई 'ओल्ड म्यान' भन्ने गर्थे।
शंकरको यस्तो प्रशंसा सुनेपछि कार्थक हुनुसम्म खुसी भइरहेका थिए। शंकर लामिछानेले उपन्यासको प्रशंसामा एकछिन भाषणै दिए। अनि पछि फेरि यो भएन र त्यो मिलेन भन्न थाले।
'उचाल्दै थचार्दै उचाल्दै थचार्दै हो शंकर दाइले त,' कार्थक छक्क परे।
अन्तिममा शंकरले भने, 'म यो उपन्यासको भूमिका लेख्छु, तर केही अध्यायहरू पुनर्लेखन गर्नुपर्छ।'
कम्तीमा पाँचपटक पुनर्लेखन गर्ने र प्रत्येक पटकको पाण्डुलिपि आफूले हेर्ने सर्तमा शंकर भूमिका लेखिदिन राजी भए।
कार्थक पनि तयार भए।
प्रत्येक पाण्डुलिपि लिएर जाँदा शंकर पहिले निकैबेर प्रशंसा गर्थे। अनि अन्तिममा यो मिलेन र त्यो भएन भन्दै चिनो लाउन थालिहाल्थे।
कार्थकले प्रत्येकपटक पुनर्लेखन गरे।
पाँचौं पाण्डुलिपि तयार गरेपछि कार्थकलाई लाग्यो, 'अब योभन्दा राम्रो बनाउन सकिँदैन।'
अम्बर गुरुङलाई नलिई एक्लै गए शंकरकहाँ।
र भने, 'दाइ! यसमा तपाईंले कुनै सन्देश पाउनुहुने छैन।' अब योभन्दा धेरै काम नगरौं भन्न खोजेका थिए।
पछि शंकरले उपन्यासको भूमिकामा लेखे-
पिटरले मसँग भनेका थिए- 'दाइ! यसमा तपाईंले कुनै सन्देश पाउनुहुने छैन।' मैले भनेको थिएँ- 'सन्देश कसका लागि? पाठक त आजकल लेखक जत्तिकै, अझ कहिलेकाहीँ त त्यसभन्दा पनि बढी, प्रबुद्ध हुन्छ। अनि उसलाई के सन्देश दिने? सन्देश त पाठकले आफ्नो रुचि र स्तरअनुसार स्वयं अङ्गीकार गर्ने छ, कसैले दिए पनि नदिए पनि।'
शंकरको विद्वता सम्झिए कार्थकले, 'म उपन्यास लेख्न सिक्न युनिभर्सिटी ग'को! त्यहाँ त के सिक्नु र! प्रोफेसर त यता शंकर दाइ पो भेटियो, लेख्न सिकाउने।'
यसरी पाँचौंपटक पुनर्लेखन गरेको पाण्डुलिपि छाडेर आएको १५ दिनपछि अम्बर गुरूङको डेरामा शंकर लामिछाने आए। 'मलाई अम्बर सरको डेरामा बोलावट भयो,' कार्थक सम्झिन्छन्।
त्यहाँ शंकरले भने, 'अब उपन्यास छाप्न योग्य भयो।'
अनि आफूले लेखेको भूमिका पूरै पढेर सुनाए। उपन्यासले तन्त्रदर्शनलाई राम्ररी परिभाषित गरेको छ भनेर भूमिकामा लेखेका रहेछन् शंकरले। यसरी त कार्थकले सोचेकै रहेनछन्। भूमिका पढेपछि उनले आफ्नो उपन्यास अझ राम्रोसँग बुझे।
भूमिका सुनाएपछि उनले कार्थकलाई भने, 'अब मेरो पारिश्रमिक देऊ।'
कार्थकले गोजीमा हात हाले, गोजीमा एक रुपैंयाको एउटा नयाँ नोट बाहेक अरू पैसा थिएन।
उनले शंकरलाई त्यही दिए। त्यो एक रुपैंयाको नोट बडो हर्षले, बडो जतनले पट्याएर शंकर लामिछानेले आफ्नो कोटको खल्तीमा राखे।
'उहाँले दस लाखजस्तो गरेर खल्तीमा हाल्नुभकोथ्यो त्यो एक रुपेको नोट,' कार्थकलाई पूरै सम्झना छ अझै।
यसपछि शंकर लामिछाने र अम्बर गुरुङको सर्कलमा रहेका केही मानिसले उपन्यासको पाण्डुलिपि पढे।
उत्तम नेपाली, भूपि शेरचन, भीमदर्शन रोका, तुलसीनाथ ढुङ्गेल लगायतले शंकरलाई उपन्यासअनुसारको भूमिका भएन भनिरहेका थिए। शंकर भने यो स्वीकार गरिरहेका थिएनन्।
