ट्याक्सीमा मोहम्मद


नेपाली उखान ‘सस्तो बेसनले पखाला लाउँछ’ त्यसै बनेको हैन। तर यहाँ त शौचालय नै जानु नपर्ने भो। एसियन एयरको सस्तो टिकटवाला उडानले खाना त के पानी समेत नदिने रहेछ। किनेर खानु पर्ने, त्यो पनि असाध्यै महँगो। लुनालाई भनेँ ‘सबै खर्च जोड्दा त सस्तो टिकटले उही महँगो टिकट बराबरको मूल्य नै खर्च गराउने रहेछ।’

साकाहारी खानाको लागि परिचारिकाहरुसँग निवेदन गरिरहनु पर्ने झन्झट भएन।

एक डलरमा एउटा सुठुनी आकारको बोतलको पानी किनियो र त्यसैले उडान काट्ने निधो गरियो। क्वालालम्पुर अवतरणपछि भोजनको आश थियो।

यंगुनबाट क्वालालम्पुरको उडान २ घण्टा ४५ मिनेटको हो। ८/३० मा उडेको जहाज १२४५ बजे पुग्नेछ। यो टाइम जोनको कमाल हो।

यो उडान रहरको थिएन। हरेक ७० दिनमा ‘विजनेस भिजावाला’ विदेशीहरुले म्यानमारको बोर्डर काटेर आउनुपर्छ। पर्यटकहरु २८ दिन मात्र बस्न पाउँछन्। र, यसलाई ‘वन इन्ट्री भिजा’ भनिँदो रहेछ। एकपटक बाहिर गएर आएपछि फेरि नयाँ दिन गन्ती सुरु हुने रहेछ। मेरो भिजा सक्किन अझै ४० दिन बाँकी थियो तर लुनाको भने सक्किएकाले हामीले पनि भिजाको बाहानामा क्वालालम्पुर घुम्ने योजना बनायौँ।

नेपालबाट केही पुस्तक हात लागेका थिए। यंगुनमै किनिएका पुस्तकको खातमा नेपाली पुस्तकले धावा बोलेका थिए। चार वटामध्ये निक्कै अलमलसहित एउटा पुस्तक छानेको थिएँ। त्यस पुस्तकमाथि पत्रिकामा अर्का नाम चलेका लेखकको समीक्षा पढेको थिएँ। तर त्यो समीक्षा बढो कुटनीतिक खालको थियो। न गतिलो भनिएको थियो न कमजोरीहरु औँल्याइएका थियो। मध्यम आँतको पुस्तक पनि भनिएको थिएन।

ती लेखकले संकटमा परेर गरेको समीक्षा हो कि भन्ठानेर पनि यही किताब पहिला पढेर पुस्तक र समीक्षक दुवैको चुरो छाम्ने सोच आयो। पहिलो कथा पढ्दै गर्दा नै ती समीक्षक लेखक मेरो विचार वरिपरि घुम्न थाले। उनको अनुहार झल्झली आउन थाल्यो। खुइय गर्दै अर्को कथा सुरु गरेँ। क्रमशः तेस्रो, चौथो, पाँचौँ। उडानभर पुरै पुस्तक पढि भ्याउने सम्भावना कम भएकोले अन्तिम कथातिर हाम फालेँ।

मलाई पनि पुस्तक निकाल्ने झोँक घरीघरी चल्ने गर्छ। खासगरी यसबारेमा लुनाजीको विशेष आग्रह छ। प्रिय लेखक कुमार नगरकोटीले पनि केहीपटक हौसला दिसक्नुभयो। ‘हुन्छ’ त भनेँ तर मलाई पुस्तक निकाल्न निरुत्साहित गर्ने दुई कुरा छन्।

एक– गतिला पुस्तक। ती पुस्तक पढेपछि बिछट्टको आनन्द आउँछ र आफ्नो पुस्तक छाप्ने सबै सपना लज्जावती झार झैँ ओइलाउँछन्। ती स्रष्टाप्रति नतमस्तक भएर मलाई लाग्न थाल्छ, यति राम्रा पुस्तक छापिएका छन्, पढे भै गो नि। म जाबोले के तोर्पे पुस्तक निकाल्नु।

अर्को– झुर पुस्तक। ती पढेपछि फेरि मेरो पुस्तक छाप्ने सपना ध्वस्त हुन्छ। मेरा इच्छाहरु उसरी नै गोठालोले पिसाब फेरेको लज्जावती झार झैँ ओइलाउँछन् फेरि।

समस्या के भने, आफ्नो पुस्तक झुर भएको कुरा त लेखकलाई पत्तो नहुने रहेछ। अनि मच्चिएर हल्ला गर्छन्। त्यसले भुतुक्कै हुनेगरी लज्जाबोध चाँहि झुर पुस्तक पढ्ने पाठकलाई हुने रहेछ। खासमा झुर पुस्तक सम्झिएर हैन, अनावश्यक प्रचार सम्झिएर। केही दिनपछि ती पुस्तकको कुरा हुन छोड्छ अनि लेखकहरु मिडिया र पाठकलाई दोष दिन थाल्छन्।

