पाँच वर्षअघि २०६९ जेठ १४ गते पहिलो संविधानसभा विघटन हुँदा संसद भवनमा बैठकधरि बसेको थिएन। नयाँबानेश्वरस्थित संविधानसभा भवनमा आएका सभासद संविधान जारी गर्नु त कता हो कता बैठकै नबस्दा निन्याउरो मुख लाउँदै फर्किएका थिए।
दोस्रो संविधानसभा हुँदै व्यवस्थापिका संसदका सदस्य भने संविधान जारी गर्न सकेकामा खुसी मात्र छैनन्, उनीहरुले एकअर्कालाई शुभकामना दिँदै औपचारिक विदाइसमेत गर्न भ्याए।
दोस्रो संविधानसभा दुई वर्षअिघ संविधान लेखेर व्यवस्थापिका-संसदमा रुपान्तरण भएको हो। संविधानसभा र संसद गरी करिब चार वर्षको कार्यकाल सकेर शनिबार यसको विधिवत् अन्त्य भयो। अन्तिम दिन सांसदहरुले एकअर्कालाई सौहार्द विदाइ गरे।
'पहिलो संविधानसभाका सभासदले असफलताको आँसु लिएर बाहिरिनुपरेको थियो, यसपालि हामी संविधान जारी गर्न सफल भएका छौं,' सांसद कुमार खड्काले भने, 'छाती फुलाएर यो परिसर छाड्न पाउँदा खुसी लागेको छ।'
शनिबार अपराह्न ३ बजे संसद बैठक डाकिए पनि अिधकांश २ बजे नै पुगेका थिए। सभामुख ओनसरी घर्ती मगरसँग सामूहिक तस्बिर खिचाएपछि कतिपय सांसद संसद भवन परिसरमा सेल्फी खिच्न व्यस्त भए। उनीहरु 'फेरि भेट होला कि नहोला' भन्दै कुम जोडेर फोटो खिचिरहेका थिए।
२०७० को दोस्रो संविधानसभा निर्वाचनबाट आएका यी सांसदमध्ये कतिपय मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छैनन्। निर्वाचन क्षेत्र २ सय ४० बाट १ सय ६५ मा खुम्चिएपछि केही सांसद प्रदेश चुनावतर्फ लागेका छन्। साना दलहरुबाट सांसद बनेकालाई फेरि निर्वाचित भइएला कि नभइएला भन्ने चिन्ता छ। तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर संसदमा आउन उनीहरु सहज देखिरहेका छैनन्। समानुपातिकतर्फबाट आएकालाई पनि फेरि सांसद बन्ने आशा थोरै मात्र छ।
यी सबैको भावना प्रतिनिधित्व गर्दै सांसद रुक्मिणी चौधरीले रोष्ट्रमबाटै भनेकी थिइन्, 'हामी फेरि संसदमा आउन सक्छौं कि सक्दैनौं, आउनेहरुलाई शुभकामना।'
अन्तिम दिन नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सांसदहरुबीच हँसीमजाक पनि खुब चल्यो।
एमाले नेता माधवकुमार नेपालले अर्का नेता झलनाथ खनाललाई जिस्क्याउँदै भने, 'उहाँ भावी राष्ट्रपति हो।'। सधैंझैं चिटिक्क पहिरनमा सजिएका अग्ला नेता खनाल खुसी देखिए, तर जवाफ फर्काएनन्।
अधिकांश सांसदलाई आफ्नो पद गुम्नुभन्दा संविधान जारी गर्न सकेकामा हर्ष बढी थियो। सांसद लक्ष्मण राजवंशीले संविधान बनाउने सभासद हुन पाएकोमा गर्व गरे। 'बेइमानलाई माननीयका रुपमा सम्मान गर्न नपरोस्,' उनले भने, 'जनता नहारोस्।'
यी सदस्यले चार वर्ष अवधिमा संविधान लेख्नुका साथै त्यसमा उत्पन्न असन्तुष्टिजन्य परिस्थिति पनि झेले। मधेसकेन्द्रित दलका ४० सांसदले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया नै छाडेका थिए। उनीहरुले संसद भने छाडेनन्।
संसदको अन्तिम दिन संघीय समाजवादी फोरमका सांसद शिवजी यादवले आउँदो संसदले मधेसीहरुको थाती रहेको असन्तुष्टि पूरा गर्ने विश्वास व्यक्त गरे। 'सबै सभासदको हँसिलो अनुहार देख्छु। कुनै दल र विचारको विभेद देखिन्न,' यादवले भने, 'आज तितो कुरा के गर्नु, मिठै कुरा गरौं, दुई नम्बर प्रदेशमा सरकार बनेपछि त्यो अर्कै हुने शंका मेट्नुपर्छ।'
राजपा संसदीय दलका नेता महिन्द्रराय यादवले भने संसदको अन्तिम बैठकमा पनि आफ्ना असन्तुष्टि प्रस्टै राखे। उनले संशोधनविना संविधान कार्यान्वयनमा चुनौती रहेको बताए। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्र बचाउने विषयमा भने आफू र आफ्नो पार्टीको सम्मान रहेको उनको भनाइ थियो।
संविधान संशोधन प्रस्तावमा ६४ प्रतिशत सांसदले असन्तुष्टि रहेको स्वीकार गरेकामा यादवले खुसी व्यक्त गरे। 'मधेसीको अधिकार कटौती गरेको संविधान कार्यान्वयन हुन सक्दैन,' उनले भने।
प्रमुख दलका नेताले पनि संसदको कार्यकाल सुखद भएको टिप्पणी गरे।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि नयाँ निर्वाचन हुन लागेकाले संसदको अन्तिम दिन सकारात्मक लागेको बताए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदको अन्तिम बैठकमा संविधानसभाबाट संविधान जारी भएबाट सफलताको अनुभव भएको उल्लेख गरे। संसदमा आफ्नो पार्टीले गरेको तीतामिठा संघर्ष उनले सम्झना गरे।
प्रधानमन्त्री शेरबहादुर देउवाले भने संविधान जारी गर्न सकेकोमा सांसदहरुलाई धन्यवाद दिए।
संविधानसभा र संसदका रुपमा ६ सय ६६ दिन चलेको संसदले ५६ वटा विधेयक पारित गरेको छ। यसले चार प्रधानमन्त्री बनायो। सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा संसदबाट प्रधानमन्त्री चुनिए। दुई सभामुख बने भने राष्ट्रपति र उपराष्ट्रपतिको चयन भयो।
सभामुख ओनसरी घर्ती मगरले सांसदहरुलाई आवास व्यवस्था गर्न नसकेको र भाडाको भवनबाट संसद चलाउनुपरेको पीडा व्यक्त गरिन्। 'भाडाका भवनमा केही जटिलता भए,' उनले भनिन्, 'आवास गृह र आफ्नै भवन बनाउने कोशिस सफल हुन सकेन।'
सभामुखले शनिबार रात्रिभोज खुवाएर सांसदहरुलाई विदाइ गरेकी छन्। उनीहरुले एक महिनाको तलब बराबर सवारी खर्च पाउनेछन्।
संविधान बनाएका सांसदहरुले विदाइ बेला दिने भनिएको 'लोगो' भने पाएनन्। सभामुखले लोगो पछि दिने बाचा गरेकी छन्।