रञ्जनाको मुख बोल्दैन, आँखा मात्र बोल्छ

सप्तरीको मेलठ गाउँमा गत वर्ष मारिएका वीरेन्द्र मेहताकी पत्नी रञ्जना (दायाँ) आमा र केटाकेटीसँग। तस्बिर: सन्जिब बगाले/सेतोपाटी


पूर्व–पश्चिम राजमार्गको रुपनीबाट राजविराज नपुग्दै मलेठ गाउँ आउँछ। सडकबाट बायाँतर्फ दस मिनेटजति हिँडेपछि एउटा घर अगाडिको रूखमा कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम, नेकपा एमाले, माओवादी केन्द्र लगायत सबै पार्टीका झन्डा राखिएका छन्।

भर्खरै बनाएर सकिएजस्तो देखिने त्यो घरमा तीनवटा टिनका कटेरा छन्। आँगनमा गाई बाँधेर राखिएका छन्। यो घर हो, सप्तरी घटनामा ज्यान गुमाएका वीरेन्द्र मेहताको। अचेल यहाँ मेहताकी पत्नी रञ्जना आफ्ना काखे छोराछोरी स्याहारेर बसेकी छन्। उनलाई साथ दिएकी छन्, उनकी आमाले।

हामी त्यहाँ पुग्दा रञ्जना र उनकी आमा घरायसी काममा व्यस्त थिए। साना छोराछारी आँगनमा खेल्दै थिए। ठूली छोरी आठ वर्षकी छन् भने सानी तीन वर्षकी। ठूली र सानी छोरीका बीचमा अर्की एक छोरी र छोरासमेत छन्।

रञ्जनाका छोराछोरीलाई स्थानीय निजी विद्यालयले निःशुल्क पढाउने व्यवस्था मिलाइदिएको छ। यो सुविधा आफ्ना बुवाको ज्यानको सट्टा पाएको हो भन्ने उनीहरूलाई थाहा छैन। थाहा हुने कुरा पनि भएन। यी सब बुझेकी रञ्जना पनि त्यो घटनाबारे केही बोल्दिनन्। तारन्तार सोध्दा पनि उनको बोली फुट्दैन, खाली उनका आँखा बोल्छन्। ती आँखा शून्य छन्, एकदम ओभानो। सायद रुँदारुँदा आँखामा आँशुकै खडेरी परिसक्यो!

रञ्जनाकी आमाको पनि उही हाल छ। उनी केहीबेर कुराकानी गर्न खोज्छिन्, तर शब्द घाँटीमा आएर अड्किदिन्छ। उनी छिनछिनमा ज्वाईं सम्झेर रुन थालिहाल्छिन्।

‘खाली टोलाइरहन्छे, केही बोल्दा पनि बोल्दिनँ,’ रञ्जनाकी आमाले भनिन्, ‘यसलाई के भयो के भयो, यसको हालत देखेर मलाई नै पीडा भइरहेको छ, यत्रा लालाबाला कसरी हुर्काउँछे भनेर मन त्यसै अमीलो हुन्छ।’

रञ्जनाको जिन्दगी केलाउने हो भने उनलाई खुसीले कहिल्यै साथ दिएन। सात वर्षकै उमेरमा बाबु गुमाइन्। उनी एक्ली सन्तान थिइन्। बिहेपछि आमा पनि सँगै बस्न आइन्।

महोत्तरीका वीरेन्द्र प्रहरीमा जागिरे थिए। माओवादीले जागिर छाड्न धम्की दिएपछि उनी खेतीकिसानीमा लागे। कृषिबाट गुजारा राम्रैसँग चलेको थियो। प्रशस्त सम्पत्ति नभए पनि खानलाउन दुःख थिएन।

रञ्जनाले आफ्ना बाबुको माया नपाए पनि श्रीमानको माया पाएकी थिइन्। उनकी आमा पनि छोरी–ज्वाईं र नाति–नातिना हेरेर चित्त बुझाउने भएकी थिइन्।

समय सधैं एकनास कहाँ हुने रहेछ?