भन्छन्–राम्रो साहित्यको यहाँ कसैलाई वास्तै छैन।

हुनत अचेल कुखुराको अण्डाको धरी विज्ञापन आउन थालिसक्यो। मान्छेको चर्तिकला देखेर कुखुरा पनि अचम्ममा होलान्– कस्तो अण्डा पारौँ भनेर। अचम्म के भन्नु, उनीहरुमा पनि समस्या सुरु भएको होला विभेदको। जुन अण्डाको धेरै विज्ञापन छ, उही धेरै बिक्ने रहेछ।

त्यो दिनको प्रतिक्षा गरिरहेछु। आफ्नै रचना असल वा कमसल खुट्याउने सामान्य चेत जहिले आउला तब म यो संकटबाट मुक्त हुनेछु ।

केएल एयरपोर्टमा जहाज अवतरण भयो। लुनालाई भनेँ ‘म किताब ननिकाल्ने।’ मेरो हातको किताब हेरेर ऊ मुस्कुराई। मानौँ एकछिनमा मेरो मुड परिवर्तन हुनेछ।

सस्तो यात्रामा यात्रुहरुको वर्ग पनि त्यही किसिमको हुँदो हो। तडकभडक, महँगा परफ्युमको गन्ध छैन जहाजमा। मध्यम र निम्न मध्यम वर्गीय मान्छेहरु छौँ सायद। यसो विचार आउँछ, जे गर्नु यो वर्गले गरेको हो। वर्ग संघर्षको कुरा गर्ने मार्क्स बुढा मरिगए, तिनको सिद्धान्त पढेर टाउको कति दुखाउनु। अरु त अरु त्यही दिशा पुछ्ने कागज अनेक थरीका छन्। २ सय रुपैयाँदेखि हजारौँसम्म पर्ने। नरम, कडा, साधा, बुट्टेदार, गनाउने, बास्ना आउने। हुन त सबै ‘ट्वाइलेट पेपर’ले गर्ने काम त एउटै हो। तर, बजारले मान्छेको हैसियत बुझेको छ। हुँदाहुँदा स्ट्रवेरी बासना भएको ट्वाइलेट पेपर रे, हे भगवान्।

अचेल मान्छेको सोच र हैसित भान्सा कोठा की शौचालयबाट पत्तो लाग्छ। त्यो घरको पुस्तकालय, शिक्षा वा पारिवारिक सम्बन्ध गौण भए।

खैर, कुरा के भने, हामी सस्तो टिकटवाला जहाजमा उड्नेहरु पनि महँगा जहाजमा उड्ने झैँ  क्वालालम्पुर त पुग्यौँ नै। एयरपोर्टबाट बाहिर निस्किएपछि सस्तो जहाजमा यात्रा गर्ने भनेर ट्याग लागेको हुन्न क्यारे। ट्वाइलेट पेपरको कुरा पनि त्यही हो।

कुरा म्याटरलिस्टिक मिनिमाइजेसन अर्थात भौतिक मितव्ययिताको हो। डा. सरोज धितालको निम्तोमा गत वर्ष दरवार मार्गको अन्नपूर्ण होटलमा रिम्पोचे डोड.सार ख्येन्त्सेको एउटा प्रवचन सुन्ने मौका मिलेको थियो। उनी भन्छन् ‘घरमा तिम्रो जिन्स पाइन्ट गन त कति वटा छन्। रहरले किन्ने अनि थुपार्ने। खासमा तिमीलाई चाहिने २ जोर लुगा हैन?’

सायद जुत्ता, अरु कपडा, शृंगार सामानमा पनि यही कुरा लागू हुन्छ होला। अलिक हुने खानेका कुरै बेग्लै होला। एउटै घरमा मनग्गे मोटरसाइकल होलान्, गाडी होलान्। त्यो पनि बजारअनुसार नयाँ मोडल परिवर्तन गरिरहनु पर्ने होला। दलाई लामा भन्छन् ‘सिमित व्यक्तिले आवश्यकताभन्दा बढी सुविधा नलिने हो भने यो पृथ्वीमा सबै प्राणीका लागि सहज जिविकोपार्जन सम्भव छ।’ यसको व्याकरणले कसरी काम गर्ने रहेछ भने ‘यदि तपाईँसँग दुईवटा घर छ भने तपाईंले पृथ्वीको कुनै अर्को एक परिवारलाई घरविहीन बनाइरहनु भएको छ।’ अन्य भौतिक वस्तुमा पनि यही लागू हुन्छ।

यसपटकको घुमफिर योजना ‘टुरिस्ट सेन्टर’बाट सुरु भयो। अघिल्ला यात्रामा ‘गुगल काका’ले सहयोग गर्थे। सहरको कथा, ऐतिहासिक ठाउँ, प्रसिद्ध मानिएका अन्य ठाउँ गुगल काकाले भनिहाल्छन्। तर यसपटक धेरै टाउको नदुखाई यात्रा गर्ने योजना भयो। सहर र देशबारेमा पनि धेरै खोजीनीति नगरी निस्किक्यौँ हामी।

अचेल इतिहासतिर अलि बढी रुचि राख्न थालेकाले पिरलो झन् बढेको छ। हरेक पुराना सहरको इतिहास युद्ध, हिंसा र आममानिसका रगतबाट सिंचित छन्। विकिपिडिया, पुस्तक र फिल्मले तिनै अत्याचारी शासकको कथा लेख्छन्। तिनको चर्चाले यस्तो प्रभाव छोडिरहेको छ मानौँ समाजका रोल मोडल उनीहरु नै हुन्। शासकका शक्तिको चंगुलमा परेका मानिसका कथा त्यसै हावामा उडिरहेका छन्। शासकका नाम ती ठूला भवनमा अंकित छन्। सहर बनाउने हजारौँ–लाखौँ मजदुरका आत्मा सायद काँचो वायु बनेर उडिरहेका छन्। तर तिनले पर्यटकलाई दुःख दिँदैनन्, ‘अथिति देवो भव’ भन्छन्।