एक रात कार्थकको ढोका ढकढक गर्यो।
उनले खोलेर हेरे, त्यहाँ त शंकर लामिछाने, तुलसीनाथ ढुङ्गेल र उत्तम नेपाली पो उभिइरहेका रहेछन्।
उनको आश्चर्यको सीमा रहेन।
.JPG?1480938987111)
कार्थकको डेरामा उनीहरूको 'जलपान' सुरु भयो। उनले सम्भव भएअनुसारका 'सितन' बनाए र आफू पनि समावेश भए।
उनीहरू भूमिकाको कुरा टुङ्गो लगाउने गरी आएका रहेछन्। नेपाली र ढुङ्गेल यो भूमिकाले उपन्यासलाई न्याय गर्दैन भनिरहेका थिए। शंकर स्वीकार गरिरहेका थिएनन्। कार्थकलाई त चित्त बुझेकै थियो।
तीन-चार घन्टाको त्यो बसाइमा शंकरले आफ्नो भूमिकाले कार्थकको उपन्यासलाई न्याय नगरेको स्वीकार गरे। र, फेरि भूमिका लेख्ने बाचा गरे।
यो उपन्यास प्रज्ञा प्रतिष्ठाले छापिदिए हुन्थ्यो भन्ने शंकरलाई लागेको रहेछ। त्यसैले, उनले कार्थकलाई पाण्डुलिपि लिएर राजकीय प्रज्ञा प्रतिष्ठान जान अह्राए।
'१५ दिनसम्म पनि छाप्ने टुङ्गो गरेन भने १६ औं दिनमा फिर्ता ल्याइहाल्नु है,' शंकरले भनेका थिए।
प्रज्ञामा दार्जिलिङकै सूर्यविक्रम ज्ञवाली उपकुलपति थिए, दार्जिलिङकै लैनसिंह वाङदेल पनि थिए। तर, अम्बर गुरुङ र शंकर लामिछानेबाट जस्तो सदासयता उनीहरूबाट कार्थकले पाउन सकेनन्।
साँच्चै शंकरले भनेजस्तै १६ औं दिनमा कार्थकले आफ्नो पाण्डुलिपि प्रज्ञाबाट फिर्ता लिएर आए।
पाण्डुलिपि फिर्ता लिएर उनी शंकरलाई भेट्न गए। त्यसबेला होटल शंकरमा अकान्टेन्ट थिए शंकर। उनी होटलबाट निस्किएपछि गफ गर्दैगर्दै दुवै नारायणहिटीसम्म आए।
प्रज्ञाले उपन्यास नछापेको खबर सुनेर शंकर खिन्न भए।
'मैले केही व्यापारीसँग पनि कुरा गरेको छु,' उनले कार्थकलाई भने।
तर, यही नै शंकरसँग उनको अन्तिम भेट भयो।
यसपछि कार्थक आफ्नो राजमार्गको कामका लागि चितवन गए। चितवनबाट फर्किँदा शंकर अस्पतालको आइसियुमा थिए। उनलाई मेनेन्जाइटिस भएको थियो। यही बिरामबाट उनको निधन भयो।
शंकर लामिछानेले भूमिका पुनर्लेखन गर्न पाएनन्। यो उपन्यास छापिएको देख्न पनि पाएनन्।
पछि कार्थकले यो कुरा उत्तम कुँवरलाई सुनाए। कुँवरले तत्कालै कृष्णचन्द्रसिंह प्रधानलाई फोन गरे।
शंकर लामिछानेले भूमिका लेखेको उपन्यास भनेपछि प्रधानले कुनै आनाकानी गरेनन्।
भोलिपल्टै उनलाई बोलाइहाले। पाण्डुलिपि बोकेर कार्थक साझामा गए र प्रधानलाई दिए। साझाको मूल्यांकन समितिले पास गरेपछि उपन्यास साझा प्रकाशनबाट छापियो। २०३४ सालको साझा पुरस्कार समेत यही उपन्यासले हात पार्यो।
दार्जिलिङमा दस वर्षअघि, एक मध्यरातको घटनाले यसरी कार्थकको मष्तिस्कबाट निकास पायो।
.JPG?1480938936799)
अनि समर्पणको कथा…
कार्थकले यो उपन्यास दार्जिलिङका तीन 'वरिष्ठ स्रष्टा' इन्द्रबहादुर राई, अम्बर गुरुङ र गोपाल योञ्जनलाई समर्पण गरे।
शंकरलाई के लाग्यो कुन्नि!
