संसारकै कान्छा सरकारप्रमुख हुन लागेका अस्ट्रियाका सेबास्टियन कर्ज ‘पानीमा हिँड्न’ सक्दैनन्।
शुभेच्छुक तथा समर्थक भने उनलाई 'वुन्डरवुजी' भनेर बोलाउँछन्। र, यही नामले चिन्छन्। यसको शाब्दिक अर्थले त्यस्तो व्यक्ति बुझाउँछ, जो पानीमा हिँड्ने क्षमता राख्छ।
युरोपेली मुलुकहरूमा शरणार्थी प्रवेशलाई लिएर असन्तोष बढेका बेला कर्जले यसमा अनुदार नीति लिँदै आएका छन्। शरणार्थीको युरोप प्रवेशमार्ग बन्द गर्नुका साथै उनीहरूले राज्यबाट पाउँदै आएका सहुलियत कटौती गरिनुपर्ने उनको धारणा छ।
यही राजनीतिक धार समातेर लोकप्रिय भएका कर्ज पार्टीका वरिष्ठ नेताहरूलाई पछार्दै नेतृत्वमा समेत पुगे। उनको यही धारले पार्टीलाई नयाँ रूपमा ‘ब्रान्डिङ’ गर्यो। र, यसैको नतिजा यसपालि निर्वाचनमा देखिएको छ।
शनिबार भएको आमनिर्वाचनमा ३१ वर्षीय कर्ज अस्ट्रियाका चान्सलर निर्वाचित हुने अहिलेसम्मको मतपरिणामले देखाएको छ। उनी संसारकै सबभन्दा कान्छा सरकारप्रमुख हुनेछन्।
सोमबार बिहान ९० प्रतिशत मतगणना हुँदासम्म कर्जको अस्ट्रियन पिपल्स पार्टीले ३१ प्रतिशतभन्दा बढी मत ल्याएको बिबिसीले जनाएको छ। राष्ट्रपति भ्यान डेर बेलेनले यी युवा नेतालाई ‘स्पष्ट विजेता’ घोषणा गरिसकेका छन्। यो साता अन्त्यसम्म अन्तिम नतिजा आउने र त्यसपछि कर्जको नेतृत्वमा नयाँ सरकार बन्ने अपेक्षा राष्ट्रपतिले व्यक्त गरेका छन्।
पछिल्लो नतिजाअनुसार दोस्रो स्थानका लागि फ्रिडम पार्टी र सोसल डेमोक्रेटिकबीच प्रतिस्पर्धा छ। वर्तमान चान्सलर ५१ वर्षीय क्रिश्चियन कर्न नेतृत्वको सोसलिस्ट पार्टी झन्डै २६.७ प्रतिशत मत ल्याएर तेस्रो स्थानमा खुम्चिएको छ। अनुदार भनी चिनिने अर्को राजनीतिक दल फ्रिडम पार्टीले भने २७ प्रतिशतभन्दा बढी मत ल्याएको छ।
अनुदार राजनीतिक धार समातेका दुई पार्टी पहिलो र दोस्रो हुनुले युरोपेलीहरुको पछिल्लो मनस्थिति झल्काउने विश्लेषकहरु बताउँछन्। खासगरी आप्रवासी मुद्दामा युरोपेलीहरु संकीर्ण हुँदै गएको र उनीहरु विदेशी नागरिकको प्रवेश जतिसक्दो कम गर्न इच्छुक रहेको विश्लेषकको भनाइ छ। अस्ट्रिया लगायत देशमा युरोपेली युनियनभित्रकै अन्य मुलुकबाट आउने नागरिकलाई पनि त्यति रुचाइँदैन। युरोपेली नागरिकले आफूकहाँ पाउँदै आएको सुविधाधरि कटौती होस् भन्ने उनीहरु चाहन्छन्।
यही लोकप्रिय धारका प्रवर्द्धक बनेका छन्, कर्ज।
पिपल्स पार्टी आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी सोसल डेमोक्रेटिकलाई उछिनेर ठूलो दल भएको सन् १९७० पछि दोस्रोपटक हो। यसमा कर्जको लोकप्रियता र उनले समातेको अनुदार राजनीतिक धारलाई नै मुख्य कारण मानिएको छ। उनले पिपल्स पार्टीलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लोकप्रिय बनाएका थिए। देशको सामाजिक जनकल्याण प्रणाली सुदृढ पार्दै आप्रवासीहरूको प्रवेशविरुद्ध कर्जले चालेको अभियानमा दसौं हजार समर्थक होमिएका थिए।