मलेसियामा काम गरिरहेका धेरै नेपालीको कथा नेपाली अखबारमा हप्तै जसो आउँछ। नआएका कथा कति होलान्? कति छन् त्यो त पत्रकार देवेन्द्र भट्टराई र जनकराज सापकोटालाई थाहा होला। यिनका औँलाले कति धेरैका दुःखका कथा लेखेका छन्। तर क्वालालम्पुरमा हामी कुनै दुःखी कथा खोजीमा थिएनौँ। कुनै नेपालीसँग भेट होला भन्ने अनुमान पनि थिएन। मनभरी आफूले पढेका तिनका कथा मात्र थिए।

संयोग कस्तो भने दुःखीहरुको कथा लेख्ने तिनै खुफिया पत्रकार जनकराज सापकोटा क्वालालम्पुरमा रहेछन्। तिनको ट्विटर पोष्टबाट थाहा भयो।

चाइना मार्केट नजिकै कोतराय भन्ने ठाउँ रहेछ। कोतरायमा हाम्रो बसन्तपुर पाराको चोक रहेछ। त्यहाँ विभिन्न किसिमका कार्यक्रम हुने रहेछन्। अर्को दिन साँझ हामी त्यहाँ पुग्दा नृत्य कार्यक्रमको तयारी हुँदै थियो। त्यही ठाउँमा नेपालीले चलाएको मण्डला नामको रेष्टुरेन्टमा भेटिए जनकराज केही नेपाली मित्रहरका साथमा। त्यहाँ भेटिएका मित्रहरु चाँहि दसौँ वर्षदेखि मलेसियामा व्यवस्थित जीवन बाँचिरहेका मध्ये हुनुहुँदो रहेछ। गतिलै उद्योगधन्दा गरेर बसेका नेपाली भेट्दा खुशी लाग्ने नै भयो। १० वर्षदेखि मलेसियामा रहेका राम गिरीबाट थाहा भयो– ५ लाखभन्दा बढी नेपाली रहेछन् मलेसियामा। मलायामा नेपालीको कथा बुझ्नु चानचुने कुरा छैन। म के दुस्साहस गरुँ, साक्षात जनकराज त्यहाँ छन्।

हामीले त्यही रेष्टुरेन्टमा बढो स्वादको नेपाली पाराको दाल, भात, सागको स्वागत पायौँ ।

सहरको केन्द्रमा रहेको कोतरायमा घुमिफिरि धेरैपटक पुग्यौँ। नेपाली रेष्टुरेन्ट देख्दा खुशी लाग्नु स्वाभाविक हो। तर, विस्तारै अरु पनि नेपाली नामका रेष्टुरेन्ट र पसलहरु देखिन थाले।

एउटा कुरामा निश्चित भए हुन्छ, एसिया मात्रै हैन युरोपका हरेक देशमा जहाँ सयभन्दा बढी नेपाली छन् त्यहाँ नेपालका सबै पार्टीको संगठन छ। त्यतिमात्रै हैन अनेक जाति र जिल्लाका संगठन छन्। यहाँ पनि होलान् नै।

तस्बिरः लुना भट्टराई

तर यहाँ अचम्म अर्को कुरा देखियो– ग्याष्ट्रिकको औषधि पाउने पसल। जहाँ लेखिएको थियो–‘यहाँ ग्याष्ट्रिकको औषधि पनि पाइन्छ। निको नभएमा ग्यारेन्टिका साथ पैसा फिर्ता गरिनेछ।’

‘योर स्याटिस्फ्याक्सन इज आवर मोट्टो।’

विदेशमा रहेका नेपालीको प्रमुख विशेषता ग्याष्ट्रिके र राजनीतिक संगठन हो भन्ने कुरामा दुई मत रहेन। मैले ब्यंग्य गरेर भनेको हैन। म डेनमार्क पढ्न बस्दा पुगनपुग ७, ८ सय नेपाली थिए होलान् त्यहाँ। जहाँ ४ वटा राजनीतिक दलका संगठन थिए। त्यसबाहेक, पोखरा, बाग्लुङ र अन्य जिल्लाका बेग्लाबेग्लै संगठन थिए। मलाई यस्तो लाग्छ, ऋतिक रोशन काण्ड वा अन्य खाले आन्दोलनमा झैँ निर्माण र विकासका कुरामा पनि हामी नेपाली एक भएर काम गर्न सके प्रगति कति चाँडै हुन्थ्यो होला। ग्याष्ट्रिकभन्दा धेरै खतरनाक रोग हो गुट राजनीति। यता म्यानमारमा गोर्खाली र नेपाली नामका फरकफरक संस्था छन्। एकआपसमा मिल्ती छैन।

