नेपाली राजनीतिमा नाटकीय रुपले एउटा घटना विकास भएको छ, जसले नेपाली राजनीतिलाई लामो समय तरंगित गर्नेछ— प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ माओवादी केन्द्र आगामी प्रदेश तथा संघीय चुनाव मिलेर लड्ने र अन्तत: पार्टी एकता गर्ने सहमतिमा पुगेका छन्।
आसन्न दुवै चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत ठाउँबाट उम्मदेवारी दिएर गठवन्धन गर्ने सहमति भएको छ। दुवै पार्टीका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्ने छन्। चुनावपछि दुवै पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति पनि जुटेको छ। कुन पार्टीले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भन्ने टुंगो छलफलपछि लगाउने सहमति भएको छ।
सेतोपाटीसँगको कुराकानीमा दुवै पार्टीका नेताले माथिका सहमतिको पुष्टि गरेका छन्। सहमतिको मस्याैदा पनि तयार भैसकेको र सम्भवत: मंगलबार नै यसको घोषणा हुने नेताहरुले बताए।
चुनावी तालमेल र पार्टी एकीकरणमा मुख्य चुनौती हुने नेतृत्वको विषय पनि दुवै पार्टीले टुंग्याएका छन्।
सरकार बनाउने अवसर आएको खण्डमा दुवै पार्टीका नेताले अालोपालो गर्ने सहमति भएको र यो विषय सहमतिपत्रमै लेखिएको एक एमाले नेताले सेतोपाटीलाई बताए। माअोवादी केन्द्रका नेताहरुले भने सरकार र एकीकृत पार्टीको नेतृत्व नै आलोपालो गर्ने सहमति भएको र त्यही भाषा सहमतिको मस्याैदामा परेको दाबी गरे।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच करिब एक सातादेखि धेरैपटक एक्लाएक्लै भएका छलफलपछि यी विषयमा सहमति जुटेको हो।
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकीकरणबारे मंगलबार बैठक हुँदैछ। उक्त बैठकपछि मंगलबार नै सहमति सार्वजनिक हुने सम्भावना छ।
एमाले सचिव प्रदीप ज्ञवालीले चुनावी तालमेललाई केन्द्रमा राखेर छलफल जारी रहेको बताए। ‘अहिलेलाई चुनावी तालमेलमा केन्द्रित रहेर छलफल भइरहेको छ,’ ज्ञवालीले साेमबार राति सेतोपाटीसँग भने, ‘यो वामपन्थी गठवन्धनका आधारमा चुनाव सम्पन्न भए भोलि स्वाभाविक रूपमा पार्टीलाई एकीकरणतर्फ लैजान बल पुर्याउँछ भन्ने हाम्रो विश्वास छ।’
माओवादी केन्द्र तर्फबाट दुवै पार्टीबीच सहमति बनाउन मुख्य भूमिका खेलिरहेका नारायणकाजी श्रेष्ठले ‘कम्युनिस्ट पार्टीहरूबीच चुनावी तालमेल र ध्रुवीकरण तथा एकीकरणबारे गम्भीर छलफल भइरहेको’ जानकारी दिए।
‘छलफल सकारात्मक रूपमा अघि बढेको छ,’ उनले भने, ‘यसलाई टुंगोमा पुर्याउन पार्टीले अध्यक्षज्यू (पुष्पकमल दाहाल), म र रामबहादुर थापाजीको वार्ता टोली गठन गरेको छ। भोलि नै यसबारे हामी एमाले नेतृत्वसँग थप छलफल गर्दैछौं।’
एमाले र माओवादीबीच सहमति अघि बढेपछि पनि तत्काल यो सरकार नफेर्ने सहमति भएको छ। यो 'चुनावी सरकार' भएकाले यसैलाई चुनावसम्म कायम राख्ने सहमति भएको दुवै पार्टीले बताए। चुनाव घोषणा भैसकेको र चाँडै सांसदहरुको पदावधि सकिने हुनाले पनि सरकार परिवर्तन गर्न समय पुग्दैन।
दुई पार्टीबीच चुनावी तालमेल र एकीकरणको कुरा कसरी सम्भव भयो ?
