प्योङयाङमा नेताहरुले भनेः हामीलाई किन तर्साइन्छ?

'मेरो भ्रमणसँगै उत्तर कोरियामा ट्रयाक टु शुरु भयो'


एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको केहीसाता अघिको उत्तरकोरिया भ्रमण विवादित बन्यो। संसदमा समेत उनको भ्रमणलाई लिएर प्रश्न उठ्यो। अमेरिका, जापान, दक्षिण कोरिया र उत्तरकोरीयाबीचको तनाव बढेका बेला उनी प्योङयाङ गएका थिए। यस्तो अवस्थामा उनी उत्तर कोरिया किन गएका थिए त? उत्तरकोरियाबाट फर्किए लगत्तै उनी दुई नम्बर प्रदेशको चुनावी तयारीमा खटिए। उनको उत्तरकोरिया भ्रमण र दुई नम्बर प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचनको बारेमा सेतोपाटीले उनीसँग कुरा गरेको छ। प्रस्तुत छ सेतोपाटीका लागि अमित ढकाल र रोहेज खतिवडाले गरेको अन्तर्वार्ताको सम्पादित अंश:

  • उत्तरकोरिया र अरू मुलुकबीच तनाव बढिरहेको बेला तपाईं उत्तरकोरिया जानुभयो। क्षेप्यास्त्र परिक्षण, अन्तर्राष्ट्रिय नाकाबन्दी चलिरहेकै बेला तपाईं किन जानुभएको हो?

पहिलो कुरा, यो अपर्झट तय गरिएको भ्रमण होइन। अहिलेको तनावसँग यसको कुनै सम्बन्ध छैन। प्रत्येक पाँच वर्षमा हुने कार्यक्रममा भाग लिन म गएको हुँ। २०१२मा पनि भएको थियो, २००७, २००२ र १९९७ पनि भएको थियो।

दोस्रो, यो निम्तो मलाई धेरै पहिले नै आएको थियो। ‘इन्टरनेसनल एसोसियएसन अफ पार्लियामेन्टरियन्स फर पिस’ भन्ने शान्तिका लागि काम गरिरहेको संस्थाले मलाई उत्तरकोरिया जान आग्रह गर्यो।

‘इन्टरनेसनल कन्फेरेन्स अफ पोलिटिकल पार्टीज्’का अध्यक्ष तथा मेरा मित्र होसेदो भेनिसियाले पनि मलाई आग्रह गरे। यो संस्थाको म संस्थापक पनि हुँ। द्वन्द्व भइरहेको यो ठाउँमा शान्तिको प्रयास थाल्न सकिन्छ कि भन्ने उनको आशय थियो।

शान्ति कुनै एउटा पक्षको चाहनामात्रै होइन, आम मानव जातिको चाहना हो। सबै तमासामात्रै हेरेर बस्ने तर पहलचाहिँ कसैले नगर्ने हो भने संसारमा कहीँ पनि शान्ति सम्भव छैन। लामो समयदेखिको मेरो सम्बन्ध त्यहाँ रहेको हुनाले उहाँहरूले मलाई आग्रह गर्नुभएको हुनसक्छ।

  • तपाईंको उत्तर कोरियासँगको सम्बन्ध कहिले देखिको हो?

म सन् ११९३को अक्टोबरमा पहिलो पटक प्योङयाङ गएको थिएँ। त्यहाँ किम इल सङसँग भेट भएको थियो। उहाँले हामीलाई ‘लन्च’ दिनुभएको थियो। उहाँसँग लामो वार्ता भयो। उहाँले आफ्नो लामो अनुभव बताउनु भयो।

कसरी कोरियालाई खुलापन तिर लैजादैछौं, चीनको आर्थिक विकासबारे कसरी अध्ययन गर्दैछौं भन्ने उहाँले सुनाउनु भएको थियो। कोरियाली प्रायद्वीपमा कसरी शान्ति कायम गर्ने र दुई कोरियाको एकिकरणको प्रयास कसरी अघि बढाउने भन्ने पनि उहाँको सोच थियो। उहाँले संघीय खाकाको परिकल्पना पनि गर्नुभएको थियो।

यसपछि १९९६ र १९९८मा पनि म गएको थिएँ।

  • सङसँग तपाईंको फेरि भेट भयो?