यात्राको संयोग साँच्चै सुन्दर पर्यो। हामीले क्लालालम्पुरको प्रसिद्ध मस्जिदबाट यात्रा सुरु गर्यौँ। पन्ध्र हजार तिर्थालु एकैपटक ध्यानमा बस्न सक्ने क्षमता भएको मलेसियाको यो ‘नेसनल मस्क’ मा आममानिसको लागि निःशुल्क प्रवेश रहेछ। ब्रिटिस साम्राज्य रहुन्जेल क्रिस्चियानिटीले दबाएर राखेको समाज ब्रिटिस शासनपछि खुल्ला भएछ। त्यसपछि चर्चको छेउमै बनाइएको रहेछ भब्य मस्जिद। मुस्लिम मात्रै हैन अन्य समुदायका पर्यटक पनि घुम्न आउँने रहेछन्। यसले धार्मिक सहिष्णुताको नमुना स्थापना गरेको छ। यहाँ छिर्दा विछट्टको आनन्द र शान्ति मिल्छ।

भव्यरुपमा बनेका युरोपका क्याथोलिक चर्च, म्यानमारका भव्य र प्रसिद्ध गुम्बा र स्तुप, मिडिल ईस्टका भव्य मस्जिद, नेपाल वा भारतका भव्य हिन्दु मन्दिर जहाँ पनि शान्तिको बास देख्छु म। अशान्ति र हिंसा त मान्छेको मनमा पो रहेछ। मेरो हृदयमा यो कुरा त्यसै आएन होला। नेपालीले लामो समयदेखि अभ्यास गरिरहेको धार्मिक सहिष्णुताको वीज कतै म भित्र पनि होला। यही सहिष्णुता आज हामीले संसारलाई बाँड्नु पर्ने भएको छ। तर मान्छेको आस्था र विश्वासले सबै धर्ममा अतिवाद मिसाइदियो। धर्म, रंग र जातीय अतिवादले संसार कुरुप बनाइरहेको समय हो यो।

हैन भने हिन्दु संसारमा हुर्किएको मैले त हिन्दु मन्दिर, जैन मन्दिर, मस्जिद, चर्च वा गुम्बामा विछट्ट आनन्द भेटेको छु।

मितव्ययी यात्रा हाम्रो लक्ष्य हो। हामी टन्न पैसा बोकेर कहिल्यै हिँडेका छैनौँ। भए पो बोक्नु। पैसा भएपछि घुमौला भनेर कुर्दाकुर्दै त्यो दिन कहिल्यै नआउने पक्का देखियो। पर्यटकको पनि वर्ग हुन्छ भने हामी निम्न वर्गीय पर्यटक हौँ। नेपालमा हामी जस्तालाई ‘भुक्का टुरिष्ट‘ भन्ने चलन छ।

पर्यटक सूचना केन्द्रमा निःशुल्क बस सेवाको सूचना पाएर हामी मख्ख पर्यौँ। केएल सेन्टरबाट करिब ३ किलोमिटर टाढा त्यस मस्जिदमा निःशुल्क बसले ओराल्दियो।

क्वालालम्पुर आएपछि थाहा भयो। यहाँ केएल सेन्टर र केएल टावर रहेछ। हाम्रो काठमाडौंको चावहिलमा किन केएल टावर बनाए भनेर मनमा खुल्दुली भैरहेको छ। सायद नेपालका स्कुलका नामहरु मेरिगोल्ड, गोल्डेनगेट, हार्डवर्ड, लिटिल एन्जल्सजस्तै रहरले राखिएको नाम होला।

त्यसपछि अर्को महत्वपूर्ण ठाउँ इस्लामिक आर्ट म्युजियम गयौँ हामी। दक्षिण पूर्वी एसियाकै सबैभन्दा ठूलो ईस्लामिक संग्रहालय रहेछ यो। संसारभरीका विचित्रका भव्य र सयौँ वर्ष पुराना मस्जिदका नमुना आर्किटेक्ट (मिनिएचर) खडा गरिएका रहेछन्। कति कलात्मक, कति भव्य ती मस्जिद। भव्यताले मानिसलाई एक किसिमको उत्साह दिन्छ। त्यही भव्यताभित्र ईश्वर छन् कि जस्तो लाग्ने रहेछ। हामी त ठूला नदीको भव्यताभित्र पनि ईश्वर देख्छौँ। ठूला र विकट पहाडको चुचुरोमा ढुंगा पुज्न थालिहाल्छौँ वा मन्दिर नै बनाइ दिन्छौँ। भव्य ओडारभित्र पनि भगवान नै भेट्छौँ। हरेक भव्यताभित्र हामी ईश्वर देख्छौँ।

त्यसैगरी कुरानको पाण्डुलिपी संग्रहालय र प्राचिन इस्लामका अनेकौँ सामग्री त्यहाँ रहेछन्।

हरेक जाति, धर्म र समुदायका यस किसिमका संग्रहालय हेर्दा उनीहरुको आफ्नै प्राचिन इतिहास बुझ्न पाइन्छ। हाम्रो पनि मिथिलामा वा थारु, राई, लिम्बूको वा अरु आदिवासीको यस्तै भव्य संग्रहालय भइदिएको भए हाम्रा हरेक जातजाति र समुदायको अस्तित्व अझै बलियो हुन्थ्यो। हामी सामाजिक र सांस्कृतिक रुपमा अझै सम्पन्न हुने थियौँ। पर्यटक झन् आकर्षित हुन्थे।

