नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले दिएको राजीनामा स्वीकृत भएको छ। सिलवालले गत भदौ २७ गते प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दै प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए।
त्यसपछि प्रहरी प्रधान कार्यालयले असोज १ गते उनको राजीनामा गृह मन्त्रालयमा बुझाएको थियो। गृहमन्त्री जर्नादन शर्माले गत शुक्रबार उनको राजीनामा स्वीकृत गरेको गृह मन्त्रालय स्रोतले जानकारी दियो।
गत शुक्रबार दिउँसो नै सिलवाल एमाले प्रवेश गरेका थिए। राजीनामा नै स्वीकृत नभई एमाले प्रवेश गरेको भन्दै उनको आलोचना भएको थियो।
उनी एमाले प्रवेश गर्नुअघि नै राजीनामा स्वीकृत भयो वा पछि भयो यकिन छैन।
सरकारले वरीयताक्रम मिचेर जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेपछि उनी अदालत पुगेका थिए। अदालतले चन्दलाई आइजिपी बनाउने सरकारी निर्णय खारेज गरेपछि प्रकाश अर्याल आइजिपी नियुक्त भएका थिए।
अर्याललाई आइजिपी बनाएको भन्दै सिलवाल फेरि अदालत गएका थिए। उनले २०७३ चैत ३० गते अदालतमा रिट दायर गरेका थिए।
उक्त रिट प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा न्यायधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी समेत गरी सात न्यायाधीश सम्मिलित बृहत पूर्ण इजलासले खारेज गरिदिएको थियो।
डिआइजी सिलवाललाई सरकारले एआइजी बढुवाबाट समेत वञ्चित गरेको थियो। चार महिनाअघि सिलवाललाई कागत किर्ते गरेको आरोपमा प्रहरीले बयान पनि लिएको थियो।