सङसँग मेरो दोस्रो भेट हुन सकेन। १९९४मा नोभेम्बर महिनामा हामीले नेपालमा सरकार बनायौं। ११९३को भेटमा मैले नेपालमा चुनाव हुँदैछ र अबको सरकार हामीले बनाउने सम्भावना छ भनेको थिएँ।

उहाँ बहुत खुशी हुनुभएको थियो। राजा भएको देशमा कम्युनिष्ट पार्टीले सरकार बनाउने निकै रोचक छ र मैले त्यो सम्भावना देखिरहेको छु भन्नुभएको थियो। राजासँग मिलेर जान सजिलो हुन्छ भन्नुभएको थियो। नरदोक सिंहानुक लामो सम्बन्धबाट उहाँलाई त्यस्तो लागेको रहेछ।

मलाई थकथक पनि लाग्छ, नोभेम्बरमा हामीले सरकार बनाउनुअघि त्यही वर्ष जुलाइमा उहाँको निधन भयो।

  • सङका छोरा किम जोङ इलसँग पनि भेट भएको थियो?

भेट भएन, उनका छोरासँग पनि भेट भएन। उनका नाती किम जोङ उनसँग पनि भेट भएको छैन। यसपटकको भ्रमणमा पनि उनीसँग भेट भएन।

यसपाली त्यहाँका राष्ट्रपतिसँग भेट भयो। त्यहाँ अहिले राष्ट्रपति बेग्लै हुनुहुन्छ, प्रेसिडेन्ट अफ द सुप्रिम एसेम्बली। उहाँ सुप्रिम लिडर किम जोङ उन पछिको दोस्रो दर्जाको नेता हुनुहुन्छ। पार्टीका उपाध्यक्षद्वयसँग पनि भेट भयो। अरू तीनजना महत्वपूर्ण नेताहरूसँग भेट भयो। जसमध्ये एकजना मन्त्री हुनुहुन्छ, एकजना पार्लियामेन्ट्री फ्रेन्डसिप कमिटी अध्यक्ष हुनुहुन्छ। उहाँहरू लगायत महत्वपूर्ण नेताहरूसँग भेट भयो।

त्यहाँ गएर मैले शान्तिको हाम्रो अनुभव र सन्देश पुर्याएँ। बुद्धको जन्मभूमिकाबाट संसारमा जाने भनेकै शान्तिको सन्देश हो। नेपालले संसारलाई दिने भनेको दुई कुरा छ- प्रजातन्त्रको नयाँ नमुना हामी दिनसक्छौं र अर्को शान्ति प्रकृयाको आफ्नो अनुभव बाँड्ने हो।

त्यसैले मेरो उत्तर कोरिया भ्रमणलाई अन्यथा रूपमा कसैले लिनु जरूरी छैन। बरू खुशी केमा हुनु पर्छ भने ‘ट्र्याक टु’ पनि सुरु भयो, ‘ट्र्याक थ्री’ पनि सुरू भयो। राजनीति ट्रयाक वनले मात्रै चल्दैन।

यहाँ म पार्टीको प्रतिनिधित्व गरेर गएको हुँ कि भन्ने पनि प्रश्न उठेको छ। म पार्टीको प्रतिनिधित्व गरेर गएको होइन। नेपालको परराष्ट्र मन्त्रालयले नजानु भनेको कुरा अवज्ञा गरेर म गएको होइन। सरकारलाई थाहै छैन भन्ने पनि होइन। दक्षिण कोरियाका राजदुतले परराष्ट्र मन्त्रालयमा सामान्य चासोचाहिँ राख्नुभएको रहेछ। त्यो स्वभाविक हो। त्यसैले यसलाई अन्यथा लिनु पनि हुँदैन। द्वन्द्व देख्यो कि डराएर भागिहाल्नु पनि हुँदैन।

  • तपाँईको उत्तर कोरियासँग लामो सम्पर्क छ। अरु कसैले पनि तपाईलाई उत्तर कोरिया जान आग्रह गर्नुभएको थियो ?