ठूलो दलको हैसियतमा पुगे पनि पिपल्स पार्टीले एक्लै सरकार बनाउन प्रस्ट बहुमत भने ल्याउने स्थिति छैन। उसले आप्रवासी मुद्दामा समान धारणा राख्ने फ्रिडम पार्टीसँगै साझेदारी गरेर सरकार बनाउने आकलन छ।
‘म अस्ट्रियालाई उचाइमा पुर्याउन चाहन्छु, सही समय अहिले नै हो,’ निर्वाचनको प्रारम्भिक मतपरिणाम आउने क्रमसँगै आइतबार कर्जले आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, ‘म शरणार्थीहरूको प्रवेशले जोखिममा परेका अस्ट्रियाली नागरिकलाई सुरक्षा दिन चाहन्छु। उनीहरूबाट खोसिएको रोजगार फिर्ता गर्ने बचन दिन्छु। यो अभियानमा सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद छ।’
‘निर्वाचन परिणामले म अत्यन्तै उत्साहित छु, खुसी छु र अब अस्ट्रियाको हितमा काम गर्न व्यग्र छु,’ उनले भने।
पाँच महिनाको अनवरत राजनीतिक अभियानपछि प्राप्त चुनावी नतिजाप्रति सन्तुष्टि व्यक्त गर्ने क्रममा १९ औं शताब्दी पुरानो भियनाको म्युजिक हलमा सम्बोधन गर्दै कर्जले भने, ‘हामीले असम्भवलाई सम्भव गरेर देखाएका छौं।’
अस्ट्रियाको हित र स्थानीय जनतालाई आप्रवासीहरूको हस्तक्षेपबाट जोगाउन आफू जस्तोसुकै परिस्थितिसँग लड्न तयार रहेको उनले बताए। ‘हामीले यो देशमा नयाँ राजनीतिक शैली स्थापना गर्नुछ,’ उनले भने, ‘हामीले यहाँ नयाँ संस्कृति सिर्जना गर्नुपर्छ।’
यो निर्वाचन परिणामपछि कर्ज सनमरिनोका क्याप्टेन रेजेन्ट इन्रिको काराटोनीलाई पछि पार्दै संसारकै कान्छा सरकारप्रमुख हुनेछन्। सनमरिनोका ३२ वर्षीय काराटोनी अहिलेसम्म संसारकै कान्छा राष्ट्रप्रमुख मानिन्छन्। उत्तर कोरियाका ३४ वर्षीय राष्ट्रपति किम जोङ उन पनि कान्छा राष्ट्रप्रमुखकै श्रेणीमा पर्छन्।
यसअघि गत अप्रिलमा अर्को युरोपेली मुलुक फ्रान्सले इतिहासकै कान्छा राष्ट्रपति पाएको थियो। फ्रान्सेली राष्ट्रपति इम्यानुअल माक्रों ३९ वर्षका छन्। कर्जलाई अहिले ‘अस्ट्रियाका माक्रों’ भनिँदै आएको छ।
सन् १९८६ अगस्ट २७ मा भियनामा जन्मिएका कर्ज २०१३ देखि अस्ट्रियाका विदेशमन्त्री रहँदै आएका छन्। जम्मा २७ वर्षमा त्यो पदमा पुगेका उनी युरोपेकै कान्छा विदेशमन्त्री हुन्।
अस्ट्रियाको मेडलिङमा हुर्केबढेर त्यहीँ बस्दै आएका कर्ज यसै वर्ष मे मा अस्ट्रियन पिपल्स पार्टीका अध्यक्ष भएका थिए। उनले आफ्नो राजनीतिक करिअर पार्टीको युवा संगठनबाट सुरु गरे। उनी २००९ मा पार्टीको युवा संगठन अध्यक्ष भएका थिए।
भियना विश्वविद्यालयमा कानुन पढिरहेका उनी सन् २०११ मा पढाइ छाडेर पूर्णकालीन राजनीतिमा होमिए। त्यसै वर्ष भियना सिटी काउन्सिलका सदस्य भए। लगत्तै आन्तरिक मामिला मन्त्रालयको ‘स्टेट सेक्रेटरी फर इन्टिग्रेसन’ पदमा नियुक्त भए।
