हामी नेपाली, कस्ता नेपाली?


को नेपाली, कुन नेपाली

नेपाली हुनु भनेकै के हो भन्ने प्रश्नको सहज र एक मात्र उत्तर सम्भव छैन। नेपाली हुनुको वा नेपालीपनकोे सन्दर्भसापेक्ष परिभाषा हुने गर्दछ। यो विषयगत र विवादित विषय पनि हो। तसर्थ, नेपाली हुनुको एक मात्र र सर्वस्वीकार्य चारित्रिक विशेषता सम्भव छैन। यो मूलतः बहस र सङ्कथनको विषय हो। यद्यपि नेपाल र नेपालीको अस्तित्व आदिकालदेखि रहेको अनेक कथनहरू भेट्न सकिन्छ।

नेपाल महात्म्यका अनुसार नेपाल देशको उल्लेख स्मृति, पुराण, धर्मशास्त्र, आयुर्वेद, महाभारत, महाकाव्य, शिलापत्र आदिमा गरिएको छ (खनाल, २०२८)। अझ स्कन्द पुराणमा त नेपालमा एक लाख गाउँ थियो भन्ने श्लोक पनि समावेश रहेछ (नेपाल, २०५५ः३५)। ऐतिहासिक तथ्यप्रमाणका आधारमा चाहिँ चौथो शताब्दीको उत्तरार्धमा नेपाल भन्ने स्थान नाम स्थापित भइसकेको थियो भनिन्छ (हेर्नुस्, गेल्नर, २०१६)। यद्यपि नेपाल राज्यको अहिलेको स्वरूप अठारौँ शताब्दीको उत्तरार्धमा मात्र ग्रहण गरेको भए पनि यस भूभागमा मानव बसोबास बीसौँ हजार वर्षदेखि नै थियो भन्ने यथेष्ट पुरातात्विक प्रमाणहरू भने फेला परेका छन् (हेर्नुहोस्, ल्यान्डन, ई.स. २००७, ह्वेल्पटन, ई.स. २००५, कर्भिनस, ई.स., २०००, पाण्डे र रेग्मी २०६२, शर्मा, २०३९)। यसअनुसार नेपाली पहिचान पनि कुनै न कुनै रूपमा आदि पहिचान मान्नुपर्ने हुन्छ।

प्राचीनता, प्राग ऐतिहासिक कालदेखिको सांस्कृतिक—ऐतिहासिक उद्विकासको जटिल प्रक्रिया आदिले नेपाल र नेपाली के हो भनी बुझन झ्नै दुसाध्य बनाइदिन्छ। बाहिरीयाले नेपाल वा नेपाली समाजको एक अंश वा खण्ड बुझेर नेपाल र नेपाली बारेको धारणा बनाउने र नेपाली चरित्र निरूपण गर्ने अभ्यास त अपर्याप्त, अपुरो मात्र होइन खतरनाक पनि हुन सक्छ।

यहाँ भने नेपाली पहिचान निर्माणका दुई वस्तुगत आधारबाट बहस सुरु गरिन्छ ता कि बहस छिचोल्न सजिलो होओस्।

१. राजनीतिक सीमा वा भूगोल निसृत आधार, र

२. सामाजिक सांस्कृतिक विशेषता वा चरित्रसँग जोडिएका आधार।

पहिलो आधारअनुसार वर्तमान नेपालको भौगौलिक राजनीतिक सिमानाभित्रका व्यक्तिहरू नै नेपाली हुन् जो राज्यको प्रचलित कानूनबमोजिम नागरिक बन्न योग्य ठानिन्छन्। यस्ता व्यक्तिले नेपाल राज्यलाई घर, खेत उपयोगबापत् कूत तिर्छन्, कुनै पनि आयआर्जनको केही हिस्सा कर तिर्छन् र नेपाल राज्यले नागरिकलाई प्रदान गर्ने सरसुुविधाबिना भेदभाव उपभोग गर्ने गर्दछन्। यस्तोमा व्यक्तिको मूल हेरिँदैन अर्थात् ऊ कताबाट आएको हो, कहिले आएको हो भन्ने हेरिँदैन। नेपाली समाज र सांस्कृतिक इतिहासका अध्येताहरूका अनुसार वर्तमानको नेपाली समाज विश्वका प्राचीनतम् सभ्यताहरूको निरन्तरता वा परम्पराको समागमबाट बनेको मानिन्छ। जसअन्तर्गत् खस, वैदिक आर्य, मङ्गोल, द्रबिड एवम् आस्ट्रिक र ईस्लाम सभ्यता पर्छन्। राज्यको नजरमा सबै यस्ता नागरिक समान हैसियतका हुन्छन्। अर्थात् नेपालमा अहिले जति पनि जाति, धार्मिक सम्प्रदाय, भाषिक समूह वा उद्भवजन्य सांस्कृतिक विशेषताका नागरिक छन् ती समान छन्। ती समान हैसियतका नेपाली हुन् र कानूनका दृष्टिमा समान मानिन्छन्। राज्यले नीतिगत वा व्यवहारिक रूपमा विभेद गर्न मिल्दैन।