दक्षिण कोरियाका कतिपय मित्रहरुले मलाई भन्नुभएको थियो। उहाँहरूको चाहना युद्ध रोकेर वार्ता र संवादको सुरूवात गर्न सकियोस् भन्ने हो। विश्वासको वातावरण बनाउने उहाँहरूको चाहना हो। यो सम्भव छैन भने पनि त कोशिश त गर्नुपर्यो नि। सन्देश त पुर्याउनु पर्यो। त्यो काम मैले गरेको हुँ।

अन्तरराष्ट्रिय शान्तिका क्षेत्रमा काम गर्ने अर्को एउटा संस्थाले पनि मलाई यस्तो आग्रह गरेको थियो। अमेरिकाको सो संस्थाको उपाध्यक्ष अमेरिकी कंग्रेसम्यान हुनुहुन्छ, उहाँले पनि मलाई आग्रह गर्नुभएको थियो।

नेपालको अनुभवबाट संसारलाई लाभ हुन्छ र मेरो व्यक्तित्वबाट कसैलाई लाभ हुन्छ भने मैले यो गर्नुपर्थ्यो। त्यहाँको नेतृत्व समक्ष सन्देश पुर्याउन सकिन्छ भनेर म गएको हुँ। शान्तिका लागि लागेको र शान्ति स्थापनाको विज्ञता हासिल गरेको नेपालको अनुभव यहाँ काम लाग्छ। यसलाई कसैले अन्यथा लिनु जरूरी छैन।

  • उत्तर कोरियाली नेताहरूसँग भेट हुँदा अहिलेको तनावको बारेमा पनि कुरा भयो?

अहिलेको तनावको विषयमा उहाँहरूको एउटा प्रश्न छ- न्युक्लियर हतियार हामी सानो देशले राख्न किन नपाउने र ठूला र शक्तिशाली देशले मात्रै किन राख्न पाउने? के तर्सेर बस्ने मात्रै नियती हो हाम्रो? हामीलाई किन तर्साउने? तर्साएपछि हामीले त्यसको प्रतिवाद गर्नुपर्छ भन्ने उहाँहरूको भनाई छ।

मैले कुटनीतिक भाषामा उहाँहरूलाई भनेको छु- आफूले गरिरहेको काम जसलाई पनि राम्रो लाग्छ। अरूको कुरा सुन्नु, सुझाव लिनु राम्रै हुन्छ भनेको छु।

  • उत्तरकोरियाका नेताहरू साँच्चिकै युद्धमा जान चाहिरहेका छन् अथवा शान्ति प्रकृया फेरि सुरु भए हुन्थ्यो भन्ने छ?

यो इगोको लडाइँ बडो खतरनाक हुन्छ। यो इगोलाई त्याग्ने हो भने अब शान्ति सहज पनि हुन्छ।

मैले त आफ्नो कुरा भनेर आएको हुँ। तर शान्तिप्रकृयालाई केन्द्रमा राखेर छलफल गर्न म गएको थिइनँ। मेरो मुख्य विषय त्यो थिएन। मैले आम भावना सम्प्रेषण गरेर आएको हुँ। उहाँहरूसँग जति बढि अन्तरक्रिया हुन्छ, एकअर्कालाई विश्वास गर्ने वातावरण त्यति नै राम्रो बन्दै जान्छ। त्यति नै उहाँहरूले अरूका कुरा सुन्ने वातावरण बन्दै जान्छ।

  • अहिलेको तनावको छायाँ उत्तरकोरियाली नेताहरूमा, त्यहाँका सर्वसाधारण मानिसहरुमा थियो कि थिएन ?

त्यहाँ वातावरण रिल्याक्स देखेँ मैले। सर्वसाधारण मानिसमा पनि कुनै त्रास थिएन। मलाई लागेको थियो, त्यहाँ त्रास होला। मलाई कसैले तर्साइरहेका थिए। म त्यहाँ भएकैबेला कसैले न्युक्लियर हान्दिने हो कि पनि भन्दै थिए। तर म गएँ।

  • तपाईं प्योङयाङ बाहिर पनि जानुभएको छ?

