माधव नेपालको उत्तर कोरिया साइनो


एमाले नेता माधवकुमार नेपालले आफ्नो उत्तर कोरिया भ्रमणलाई लिएर कोही आत्तिनु नपर्ने बताएका छन्।

उनले शुक्रबार सेतोपाटीसँगको अन्तर्वार्तामा आफू चौथोपटक उत्तर कोरिया गएको बताए। ‘म सन् १९९३ मा पहिलोपटक उत्तर कोरिया गएको थिएँ,’ उनले भने, ‘त्यसपछि सन् १९९६ र १९९८ मा पनि गएको थिएँ। अहिले मेरो चौथो भ्रमण हो। यो पूर्वनिर्धारित कार्यक्रम भएकाले यसलाई अहिलेको द्वन्द्वसँग जोडेर हेर्नु जरूरी छैन।’

उनले उत्तर कोरिया शान्ति प्रक्रियामा आओस् भनेर नेपालको अनुभव प्योङयाङका नेताहरूलाई सुनाएको बताए। ‘इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टरियन्स फर पिस’ को निमन्त्रणमा उनी प्योङयाङ गएका थिए। उत्तर कोरियासँग पुरानो सम्बन्ध रहेकाले अन्तर्राष्ट्रिय समुदायबाट पनि उत्तर कोरिया जान आफूलाई आग्रह भएको उनले जानकारी दिए।

‘दक्षिण कोरियाका केही प्रभावशाली नेताहरूले पनि मलाई भन्नुभएको हो,’ उनले भने, ‘अमेरिकाका एक कंग्रेसम्यान भएको शान्तिसम्बन्धी संस्थाका तर्फबाट पनि मलाई अनुरोध गर्नुभएको थियो।’

आफू उत्तर कोरिया गएपछि द्वन्द्व समाधानका लागि नयाँ प्रयासहरू सुरू भएको उनले दाबी गरे। ‘ट्रयाक टु सुरू भयो ट्रयाक थ्री सुरू भयो। यो त खुसीको कुरा हो। त्यसैले, द्वन्द्व देख्यो कि डराएर भागिहाल्नु पनि हुँदैन, परिणाम जे आए पनि शान्तिका लागि प्रयास भने गर्नुपर्छ,’ उनले भने।

उत्तर कोरियाले द्रुत गतिमा पूर्वाधार निर्माण गरिरहेकाले शान्ति स्थापना भए विकासमा चमत्कार गर्नसक्ने उनले बताए।

नेता नेपालसँगको अन्तर्वार्ता शनिबार प्रकाशित हुने छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.