दोस्रो आधारअनुसार नेपाली मूलका र मूलतः नेपाली राष्ट्र÷राष्ट्रिय भाषी। यस्ता नेपाली पहिचानबाहकहरू वर्तमान नेपालको सिमानाभित्र नअटाएका पनि हुन सक्छन्। यसै भूमिबाट बसाँइसराइ गएर कालान्तरमा जोजो जहाँजहाँ पुगे त्यहीँ अर्थात् नेपालको वर्तमान साँधसिमानाभन्दा बाहिर बसोबास गर्नेहरू पनि त्यसअर्थमा नेपाली नै भए। यसरी बस्ने नेपालीहरूले तत्तत् मुलुकका नियम–कानून मानेर बसेका हुन्छन्। उतै कर तिर्ने र उतैको राज्यले प्रदान गर्ने सुविधा उपयोग गर्ने गर्छन्। यद्यपि नेपाली पहिचान भने कायम राखेकै हुन्छन्। जसमा नेपालको वर्तमान साँधसिमाना निर्धारण हुँदा प्राविधिकरूपले सीमाको अर्को भागमा परेका नेपालीहरू पनि पर्छन्। वर्तमान नेपालसँग उनीहरूको पारिवारिक, सामाजिक, सांस्कृतिक, भावनात्मक साइनो रहन्छ। तर, उनीहरूले यो मुलुकको कानूनी वा राजनीतिक अधिकार भने उपभोग गर्न पाउँदैनन्। कानूनका आँखामा उनीहरू नेपाली नागरिक होइनन् अर्थात् उनीहरू विदेशी हुन्। उनीहरूलाई बोलिचालीको भाषामा प्रवासी नेपाली भनिने गरिएको छ। यसभित्र आजभोलि चलनचल्तीमा आएको नेपाल राज्यकोे नागरिकता त्यागिसकेका गैरआवासीय नेपाली पनि पर्न सक्छन्। मुलुक वा नागरिकताभन्दा मूल महत्वपूर्ण निर्धारक मानिन्छ यस्तो पहिचान निर्माणमा।

नेपाली पहिचानका यी दुई आधारलाई रामकृष्ण शर्मा (२०१६) ले आफ्नो दश गोर्खा भन्ने सङ्ग्रहमा समावेश ‘महानन्द र धर्मराजको देशप्रेम’ भन्ने निबन्धमा प्रस्ट पारेका छन्। उनी लेख्छन्, ‘थापाको नेपाल भौगोलिक सत्यमा अडिएको छ। तर, सापकोटाको नेपालले नेपाली सभ्यता, संस्कृति, पुर्खाको चिहान र सन्तानको वाससँग घटबढको सम्बन्ध राख्छ। सापकोटाको जातिप्रेम र देश प्रेममा आकाङ्क्षा मौलाएको छ, राजनीति रङ्गिएको छ (पृष्ठ १०२)।

यसरी हेर्दा नेपाली एउटा परिकल्पित राजनीतिक समुदाय (इम्याजिन्ड पोलिटिकल कम्युनिटी) भयो (एन्डरसन्, सन् १९८३)। एउटा राजनीतिक निर्माण, एउटा काल्पनिकी। दार्जिलिङ, सिक्किम, देहरादून होस् या बर्मातिरका कयौँ साहित्यकार, सङ्गीतकार, कलाकार आदि कुनै संयोगमा नेपाल प्रवेश गरे। यतैको नागरिकता लिए र नेपाली भए। त्यस्तै कुनै संयोगले गर्दा उनीहरूका पुर्खा नेपालको वर्तमानको चार किल्ला बाहिर पुगे र परदेशी भए। अहिले पनि जो आएनन्, उतै रहे उनीहरू पनि नेपाली नै रहे तर नेपाली नागरिकताविनाको। नेपालको कानूनले विदेशी ठान्ने अरू नै देशको नागरिक तर पनि नेपाली। प्रवासी नेपाली। व्यक्तिको सिर्जनशीलता र योगदानको आधारमा आम मान्छेले समान सम्मान गर्छन्, कुन नागरिक हो र होइन भनेर छुट्याउँदैन।

