नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार साँझ ५ बजे पत्रकार सम्मेलन गरी पार्टी एकीकरण र चुनावी तालमेल गर्ने घोषणा गर्दैछन्।
ललितपुरको कुमारीपाटीस्थित शारदा अधिकारीको निजी निवासमा भर्खरै सम्पन्न एमाले र माओवादी केन्द्रका नेताहरूको बैठकले उक्त निर्णय गरेको हो। पत्रकार सम्मेलन राष्ट्रिय सभा गृहमा हुँदैछ। माओवादी निकट निर्माण व्यवसायी अधिकारी शैलुङ पावर कम्पनी र कन्स्ट्रक्सन कम्पनी चलाउँछन्।
बैठक सकिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली ‘भरे ५ बजे सभा गृहमा आउनुस्’ भन्दै बाहिरिएका थिए। उनले बैठकमा भएका छलफलबारे केही जानकारी दिएनन्।
माओवादी नेता नाराणकाजी श्रेष्ठले भने पार्टी एकता संयोजन समिति गठन र चुनावी तालमेलबारे जानकारी दिन पत्रकार सम्मेलन डाकिएको बताए।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच करिब एक सातादेखि धेरैपटक एक्लाएक्लै भएका छलफलपछि प्रदेश तथा संघीय चुनाव मिलेर लड्ने र अन्तत: पार्टी एकता गर्ने सहमति भएको हो।
स्रोतका अनुसार आसन्न दुवै चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत ठाउँबाट उम्मदेवारी दिएर गठवन्धन गर्ने सहमति भएको छ। दुवै पार्टीका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्ने छन्। चुनावपछि दुवै पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति पनि जुटेको छ। कुन पार्टीले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने टुंगो लगाउन बाँकी छ।
संविधान जारी भएलगत्तै ओलीको नेतृत्वमा यी दुवै पार्टी सम्मिलित सरकार बन्ने क्रममै कम्युनिस्ट पार्टीहरु एक भएर जानुपर्छ भन्नेबारे छलफल भएको थियो। संविधान जारी हुँदा र नाकाबन्दीको समय राष्ट्रियताको मुद्दामा दुवै पार्टी एकैठाउँ उभिएकाले चुनावी गठवन्धनदेखि पार्टी एकतासम्म गरेर जानुपर्ने कुरा त्यही बेला उठेको थियो। भारतीय ‘थिचोमिचो’ ले यी दुई वामशक्तिलाई एकअर्काको नजिक बनाएको थियो।
नेपालमा कम्युनिस्ट पार्टीहरू विभाजित रहेकाले ‘लेफ्ट भोट’ को बहुमत हुँदा हुँदै धेरैजसो समय नेपाली कांग्रेसले नै सत्ताको नेतृत्व गरेको अनुभूतिले पनि एमाले र माओवादीलाई एकताको खाँचो बोध गराएको नेताहरू बताउँछन्।
बीचमा दुई दलबीच सम्बन्ध चिसो भए पनि माओवादी र एमालेकै केही नेताले दुवै पार्टीलाई एकठाउँ ल्याउने प्रयत्न छाडेनन्। यसमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र एमालेबाट वामदेव गौतमले मुख्य भूमिका खेले। उनीहरूकै सक्रियताका कारण आपसी सम्बन्ध चिस्सिएका दुई पार्टीबीच स्थानीय चुनावअघि नै पनि शीर्षतहमा भेटघाट र छलफल चलिरहेको थियो।
यो चिस्सिएको सम्बन्धमा त्यतिखेर ‘टर्निङ प्वाइन्ट’ आयो, जब पहिलो चरणको स्थानीय चुनावमा माओवादी तेस्रो बलियो शक्तिका रूपमा कायम रह्यो। यसले एमालेलाई माओवादी ‘नसकिने रहेछ’ भन्ने आभाष गराएको माओवादी नेताहरू बताउँछन्।
त्यसपछि नेताहरुको भेट र छलफल थप बाक्लो बन्यो। त्यस क्रममा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव, ईश्वर पोखरेल, माओवादीका पुष्पकमल दाहाल, नारायणकाजी र रामबहादुर थापाबीच भेट भयो। उनीहरूले पार्टी एकीकरण र चुनावी तालमेल दुवै मुद्दामा छलफल अघि बढाए। छलफललाई तीव्रता दिन अोलीले आफ्ना विश्वासपात्र विष्णु पौडेललाई अराए। माओवादी तर्फबाट जनार्दन शर्मा पनि थपिए।