संविधान जारी भएलगत्तै केपी अोलीको नेतृत्वमा यी दुवै पार्टी सम्मिलित सरकार बन्ने क्रममै कम्युनिस्ट पार्टीहरु एक भएर जानुपर्छ भन्नेबारे छलफल भएको थियो। संविधान जारी हुँदा र नाकाबन्दीको समय राष्ट्रियताको मुद्दामा दुवै पार्टी एकै ठाउँमा उभिएकाले पनि चुनावी गठवन्धनदेखि पार्टी एकतासम्म गरेर जानुपर्ने कुरा त्यही बेला उठेको थियो। भारतीय ‘थिचोमिचो’ ले यी दुई वामशक्तिलाई एकअर्काको नजिक बनाएको थियो।
नेपालमा कम्युनिस्ट पार्टीहरू विभाजित रहेकाले 'लेफ्ट भोट’को बहुमत हुँदा हुँदै धेरैजसो समय नेपाली कांग्रेसले नै सत्ताको नेतृत्व गरेको अनुभूतिले पनि एमाले र माओवादीलाई एकताको खाँचो बोध गराएको नेताहरू बताउँछन्।
यिनै अनुभूतिसँगै चुनावी तालमेलदेखि पार्टी एकतासमेत गरेर अघि बढ्न लागेका यी दुई दलबीच त्यतिखेर चिसोपना आयो, जब एमालेसँगको गठवन्धन तोडेर माओवादी अध्यक्ष दाहालले कांग्रेस अध्यक्ष शेरबहादुर देउवासँग हात मिलाए।
एमाले नेतृत्वको सरकारमै रहेका बेला दाहालले देउवासँग मिलेर कांग्रेस-माओवादी गठबन्धन सरकार बनाउने वक्तव्य दिए।
वामदेव गौतम, झलनाथ खनाल लगायत नेताले एमाले-माअोवादी गठबन्धनकै प्रधानमन्त्री बनाउने आस्वासन दिएपछि उनी माओवादीले अोली सरकारमै बस्ने निर्णय गरेको थियो।
अोलीले 'भद्र सहमति’ तोड्दै दाहाललाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेपछि उनी फेरी कांग्रेससँग नजिकिएका थिए। अन्तत: अोली सरकार छाडेर दाहाल कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने।
दाहालकै प्रधानमन्त्री कालमा पहिलो चरणको स्थानीय निर्वाचन हुँदासम्म एमाले र माओवादीबीच तिक्तता र मनमुटाव बढेकै स्थिति कायम थियो।
माओवादी र एमालेकै केही नेताले भने यी दुवै पार्टीलाई एकठाउँ ल्याउने प्रयत्न छाडेनन्। यसमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र एमालेबाट वामदेव गौतमले मुख्य भूमिका खेले। उनीहरूकै सक्रियताका कारण आपसी सम्बन्ध चिस्सिएका दुई पार्टीबीच स्थानीय चुनावअघि नै पनि शीर्षतहमा भेटघाट र छलफल चलिरहेको थियो।
त्यसैमध्ये ओली र दाहालसमेत सहभागी एक छलफलमा दुवै पार्टीका नेताहरुले ‘वामशक्ति मिलेर जानुपर्छ’ भनी जोड दिएका थिए। विगतमा जसको गल्ती भए पनि मिलेर जानुको विकल्प छैन भनेर उनीहरूले बैठकमै सुझाएका थिए। बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक एमाले नेताले भने, ‘म त मिल्न तयारै छु, उहाँ (दाहाल) नै कहाँ कहाँ तमसुक गरेर आउनुहुन्छ अनि कुरा बिग्रन्छ।’
यसको जवाफमा दाहालले ओलीतर्फ लक्ष्य गर्दै भनेका थिए, ‘तपाईंले विगतमा कति राष्ट्रवादी काम गर्नुभएको छ र, महाकली बेच्नेदेखि सबैमा तपाईंको पनि भूमिका थियो।’
त्यो बैठक बिना निर्णय टुंगियो। त्यसपछि पनि सम्पर्क र भेटघाट टुंगिएन।
यो चिस्सिएको सम्बन्धमा त्यतिखेर ‘टर्निङ प्वाइन्ट’ आयो, जब पहिलो चरणको स्थानीय चुनावमा माओवादी तेस्रो बलियो शक्तिका रूपमा कायम रह्यो। यसले एमालेलाई माओवादी 'नसकिने रहेछ' भन्ने आभाष गराएको माओवादी नेताहरू बताउँछन्।