त्यो दिन साँच्चै एकनासको भएन।

२०७३ फागुन २३ गते।

त्यस दिन रञ्जनाको खुसी खोसियो। गजेन्द्रनारायण सिंह औद्योगिक प्रतिष्ठानमा नेकपा एमालेले गरेको कार्यक्रम स्थलबाहिर प्रहरीले चलाएको गोली लागेर वीरेन्द्रको ज्यान गयो। रञ्जनाको खुसी खोसियो।

त्यो घटनामा वीरेन्द्रसँगै अन्य चार जनाले ज्यान गुमाए।

वीरेन्द्र कुनै पार्टीमा आबद्ध थिएनन् न त आन्दोलनको पक्षमै थिए। प्रहरीको जागिर छाडेपछि उनी खेतीकिसानी गर्दै आफ्नै परिवारमा रमाएका थिए।

त्यो दिन पनि उनी घरकै काममा व्यस्त थिए। नजिकै सडकमा होहल्ला भएपछि हेर्न गए। एमाले सभास्थलबाहिर प्रहरी र आन्दोनकारीबीच झडप भइरहेको थियो। उनी अनाहक त्यो झडपको शिकार भए।

‘एमालेको कार्यक्रम नभएको भए वीरेन्द्रको ज्यान जाने थिएन कि!’ रञ्जनाकी सानिमा रञ्जुदेवी मेहताले भनिन्, ‘वीरेन्द्रको मृत्युपछि रञ्जना कसैसँग बोल्दा पनि बोल्दिन। पहिले सबैसँग खुल्ने मान्छे अहिले त हामीसँग पनि थोरै मात्र बोल्छे।’

एमालेको त्यो कार्यक्रमलाई लिएर विभिन्न खाले विश्लेषण हुने गरेका छन्। एमालेले त्यस्तो बेला मधेस आन्दोलनको केन्द्रमा गएर कार्यक्रम गर्न हुन्थेन भन्नेहरू एकथरी छन् भने अर्काथरी मधेसी मोर्चाले एमाले कार्यक्रम बिथोल्न हुन्थेन भनी टिप्पणी गर्छन्। स्थिति संवेदनशील छ भन्ने जान्दाजान्दै सरकारले पर्याप्त सुरक्षा दिएन भन्नेहरू पनि छन्।

जसले जे तर्क गरे पनि रञ्जनाका लागि त्यसको कुनै अर्थ छैन। उनको जीवनको एउटै सत्य हो, त्यो घटनामा उनले आफ्नो जीवन गुमाइन्, जसलाई अब कुनै पनि तर्क–बितर्कले बदल्न सक्दैन।

वीरेन्द्रको मृत्युपछि राज्यले उनीसहित अन्य पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ। विभिन्न राजनीतिक दलबाट पनि सहयोग पाएका छन्। यसले गुजारा चलाउन त सजिलो भएको छ, तर मन बुझाउने बाटो फेला परेको छैन। मनोवैज्ञानिक रूपमा विक्षिप्त उनलाई परामर्श वा उपचारको खाँचो रहेको आफन्त बताउँछन्।

रञ्जनाले मुख नखोले पनि आफन्तहरूका अनुसार अर्को एउटा गाँठो उनको मुटुमा कस्सिएको छ– बाबुको माया नपाई बालापन बिताउनुपर्ने जुन नियति उनले भोगिन्, उनका केटाकेटीले अब त्यही नियतिबाट गुज्रनुपर्नेछ। र, यही अनुभूतिले रञ्जनालाई सबभन्दा बढी सताइरहेको छ।

‘रञ्जनाको न एमालेसँग कुनै साइनो छ न त मधेसवादी दलसँग, तर यी दुवै पक्षको राजनीतिक हठले उनको खुसी खोसियो। अब यो खुसीको मूल्य न एमालेले तिर्न सक्छ न त मधेसवादी दलहरूले नै तिर्न सक्छन्,’ स्थानीय भन्छन्, ‘सरकारले पनि तिर्न सक्ने क्षमता राख्दैन।’

रञ्जनाको दु:ख रञ्जनासँगै रहनेछ।

अझ कति समय उनका मुख बोल्ने छैनन्, आँखा मात्र बोल्नेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.