वैरागी काइँला नेपाली र इन्द्रबहादुर राई भारतीय भनेर साहित्यका पाठकहरूले भेदभाव त्यस वृत्तमा गर्दैनन्। झ्नै टड्कारो उदाहरण दुई भाइ गोपाल योञ्जन र कर्म योञ्जनलाई लिन सकिन्छ। एक नेपाली भए– अर्का भारतीय रहे। कला, साहित्य, सङ्गीतको लहरो पक्रँदै सिमानावारि आई नेपाली नागरिकता लिएर कानूनीरूपमा नेपाली भएका पहिलो पुस्ताका थुप्रै सर्जक हामी माझ् अझ्ै छन् भने प्राविधिक र व्यवहारिक कारण उतै सीमापारि नै अडेका थुप्रै नेपाली सर्जक छन्। उनीहरूकोे सिर्जना मन पराउनेहरूमा कुन मुलुकका नागरिकता बोकेका भन्ने चासो कम रहन्छ। एकाध गुनासा होलान्, तर, ती नगन्य छन्। त्यस्तै नेपाल र भारतबीचको खुला सिमाना, सामाजिक सांस्कृतिक सम्बन्ध र तुलनात्मक अवसरका कारण पछिल्लो एक शताब्दीमा मात्र ठूलो सङ्ख्यामा जनसङ्ख्याको आदनप्रदान भएको छ (रविकान्त, सन् २०१७, गेल्नर, सन् २०१६, गुरुङ, सन् २००६, कंसाकार, सन् २००१)। यताबाट उता बसाइँ सरेर भारतीय हुनु र उताबाट यता बसाइँ सरेर आएकाहरू नेपाली हुनु ऐतिहासिक यथार्थ हो। तर, ती दुईप्रति राज्यबाट गरिने अपेक्षा र तिनलाई राज्यबाट प्राप्त हुने सुविधा अथवा प्रताडना भने राज्यअनुसार फरक पर्ने नै भयो।

नेपालबाहिरका नेपाली अर्थात् प्रवासी नेपालीहरू पनि नेपाली भाषा, साहित्य, सङ्गीत, कला संस्कृतिको प्रबर्धन गर्न, बाँकी संसारलाई नेपाल र नेपालीपन चिनाउन अथकरूपमा लागिरहैकै हुन्छन्। नेपाली हुनुमा गर्व गरिरहेकै हुन्छन्। भावनात्मकरूपले आत्मीय हुन्छन् उनीहरू। पुर्खाको साइनोले बाँध्छ। त्यसैले हामीले उनीहरूलाई पनि त्यत्तिकै नजिक ठान्छौँ, आफूजस्तै ठान्छौँ। अर्थात् हामीजस्तै नेपाली। यद्यपि वास्तविकता उनीहरू माथि भनिएझैं कानूनीरूपमा नेपाली नागरिक होइनन्। दार्जिलिङ, आसाम, देहरादून, बर्मा आदि ठाउँमा बस्ने नेपाली यस कोटिमा पर्छन्।

त्यसकारण हामीले पहिला कुन नेपालीको कुरा गर्ने भन्नेबाट बहस सुरु गर्नुपर्ने हुन्छ। कुन नेपालीको कुरा हामी गरिरहेछौँ? भौगोलिक साँधसीमाभित्रका राष्ट्रिय पहिचानका नेपाली कि नेपाली सांस्कृतिक पहिचानका साँधसिमाना निरपेक्ष नेपाली। नेपालीको प्रवृत्तिको कुरा, नेपालीको संवेदनशीलताको कुरा पनि यही दुईवटा चरित्रबाट नियाल्नुपर्छ।

यहाँ भने यस लेखको उद्देश्य र सीमाअनुरूप हामी पहिलो अर्थात् नेपाल सिमानाभित्रका नेपालीको कुरा छलफल र सन्दर्भमा ल्याउने छौँ।

नेपालको साँधसीमाभित्रका हामी नेपाली

माथि भनिएजस्तै हालको नेपाली भूभागभित्र बस्ने, नेपाल राज्यलाई कर तिर्ने, राज्यप्रदत्त सुविधा उपभोग गर्ने र राज्यको दुर्दशासँगै आफू पनि दुख भोग्न अभिषप्त नेपालीको कुरा गर्दैछौँ। अर्थात् नेपालको साँधसीमाभित्र रहेका नेपालीको चरित्र, प्रवृत्तिको विश्लेषण गरेर हामी कस्तो नेपाली भन्ने छलफल गर्दैछौँ।

फेरि पनि एउटा प्रश्न भने बाँकी नै रहन्छ– के त्यसो भए यो साँधसीमाभित्रका सबै नेपालीको चरित्र, प्रवृत्ति एकै हुन्छ वा हुनुपर्छ? के सबै उस्तै नेपाली हुन्?

हो, सबै नेपाली कानूनी हैसियतमा उही वा एउटै हुन्। राज्यले सिद्धान्ततः नागरिकहरूलाई पक्षपात गर्न मिल्दैन। नेपाली राज्यको नागरिक हुनु अर्थात् नेपाली नागरिक हुनु सबैको साझ चरित्र वा पहिचान हो। तर, नेपाली भन्ने पहिचान निर्माण केवल कानूनी मात्र हुँदै होइन। त्यो कानूनी साथै राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदि पक्षहरूको अलगअलग होइन बरु ती विशेषताहरूको समुच्च रूप हो भन्ने बुझनुपर्छ। तसर्थ पनि नेपाली हुनुको एउटै वा साझ चरित्र के हो भनेर व्याख्या गर्न गाह्रो पर्छ।