उपन्यासको भूमिकामा उनले लेखिदिए-
'उपन्यासको सम्बन्धमा' भनी यो लेखिरहँदा म पिटरको निर्ममता सम्झिरहेछु।उसले बहुतै निर्लिप्त बनी हामीलाई- दार्जिलिङ र काठमाडौं दुवैलाई- चिरफार गरेर आन्द्राभुँडी स्वात्तै तेर्स्याइदिएको छ।र, उसमाथि यो पुस्तक तीन वरिष्ठ स्रष्टालाई समर्पित गरेर एउटा ठूलो हाँक दिएको छ।
''ए, इन्द्रबहादुर राई!
ए, अम्बर गुरुङ!
ए, गोपाल योञ्जन!
लेऊ Ingredients तिम्रा रचनाका, निर्माणका मूल तत्वहरूका। गाओ, यिनैको गीत, रच यिनैको कथा! तिमीले रचेको त्यो भोलि कहिले आउला?''
शंकर लामिछानेको यो लेखनी इन्द्रबहादुर राईलाई चित्त बुझेन। सुरुमा त उनी रिसाएका थिए।
किताब प्रकाशित भएको एक महिनापछि राईले लेखे-
'समर्पण' मलाई पनि गरिएको रहेछ 'प्रत्येक'। बितेका मान्छे शंकर लामिछानेको भूमिकाले यस समर्पणको उद्देश्य झन्डै बङ्ग्याइदिएको भए पनि समर्पणलाई मैले त्रिमूर्ति जोडिएको एक देवले झैं हेरेँ।
शंकर हुँदा हुन् त राईलाई फेरि जवाफ दिनसक्थे।
पिटर पनि आफूले यी तीन अग्रजलाई हाँक नदिएर श्रद्धास्वरुप समर्पण गरेको बताउँछन्। तर उबेलाको दार्जिलिङलाई यो उपन्यासमा सर्लक्कै ल्याएर उनले आफ्नो क्षमताको परिचय जसरी दिएका छन्, हाँक दिएका होइनन् जस्तो पनि लाग्दैन।
उपन्यासका तीन खण्ड छन्, प्रेल्युड, इन्टरल्युड र इपिल्युड।
३८ पृष्ठको प्रेल्युडमा उनले दार्जिलिङको सिङ्गै इतिहास अटाएका छन्। यसको लेखन शैलीले आख्यान नभएर कुनै निबन्ध जस्तो लाग्छ। तर यो आख्यान हो, कथावाचकले सुनेको दार्जिलिङका दन्त्यकथाजस्ता किंवदन्ती। उनी यो अध्यायबाट दार्जिलिङ लेप्चा जातिको आदिभूमि हो र लेप्चाहरू नै यो दुरुह पहाडका पहिला बासिन्दा हुन् भन्ने पाठकलाई बताउन चाहन्छन्।
कार्थककै भनाइमा यो 'कन्ट्रास्ट' पनि हो। इन्टरल्युडमा बलात्कारको घटना छ, 'त्यस्तो शान्त ठाउँमा यस्तो घटना भयो' भन्ने देखाउन खोजेका हुन् उनले। फेरि पनि खास कथा इन्टरल्युड नै हो। जहाँ पुग्न धैर्यसाथ प्रेल्युड छिचोल्नुपर्ने नै हुन्छ। कतिपय पाठकले भने 'च्यापटर' छिचोल्न झिँझो पनि मानेका हुनसक्छन्।
इन्टरल्युडको संरचनाबारे भूमिकामा शंकर लामिछानेले पनि निकै शब्द खर्चिएका छन्। कार्थकले कथालाई सात बारमा बुनेका छन्, सोमबारदेखि आइतबारसम्म। बलात्कारमा संलग्न केटाहरूका सात नाम संगीतका सात सुरुबाट सुरु हुन्छ, सा, रे, ग, म, प, ध, नि।
यी सबको बीचमा छे प्रिया।
