घोषित मत घटाएपछि पर्साको बहुदरामाईमा तनाव, मतगणना रोकियो (फोटो फिचरसहित)


पर्साको बहुदरामाई नगरपालिकाको निर्वाचन मतगणना स्थगित भएको छ। राजपा नेपालका तर्फबाट मेयरका उम्मेदवारको मत घटाइए भन्दै प्रदर्शन गरेपछि मतगणना स्थगित भएको हो।

निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको मतपरिमाणमा मत घटाइएको विरोधमा राजपाका कार्यकर्ताले शुक्रबार साँझ मतगणनास्थल अगाडि प्रदर्शन गरेका छन्। उनीहरुले टायर बालेर प्रदर्शन गर्नुका साथै निर्वाचन अधिकृतविरुद्ध नाराबाजी गरेका छन् ।

शुक्रबार बिहान सार्वजनिक गरिएको मतपरिमाणमा राजपा नेपालका उम्मेदार शिव पटेलको मत १५२३ रहेकोमा साँझको परिणाममा घटाएर १४७८ मा झारिएको थियो । पहिलाको मतपरिणामभन्दा पछिल्लो मतपरिणाम घटेपछि विरोध भएको हो ।

यो नगरमा राजपा र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । राजपा नेपालका उम्मेदार पटेलले आफूलाई हराउने षडयन्त्रका साथ निर्वाचन कार्यालले मत परिणाम हेरफेर गरेको आरोप लगाए ।

मतगणना सुरु भएलगत्तै आफूले मतपरिणामको सार्वजनिकीकरण पारदर्शी बनाउन माग गरे पनि निर्वाचन कार्यालयले बलमिच्याइ गरिरहेको पटेलले बताए । पहिला प्राप्त गरेको मत पछिल्लो परिणाममा घटेको बारेमा निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठलाई सोध्दा हेर्छौ, बुझ्छौमात्र भनेर आलटाल गरिरहेको उनले बताए ।

आफूले मतपरिणामको फोटो खिचेकाले निर्वाचन अधिकृत र सुरक्षाकर्मीले मोबाइल खोस्ने प्रयास गरेको पटेलले बताए। मोबाइल खोस्ने प्रयास असफल पार्दै मतगणनास्थलबाट बाहिरिएपछि राजपा नेपालका कार्यकर्ताले गणनास्थलअगाडि प्रदर्शन सुरु गरेका थिए । पटेलले आफ्नो मतपरिणाम घटाइएको बारेमा टुंगो नलागेसम्म मतगणना अघि बढ्न नदिने बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.