नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि गाउँ र नगरको विकास तथा समृद्धिको ढोका खुलेको बताएका छन्।
‘जननिर्वाचित प्रतिनिधिहरुले संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकारको सही ढंगले प्रयोग गर्न सकेमा मुलुकको आर्थिक विकास र समृद्धि सुनिश्चित छ,’ दसैंका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले भने।
उनले संविधानको प्रभावकारी कार्यान्वयनतर्फ मुलुक अघि बढेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो साबित भएको बताए। स्थानीय निर्वाचनले आधारभूत तहमा लोकतन्त्र र गणतन्त्र संस्थागत गरेको उनको भनाइ छ। प्राकृतिक र सांस्कृतिक विविधताको धनी मुलुक नेपालमा विकासको निम्ति एकता, राष्ट्रिय स्वाभिमान र दूरदर्शी नेतृत्वको मात्र खाँचो रहेको उनले उल्लेख गरे।
आगामी मंसिर १० र २१ गते प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न भएपछि राजनीतिक संघर्ष मूलतः समाप्त हुने र आर्थिक विकासको चरणमा प्रवेश गर्ने उनले बताएका छन्।