मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम आजै सुरू हुने भएको छ।
मतपत्र छाप्ने जिम्मा पाएको भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रले सबै तयारी पूरा गरेर आयोगको निर्देशन कुरिरहेको जनाएको छ।
केन्द्रका प्रमुख महेशप्रसाद तिमिल्सेनालाई सेतोपाटीसँग कुरा गर्दै आफूहरू बिहानैदेखि आयोग पदाधिकारी कतिबेला आउँछन् भनेर कुरिरहेको बताए।
‘हामीले मेसिनहरू सबै तयार पारेर राखेका छौं, उहाँहरु आउनासाथ आजै मतपत्र छाप्न सुरु गर्छौं,’ तिमिल्सेनाले भने।
निर्वाचन आयोगले साँझ पाँच बजेसम्म आयोग पदाधिकारी मतपत्र छपाइ सुरु गर्न जनक शिक्षा जाने बताएको छ।
सेतोपाटीसँग कुरा गर्दै आयोग प्रवक्ता नवराज ढकालले मतपत्र छपाइ सुरु गर्न प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका पदाधिकारी भक्तपुर जाने बताए।
‘साँझ पाँच बजेसम्म प्रमुख आयुक्तज्यूसहित पदाधिकारीको टोली गएर मतपत्र छपाइ सुरु गर्ने योजना छ,’ ढकालले भने, ‘तयारी पनि त्यही अनुसार भइरहेको छ।’
यसअघि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गर्दा पनि प्रमुख आयुक्त यादव आफैं भक्तपुर पुगेका थिए।
आयोगले यसअघि नै कात्तिक १० गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छाप्ने योजना बनाएको थियो।
यो बीचमा प्रदेश र प्रतिनिधि सभाका लागि अलग अलग पानामा मतपत्र छाप्नुपर्ने माग गर्दै राजपा नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्चमा रिट हालेका थिए। सर्वोच्चले उनको रिटमा अन्तरिम आदेश नदिएर आयोगले संविधानको मर्मअनुसार काम गर्नुपर्ने बताएको थियो।
असोज १ गते सर्वोच्चले गरेको सो निर्णय कार्यान्वयन नभएको र यसले अदालतको मानहानी भएको भन्दै शुक्लले फेरि मुद्दा हालेपछि बुधबार सर्वोच्चले दुई अलग मतपत्र छाप्ने विषयमा भएको प्रगतिबारे तीन दिनभित्र विवरण बुझाउन आयोगलाई आदेश दिएको थियो।
तर निर्वाचन आयोगले आफूहरुले औपचारिक रुपमा सर्वोच्चको पत्र पाइनसकेकाले आजैबाट एउटै पानामा मतपत्र छपाइ सुरु गर्न लागेको जनाएको छ।