नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको निधन भएको छ । उनको ८९ बर्षको उमेरमा आज बिहान ५ बजे काठमाण्डौको मोडल अस्पतालमा निधन भएको हो । कलेजोको क्यान्सरबाट पीडित उनी गत असार २३ गतेदेखि उपचारार्थ सो अस्पतालमा भर्ना भएका थिए ।
लामो समयदेखि जन्डिस र ज्वरोले थलिएका कम्युनिष्ट पार्टीका एकमात्र जीवित संस्थापक थिए ।
विसं १९८१ मा पाटनको कुम्भेश्वरमा बुवा चन्द्रबहादुर कर्माचार्य र आमा श्रीकुमारी कर्माचार्यका पुत्रका रुपमा जन्मीएका कर्माचार्यले स्थानीय भैरवगोपाल वैद्यबाट राजनीतिमा लाग्ने प्रेरणा पाएका थिए ।
विसं १९९७ देखि सक्रिय राजनीतिमा लागेका कर्माचार्यले २००४ साल वैशाख १० गते नागरिक आन्दोलनमा भूमिका निर्वाह गरेका थिए ।
भारतमा अङ्ग्रेजहरुको शासन र नेपालमा निरङ्कुश राणा शासनको थिचोमिचोका विरुद्ध सङ्गठितरुपमा लाग्न फरक राजनीतिक शक्ति स्थापना गर्नुपर्छ भन्दै उनले कम्युनिस्ट पार्टी स्थापनाको अभियानमा जुटेका थिए ।
विसं २००६ वैशाख १० गते कलकत्ताको एउटा पुरानो घरमा पुष्पलाल श्रेष्ठको अगुवाईमा कर्माचार्यसहित निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।
नेपाली काँग्रेसका नेता बिपी कोइरालालगायतका तत्कालीन नेता र परिवर्तनकामी शक्ति मिलेर जानुपर्छ भन्ने धारणा राख्ने कर्माचार्यले विभिन्न टुक्रामा विभक्त कम्युनिस्ट पार्टीलाई एकीकृत गराउन आह्वान गर्दै आएका थिए ।
अहिले कर्माचार्यको शवलाई मोडल अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको छ । त्यहाँ ९ बजेदेखि श्रद्धाञ्जलि कार्यक्रम हुने र त्यसपछि खुलामञ्चमा श्रद्धाञ्जलि कार्यक्रम गरी आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने एमाओवादीका नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।
कर्माचार्यको निधनको खबरपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु अस्पतालमा पुगेका थिए ।
नेता पोखरेलले कर्माचार्यको राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जलिका लागि पार्टी अध्यक्ष दाहाल र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबीच कुराकानी भएको पनि बताए ।
प्रकाश दाहालको फेसबुक वालबाट लिइएको तस्विरहरु हेर्नुहोस्