हामीले माथि नै उल्लेख गरिसकेका छौँ कि नेपाली समाजमा विश्वका महानतम् सभ्यताको निरन्तरता भेटिन्छ। यसर्थ पनि यसको बनोट वा संरचना त्यत्तिको सरल नहुनु स्वभाविक पनि हो। नेपाली विभिन्न जातमार्फत विभाजित छन्। विभिन्न धर्ममा विभाजित छ। भाषाका हिसाबले, संस्कृतिका हिसाबले विविधता छ। भूगोलका हिसाबले फरक भएर बाँचेको छ। गाउँ, शहर, हिमाल, पहाड, तराईका रूपमा अलगअलग लाग्छन्। एउटै जातिका भनिएकाहरू पनि लामो समय फरकफरक भू–पारिस्थितिक वातावरणमा अनुकूलन हुँदै हुर्कंदा नितान्त भिन्न चरित्र भएका हुन्छन्। यसरी ती सबै विविधताको समुच्च रूप नै हामीले भन्ने गरेको नेपाली होे। हजारौँ वर्ष लागेर बनेका ती विशेषता हुन्। त्यस्तो विधि विशेषतासहितको नेपालीपन आफैँमा उदाहरणीय हुने त भयो नै तर ती सबै समान र सहअस्तित्वमा बाँचिरहन सक्नु वा बचाइरहन सक्नुचाहिँ चुनौती हो। शोषणमा र असमानतामा आधारितबाहेक सबै खाले विविधता हाम्रा सम्पदा हुन्। तिनले हामीलाई झ्नै मजबुत र एक बनाउन सहयोग गर्नुपर्छ। राज्यको जिम्मेवरी यहाँनिर महत्वपूर्ण हुन्छ।

ऐतिहासिक कालक्रममा निर्मित विविधतामध्ये कुनै एकलाई अलग्गै राखेर वा खण्डखण्डमा बुझ्ेर नेपाल बुझन र व्याख्या गर्न अवश्य सकिँदैन। तिनलाई त्यस्तै अन्य आयामहरूसँगको सम्बन्धमा र समग्रमा बुझनु अनिवार्य हुन्छ। ती सबै विशेषता आदि विशेषता र अपरिवर्तनीय भन्नेचाहिँ हुन्न। उद्विकासको क्रममा, सांस्कृतिक विकासको खास चरणमा आएर खास—खास मानव समूहहरूले ती विशेषता ग्रहण गरेका हुन् र कालान्तरमा ती परिमार्जित हुँदै आएका छन्। केही विशेषता अरूभन्दा लामो समय रहने हुन सक्छन्। तर, ती पनि सर्वकालिक होइनन्। सबै परिवर्तनीय नै हुन् र निरन्तर परिवर्तन भइरहेकै हुन्छन्। संज्ञामा वा विशेषणमा, नाम वा गुणहरूमा, रूप वा अन्तरवस्तुहरूमा। तर, यसो भनेर ती पहिचानजन्य विशेषता अयथार्थ भन्ने पनि होइन। अहिले जे छ त्यो पनि त्यत्तिकै साँचो हो– वर्तमानको यथार्थ। यो अनित्य हो, सर्वकालिक होइन भनेर नकार्न मिल्दैन। मानव इतिहास लामो हुन्छ तर मान्छेको इतिहास त एक जुनी न हो। तसर्थ उसले अर्को जुनीको लागि भनेर यो जुनीसँग सम्झैता गर्दैन। आजभन्दा एक लाख वर्ष पहिले नै यो पृथ्वीमा कम्तीमा पनि छ प्रजातिका दुई खुट्टामा उभिएर हिँड्न थालिसकेका मानव समूहको अस्तित्व थियो भन्ने ठानिन्छ, जुन अहिले एक मात्र छ, त्यो होमो स्यापिएन्स स्यापिएन्स हो। अर्थात् ती हाम्रा आदि पुर्खा थिए। संसारभर छरिएका मान्छेहरू तिनै होमो स्यापिएन्स स्यापिएन्सका भदा भतिजाहरूको विस्तार हो। अझै भन्ने हो भने प्राप्त मानव अवशेष र पुरातात्विक प्रमाणहरूको आधारमा होमो स्यापिएन्स स्यापिएन्सभन्दा पहिले र कतिपय अध्ययनअनुसार सँगसँगै पनि प्राक् होमो स्यापिएन्स, नियान्डरथल, होमो इरेक्टस, होमो स्यापिएन्स र जिनस होमोका प्रजातिहरू अस्तित्वमा रहेको ठानिन्छ। यद्यपि दुई खुट्टामा उभिएर हिँड्न सक्ने प्राक् मानवको उद्भव भने ६० लाख वर्ष पहिले नै भइसकेको मानिन्छ। (स्कारे, (सं) सन् २००५) तसर्थ हामीले इतिहासको हवाला दिएर आदिमता वा प्राचीनताको कुरा त गर्छौं। तर, कतिसम्म पहिलेको इतिहास भन्ने एउटा सहज प्रश्न यसरी पनि उब्जिन्छ।

