वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चिकित्सा शिक्षा विधेयक तोडमरोड नगरी पारित गर्न असोज १९ गतेसम्मको अल्टिमेटम दिएका छन्।
माथेमा आयोगको प्रतिवेदन तथा आफूले दिएका सुझावसमेत समेटेर विधेयक पारित गरियोस् भन्ने डा. केसीको माग छ।
संसदमा विचाराधीन उक्त विधेयक तोडमरोड गरेर जनता र विद्यार्थीको हित प्रतिकूल पारित गर्ने प्रयास भएपछि डा. केसी यही असोज ९ गते १२ औं चरणको अनसनमा बसेका थिए।
अनसन सुरु भएको केही घन्टामै चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद स्थगित भएको र दसैं पर्वसमेत नजिकिएकाले उनले अनसन स्थगनको घोषणा गरेका थिए।
डा. केसीले अल्टिमेटम दिएको अवधि नजिकिएकाले शुक्रबार प्रधानमन्त्री देउवालाई भेटेका हुन्। देउवाले असोज १९ गते फेरि अनसन बस्नु नपर्ने गरी आफूले तयारी गरिरहेको बताएका छन्।
‘उहाँले अनसन बस्नु पर्दैन भन्नुभएको छ,’ बैठकमा संलग्न डा. केसीका सहयोगी अभिषेक सिंहले सेतोपाटीसँग भने, ‘एमालेका कारण चिकित्सा शिक्षा विधेयक पास हुन ढिलाइ भएको हो। एमाले मानेन भने कांग्रेस र माओवादी मिलेर विधेयक पास गर्छौं भनी उहाँले आश्वस्त पार्नुभएको छ।’
उनका अनुसार प्रधानमन्त्री देउवाले विधेयकमा डा. केसीको सुझावसमेत मागेका थिए। उक्त सुझाव हेरेर असोज १९ गतेअघि फेरि बैठक बस्ने तय भएको छ।