'बलात्कारी' भन्ने बित्तिकै घृणा पैदा हुन्छ हाम्रो मनमा। यो उपन्यास पढ्दा भने बिस्तारै ती सात पात्रप्रति दया र घृणा उस्तैउस्तै हुनजान्छ। दया त अझ त्यतिबेला लाग्छ, जब प्रियाले 'यो घटनालाई म बिर्सिदिन सक्छु' भन्छे।
प्रियालाई उनले निकै बलियो चरित्र बनाएका छन्, जसले आफूलाई बलात्कार गर्नेहरूलाई माफी दिन्छे। अझ कानुनको फन्दाबाट उम्किऊन भन्ने चाहन्छे।
उपन्यासको अर्को पात्र बसन्त क्लबको चेयरमेन हो, जसको चरित्रमा कार्थकले आफूलाई उतारेका छन्।
'क्लबको चेयरम्यान मै त हुँ नि,' उनी भन्छन्, 'अलि फरक स्वभाव निर्माण गरेको छु।'
अनि उपन्यासमा उपस्थित भव्य तर रहस्यमय व्यक्तित्व भएको दावामा पनि अलिअलि आफूलाई देख्छन्, 'मैले हिमाली मानिस भनेको छु। म पनि त्यस्तै त हुँ नि। इलामको लेप्चा हुँ, मावलीतिर लिम्बु। मेरो पहिचान हिमाली मानिस त भयो नि।'
सरकारी जासुस, कवि, प्राध्यापक जस्ता बहुमुखी चरित्रको दावा बनाउन उनले अरु चार जना व्यक्तिको चरित्र मिसाएका रहेछन्। दार्जिलिङका जी छिरिङ, गुमानसिंह चाम्लिङ तथा काठमाडौंका मधुसुदन ठाकुर र देवेन्द्र दली। यी चारै 'ग्रान्ड फिगर' एउटै शरीरमा उभिँदा उपन्यासको दावा बनेको रहेछ।
'उपन्यासको सात बार र सात सुर सृष्टिको सात रङ हो,' कार्थक भन्छन्, 'अनि सिङ्गो उपन्यास चाहिँ 'क्रिया र प्रतिक्रिया' अर्थात अपराध र सजाय।'
उनको उपन्यासमा ती सात पात्र पक्राउ पर्छन्। वास्तविकतामा भने ५० वर्षसम्म ती सातपात्रको पहिचान हुन सकेन। दार्जिलिङ सहर बढ्दै जाँदा त्यो घटना रहस्यमै हराउँदै गयो।
यो उपन्यास उनले आफैं अंग्रेजीमा अनुवाद गरे। 'एभ्री प्लेस: एभ्री पिपुल' नाममा सन् २००८ मा बज्र बुक्सबाट प्रकाशित भयो। यसमा उनले छ वटा च्याप्टर थपेका छन्।
तर, उनले अर्को उपन्यास लेखेनन्। केही फुटकर कथा लेखे। 'पिटरका कथाहरू' शीर्षकमा त्यसको संकलन पनि छापियो।
'अर्को उपन्यास किन लेख्नु भएन?'
'नेपालीमा ?'
'अँ!'
उनले अनुहार बिगारे। चित्त नबुझेको भावभङ्गी बनाएर टाउको हल्लाए। तर, नलेख्नुको कारण भनेनन्।
यतिचाहिँ भने, 'अङ्ग्रेजीमा चाहिँ लेखेको छु।'
उनको नयाँ उपन्यास अहिले प्रकाशनको अन्तिम चरणमा छ, 'काठमान्ड्रुइज'।
चार दशकपछि उनको दोस्रो उपन्यास आउँदै छ। पहिलो उपन्यासमा दार्जिलिङको सम्पूर्णता चित्रण गरेका उनले दोस्रो उपन्यासमा काठमाडौंमा कसरी चित्रण गरेका होलान्?
शुभकामना, 'काठमान्ड्रुइज' का लागि!
तस्बिरहरु: नारायण महर्जन/सेतोपाटी