त्यस्तै भूगोल र भौगोलिक–पर्यावरणले पनि व्यक्तिको वा समुदायको प्रवृत्ति र चरित्रमा विविधता प्रदान गर्दछ। काठमाडौँ, कर्णाली, हिमाल र मधेश भिन्न चरित्रमा बाँचेका छन्, जात र धर्म एउटै हँुदाहुँदै पनि। यसरी ती विविधताभित्र पनि अनेक विविधता निर्माण गरिदिन्छ भौगोलिक विविधताले। सबै थारू, मगर, राई वा क्षेत्री एउटै हुन् भनिरहँदा पनि उनीहरू आपसमा नै यति विविधता छ कि उनीहरूबीचमै पनि एकको भाषा अर्कोले बुझदैनन्। भौगोलिकरूपमा एक स्थानकाले अवलम्बन गर्ने सांस्कृतिक रीतिरिवाज अर्का स्थानमा लामो बसोबास गरेकाको लागि अनौठो वा नौलो ठान्छन्। एकको पवित्र खानपान अर्काको लागि वर्जितसमेत हुन सक्छ। लामो समयको मूलतः बसाइँसराइ र भूपारिस्थिक वातावरणसँगको अनुकूलताको अभ्यासले यस्तो विविधता सिर्जना गर्छ। त्यसैले हामी एकै हौँ भन्नेचाहिँ भावनात्मक हो, एउटै ऐतिहासिक निरन्तरता भएको पनि हुन सक्छ, नहुन पनि सक्छ। हामी एक हौँ वा फरक छौँ भन्ने भावना मूलतः सिर्जित कुरा हो। इतिहास सिर्जित यथार्थ न कि आनुवांशिक विशेषता। ऐतिहासिक निर्माण भन्नुको अर्थ नै त्यो शाश्वत र अपरिवर्तनीय होइन भन्ने नै हो।

केही प्राकृतिक, जीववैज्ञानिक संरचना र प्रव्रिmया तथा केही भावनात्मक र अनूभूतिजन्य विशेषताका कारण सबै मान्छेहरूमा केही आधारभूत समानता पाइन्छ तसर्थ संसारका मानिस एकै हुन् भन्न पनि सकिन्छ। कार्ल माक्र्सले संसारका मजदूर एक हौँ भने, अर्थात् उनले संसारका श्रमिक वर्गमा समानता छ भन्ने ठाने। त्यसैगरी श्रमको शोषण गरेर अतिरिक्त मुनाफाको दोहन गर्ने मालिक वर्गमा पनि समानता हुन्छ भने। यो राजनीतिक विश्वाससँग जोडिएको कुरा थियो। आज पनि हामी उस्तै वा हामी भिन्न भन्ने दैनिक व्यवहारमा राजनीतिको प्रभाव परिरहेकै हुन्छ। तर, फेरि पनि मूलतः मानिस (व्यक्ति) सामाजिक–सांस्कृतिक निर्माण हो, र सांस्कृतिक विशेषताका आधारमा एक अर्कासँग समान र फरकपनको अभ्यास गरिरहेको हुन्छ।

संसारको सबैजसो मूल सभ्यता स्रोत आबद्ध मानव समूहले निर्मित भएकै कारण पनि यहाँ अनुपम विविधता पाइन्छ। त्यसैले नेपालीको चरित्र र प्रवृत्तिको कुरा गर्ने हो भने कुन नेपालीको कुन आधारमा अर्थात् भूगोलका आधारमा वा जातिका आधारमा वा भाषाका आधारमा गर्ने भन्ने प्रश्न सधैँ जटिल बनेर रहने गर्छ। किन कि वर्तमानका कतिपय बलशाली र दबदबामा रहेका सङ्कथनहरू तिनै आधारहरूमा आधारित छन्।
तर, त्यति मात्र पनि पर्याप्त हुँदैन। उदाहरण खस भाषीकै लिन सकिन्छ वा अरू कसैको। काठमाडौँमा जन्मिएको खस भाषी र मुगुमा जन्मिएको खस भाषीको कुरा गर्ने हो भने दुवैको चरित्र फरक हुन्छ। पश्चिम डोटीका नेवार र पूर्व चैनपुरका नेवारहरूमा जातको समानताबाहेक धेरै विभिन्नता पाउन सकिन्छ। यी दुई भिन्न भूगोलका नेपालीकोे सोच एउटै हुँदैन।

मानिस मूलतः सांस्कृतिक प्राणी हो तै पनि एक वा दुई सांस्कृतिक विशेषताले मात्र उनीहरू समान पहिचान र समान सोचका नहुन सक्छन्। उसको सामाजिकीकरण, संस्कृतीकरण, ऊ कसरी र कति बाँकी विश्वसँग गाँसिएको छ र कसरी संस्कारित भएको छ भन्ने कुराले व्यक्तिले ग्रहण गर्ने मानवीय चेतनामा फरक पर्छ।

