बुधबार सकिएको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं सम्मेलनले स्थायी समितिका ७ र पोलिटब्युरोका २५ जना सदस्य नियुक्त गरेको छ।
आगामी पाँच वर्षसम्म चीनको नेतृत्व गर्ने स्थायी समितिका ७ जना सबै पुरुष छन्। चिनियाँ कम्युनिष्ट पार्टी दोस्रो शक्तिशाली अंग पोलिटब्युरोका २५ सदस्यमा भने एक महिला अटाएकी छन्, ती महिला हुन् ६७ वर्षीया सुन चुनलान।
कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य बनेपछि कतिपयले सुनलाई चीनकी शक्तिशाली महिला भएको बताएका छन्।
सन् १९५० चीनको हेबेई प्रान्तमा जन्मिएकी सुनले अान्सान इन्डस्ट्रियल टेक्नोलोजी एकाडेमीबाट मेकानिक्समा स्नाकोत्तर गरेकी छन्।
सुनले २३ वर्षकी हुँदा सन् १९७३ मा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिइन्। मजदुर संगठनबाट राजनीतिमा छिरेकी उनले विभिन्न जिम्मेवारी सम्हालिन्।
उनी सन् २००९ मा फुजियान प्रान्तकी पार्टी प्रमुख बनिन्। चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा प्रान्तीय प्रमुख हुने उनी दोस्रो महिला हुन्। यसअघि नेतृ वान साओफेन सन् १९८५ देखि १९८८ सम्म छियान्सी प्रान्तकी प्रमुख बनेकी थिइन्।
सन् २०१२मा भएको कम्युनिष्ट पार्टीको १८ औं सम्मेलनबाट सुन तियानजिन नगरकी पार्टी सचिव चुनिएकी थिइन्।
२०१४ मा पार्टीको केन्द्रीय समितिमा परेकी उनले युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टकी अध्यक्ष बनेर काम गरिरहेकी थिइन्।