आज हामी आफ्नो मात्रै इतिहास महान्, अरुको त इतिहास नै हैन भन्ने चरम अतिवादमा छौँ। एउटाले अर्कोको इतिहास नस्ट गर्न खोजिरहेको छ। क्षणिक आक्रोसले भविष्य संकटग्रस्त बनाइरहेका छौँ। तर हरेक जाति र धर्मका यस किसिमका संग्रहालयले मान्छेको समाज विकास र अर्कोको अस्तित्व बुझ्न निक्कै मद्धत गर्छ। हरेक समुदायभित्रको साँस्कृतिक अन्तक्रिया र अभ्यासले अझै सम्पन्न बनाउने हो, धार्मिक अन्धविश्वासले हैन। मलाई इस्लामिक धर्मको भव्यताले साँच्चै आकर्षित गरेको छ। सायद अरु देशको इस्लाम अभ्यासभन्दा मलेसिया फरक छ। यहाँ ‘लिबरल’हरु धेरै छन्।

सहर सफा छ। सार्वजनिक बस सहज छन्। अन्तर्राष्ट्रिय स्तरमा चलेका ट्याक्सी कम्पनी ग्रयाब र उभर जस्ता अनलाईन सेवाले यात्रुलाई धेरै सहज बनाएको छ। सुविधा सम्पन्न रेल सेवा छ। क्वालालम्पुरको यो विकास देखेर हामी चकित भयौँ। आफ्नो देश सम्झियौँ। मोनो रेल चढेर काठमाडौंका मेयर सम्झियौँ। तर, हाम्रो देशका आफ्नै महानता छन्।  हामीले क्वालालम्पुरको सम्पन्नतासँग हाम्रो दाँज्ने कुरा आएन, दाँज्नै मिल्दैन। नत्र राष्ट्रभक्त नेपालीमा ठूलो चोट पुग्नेछ। जय राष्ट्रवाद।

तुलनात्मक रुपमा निक्कै सस्तो ट्याक्सी भाडा र हार्दिकतासहित ग्र्याबले सेवा दिएको छ। त्यसमा पनि अत्यन्तै ज्ञानी चालक।

‘होएर आर यु फ्रम?’ अलिअलि खस्रो र तोते जस्तो मिसिएर बनेको इस्लामिक लवजमा बोलिएको अंग्रेजी मिठो सुनिन्छ ।

‘नेपाल।’

‘ओ, फेर्रि पिस कन्त्री।’

हामी क्वालालम्पुरको एउटा ठूलो गुफा हेर्न जाँदै थियौँ, बाटु केभ। तामिल भाषामा बाटु भनेको नदी रहेछ। हजारौँ वर्षअघि गुफामाथिबाट नदी बग्दो रहेछ। यो गुफा चाँहि हिन्दूहरुको भागमा परेको रहेछ भन्नु पर्यो। जसको मुखैमा संसारको दोस्रो ठूलो मूर्ति उभिएको छ मुरगनाको। शिवपार्वतीका पुत्र कुमारलाई तामिलमा मुरगना भनिँदो रहेछ। संसारकै ठूलो मूर्ति त हाम्रै साँखुको शिव मूर्ति भै हाल्यो। सबैभन्दा ठूलो बाबुको मूर्ति, दोस्रो ठूलो छोराको मूर्ति। जुँगे महादेव त नेपालगञ्जमा छन्। यहाँ देव सेनामेनाका सबैका जुँगा रहेछन्। दक्षिण भारतीय अनुहारको प्रभाव प्रष्ट देख्न सकिन्छ यहाँका मूर्तिमा। शिवजीको अनुहार पनि बेग्लै छ। एक सेमिनारमा प्राध्यापक अरुण गुप्तोले आफ्नो कार्यपत्रमा उल्लेख गरेका थिए ‘कसरी मान्छेको समाज र संस्कृति अनुसार भगवानका शरीर र अनुहारमा प्रभाव पर्छ’ भनेर।

तस्बिरः लुना भट्टराई

पोखरामा गुप्तेश्वर गुफा झैँ यो पनि हिन्दुका देवतामय गुफा भै गयो। म्यानमारका सबै गुफामा बुद्ध मूर्ति छन्। खुल्दुली भयो, जिजस् र अल्लाह चाँही गुफाभित्र बस्ने रहेनछन् कि? गुफा, पहाड र नदीमा हिन्दु वा आदिवासीका देवता मात्र बस्ने रहेछन् कि।

हामी बसेको होटलबाट गुफासम्मको यात्रा करिब ४५ मिनेटको थियो। यो ४५ मिनेट विश्वविद्यालयमा विशिष्ट प्रध्यापकसँग लिएको दर्जनौँ कक्षा बराबरको भयो। विषय थियो ‘रिलिजन एण्ड ह्युमानिटीज्’ र प्राध्यापक थिए, ट्याक्सी ड्राइभर। उनी वर्षौँदेखि परिचित मित्रजस्ता हुन गए।

उनको नाम हो, जाकरिया।

नेपाल गएका छैनन् तर नेपालबारे उनलाई केही थाहा छ। यसको पनि कारण छ। धेरै नेपाली काम गर्न मलेसिया आउँछन् भन्ने उनलाई थाहा छ, हाम्रो राजधानी काठमाडौं हो भन्ने थाहा छ। सगरमाथा नेपालमा पर्छ र गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्ने पनि थाहा रहेछ। नत्र विदेशका धेरै बुद्धमार्गीलाई पनि बुद्ध भारतमा जन्मिएका हुन् भन्ने रहेछ।