अर्थात् चेतना नैसर्गिक नभई सापेक्षित रूपमा उसको बाँकी विश्वसँगको सम्बन्ध, सामाजिकीकरण, संस्कृतीकरण, संस्कारित हुने कुरा भूपारिस्थितिक अर्थात् पर्यावरणले पनि फरक पार्छ। पारिस्थितिक प्रणालीसँग उसले बाँच्नका लागि गरेको सङ्घर्षले कस्तो सीप सिकायो भन्ने कुराले दीर्घकालमा व्यक्तिको चरित्र र प्रवृत्ति मापन गर्छ। यसबाट विश्व दृष्टिकोण निर्माणका कति योगदान ग¥यो वा कस्तो ग¥यो भन्ने कुरा हुन्छ। भूगोल र समाजको बनोटले व्यक्तिलाई संस्कारित गर्छ। सांस्कृतीकरण गराउँछ। भूगोल भनेको निश्चित क्षेत्रफल भएको जमिनको इकाई मात्रै होइन, यो मानव—परिस्थितिजन्य पनि हुन्छ। निश्चित खालको पर्यावरणमा निश्चित खालको प्रवृत्तिको विकास हुन्छ। उसले बाँच्नका लागि पर्यावरणअनुसार गरेको सङ्र्घषले उसलाई त्यसरी नै संस्कारित गरको हुन्छ। सीप, ज्ञान, शिक्षा, विश्वदृष्टिकोण हासिल गरेका हुन्छ।

अर्को उदाहरण धर्मको लिऊँ। धर्मसँग जोडेर हेर्ने हो भने पनि खस भाषी हिन्दू मात्रै छैनन्, बौद्ध, व्रिmस्चियन पनि छन्। अर्घाखाँची, पाल्पा, नुवाकोटतिर बस्ने कतिपय नयाँ पुस्ताका मुस्लिम खस भाषी भइसकेका छन्। बारा, रौतहटमा बस्ने मुस्लिम पनि खस भाषा बोल्न सक्छन् तर उनीहरूको भूमिसँग र जीविकोपार्जनको लागि गरिने उपायको अवलम्वनका कारण तिनको प्रवृत्ति र चरित्र फरक हुन्छ। त्यसले गर्दा जसरी खस भाषीहरूको चरित्र र प्रवृत्ति एकै हुन्छ भनेर केलाउन समस्या हुन्छ त्यसै गरी एउटै धर्म मान्नेहरूका बीचमा पनि विविधता हुन्छ। हिन्दू धर्म मान्नेहरूका बीचमा अनेक विविधता छन् र अनेकता छन्, त्यस्तै अन्य धर्ममा पनि।

यहाँ खस भाषा भन्नाले मूलधारको व्यापक प्रचलनमा रहेको नेपाली भाषा भनिएको हो। यहाँनेर एउटा के कुरामा प्रस्ट हुनु आवश्यक छ भने हामी यहाँ भाषाको बारे राज्यको नीतिका बारेमा बहस गरिरहेका छैनौँ। राज्यको एक भाषा नीतिका कारण वा बसाइँ सरेर आएर नयाँ समूहसँग घुलमिल भएर बस्नुपरेका कारण स्वस्फूर्तरूपमा आश्रयस्थलका समुदायका भाषा सिकेका कारण कुनै समूहको भाषा लोप वा परिमार्जन भो भनेर।

व्यक्तिको चरित्रलाई जीव विज्ञानसँग अर्थात् आनुवंशिक चरित्रहरूसँग जोडेर बहस हुन सक्छ। तर, त्यो मूल हुँदै होइन। मूल कुरा सांस्कृतीकरण नै हो। थेप्चो नाक र चुच्चो नाक हुँदैमा व्यवहार फरक पर्छ भन्ने होइन। लिम्बुवानमा जन्मे, हुर्केको बाहुनमा जति ‘लिम्बू चरित्र’ हुन्छ। थातथलो छोडेर अन्यत्र जन्मे, हुर्केको लिम्बूको चरित्र मूल थलोको लिम्बूभन्दा फरक हुन्छ। मगर, थारू वा अरू कुनै समूहका लागि पनि यो त्यत्तिकै सत्य हुन्छ। पूर्व मोरङ, सुनसरीका थारूहरू पश्चिम नेपालका थारूहरूभन्दा यत्ति धेरै फरक छन् कि उनीहरूमा समानता खोज्नुपर्ने हुन्छ। तर, त्यतै अर्थात् मोरङ, सुनसरीका खवासहरूसँग यति धेरै समानता छ कि मानौँ ती एकै हुन्। अहिलेसम्म राज्यको हिसाबमा र धेरै अन्य समूहका लागि पनि उनीहरू एउटै हुन्। उनीहरूकै लागि उनीहरू उस्तैउस्तै तर पनि थुप्रै फरकफरक चारित्रिक सांस्कारिक विशेषतासहितका अलग समूह हुन्। खवासहरूको सङ्गठित प्रयासले उनीहरू भोलि नेपालका बेग्लै जनजातिका रूपमा सूचिकृति हुन सक्ने छन् (पछिल्लो आयोगमा पनि उनीहरूले प्रयास गरेका थिए, निवेदन दिएका थिए, उनीहरूका अनुसार उनीहरूको राजनीतिक आवाज कमजोर भएका कारण र पक्षमा वकालत र भरथेग गरिदिने नभएका कारण उनीहरू सूचीकृति हुन सकेनन् भन्ने गुनासो गर्छन्)। यसै उदाहरणका आधारमा पनि भन्न सकिन्छ कि उस्तै वा बेग्लै हुनु भनेको राजनीतिक निर्माण पनि हो। यसर्थ उस्तै र फरक भन्ने प्रवृत्ति केलाउनु जटिल र कष्टसाध्य काम हो। खस आर्य, मधेशी, दलित, जनजाति भनेर राजनीतिक डिस्कोर्स भइरहेको छ, त्यसमा पनि उपसमूहहरू छन्। विविधता छ। हामी एकैँ हो भने आधारहरू छन् र अलग हौँ भन्ने पनि प्रशस्त आधारहरू छन्।

