प्रदेश नम्बर पाँचको पश्चिममा पर्ने बर्दिया माओवदी सशस्त्र युद्धका बेला सबभन्दा बढी मानिस बेपत्ता भएको जिल्ला हो। माओवादीले युद्ध छोडेर शान्ति प्रक्रियामा अाएपछि भएका निर्वाचनमा उसले यो जिल्लामा राम्रै भोट पाएको छ। माओवादीको मात्र होइन यो कम्युनिष्ट भोट राम्रो भएको जिल्ला हो।
स्थानीय तह निर्वाचन २०७४ मा बर्दियाका गाउँ तथा नगरका वडामा पार्टीहरुले पाएको मतलाई अाधार मान्दा पनि यो जिल्ला कम्युनिष्ट पार्टीको पल्ला भारी देखिन्छ।
यसअघि चार निर्वाचन क्षेत्र रहेको बर्दियामा अहिले दुई निर्वाचन क्षेत्र कायम गरिएको छ।
क्षेत्र नम्बर १
यो क्षेत्रमा बाँसगढी नगरपालिका बढैयाताल गाउँपालिका,गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकाका केही वडासहित ३८ वटा वडा छन्।
गाउँ भन्दा धेरै नगर भएको यो क्षेत्रमा स्थानीय तह चुनावको नतिजा हेर्दा सबभन्दा बढी मत एमालेलाई आएको छ।
३८ वटा वडाका अध्यक्षलाई आएको मत जोड्दा एमालेको ३१ हजार २ सय ६० पुग्छ भने माओवादी केन्द्रले २४ हजार ४ सय ५२ मत पाएको ५।
यो क्षेत्रमा कांग्रेस मत २३ हजार ५ सय ३० मत ल्याएको छ। कांग्रेसमा मिसिएकाे लोकतान्त्रिक फोरमले यहाँ ४ हजार २ सय ५० मत पाएको थियो भने संघीय समाजवादी फोरम र राप्रपाले यो क्षेत्रमा क्रमश: २हजार २ सय ३७ र १ हजार ३३ मत पाएका छन्।
कांग्रेसले तालमेल गरेका तीनै पार्टीको मत जोड्दा पनि यो एमालेको एक्लैको जति पुग्दैन।
एमाले र माओवादीको मत जोड्ने हो भने यो क्षेत्रमा वाम गठबन्धनको निकै बलियो देखिन्छ।
स्थानीय तहमा माओवादी र एमालेकाे मत जोड्ने हो भने ५५ हजार ७ सय २२ पुग्छ। यो कांग्रेस राप्रपा र मधेवादी दलहरुको भन्दा झण्डै दोब्बर मत हो।
क्षेत्र नम्बर २
यो क्षेत्रमा भने एमालेभन्दा माओवादीको मत राम्रो छ। यी दुबै दलले गठबन्धन नगरेका भए यो क्षेत्रमा कांग्रेस र माओवादीको रोचक प्रतिस्पर्धा हुने थियो।
स्थानीय तह निर्वाचनमा यो क्षेत्रका २८ वडामा माओवादीलाई ३१ हजार १ सय ४६ मत पाएको छ भने कांग्रेसलाई २७ हजार ७ सय २२ मत आएको छ।
वाम गठबन्धनको अर्को दल एमालेलाई यी वडाहरुबाट आएको मत २२ हजार ९ सय ८४ छ।
फोरम लोकतान्त्रिकलाई आएको ३ हजार ५ सय ८६ र राप्रपालाई आएको १ हजार ८ सय १६ र मत जोड्ने हो भने यहाँ कांग्रेसको पक्षमा ३३ हजार १ सय २४ मत आउँछ।
वाम गठबन्धनका दुई पार्टीलाई ५४ हजार मत आएको छ।
यसरी हेर्दा बर्दियामा कांग्रेसभन्दा वाम गठबन्धन दुबै क्षेत्रमा निकै बलियो देखिन्छ।