तेस्रो चरणमा निर्वाचन सम्पन्न दुई नम्बर प्रदेशका आठ जिल्लामा मतगणना जारी छ। १३६ स्थानीय तहमध्ये ३६ वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ भने १०० स्थानमा मतगणना भइरहको छ।
आठ जिल्लाका सदरमुकाममध्ये पर्साको वीरगन्ज महानगरपालिका मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राजपाका उम्मेदवारसँग अघिपछि भइरहेका छन्। पछिल्लो मतपरिणाममा राजपा उम्मेदवार राजेशमान सिंहले ३६९४ मत पाएका छन् भने कांग्रेसका मेयर उम्मेदवार अजय द्विवेदीले ३६१९ मत पाएका छन्।
बाराको सदरमुकाम कलैयामा एमाले उम्मेदवार अगाडि छन्। रौतहटको गौरमा राजपाका उम्मेदवारको अग्रता छ।
सर्लाहीको मलंगवामा कांग्रेस उम्मेदवार अगाडि छन् भने महोत्तरीको जलेश्वरमा राजपा उम्मेदवारले लोकतान्त्रिक फोरमको प्रारम्भिक अग्रता तोडेर अग्रता लिएका छन्।
धनुषा सदरमुकाम जनकपुरमा राजपा उम्मेदवार लालकिशोर साह कांग्रेस उम्मेदवारभन्दा तेब्बर बढी मतले अगाडि छन्।
सिरहा सदरमुकाम सिरहा नगरपालिकामा नेपालीका कांग्रेसको अग्रता छ।
सप्तरी सदरमुकाम राजविराजमा बिहीबार राति साढे १० बजेदेखि मतगणना सुरु भएको छ। त्यहाँको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छैन।