विविधता, विभिन्नताहरू हाम्रा सामुहिक सामथ्र्य हुन्। तर, जब त्यो विविधतालाई तेर्सो वा समान धरातलमा नभई ठाडो वा उचोनिचो गरेर राज्यले वा एकले अर्कालाई व्यवहार गर्दछ। त्यस्तो असमान व्यवहारलाई संस्थागत गरिन्छ तब तिनै विशेषता द्वन्द्व एवम् समस्याका कारण बन्छन्। अन्तोगत्वा सामथ्र्य हुनुपर्ने विशेषताहरू हाम्रा कमजोरी पनि बन्न जान्छन्। राज्य र यसका चालकहरू शक्ति केन्द्रिकृत गर्न चाहन्छन्, आफू र आफ्नालाई अवसर र स्रोत सम्पन्न बनाउन चाहन्छन्। यस्तो प्रवृत्ति सबैतिर हुन्छ। नेपालमा पनि थियो र छ। राज्यका यस्ता प्रवृत्तिले गर्दा विविधता विभेदका आधार बन्न पुग्छन् र हामीपन कमजोर बन्न पुग्छ। आधुनिक राष्ट्र राज्यको रूपमा उदयपछि पनि यस्ता व्यवहारहरू भए। त्यसलाई सच्याएर अगाडि बढ्नु इतिहासदेखिका विभेदलाई कम गर्नु हो र हामीपनलाई बलियो बनाउनु हो।

बदलिँदो विकास, बदलिँदो विश्व, बदलिँदो पहिचान

केले फरक पार्छ सामुहिक परिचय निर्माण र निरन्तर परिवर्तन हुने कुरालाई? यसलाई उत्पादन प्रणाली, उत्पादन सम्बन्ध, अवसर, संस्कार र पर्यावरण, बाँकी विश्वसँगको सम्पर्क आदिले फरक बनाउँछ वा बनाएको हो। नेपालको आन्तरिक र बाह्य राजनीतिले फरक बनाएको हो। व्यक्तिको स्वभाव, चरित्र, प्रवृत्ति भनेको घरको धुरी अर्थात् छानोजस्तो हो। बाहिरकाले सहजै देख्न सक्ने। जग भनेको उत्पादन प्रणाली, उत्पादन सम्बन्ध, अवसर र पर्यावरण हो। सहजरूपमा देख्न नसकिने। तर, यही जगले नै कसरी मिलेर बस्ने, कसरी, कस्तो समाजिक सङ्गठन बनाउनेजस्ता कुराहरूको तय हुन्छ। सामाजिक सङ्गठनका आधारमा समाजका निश्चित मूल्य मान्यता निर्धारण हुन्छ। त्यसको आधारमा व्यवहार हुन्छ। त्यस अर्थमा नेपाली स्वभाव स्थायी होइन।

न्युयोर्क, दिल्ली, काठमाडौँमा बस्ने मानिसको चरित्रमा समानता देखिन थालेको छ। अमेरिकाको आलास्कामा खेती गर्ने, नर्बे वा रुसको उत्तरमा बस्ने, तिब्बतमा बस्ने र नेपालको हिमाली भेगमा बस्ने मानिसका बीच केही समानता भेट्न सकिन्छ। त्यसकारण नेपाली चरित्र खस आर्य, जनजाति, दलित मात्र भनेर व्याख्या गरियो भने त्यो राजनीतिक मात्रै हुन्छ। अर्थात् राजनीतिक समूह बनाउने र राजनीतिक चरित्र बनाएर आरोपित गर्ने मात्रै हो। माथि नै भनियो कि झपामा बस्ने खस आर्य, काठमाडौँमा बस्ने खस आर्यबीच भिन्नता छ। जुम्लामा बस्ने खस आर्य र चितवनमा बस्ने खस आर्यमा पनि फरक छ। त्यस आधारमा भन्ने हो भने पनि कुन नेपाली कहाँको नेपाली भनेर हेर्नुपर्ने हुन्छ। खस आर्यको चुच्चो नाक हुन्छ, जनजातिको थेप्चो नाक हुन्छ भन्ने पनि विश्वव्यापी मानक होइन। यसरी प्रजाति र जातिमा पनि चरित्र खोज्नु हुँदैन। यसो भनेर सांस्कृतिक पहिचान हुन्न भनेको होइन। तर, त्यसका निर्धारकहरूको सापेक्षतामा नै ती पहिचानको अर्थ खुल्ने भनिएको हो।

