पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये अब एउटा वीरगन्ज महानगरपालिकाको मात्र नतिजा आउन बाँकी छ। बाँकी १३ वटाको मतगणता सकिएर विजेता घोषित भइसकेको छ।
अहिलेसम्म घोषित परिणामअनुसार यहाँ नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच को ठूलो दल हुन्ने भन्नेमा तीव्र प्रतिस्पर्धा छ। यी दुवै दलले पर्साका ३-३ स्थान जितेका छन्। वीरगन्ज महानगरपालिकामा यी दुई दलका उम्मेदवारबीच १४ मतको मात्र अन्तर छ। अग्रस्थानमा रहेको कांग्रेसले नै वीरगन्ज जित्यो भने पर्साको सबभन्दा ठूलो दल कांग्रेस हुनेछ, नभए फोरमले उछिन्नेछ।
कांग्रेस पर्साको पर्सागढी नगरपालिका (लोकनारायण यादव), धोविनी गाउँपालिका (सुरेशप्रसाद कुर्मी) र बहुदरमाई नगरपालिका (जितेन्द्र साह तेली) मा विजयी भएको छ।
कांग्रेससँग कडा टक्करमा रहेको संघीय समाजवादी फोरम नेपालले जितेका स्थानमा बिन्दबासिनी गाउँपालिका (श्रीलाल साह कानु), पकहा मैनपुर गाउँपालिका (विजय चौरसिया) र सखुवा प्रसौनी गाउँपालिका (प्रदीपकुमार जैसवाल) छन्।
माओवादी केन्द्रले पनि तीन स्थानमै विजय हासिल गरेको छ। पर्साको ठोरी गाउँपालिका (पदमलाल श्रेष्ठ), छिपहरमाई गाउँपालिका (मनोज कुमार) र जगरनाथपुर गाउँपालिका (जालिम मिया अन्सारी) मा माओवादीले जितेको छ।
त्यस्तै, एमालेले पटेर्वा सुगौली गाउँपालिका (हरिनारायण चौधरी) र जिराभवानी गाउँपालिका (रामप्रीत महतो) जितेको छ भने कालीकामाई गाउँपालिका (नथुनी कुशबाह) र पोखरिया नगरपालिका (दिपनारायण रौनियार) मा नेपाली जनता दल विजयी भएको छ।
पर्सामा राजपाले एउटै स्थान जितेन।