विवेकशील साझा पार्टीले काठमाडौं–२ मा प्राध्यापक सूर्यराज आचार्यलाई उम्मेदवार बनाएको छ।
पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल पनि उम्मेदवार रहेको यो क्षेत्रमा यसअघि कम्युनिष्ट पृष्ठभूमिका विवेकशील साझाका नेता मुमाराम खनाल चुनाव लड्ने चर्चा थियो।
विवेकशील साझा स्रोतका अनुसार बढी वाम भोट भएकाले सो क्षेत्रमा पार्टीले मुमारामलाई प्रत्यक्षतर्फ उठाउन चाहेको थियो। तर मुमारामले प्रत्यक्षमा लड्ने इच्छा नदेखाएपछि आचार्य उम्मेदवार बनेका हुन्।
अहिले उनी पार्टीको समानुपातिक सांसदको सूचीमा छन्।
खनालले सेतोपाटीसँग कुरा गर्दै आफू कहिल्यै पनि प्रत्यक्ष चुनाव लड्ने मनस्थितिमा नरहेका बताए। ‘केही दिनअघि पनि म चुनाव लड्ने मनस्थितिमा थिइनँ, मिडियामा चर्चा मात्र भएको हो,’ खनालले भने, ‘अहिले समानुपातिकमा छु तर त्यो सूची पनि अन्तिम होइन, हेरौं के हुन्छ।’
माओवादी सशस्त्र युद्ध सुरु हुँदा भूमिगत रहेर सो युद्धमा सक्रिय सहभागी बनेका खनाल पार्टी छोड्नुअघि माओवादीका केन्द्रीय सदस्य थिए।
पार्टीसँग विवाद भएपछि सशस्त्र युद्ध कालमै उनले माओवादी छोडेका थिए। उनका भाइ चन्द्रदेव खनाल माओवादी जनमुक्ति सेनाका डेपुटी कमाण्डर थिए। उनी अहिले पनि माओवादी पार्टीमै छन्।
माओवादी छोडेपछि खनाल स्वतन्त्र वाम विश्लेषकका रुपमा लेख लेख्ने र रेडियो टिभीका बहसमा भाग लिने गर्थे।