गौर नगरपालिकाको मतगणनास्थलमा तार जाली


रौतहट जिल्लाको गौर नगरपालिकामा मतगणनास्थलको कडा सुरक्षा व्यवस्था गरिएको छ।

चितवन महानगरपालिकामा जस्तो विवाद नहोस भनेर यहाँ पनि मतगणनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको हो।

रौतहटका प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालका अनुसार गौर नगरपालिकाको हलमा मतगणना हुँदै हुने भनेर सबै व्यवस्था मिलाइसकिएको छ।

रौतहटको मौलापुर नगरपालिकाको गमहरिया मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि त्यहाँ प्रहरीले दिउँसो हवाइ फायर गरेको थियो। उक्त नगरपालिकामा पनि मतगणना स्थलको सुरक्षा कडा पार्न भनेको उनले बताए।

जिल्लामा सुरक्षा संवेदनशीलताका हिसाबले जोखिम भएका स्थानीय तहमा मतगणनास्थल जालीले बारिएको छ।

‘अनावश्यक मानिस नछिरुन र विवाद नआओस भनेर गौर नगरपालिकामा पनि हामीले मतगणनास्थल जालीले बारेका छौँ  अरु स्थानीय तहमा पनि सुरक्षाव्यवस्था कडा नै पारिएको छ। ‘ उनले भने, ‘मौलापुरमा त्यहाँका निर्वाचन अधिकृतलाई मैले सुरक्षा राम्रो मिलाउन भनेको छु। चुनाव शान्तिपूर्ण भएको छ गणना पनि सकेसम्म शान्तिपूर्णरुपले सक्ने हाम्रो नीति छ।’

रौतहटका १८ वटा स्थानिय निकायमा मतगणनाको म्यानुअल तयार गरिएको पनि उनले बताए।

‘कस्ता अवस्थामा मतपत्र बदर हुने र कस्तो अवस्थामा मतपत्र बदर नहुने भन्ने त्यो म्यानुअलमा छ, हामीले छलफल गरि पास गरेका छौँ यहाँका राजनीतिक दलहरुले पनि त्यसमा सहमति गरेका छन्,’ उनले भने, ‘निर्वाचन अधिकृतलाई त्यो ठाउँमा गणनाहुनु अघिको सर्वदलिय बैठकबाट पनि यो म्यानुअल पास गराउन र त्यसै अनुसार गणना गर्न निर्देशन दिएको छु। यसरी गए विवाद कम होला भन्ने आश छ।’

गौर नगरपालिकामा आजै रातीदेखि मतगणना सुरु हुने पनि उनले बताए।u

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.