‘आइ एम इलेक्त्रिक इन्जिनियर।’ फेरि उनको मिठो इस्लामिक एक्सेन्ट सुरु भयो। सन् २००३ मा पढाइ सकेपछि उनले आफ्नै ब्यापार सुरु गरेछन्। इलेक्ट्रिक सामानको व्यापार रहेछ। टेन्डरबाट काम ठेक्कामा लिएर आफ्नो प्राविधिक ज्ञान र ब्यापार चलाउँदा रहेछन्।

‘तर मेलेसियामा आर्थिक मन्दी सुरु भयो। डलरको भाउ घट्यो। मेरो व्यापारमा पनि मन्दी आयो। त्यसपछि व्यापार छोडेर विगत २ वर्षदेखि ट्याक्सी चलाईरहेको छु। बाच्नु त पर्यो। जहिलेसम्म स्थिति ठिक हुन्न यही काम गर्छु।’

‘कसरी यस्तो भयो ?‘

‘नेताहरु भ्रष्टाचारी छन् यहाँ। भित्री कुरा थाहा छैन। ओबामा र मलेसियन सरकारको सम्बन्ध निक्कै राम्रो थियो। तर त्यो सम्बन्ध देशको हितमा थिएन भन्ने उनको ठहर छ।’

हामी म्यानमारबाट यता घुम्न आएको भन्ने थाहा पाएपछि उनले रोहिन्याहरु प्रतिको चासो पनि देखाए। ्मलेसियासम्म रोहिन्या शरणार्थीहरु पुगेका रहेछन्। बाराक ओबामा सन् २०१५ मा मलेसिया आउँदा ती शरणार्थीहरुलाई भेटेका रहेछन्। हामीलाई विश्वकै दोस्रो ठूलो कुमारको मूर्ति दर्शनमा लिएर हिंडेका यी ईस्लामिक युवा म्यानमारमा भैरहेको धार्मिक द्वन्द्व देखि चिन्तित देखिए।

‘वाई पिपुल फाइत फर्र रिल्लिजन?’ उनको प्रश्नको उत्तर दिनु हाम्रो लागि हाडे ओख्खर फोड्नु झै कठिन थियो। फुटीहाले उछिट्टेर कस्लाई लाग्ने हो। तर उनीले आफैले उत्तर दिएर हाम्रो समस्या समाधान गरिदिए।

‘मलेसियामा ५३ मिलियन जनसंख्या छ। त्यसमध्ये ५ मिलियन त बाहिरका मान्छे छन्। चीन, थाइल्याण्ड, नेपालका मानिसहरु छन् यहाँ। तर हामी कहिल्यै झगडा गर्दैनौँ। चाइना टाउन जानु भयो भने किसिमकिसिमका मान्छे भेट्नु हुन्छ। नेपालीसँग पनि भेट हुन्छ। मलाई सबै मिलेर बसेको नै राम्रो लाग्छ। किन झगडा गर्नु ? हाम्रो सरकारले पनि सबै धर्म मान्नेलाई समान व्यवहार गर्छ। हाम्रो सरकारको यो कुरा ठिक लाग्छ मलाई।’

यिनको मिठो कुरा सुनेर त्यस नौलो ठाउँमा झन् सुरक्षित महसुस भयो। एउटा इलेक्ट्रिकल इन्जिनियरलाई हामीले ट्याक्सी ड्राइभरको रुपमा पाएका छौँ। जसको विचार साँच्चै उदार र सहज छ। ऊ ईस्लाम धर्म मान्छ तर बहुल समाजलाई आदर गर्छ। शब्दले बयान गर्न सकिरहेको छैन म, ऊ कति सहज थियो। सानो स्वरमा कति मिठासपूर्ण कुरा गथ्र्यो। के ऊ आधुनिक मोहम्मद हो जसले हामीलाई सहिष्णुताको सन्देश दिइरहेको छ ?

त्यसो त धेरै वर्षअघि नर्वेमा एकजना ट्याक्सी ड्राइभर फेला परेको थियो। ऊ भन्थ्यो यो संसारमा ईस्लाम मात्रै साँचो धर्म हो र अल्लाह मात्रै भगवान् हुन्। अतिवाद जुन धर्ममा पनि छ। अतिकर्मकाण्डिय र रुढीवादी हिन्दुहरु मेरै परिवारमा पनि छन्। तर जाकरिया फरक थियो। साँच्चै उदार मनको। मलेसियामा ईस्लाम मान्नेहरु धेरै आधुनिक भैसकेका छन् सायद। बुर्का वाला महिलाहरु पनि मैले देखिन।

अरु ट्याक्सी ड्राइभरहरुसँग मैले लामो कुरा गरिन। उनीहरु पनि निक्कै सहयोगी र नम्र स्वभावका थिए। तर जाकरिया मेरो मनमा बसेको छ।

कोतरायकै नेपाली रेष्टुरेन्टमा भेटिएका किरण चापागाईँको पनि ट्याक्सी रहेछ। उनले जनक, लुना र मलाई एक साँझ सहर घुमाई दिए। उनको गुन कसरी बिर्सुँ ?