म यसपटक प्योङयाङबाहिर गइनँ। तर, अघिल्ला भ्रमणहरूमा गएको छु। त्यहाँको विश्वविद्यालयय लगायत घुमेको छु। उहाँहरूलाई मैले ‘आइसोलेसन’मा नबस्न आग्रह गरेको छु। कोरियाको बारेमा संसारभरिका मानिसको धारणा राम्रो छैन, कोरिया त मगन्तेको देश हो भन्ने मानिसको दिमागमा छ। यो राम्रो कुरा होइन। अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क बढ्यो भने मात्रै यो धारणामा परिवर्तन ल्याउन सकिन्छ भनेको छु।

  • नेपाली र संसारलाई उत्तर कोरियाको अवस्था बारे थाह छैन। भौतिक पूर्वाधार, विकास, जनजीवन हेर्दा उत्तर कोरियाको अहिलेको अवस्था कस्तो छ?

११९६ मा म त्यहाँ जाँदा ठूलो बाढी र बाढीपछि लामो खडेरी परेर निकै समस्या भएको थियो। उनीहरू ठूलो खाद्यसंकट सामना गरेका थिए।

यसपटक मैले त्यस्तो देखिनँ। फलफुल र तरकारी निकै राम्रो छ। धेरैतिर फलफुल र तरकारी खेती भएको मैले देखेँ।

भौतिक प्रगति पनि गज्जब छ। उनीहरु चिनियाँ जस्तै तिब्र गतिमा काम गर्न सक्ने रहेछन्।

एक वर्षभित्र उनीहरूले अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छन्। ९ महिनाभित्र एउटा ‘स्याटलाइट सिटी’ तयार गरेका छन्। एक वर्षभित्र अत्याधुनिक आँखा अस्पताल बनाएका छन्।

त्यहाँको ‘फन पार्क’ म हेर्न गएँ, एक साथमा पचास हजारदेखि एक लाख मान्छे त्यहाँ जाने गर्छन्। त्यो पनि उनीहरुले एक वर्षभित्र बनाए।

मलाई त यसपाली उत्तर कोरियामा त्रासैत्रास होला भन्ने थियो तर त्यहाँ फनपार्कमा त मानिसहरू मासु पोल्दै खाँदै परिवारसँग रमाइरहेको बडो रमाइलो दृश्य देखिन्थ्यो।

अहिले राजधानीमै एकसय पाँच तले होटल बन्दै छ। एउटा ५५ तले होटलको कफि हाउसमा म गएको थिएँ, त्यहाँबाट पुरै प्योङयाङ हेर्न सकिन्छ।

यहाँको सार्वजनिक यातायात पनि असाध्यै राम्रो छ। प्योङयाङमा ट्रलिबस चल्छ, ट्राम चल्छ। अण्डरग्राउण्ड रेल्वे छ, डबल डेकर बस छ। जब कि त्यहाँको जनसंख्या काठमाडौं उपत्यकाको जति पनि होइन। सडक पनि यहाँका चौडा र सफासुग्गर भएका छन्। ८ लेन, ६ लेन, ४ लेनका सडक बनाएका छन्। ‘ग्रिनरी’ पनि व्यापक छ।

उनीहरूले विज्ञान र प्रविधिमा पनि राम्रो विकास गरेका छन्। विज्ञान र हातहतियारका लागि उनीहरूले धेरै ठूलो स्रोतसधान खर्च गरिरहेको देखिन्छ। यसलाई विकास निर्माण र उत्पादनमा लगाउन सक्ने हो भने विकासको गति अझ बढ्छ।

अब युद्धतिर होइन, शान्ति र विकासतिर जाने हो भने उत्तर कोरियाले साँच्चै नै अचम्मको प्रगति गर्न सक्छ। त्यसैले अब कसरी हुन्छ, सबैले युद्ध रोकेर शान्तितिर फर्कन जरूरी छ। यसैबीच रूस र चीनले केही प्रस्ताव गरेका छन्। यो प्रस्तावलाई अमेरिका र उत्तरकोरिया दुवैले अस्वीकार गरेका छन् भन्ने सुनिएको छ। यस्ता प्रस्ताव आउनु र छलफल अगाडि बढ्नु आवश्यक छ।

अलिकति खुलापन, अलिकति नीजि स्वामित्व, अलिकति अन्तर्राष्ट्रिय सम्पर्क बढाउने हो भने त्यहाँ आर्थिक विकासको दर धेरै नै बढ्न सक्छ।

  • किम इल सङले तपाईंसँग जसरी बिस्तारै उत्तर कोरियालाई खुलापन तिर लैजाने भन्नुभएको, त्यो सम्भावना भने अब रहेन, होइन?

