एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमै एमाले कमजोर साबित भएको छ।
रौतहटका १८ स्थानीय तहमध्ये अहिलेसम्म १६ स्थानको नतिजा घोषणा भइसकेको छ। त्यसमध्ये नेपाली कांग्रेसले सबभन्दा बढी आठ स्थान जितेको छ। बाँकी दुई स्थानमध्ये एउटा गरुडा नगरपालिकामा कांग्रेसकै अग्रस्थान छ।
यहाँ नेकपा एमालेले एउटै स्थान जित्न सकेको छैन। मतगणना जारी स्थानमा पनि उसको अग्रता छैन।
कांग्रेसले चन्द्रपुर नगरपालिका (रामचन्द्र चौधरी), गढीमाई नगरपालिका (श्याम यादव), परोहा नगरपालिका (शेख वकिल), राजदेवी नगरपालिका (धीरेन्द्रकुमार सिंह), फतुवाबिजयपुर नगरपालिका (गोपाल राय यादव), वृद्धावन नगरपालिका (रामस्नेही यादव), दुर्गाभवगती गाउँपालिका (अरुण शाह) र रौतहटको राजपुर गाउँपालिका (मोहम्मद सकिल अख्तर) मा विजय हासिल गरेको छ।
दोस्रो स्थानमा संघीय समाजवादी फोरम नेपालले बौधीमाई नगरपालिका (राजीव रंजन यादव), देवाही गोनाही नगरपालिका (र्मेन्द्रप्रसाद पटेल) र माधवनाराण नगरपालिका (वीरेन्द्रप्रसाद यादव) जितेको छ।
माओवादी केन्द्रले दुई स्थान जितेको छ। उसले जितेका स्थानमा मौलापुर नगरपालिका (रिनाकुमारी साह) र यमुनामाई गाउँपालिका (श्रीप्रसाद मुखिया बीन) छन्। नतिजा आउन बाँकी कटहरिया नगरपालिकामा पनि माओवादी अगाडि छ।
दुई स्थान जित्नेमा राष्ट्रिय जनता पार्टी (राजपा) पनि पर्छ। उसले गौर नगरपालिका (अजयकुमार गुप्ता) र गुजरा नगरपालिका (सन्तलाल चौधरी) जितेको छ।
नेपाल लोकतान्त्रिक फोरमले एक मात्र स्थान ईशनाथ नगरपालिका (सन्तोषकुमार मेहता) मा विजय हासिल गरेको छ।