दसैँको चहलपहल बढिसकेको थियो। कोतराय र चाइना मार्केट वरिपरि नेपाली बोलेको मनग्गे सुनिन्थ्यो। नयाँ सुटकेस र झोला किनेर लाने नेपालीहरु प्रसस्त देखिन्थे। सायद घर फर्किने चाँजोपाँजो मिलाउँदै थिए। एउटा पसल अगाडि केही मानिसहरु नेपाली भाषामा कुरा गरेको सुन्यौँ हामीले। उनीहरु भन्दै थिए ‘बजार सुनसान हुन्थ्यो अरु बेलाको शनिवार। आज किनमेल गर्न आएका नेपालीहरुले भरिएको छ।‘ ती सबै नेपाली दाजुभाइहरुलाई देख्दा मलायाको कथाव्यथासँगै आदरणीय नारायण गोपालले गाएको गीत याद आयो।

विछोडको पिडा नसकी खप्न दसैँको बेलामा

तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा

केएलको तेस्रो साँझ एयरपोर्ट पुग्नु अघि केही पुस्तक किन्नु थियो।

म्यानमार बसाई लामै हुन गयो। यहाँको समसामयिक साहित्य पढ्ने कोसिस्मा छु। केही कविता, कथा, उपन्यास र आत्मकथा पढेँ। यो मौका थियो मलेसियन साहित्यको स्वाद चाख्ने। हुन त विदेशीहरुले सम्राट उपाध्याय र मन्जुश्री थापालाई पढेर नेपाली साहित्य बुझे जस्तो हुने हो मेरो ताल पनि। तर पनि पसलकी सेविकाको सहयोग लिएर केही मलेसियन लेखकका पुस्तक किनेँ। म्यानमारमा भन्दा निक्कै सस्तो रहेछ केएलमा पुस्तकको मूल्य। तुलनात्मक रुपमा नेपालमा त धेरै सस्तो हो।

विश्वेश्वरप्रसाद कोइरालाले आत्मबृत्तान्तमा नयाँ पुस्तकलाई किशोरीसँग दाँजेका छन्। म त्यस्तो दुस्साहस त नर्ग सक्दिन। लुना जी छेऊमै छिन्। तर पुस्तक किनेपछि त्यसको बास्ना सुँघ्न मनलाग्छ। नयाँ पुस्तकमा एक किसिमको मादक वास्ना भेट्छु म। सायद यो वासना हो कि ? ‘न्यू मलेसिनय राईटिड’ लेखिएकाले मैले पुस्तकमा बेरिएको झिलझिले तोडेँ। पुस्तकको नाम हो ‘लिटिल बास्केट २०१६‘ जस्को कभरमा केरा, भुइँकटर र ड्रयागन फ्रुट छ। फिक्सी नोभो यहाँको प्रसिद्ध प्रकाशन रहेछ। घरमा आएपछि थाहा लाग्यो, अरु २ वटा पुस्तक पनि यसै प्रकाशनका परेछन्। ‘लिटिल बास्केट २०१६’ अंग्रेजी भाषामा लेख्नेहरुको मलेसियन साहित्यिक जर्नल हो। लेखिएको छ ‘अरु देशमा झै सहरकारी वा कुनै व्यापारिक संस्थाको प्रायोजन बेगर नै छापिने यो जर्नलको प्रत्येक अंक ३ हजारप्रति छापिने छ र पुन मुद्रण गरिने छैन।’

भूमिकाको रुपमा प्रथम पृष्ठको पछाडि पट्टी प्रकाशित ‘फिक्सी नोभो मेनिफेस्टो’ले मलाई आकर्षित गर्यो। जहाँ लेखिएको छ।

१) ग्वाइलोह उच्चारण मलेसियाको भूल भाषा हो भन्ने कुरामा हामी विश्वास राख्छौँ।

२) हामी अमेरिकन अंग्रेजी प्रयोग गर्छौँ किनभने हामी house of windsor pulp  भन्दा Bollywood  बाट प्रभावित छौँ।

३) हामी मलेसियाको शहरी जीवनका कथाहरु प्रकाशित गर्छौँ। यदि तापाईँ आफ्नी हजुरआमाको दोस्रो विश्व युद्धको कथा भन्न चाहनुहन्छ भने तिनलाई अरु तिर पढाउनुस्। के थाहा तपाईँले त्यसबाट बुकर प्राइज पनि जित्न सक्नु हुन्छ।

४) हामी विशेष गरि पल्प फिक्सनलाई जोड दिन्छौँ किनभने अपराध, भुतप्रेत, त्रास, विज्ञान कथा जस्ता कुराहरु पनि हाम्रा हुन्।

५) हामी गैर अमेरिकी र गैर अंग्रेजी शब्दहरुको लागि ढल्केका (इटालक) अक्षर प्रयोग गर्ने छैनौँ। किनभने मलेसियनहरुका लागि ती शब्दहरु विदेशी होइनन्। स्थानीय शब्दहरु इज्जतका साथ मिसाउनु पर्छ। किनभने ढल्केका अक्षरहरु प्रायश्चितका प्रतीक हुन्।

६) हामी उपन्यास, कथा, संस्मरण, आत्मकथा, निबन्धहरु प्रकाशित गर्छौँ। कविता छाप्दैनौँ किनभने हामीलाई पैसा कमाउनु छ।