त्यस्तो सम्भावना अहिले तत्काल देखिँदैन।

  • उत्तर कोरियाबाट आएलगत्तै तपाईं मधेस झर्नुभयो। मधेसमा स्थानीय तह निर्वाचनको वातावरण र एमालेको अवस्था के छ?

दुई नम्बर प्रदेशका ८ जिल्लामा एमालेको पक्षमा एकदमै राम्रो माहोल बन्दै गएको छ। पहिले फैलाएका विभिन्न भ्रमहरू हट्दै गएको छ। अरू पार्टी खालि आरोप लगाउने मात्रै हुन्, एमाले काम गर्ने र मधेसलाई साँच्चिकै माया गर्ने पार्टी हो भन्ने बुझ्ने मानिसको संख्या बढिरहेको छ। त्यसैकारण अहिले एमाले प्रवेशको लहर नै चलिरहेको छ।

राजपाका पदाधिकारी नै धमाधम एमाले प्रवेश गर्दै हुनुहुन्छ। एमाले मधेसविरोधी भएको भए उहाँहरू आउनुहुन्थ्यो र? यो त लगाउनका लागि लगाइकएको आरोप मात्रै हो।

एमालेको यात्रा मधेशबाटै सुरू भएको हो। मधेसका जनताको हकहितका निम्ति थुप्रै काम गरेका छौं। मधेसी समुदाय, थारू समुदाय, मुस्लिम समुदाय, दलित समुदाय, आम महिला समुदाय, किसान समुदायको हक हितका लागि हामी लागेका छौं।

हामीले घरबारविहिन मधेसीलाई जग्गाजमिन र घर बाँडेका छौं। हेर्न चाहनुहुन्छ भने चन्द्रपुरको मंगलपुरमा जानुभए हुन्छ, सन् १९९४मा हामीले बाँडेको घर। चन्द्रपुरको अर्को वडामा नयाँबस्तीमा हेर्न सक्नुहुन्छ। जनताआवास कार्यक्रम २०६६-६७ कपिलवस्तु, सिराहा र सप्तरीमा एक एक हजार घर बनाएर सुरू गरेका छौं। २०६७-६८मा अरू ११जिल्लामा विस्तार गरेर १४ जिल्ला बनायौं। सबै घरबारविहिनलाई घर दिलाउने हाम्रो नीति हो त्यो। यसले अहिले पनि निरन्तरता पाएको छ।

हुलाकी राजमार्गका लागि भारत सरकारसँग सम्झौता मैले गरेको हुँ, भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग। पछि गएर नेपाल सरकारकै बजेट लगाउने निर्णय पनि एमालेकै सरकारको पालामा भयो।

नीजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय मेरै पालामा भएको छ। फास्ट ट्र्याकको काम अगाडी बढेको छ।

एमाले मधेसविरोधी भएको भए यी सब काम गर्ने थिएन भन्ने त्यहाँका जनताले बुझेका छन्। हामीले मधेसको शिक्षा, स्वास्थ्य, रोजगारका लागि पनि काम गरेका छौं।

  • त्यहाँ एमालेका कार्यकर्ताको आत्मविश्वास र सक्रियता कस्तो पाउनुभयो?

