डा. गोविन्द केसीले माग गर्दै आएको चिकित्सा शिक्षा विधेयक सरकारले अध्यादेशबाट ल्याउने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित सरकारी वार्ताटोली तथा केसी वार्ताटोलीबीच बुधबार बिहान भएको बैठकले उक्त निर्णय गरेको हो।
कात्तिक ६ गते बस्ने मन्त्रिपरिषदले यो विधेयकसम्बन्धी अध्यादेश जारी गरी स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने बैठकको निर्णय रहेको केसी पक्षका वार्ताकार अभिषेक सिंहले बताए। उनका अनुसार बिहीबारबाट तिहार विदा सुरु हुने भएकाले अर्को मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्ने सहमति भएको हो।
माथेमा कार्यदलको प्रतिवेदन तथा डाक्टर केसीको मागबमोजिम शिक्षामन्त्रीले संशोधन प्रस्तावसहितको चिकित्सा शिक्षा विधेयक संसदमा पेस गरेका थिए। नेकपा एमाले र माओवादी केन्द्रले उक्त विधेयक संसदीय कार्यसूचीमा पर्न दिएनन्।
संसद आफ्नो अवधि पूरा गरी अन्त्य भएपछि सरकारले यो विधेयक अध्यादेशबाट ल्याउने सहमति जनाएको हो। मंसिरमा हुने प्रतिनिधिसभा चुनावपछि नयाँ संसदले यो अध्यादेश पारित गर्नुपर्नेछ।
केसीले राखेका अन्य मागमा पनि सरकार र केसी पक्षका वार्ताटोलीबीच सहमति भएको छ। धेरैजसो सहमति केसीले राखेका अडानकै पक्षमा भएको सिंहले जानकारी दिए।
सहमतिका बुँदा लिएर वार्ताटोली अहिले टिचिङ अस्पताल गएको छ। डा. केसी राजी भए यही सहमतिलाई अन्तिम रूप दिएर अनसन तोडिने सम्भावना छ। बुधबार केसी अनसनको चौधौं दिन हो।