७) हामीले गर्न चाहेको कामको नजिक आएका अहिलेका मलेसियन किताबहरु मध्ये ब्रायन गोमेजको डेभिल्स प्लेस र रोजलाण्ड मोहम्मद नूरको अपराध उपन्यास इन्स्पेटक्टर मिल्सन हुन्। तिनीहरुलाई पढ्नु होला।

फेरि २ घण्टा ४५ मिनेटको उडानमा यो पुस्तक साथी भयो। सुपर फेन्टासी, विज्ञान कथा, सस्मरण, कार्टुन्, स्केच वा कुनै विधा नतोकिएका रचनाहरु भएको यो पुस्तक साहित्यको बास्केट नै लाग्यो। यो फरक खालको काम देखेर फेरि आफ्नै देशको याद आयो। हामी कहाँ गतिलो साहित्यिक पत्रिकाहरु भएनन्। अचेल कि त अखवारहरुले तोकेको आकारमा शब्दहरु गनेर साहित्य लेख्नु पर्यो। कि त पुस्तक नै प्रकाशन गर्ने दुस्साहस गर्नु पर्यो।

नेपालमा २५ सय शब्दमाथिका रचना छाप्न मिल्ने गतिला पत्रिकाहरु छैनन्। अविनाश दाइलाई सम्झिएँ। उनले समकालीन साहित्यलाई कस्तो गहकिलो र ईज्जतिलो बनाएका थिए। मलाई लाग्छ त्यस पत्रिकाको हरेक अंग संग्रहणीय छन्। मेरो साहित्यिक शिक्षा त्यही पत्रिकाबाट सुरु भयो। धच गोतामे, रमेश विकल, अभि सुवेदी, धु्रवचन्द्र गौतम, सैलेन्द्र साकार, खगेन्द्र संग्रौला, नारायण ढकाल, विमल निभा, नयनराज पाण्डेदेखि कुमार नगरकोटीसम्मलाई मैले यही पत्रिकामा पढेको हुँ। यसै पत्रिकाबाट कति लेखक जन्मिए वा स्थापित भए। अविनाश दाइ साझा प्रकाशन पुगेर गरिमा पत्रिकालाई पनि त्यस्तै गतिलो बनाए। पत्रकार दीपक सापकोटाले पाण्डुलीपि पत्रिकाका केही अंक त्यसरी नै गहकिलो बनाएका थिए। उत्तम कुँवरको रुपरेख, ऋद्धिबहादुर मल्लको शारदा मेरो पुस्ताले त भेटेन। अबको समयमा त्यस्ता पत्रिका कसरी निस्केलान् ? चिन्ता लागेर आउँछ, देशमा एउटा गतिलो साहित्यिक पत्रिका छैन।

मलेसियन घडी अनुसार साँझको ५÷५० मा उडेको जहाज म्यानमारको घडीमा ७ बज्दा यंगुनमा अवतरण भयो। ठ्याक्कै २ घण्टा ४० मिनेट लागेछ।

तीन दिनपछि आउँदा म्यानमारको बैदेशिक नीति परिवर्तन भैसकेछ। हामीले २८ दिनको लागि मात्रै भिजा पायौँ। अघिल्लो पटक पाएको भिजाको हिसाबले मेरो अझै ३५ दिन भिजा बाँकी थियो। ३ दिन बाहिर गएर आउँदा त भएको भिजाको दिन पनि घटेर गएछ। प्रतिप्रश्न गर्नुको कुनै अर्थ छैन। चित्त बुझाउने बाटो छ, यहाँका गुम्बा, स्तुपा र भिक्षुहरुको भेषले हामीलाई लोभ्याएकै छ।

सम्झँदै छु फेरि आफ्नै देश नेपाललाई। छिमेकी देशहरुको स्थिति हेर्दा हामीले पाएको स्वतन्त्रता कति मूल्यवान् छ र त्यो स्वतन्त्रतालाई कसरी धज्जी उडाएर बाँचिरहेका छौँ हामी। राणा त्यसपछि शाह निरंकुश सासनका विरुद्धमा लामो संघर्ष गरे सहिदहरुले। अरु धेरै मानिसहरुले। विपिलाई सम्झिरहेछु। भूमिगत आन्दोलनमा यिनले म्यानमारदेखि हतियार मगाएर आन्दोलन गरेका थिए। पछि त्यही हतियार बंगलादेशसम्म पुग्यो भनेर उनले आत्मकथामा उल्लेख गरेका छन्। एउटै बन्दुकले ३ वटा देशको स्वतन्त्रताको लागि काम गरेछ। त्यस हिसाबले उनीहरुभन्दा हामी निक्कै र छिट्टै स्वतन्त्र भएछौँ। तर देश विकाशका लागि हामीमा हामी भावना अझै आएन कि ? विपिले आफ्ना सबै कृतिहरुमा ‘हामीहरु‘ लेखेकाछन्। व्याकरण संच्याउनेहरुले ‘हामी‘बाट ‘हरु‘ हटाई दिन्छन्। तर, विपिले लेखनको प्रवाहमा ‘हामीहरु‘ नै लेखे। आजको नेपाली समाजमा हामी हामी मात्रै हैन, विपिको ‘हामीहरु‘ मलाई झन् अर्थपूर्ण लागिरहेछ।

जाकरियाका पवित्र बोली मनभरी बसको छ।

अब २८ औँ दिनमा फेरि नयाँ गन्तब्य खोज्नु पर्नेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.