त्यसपछि नेताहरुको भेट र छलफल थप बाक्लो बन्यो। त्यस क्रममा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव, ईश्वर पोखरेल, माओवादीका पुष्पकमल दाहाल, नारायणकाजी र रामबहादुर थापाबीच भेट भयो। उनीहरूले पार्टी एकीकरण र चुनावी तालमेल दुवै मुद्दामा छलफल अघि बढाए।
‘एमालेसँग गठवन्धन तोडेर कांग्रेससँग जान सार्वजनिक वक्तव्य जारी गरेका प्रचण्डलाई फेरि एमाले गठवन्धनमै राख्न वामदेवजीले त्यो बेला ठूलो भूमिका खेल्नुभएको थियो,’ वामदेवनिकट एक एमाले नेताले भने, ‘ओलीले त्यो भद्र सहमति तोडेपछि प्रचण्ड फेरि फर्केर कांग्रेसकहाँ पुगेका हुन्।’
त्यसपछि पनि वामदेवले एमाले र माओवादीलाई एकीकृत गराउने अभियान त्यागेनन्। उनले दाहाललाई समेत ‘एमाले र माओवादी मिलेरै जानुपर्छ’ भनेर लगातार भनिरहे।
‘जब कांग्रेसले भरतपुरमा प्रचण्डकी छोरी रेणु दाहाललाई मेयरमा ठाउँ छाडिदियो र कांग्रेस माओवादी गठवन्धनलाई दीर्घकालसम्म लैजाने रणनीतिमा अघि बढ्यो, यसले एमालेमा हलचल ल्याइदियो,’ ती नेताले भने, ‘यसले एमालेभित्र माओवादी सम्बन्ध पुनर्विचार गर्नुपर्ने र माओवादीसँग नमिले एमाले लामो समय सरकार बाहिर बस्नुपर्ने निष्कर्षमा नेताहरू पुगे।’
माओवादी अध्यक्ष दाहालले चितवनमा आयोजित चुनावी सभामै कांग्रेस र माओवादीबीचको कार्यगत एकता प्रदेश र संघीय चुनावसम्मै जाने घोषणा गरेका थिए। उक्त चुनावी सभामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि थिए।
माओवादी केन्द्रका एक वरिष्ठ नेता ‘स्थानीय तहको चुनावी परिणामसँगै एमालेमा माओवादीसँग मिलेर जानुपर्ने व्यग्रता बढेको’ बताउँछन्।
उनका अनुसार विगतमा कांग्रेससँग मिलेर जाने सार्वजनिक घोषणापछि पनि त्यो सहमति लत्याएर माओवादी एमालेसँगै बसेको थियो। त्यसपछि भने एमालेको दम्भले सम्बन्ध फाटेको उनले बताए।
‘सुरुमा उहाँहरूलाई स्थानीय चुनावमा माओवादी सकिन्छ भन्ने भ्रम थियो,’ ती माओवादी नेताले भने, ‘हामी तेस्रो र निर्णायक शक्तिका रूपमा स्थापित भएपछि उहाँहरू सहकार्य गर्न व्यग्र देखिनुभयो। हामी त सुरुदेखि नै वाम एकताका पक्षमै थिँदै थियौं।’
त्यसपछि छलफललाई तीव्रता दिन केपी अोलीले आफ्ना विश्वासपात्र विष्णु पौडेल अराए। माओवादी तर्फबाट जनार्दन शर्मा पनि थपिए।
दुई नम्बर प्रदेशमा भएको तेस्रो चरणको स्थानीय चुनावपछि एमाले ‘माओवादीसँग नमिली नहुने निष्कर्षमा एमाले पुगेको’ एक माओवादी नेता बताउँछन्।
उनका अनुसार तेस्रो चरणको चुनावी परिणाम आउने क्रमसँगै एमाले र माओवादी नेताहरूबीच छलफल बाक्लियो। दुवै दलका शीर्षनेताबीच विभिन्न चरणका छलफल भए। ओली र दाहालबीच नै करिब आधा दर्जनभन्दा पटक कुराकानी भयो।
‘अहिलेको सैद्धान्तिक सहमति त्यसैको परिणाम हो,’ उनले भने, ‘पछिल्लो एक साताको सघन छलफलपछि नै एमाले र माओवादी ४० र ६० प्रतिशतमा तालमेल गरी प्रदेश र संघीय चुनाव लड्ने र चुनावपछि पार्टी एकीकरण गरेर जाने निष्कर्षमा पुगेका हुन्।’