गृहमन्त्री जनार्दन शर्माले मंगलबार दिउँसो २ बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन डाकेका थिए।
जब २ बजे पत्रकार सम्मेलनका लागि पत्रकारहरू जम्मा भए, उनी भने मन्त्रालयबाटै बाहिरिए।
त्यसको ४० मिनेटपछि उनी फर्किए।
एकछिनमै पत्रकारहरू रहेको कोठामा प्रवेश गरे र सूचना दिए ‘हामी सरकार नछाड्ने भयौँ।'
बिहानै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाको भेट भएको थियो। भेट लगत्तै माओवादी केन्द्रका नेताहरूले सरकार छाड्ने सूचना सार्वजनिक गरेका थिए।
गृहमन्त्रीकै सचिवालयबाट सूचना पहिले बाहिरिएको थियो। त्यसपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराको सचिवालयबाट पनि सरकार छाड्ने तयारी भएको र एक दुई घण्टामा निर्णय हुने सूचना आयो।
यहि सूचनाका आधारमा धेरैले अब गृहमन्त्री शर्माले सरकार छाड्नुको कारण बताउँछन् भन्ने अनुमान गरेका थिए। सम्मेलनमा आएका पत्रकारको अपेक्षा पनि उनले सरकार छाड्नुको कारण र आफूले गृहमन्त्रालयमा रहँदा गरेको कामको फेहरिस्त सुनाउँने होलान् भन्ने नै थियो।
यो अपेक्षा विपरित शर्माले पत्रकार सम्मेलनमा १८० डिग्री घुमाएर सुचना दिए, 'हामी सरकार नछाड्ने भयौँ।'
शर्माले सरकार नछाड्ने निर्णयका पछाडीको कारण पनि दिए, 'निर्वाचन सार्ने प्रपञ्च भैरहेको छ। निर्वाचननै सार्ने कुरा आएपछि हामीले सरकार नछाड्ने निर्णय गर्यौँ।'
पत्रकारहरूलाई गृहमन्त्री शर्माले सरकार छाड्न पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई लेख्न लागेको पत्र नै देखाए। तर हस्ताक्षर गर्नु ठिक अघि सूचना आएका कारण ड्राफ्टमा हस्ताक्षर नगरिएको बताए।
उनले निर्वाचन सार्न लागिएको सूचना पार्टी अध्यक्ष प्रचण्डलाई पनि भएको उल्लेख गरे। जसका कारण सरकार छाड्ने निर्णय हुँदै गर्दाको ‘ड्राफ्ट’मा हस्ताक्षर नभएको बताए।
उनले सरकारलाई प्रचण्डले पठाउनका लागि भन्दै लेखिएको पत्रको ड्राफ्टमा भएको ‘मन्त्रीहरूलाई फिर्ता बोलाउने बारे,' भन्ने लाईन पढे।
सम्मेलनमा आएका पत्रकारको अपेक्षा पनि उनले सरकार छाड्नुको कारण र आफूले गृहमन्त्रालयमा रहँदा गरेको कामको फेहरिस्त सुनाउँने होलान् भन्ने नै थियो। यो अपेक्षा विपरित शर्माले पत्रकार सम्मेलनमा १८० डिग्री घुमाएर सुचना दिए, 'हामी सरकार नछाड्ने भयौँ।'
पत्रकारहरूले त्यसपछि प्रश्न गर्न थाले।
‘सूचना कहाँबाट आयो? गृह मन्त्रालयकै सूचना संयन्त्रबाट हो?’
शर्माले सिधा जवाफ दिए – निर्वाचन आयोगबाट।
'तपाईहरूले पहिल्यै नैतिकताका आधारमा छाड्नुपर्ने होइन?' भन्ने प्रश्नमा मन्त्री शर्माको जवाफ थियो, ‘निर्वाचन गराउने हाम्रो नैतिकता हो। निर्वाचनको ऐतिहासिक प्रतिबद्धता तोड्दैनौँ।’
पत्रकारले अर्को प्रश्न गरे ‘प्रतिपक्षीसँग गठबन्धनपछि पनि सरकार छाड्नु भएन। अहिले पनि सरकारमा रहन कतै सार्ने हल्लाको फण्डा गर्नु भएको त होइन?’
'तपाईहरूलाई प्रश्न गर्ने अधिकार छ। तर सत्य तथ्य यहि हो। त्यति हामी सरकारमा बस्न लोभी पनि छैनौँ। मन्त्रीको लोभी छैनौँ,' उनले भने।
विना विभागीय बनाए के गर्नु हुन्छ भन्ने प्रश्नमा भने उनले त्यो प्रधानमन्त्रीको अधिकार भएको बताए।
त्यसपछि शर्माले आफ्नो कुरा टुंगाए ‘गृहमन्त्रीको हैसियतमा सूचना आयो भनिदिएँ। सरकारले जानेको सूचना भनेँ। गृहमन्त्रीको हैसियतमा भएको कुरा भनेँ। ‘ल है त पत्रकार साथीहरू!'
८ मिनेटमा पत्रकार सम्मेलन सकियो। गृहमन्त्री शर्मा पत्रकार सम्मेलन लगत्तै गृह मन्त्रालयबाट बाहिरिए।