सारमा कुनै समूह वा समुदायलाई अलग थलग राखेर बुझन खोज्दा हामीले भनि रहेको नेपाली चरित्र नभेट्न सकिन्छ। तर, जब एक समूह वा समुदायको सन्दर्भमा सापेक्षतामा हेरिन्छ तब मात्र त्यस्तो सम्भव हुन्छ। यसको अर्थ ती समूहको छुट्टाछुट्टै अर्थ र अस्तित्व छैन भन्ने होइन वा तिनलाई एक अर्कासँग तुलना गरेर वा दाँजेर हेर्नुपर्छ भन्ने पनि होइन। संस्कृतिका सम्बन्धमा त त्यसरी दाँजेर हेर्नु गलत हुन्छ।

नेपाली हुनुको अर्थ

नागरिकता प्रमाणपत्रले प्रदान गर्ने परिचय कानूनी, राजनीतिक परिचय भयो। आर्थिक सामाजिक सन्दर्भमा नेपालीहहरूको केही परम्परागत साझ चरित्रहरूबाट चिनिन्छन्। यद्यपि ती पनि विशिष्ट, नेपालीका मात्र भन्ने होइन। सामाजिकरूपमा पारिवारिक मूल्य, सहकार्य, सहनशीलता, सहिष्णुता, ग्रहणशीलता, हँसमुख, विश्वास गर्न योग्य आदि लामो समयदेखि नेपाली साझ चरित्रका रूपमा स्थापित हुँदै आएको छ। विभिन्न सभ्यता, संस्कृतिका मानव समुदायबीच अन्तरव्रिmया र एक अर्कामा घुलमिल हँदै हुर्केका कारण लामो समयको अन्तरालमा यस्तो विशेषता विशिष्टता बनेर विकसित भएको हो। तिनै विशेषता कालान्तरमा नेपाली साझ चरित्र बनेर हुर्केका हुन्। यस अर्थमा नेपाली विशेषताको आधार प्राचीन कालदेखिको विविधता र सहअस्तित्व नै हो।

यस्तो नेपालीपन वा नेपाली हुनुको केही विशेषता, चरित्र र प्रवृत्तिलाई पुननिर्माण गरिराख्नुपर्छ। पुनरुत्पादन गरिराख्नुपर्छ। यस्ता विशेषता, चरित्र र प्रवृत्ति निर्मित कुरा हो। त्यो अनादि, अनित्य यथार्थ होइन। तसर्थ, हामी भन्ने भावनालाई यथावत् राख्न त्यस्ता कुरा निर्माण गरिराख्नुपर्छ। यस्तो कदम सबै राज्यहरूले चालेका हुन्छन्। हामीले पनि गर्नुपर्छ। विविधतासहितका हामी नेपालीलाई एक ठाउँमा बाँध्ने आधारको आवश्यकता छ। त्यो अहिलेको खोजी हो।

तर, हामी नेपाली मात्र भएर फरक भएका होइनौँ। हामी संस्कारित कसरी भयौँ भन्ने कुराले निर्धारण गरेको हो। संस्कृति, संस्कार भनेको एक अर्कासँग जोडिएका हुन्छन्। ती धर्मसँग पनि जेलिएका हुन्छन् तर एकै होइनन्। त्यसबाट खास समयमा धर्म, जाति, क्षेत्रमा फरक पर्छ।
तसर्थ हिजोका प्रतीक र विम्बहरू जसले नेपालीलाई एउटा सूत्रमा बाँध्ने प्रयत्न गरे। तिनले अहिलेका यथार्थ धान्दैनन्। हामीलाई नयाँ प्रतीक, नयाँ विम्बहरू चाहिएको छ। नयाँ यथार्थअनुरूपको त्यस्तो धागो चाहिएको छ जसले हामीलाई नेपाली हुनुको एउटै भावमा बाँध्न सकोस्। एक बहुराष्ट्रिय राज्यका आफ्ना सीमा हुन्छन् र सोहीअनुरूपका सम्भावनाहरू पनि हुन्छन्। ती सीमाहरूको पहिचान र सोहीअनुरूपको सम्भावनाहरूको खोजीले हामीलाई त्यस्तो एउटा नेपाली हुनुको भाव भूमिमा लिएर जान सक्छ।

कुनै पनि समाजमा एक–आपसमा बाँध्ने सूत्र र एक–अर्काबाट पर धकेल्ने कारक तत्वहरू कायम रहेका हुन्छन्। यो समाज विज्ञानको सामान्य सिद्धान्त हो।

(पत्रकारद्वय योगेश ढकाल र कृष्ण गिरी सम्पादित ‘अबको नेपालः कार्यदिशा र सम्भावना’ पुस्तकमा समेटिएको आलेखको पहिलो खण्डको अंश। पुस्तकमा २६ जना विषयविज्ञका २५ विषयका अनुसन्धानात्मक आलेख छन्।)

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.