वीरगञ्ज महानगरपालिकाको चुनाव उत्सवजस्तै


वीरगञ्जमा सोमबार बिहान सात बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ ।

मतदाताहरूले  वीरगञ्ज महानगरपालिकासहित पर्साका सबैजसो एक सय ६७ वटा मतदानस्थलमा मतदान गरिरहेका छन् ।

२ वर्ष अगाडि अर्थात २०७२ असोज २ गते वीरगञ्जमा कर्फ्यू अवज्ञा गरेर गाउँ-गाउँबाट पसेका हजारौं आन्दोलनकारी र त्यसैगरी विभिन्न ठाउँबाट मधेश आन्दोलन नियन्त्रण गर्न ठूलो संख्याका सुरक्षाकर्मीहरूको भीडन्तस्थल बनेको थियो वीरगञ्जको नेशनल ट्रेडिङ चोक । २ वर्षपछि पनि सोही समयमा त्यहाँ हजारौं मानिसहरूको जमात छ, मत खसाल्न ।

नेपालको संविधान २०७२ जारी हुने पूर्वसंध्यामा संविधानका अन्तरवस्तुमा असन्तोष जनाउँदै  भीडन्त भइरहेकोमा आज (सोमबार) सोही संविधान अनुसार प्रदेश २ को स्थानीय तहको निर्वाचनमा मत हाल्न मानिसहरू लाइनमा लागेका छन् ।   चुनावमा आफूहरूले निकै उत्साहपूर्वक र शान्तिपूर्ण किसिमले भाग लिइरहेको मदाताहरूको भनाइ छ ।

गएराती पानी परेकोले विभिन्न  मतदानस्थलमा पानी जमेपनि मानिसहरू लामबद्ध भएर बिहानैदेखि सुरू भएको मतदानमा  सम्लग्न भएका छन्।  समग्रमा वीरगञ्ज महानगरसँगै पर्सा जिल्लाभरी नै उत्साहपूर्वक रुपमा चुनाव भइरहेको छ । बिहानदेखि कहि कतै असहज घट्ना नभएको जिल्ला प्रहरीले जनाएको छ ।

एक हजार ६५ भन्दा बढी मतदाता भएका मतदान स्थलमा ‘क’, ‘ख’ र ‘ग’ गरी मतकेन्द्रहरू स्थापना गरिएको छ ।  पर्सामा ३ सय ४३ मतदान केन्द्र  छन् । यसमध्ये वीरगञ्जमा  एक सय २९ वटा मतदान केन्द्र छन ।

२ लाख ५१ हजार ८ सय ४६ मतदाताले १४ वटा स्थानीय तहको नेतृत्व चयन गर्न मतदान गर्दैछन्।

 

तस्वीर : रितेश त्रिपाठी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.