विमलेन्द्र निधिको चुनाव क्षेत्रमा काँग्रेस बलियो

विमलेन्द्र निधिको चुनाव क्षेत्रमा काँग्रेस बलियो

फाइल तस्बिर


नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि २०७० सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट दोस्रो पटक निर्वाचित भए।

धनुषाबाट निधि मात्रै होइन उनीसँगै पाँच जना काँग्रेसका तर्फबाट सांसद निर्वाचित भएका थिए।

२०६४ सालमा सम्पन्न पहिलो संविधान सभामा देशैभरी नतिजा खस्किएको बेलामा समेत काँग्रेसले धनुषामा तीन क्षेत्र जितेको थियो। यसले पनि देखाउँछ धनुषामा नेपाली काँग्रेसको राम्रो पकड छ।

पहिलो र दोस्रो संविधानसभामा सात निर्वाचन क्षेत्र भएको धनुषामा अहिले ४ वटा मात्रै क्षेत्र छन्। यसपटक पनि निधि धनुषा क्षेत्र नम्बर ३ बाटै उठ्ने पक्का छ। यो क्षेत्रबाट निधि धनुषा ३ बाट सर्वसम्मत रुपमा सिफारिस भएका छन्।

निधिले निर्वाचन लड्ने यो क्षेत्रमा तेश्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेसले बलियो देखिएको छ।

निधि निर्वाचन लड्ने धनुषा क्षेत्र नम्बर ३ मा जनकपुर उपमहनगरपालिकाका १८ वटा वडा (१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १५, १६, २०, २३, २४ र २५) पर्छन्।

त्यस्तै, विदेह नगरपालिका वडा नं १, धनौजी गाउँपालिका, नगराइन नगरपालिका र मुखियापट्टी मुसहरमिया गाउँपालिका पर्छन्।

जनकपुर उपमहानगरपालिकाका १८ वडामा निधिको प्रतिस्पर्धा राजपाका उम्मेदवारसँग हुने स्थानीय तहको नतिजाले देखाउँछ। उपमहानगरका १८ वटा वडामा काँग्रेसभन्दा राजपाको मत धेरै छ।

१८ वटा वडामा राजपाका उम्मेदवारले जम्मा १० हजार ४ सय २४ मत पाएका छन् भने नेपाली काँग्रेसले ८ हजार ९ सय ६५ मत पाएको छ। १८ वटा वडा मध्ये राजपाले १० र कांग्रेसले ७ वडामा विजय हासिल गरेको छ। एउटा वडामा स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका छन्। जनकपुरका वडाहरूमा मुख्य प्रतिस्पर्धी नै काँग्रेस र राजपा हुन्।

राजपा र काँग्रेसको तुलनामा जनकपुर उपमहानागरपालिकाका यी वडाहरूमा अन्य दलको मत निकै कम छ। एमालेको जम्मा २ हजार ७ सय ५ मत रहेको छ भने संघीय समाजवादी फोरमको १ हजार २९ मत छ।

 यो पनि पढ्नुहोस्ः

रवीन्द्रले आँखा लगाएको प्रकाशमानको निर्वाचन क्षेत्र

 

जनकपुर उपमहानगर बाहेकका अन्य दुई नगरपालिका र दुई गाउँपालिका गरेर जम्मा २१ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्छन्।

जनकपुर महानगर बाहिर भने काँग्रेसको प्रतिस्पर्धा एमाले सँग हुने स्थानीय निकाय ती वडाहरूमा भने काँग्रेसको मुख्य प्रतिस्पर्धी एमालेसँग छ।

काँग्रेसले यी २१ वटा वडामध्ये ८ वटामा जितेको छ भने एमालेले १० वटा वडामा जितेको छ। १ वटा वडामा  स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने राजपा र फोरम १–१ वडामा विजयी भएका छन् ।

उपमहानगर बाहेकका वडामा खसेको सदर मत २८ हजार ९ सय ६९ मध्ये नेपाली काँग्रेसले ९ हजार ६ सय १ मत पाएको छ। एमालेले ९ हजार ७ सय ३४ मत पाएको छ।

राजपाको यी वडाहरूमा जम्मा २ हजार ८ सय ७८ मत छ भने संघीय समाजवादी फोरमको २ हजार ६ सय ४६ मत छ।

यो क्षेत्रमा रहेका सबै स्थानीय तहका वडाहरूमा खसेको मतमध्ये ५९ हजार ४ सय ३३ सदर भएको थियो। यो मत मध्ये नेपाली काँग्रेसले १८ हजार ५ सय ६६ मत पाएको छ।

दोस्रोमा रहेको राजपाले १३ हजार ३ सय ३ मत पाएको छ। त्यस्तै तेस्रोमा रहेको एमालेले १२ हजार ४ सय ३९ मत पाएको छ।

राजपासँग चुनावी तालमेल गर्ने निर्णय गरेको संघीय समाजवादी फोरमको यो क्षेत्रमा ३ हजार ६ सय ७५ मत रहेको छ। यी दुवैको मत जोड्दा पनि यो मत काँग्रेसको भन्दा १ हजार ५ सय ८८ मत कम हुन्छ।

अर्कोतिर एमालेले गठवन्धन गर्ने निर्णय गरेको माओवादी केन्द्रको यो निर्वाचन क्षेत्रमा जम्मा २ हजार १ सय ६८ मत मात्र छ। एमाले र माओवादी दुई पार्टी मत जोड्दा पनि यो क्षेत्रमा उनीहरूको मत १४ हजार ५ सय ८० मात्र हुन्छ।

अर्थात काँग्रेस एक्लैको भन्दा यो मत झण्डै ४ हजार कम हो।

यसरी स्थानीय चुनावको परीणाम हेर्दा निधिको क्षेत्रमा काँग्रेस एक्लै राजपा र फोरम तथा एमाले र माओवादी संयुक्त रुपमा भन्दा बलियो देखिन्छ।

निधिलाई यहाँबाट हराउन राजपा र एमालेको गठवन्धन आवश्यक पर्छ, जुन अहिलेको राजनितिक परिस्थितिमा सम्भव देखिन्न।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.