महेश आचार्यको प्रश्न- शान्ति सम्झौताको वारेस को?


नेपाली कांग्रेसका नेता महेश आचार्यले माओवादी एमालेमा मिसिएपछि शान्ति सम्झौताको एउटा पक्षको वारेस हराएको दावी गरेका छन्।

कांग्रेस केन्द्रीय कार्य समिति बैठक बसिरहेको बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै आचार्यले एमाले र माओवादीबीच अतिवादी गठबन्धन निर्माण भएको बताए।

‘माओवादी शान्ति प्रक्रियाको एउटा पक्ष भएर आएको पार्टी हो। आज माओवादी द्वन्द्व बेलाका मुद्दा सकिएको छैन। सत्य निरुपण तथा मेलमिलापको मुद्दा जिवितै छ। बेपत्ता परिवारको मुद्दा जिवित छ। त्यसलाइ सम्बोधन गर्न आयोग बनेको छ। अब माओवादी एमालेमा गएर मिसिएपछि शान्ति सम्झौता गरेको पक्षको वारेस को हुने?’

आचार्यले एमाले-माओवादी गठबन्धन र एकताले असहज परिस्थिति निर्माण भएको दावी गरे।

‘माओवादी शान्ति सम्झौताको पक्ष हो। अब त्यसको वारेस खड्ग ओली बन्ने अवस्था आउनु अस्वभाविक हो’, उनले भने।

आचार्यले अब कांग्रेसले लोकतन्त्रवादी साना राजनीतिक दलहरुसँग मिलेर अगाडि बढ्नुपर्ने बताए। साथै कांग्रेसको काँधमा लोकतन्त्रिक प्रत्याभूत गरेको संविधानको रक्षा गर्ने जिम्मेवारी आएको बताए।

आचार्यले उग्र विचारमा जनतालाई संगठित गर्ने एमाले र माओवादी गलत भएको जिकिर गरे।

‘यो परिस्थितिमा संविधानको परिधिभित्र सबैलाई एकताबद्ध गर्ने जिम्मेवारी कांग्रेसको हो’, आचार्यले भने, ‘यसैलाई दृष्टिगत गरेर चुनाव समयमा सम्पन्न गर्ने तयारी हाम्रो पार्टीको छ।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.