१० वर्षभित्र विद्युतीय सवारी साधन चलाउन संसदमा प्रस्ताव

फाइल तस्बिर।


काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले काठमाडौं उपत्यकामा वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने संकल्प प्रस्ताव सोमबार व्यवस्थापिका–संसदमा दर्ता गरेका छन्।

प्रस्तावमा सांसद रामेश्वर फुयाँल, दीपकप्रसाद कुइँकेल, कौशर शाह र कान्ता भट्टराईको समर्थन छ। उपत्यकामा वायुप्रदूषणको प्रमुख कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन प्रतिस्थापन गरी विद्युतीय सवारी प्रयोगको व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।

संकल्प कार्यान्वयनका लागि कार्यतालिकासहित कार्ययोजना बनाउन र नीतिगत, व्यवस्थापकीय, वित्तीय र संरचनागत व्यवस्था गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुपर्ने प्रस्ताव गरिएको छ। विद्युतीय गाडीको प्रयोग बढाउन निश्चित अनुदान व्यवस्था गर्न र पेट्रोलियम खरिद गर्दा तिर्नुपर्ने वातावरणीय कर वातावरण संरक्षणकै लागि सदुपयोग गर्न प्रस्तावमा माग गरिएको छ ।

प्रस्तावमा सन् २०१६ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले वायु प्रदूषणलाई जनस्वास्थ्य संकटका रुपमा लिएको तथा प्रदूषणमा करिब ६० प्रतिशत हिस्सा गाडीको धुवाँका कारण भएको बताइएको छ। रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.