सन् २०१३ को आमनिर्वाचनमा उनी सबैभन्दा बढी मत ल्याएर सांसद भएका थिए।
कर्जलाई फ्रान्सका माक्रों र क्यानडाका जस्टिन ट्रड्यूजस्ता युवा नेतासँग तुलना गरिँदै आएको छ। माक्रोंजस्तै उनले पनि राजनीतिक गतिविधि यस्तरी अघि बढाए, जुन उनकै वरिपरि घुम्थ्यो। यसले अघिल्लो निर्वाचनपछि सत्ताबाट बाहिरिनुपरेको पिपल्स पार्टीलाई राजनीतिक लाभ पनि भयो। आप्रवासीविरुद्ध उनको ‘फायरब्रान्ड’ छविकै कारण पिपल्स पार्टी एउटा कार्यकाललगत्तै फेरि सत्तामा फर्किन सफल भएको छ। उनले दिएको नयाँ छविपछि पार्टीलाई ‘द न्यू पिपल्स पार्टी’ भनिन थालेको छ।
सन् २०१५ को शरणार्थी संकटपछि युरोपेली मुलुकहरूमा आप्रवासी मुद्दा प्रमुख रूपमा उठ्दै आएको छ। खासगरी मध्यपूर्व तथा उत्तर अफ्रिकी मुलुकबाट समुद्री मार्ग हुँदै युरोप छिर्ने शरणार्थीलाई लिएर युरोपेलीहरूमा व्यापक असन्तोष छ। अस्ट्रिया पनि यसबाट अछुतो छैन। आफ्नो रोजगार खोस्ने गरी युरोप छिरिरहेका शरणार्थी प्रवेशमा कडाइ गर्न नसकेको भन्दै त्यहाँका सरकारको आलोचना हुँदै आएको छ।
यही असन्तोषबीच कर्जले यस्तो राजनीतिक लाइन समाते, जुन त्यहाँका जनतामाझ तुरुन्तै लोकप्रिय भयो।
उनले आफूलाई आप्रवासी मुद्दामा अनुदार नेताको छवि बनाए। उनले शरणार्थीहरूको युरोप प्रवेश मार्ग बन्द गर्ने घोषणा गरे। शरणार्थीहरूले राज्यबाट पाउँदै आएको सहुलियतमा सीमा लगाउने योजना सार्वजनिक गरे। यति मात्र होइन, पाँच वर्षभन्दा कम समय अस्ट्रियामा बसोबास गर्ने आप्रवासीलाई राज्यबाट कुनै किसिमको सहुलियत नदिने उनको योजना छ।
आप्रवासी मुद्दामा यस्तै अनुदार धारणा राख्ने फ्रिडम पार्टीले भने कर्जले आफ्नो राजनीतिक लाइन ‘चोरेको’ आरोप लगाउँदै आएको छ। फ्रिडम पार्टीका उम्मेदवार हेन्ज–क्रिश्चियन स्ट्राच उनलाई ‘धूर्त’ नेताको संज्ञा दिन्छन्।
चुनावी अभियान क्रममा यी दुई पार्टीबीच आप्रवासी मुद्दामा को बढी अनुदार भनी हानथाप भएको थियो। त्यतिबेला जतिसुकै तिक्तता व्यक्त गरिए पनि पिपल्स पार्टीले एक्लै सरकार बनाउन प्रस्ट बहुमत ल्याउन नसकेको अवस्थामा अब फ्रिडम पार्टीसँगै सत्ता साझेदारी गर्ने आकलन गरिएको छ।
कर्जले भने यसमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन्। उनी अन्य दलसँगको छलफलपछि मात्र बोल्न चाहन्छन्। ‘म अन्तिम परिणामको प्रतीक्षामा छु,’ उनले भने, ‘त्यसपछि मात्र कोसँग साझेदारी गरेर सरकार बनाउने भन्ने तय हुन्छ।’
फ्रिडम पार्टीका ४८ वर्षीय हेन्ज–क्रिश्चियन स्ट्राचले पिपल्स पार्टीसँग सत्ता साझेदारी गर्ने इच्छा देखाइसकेका छन्।
फ्रिडम पार्टीका उम्मेदवार यसअघि राष्ट्रपति निर्वाचनमा ग्रिन्स पार्टीका भान डार बेलेनसँग थोरै मतले पराजित भएका थिए। यो निर्वाचनमा राम्रो नतिजा आउने उसको अपेक्षा थियो।