म गाउँगाउँमा गएँ। बाढी पीडितलाई राहत बाँड्ने काम गरेँ। विभिन्न संस्थालाई आग्रह गरेर लगभग दश हजार परिवारलाई राहत पुर्याउन भूमिका निर्वाह गरेँ। यसमा एमालेका कार्यकर्ता नै खटिएका हुन्। बाढी पिडितको उद्धार र राहतमा एमाले नै सबैभन्दा अगाडि सरेर काम गर्यो। सबै जिल्लामा एमाले कार्यकर्ता खटिए।

यसले पनि देखाउँछ मधेसका जिल्लामा एमाले कार्यकर्ताको आत्मबल र उत्साह कति बलियो छ। एमाले कार्यकर्तामा एकदमै राम्रो उत्साह छ।

  • बाढीपछि उत्पन्न परिस्थितिलाई मधेसका जनतासँग जोडिने अवसरका रूपमा एमालेले उपयोग गरेको हो?

होइन। जबजब जनतालाई कष्ट हुन्छ, तब एमाले त्यहाँ पुग्छ। जस्तै भूकम्पपिडितलाई राहत दिन र अस्थायी बासको व्यवस्थापन गर्न सबैभन्दा धेरै एमालेका स्वयंसेवक खटिएका छन्। डेढ महिनासम्म एमालेका कार्यकर्ता गाउँगाउँमा खटिएका छन्।

मधेशमा शीतलहर पर्दा, जाडो बढ्दा कम्बल बाँड्न एमाले नै अगाडि हुन्छ।

बाढीलाई एमालेले अवसर बनाएको होइन। जनतालाई संकटमा साथ दिन एमाले सधैं अरूभन्दा अगाडि हुन्छ।

  • तपाईं मधेस जानुभएपछि राजपाका कार्यकर्ताले अवरोध पनि गरे। के भएको हो?

जनकपुरमा हाम्रो कार्यक्रम भइरहेको बेला दशबाह्र जना मान्छेले दुईचारवटा पत्थर बर्साए। कुनै पनि ठाउँमा यस्ता उद्धण्ड मान्छे त जहाँ पनि उचाल्न सकिन्छ। जनता उत्रेको पनि होइन, झडप भएको पनि होइन। हाम्रा तीनचार सय कार्यकर्ता थिए। हामीले संयमता अपनायौं।

यो घटना भइसकेपछि मैले मजाले एक घण्टाभन्दा लामो सम्बोधन गरेँ। त्यसपछि फर्केर आयौं।

यस्तो कुरा त म भोग्दै आएको हुँ। २०५१ सालमा म उपप्रधामन्त्री हुँदा कांग्रेसले ढुंगा बर्साएको होइन? मुगुमा म हेलिकोप्टरबाट उत्रिनेबित्तिकै ढुंगा बर्साएको घटना म अहिले पनि सम्झिन्छु।

म प्रधानमन्त्री भएको बेला माओवादीले लगतार ढुंगामुढा गरे। झण्डै मेरो गाडीमै आक्रमण गरे।

यो सब त मैले भोग्दै आएको हुँ।

  • अब मधेशमा स्थानीय तह निर्वाचन नजिकिएको छ। तपाईंको आकलन के छ?

मधेसमा एउटा शक्तिका रूपमा नरहेको भए एमालेको यत्ति विरोध नै हुने थिएन। राजपाको दृष्टिमा मधेसमा एमाले बाहेक अर्को कुनै पनि शक्ति छैन। एमाले मधेसको हस्ती हो।

त्यसैले, यसपाली दुई नम्बर प्रदेशको पहिलो शक्ति हुन्छ। कांग्रेस दोस्रो हुन्छ, माओवादी तेस्रो हुन्छ। त्यसपछि उपेन्द्र यादवजी, अनि विजय गच्छदारजी। राजपा दुई नम्बर प्रदेशमा छैटौं पार्टी हुन्छ।

  • स्थानीय निर्वाचनको टिकट वितरण गर्दा संस्थापनसँग नजिक भएका कार्यकर्ताले धेरै अवसर पाए। अरूलाई किनारा लगाइयो भन्ने गुनासो एमालेभित्रै छ। भएको के हो?

अहिले चुनावको मुखमा यो कुरा गर्ने नै होइन। अहिले जुनजुन नाम तय भएको छ, उहाँहरूलाई जिताउने हो। एमालेलाई जिताउने हो। यसको पछि कुरा हुन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.