राजा वीरेन्द्रलाई भन्न चाहन्थें ‘हिँड्न सक्ने भएरै लामो यात्रामा निस्केकी हुँ सरकार’

सत्यभामा, पहिलो महिला न्यायाधीश


बारा जिल्ला अदालतमा एक विधवाविरुद्ध मुद्दा दर्ता भयो।

उनका छोरा थिएनन्। एउटी छोरी बिहे भएर गइसकेकी थिइन्। उनले आमाबाबुको अंश पाउने कानुन थिएन। पतिबाट पाएको २५ बिघा जग्गा हक हस्तान्तरण गर्न नपाउने भनेर देवरहरूले कागज गराएका थिए। देवरहरू आफैं त्यो जग्गा भोगचलन गर्थे र उनलाई खर्चपर्च दिन्थे।

ती विधवा नातिसँग बस्थिन्। उनले नातिलाई एक बिघा जग्गा दान दिइन्। देवरका छोरा उनको निर्णयविरुद्ध कलैया अदालत पुगे।

अदालतमा त्यो बेला गोलाप्रथाबाट इजलास तोक्ने चलन थियो। जुन न्यायाधीशको इजलासमा मुद्दा पर्यो, उनी थिइन् सत्यभामा माथेमा, नेपालकै पहिलो महिला न्यायाधीश।

सत्यभामाले कागजात पढिन्।

प्रमाण र कानुन वृद्धाका पक्षमा नभए पनि उनी अन्यायमा परेको प्रस्टै बुझिन्थ्यो।

सुनुवाइ सुरु भयो।

वृद्धाले वकिलधरि राखेकी थिइनन्। पहिलो सुनुवाइ पूरा भएन। भोलिपल्ट पनि उनैले हेरिन्। तीन दिनसम्म मुद्दा सरिरह्यो। यसबीच सत्यभामाले धेरैपटक मिसिल पढिन्। चौथो दिन अन्तिमपटक पढ्दै थिइन्। कहीँबाट केही सीप नचल्ने देखेर हार मानेकी सत्यभामालाई यसपालि एउटा शब्दले राहत दियो– दान।

ती वृद्धाले जग्गा हक हस्तान्तरण गर्न नपाउने कागजमा हस्ताक्षर गरेकीले बेच्न पाउँदिन थिइन्। नातिलाई एक बिघा दिएको कागजमा भने ‘दान’ लेखिएको थियो।

‘हक हस्तान्तरण गर्न नपाए पनि दान गर्न नपाउने कतै लेखिएको छैन,’ सत्यभामाले फैसला गरिन्, ‘उनले दान गरेको मिलेकै देखिन्छ।’

देवरहरू यो फैसलाविरुद्ध सर्वोच्च गए। मुद्दा विश्वनाथ उपाध्यायको इजलासमा पर्यो। उनले पुरानै फैसला सदर गरिदिए।

विश्वनाथले पछि यो फैसला चर्चा गर्दै भनेका थिए, ‘माथेमाले निकै राम्रो कुरा पक्रेर फैसला गरिछे।’

यो झन्डै ४० वर्षअघिको घटना हो।

पच्चीस वर्षअघि अवकाश पाएकी सत्यभामा ८० वर्ष पुगिन्। न्याय सेवाको लामो करिअरमा आफूले गरेका फैसलामध्ये बाराको मुद्दा उनको स्मरणमा ताजा छ। ती वृद्धलाई न्याय दिन सकेकोमा उनी सन्तुष्ट मान्छिन्। र, विश्वनाथको प्रशंसा सम्झेर दंग पर्छिन्।

‘कानुनले सबै ठाउँमा न्याय दिँदैन, त्यसैले न्यायाधीशको आवश्यकता परेको हो,’ सत्यभामा भन्छिन्, ‘न्यायाधीशले कानुन हेर्नुपर्छ, कतिपय अवस्थामा त्योभन्दा अगाडि बढेर न्याय दिने गुण न्यायाधीशमा हुनैपर्छ।’

नेपालकै पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की भर्खरै सेवानिवृत्त भएकी थिइन्। लोकमानसिंह कार्कीदेखि प्रहरी महानिरीक्षक प्रकरणसम्ममा सुशीलाले न्याय सेवाको गरिमा उँचो बनाएको भन्दै तारिफ भइरहेको बेला थियो। हामी पहिलो महिला न्यायाधीश सत्यभामालाई भेट्न खुसिँबुस्थित उनकै घर पुग्यौं।

घरको ढोका खुल्नेबित्तिकै एउटा कुकुर खुर्रर हामीलाई लिन आइपुग्यो।

सत्यभामा यहाँ एक्लै बस्छिन्। उनका छोराबुहारी लन्डनमा छन्। उतै बोलाउँछन्। उनलाई भने जान मन छैन।

‘जहिलेसम्म सक्छु यहीँ बस्छु। आफ्ना लागि आफैं गर्न सकुन्जेल उनीहरूको बोझ किन बनुँ भन्ने लाग्छ। पछि हिँडडुल नै गर्न नसक्ने भए हेरिहाल्छन्,’ ८० वर्ष उमेरमा पनि उनको अनुहार र दृढतामा उस्तै आभा झल्कन्थ्यो, ‘यहाँ आफ्नै हिसाबले बाँच्न पाइएको छ। बुढेसकाल पनि निकै रमाइलो लागिराछ मलाई त।’

हामी बैठक कोठामा उक्लियौं। भित्तामा थुप्रै फोटो सजाइएका छन्। फोटो हेर्दै गर्दा सत्यभामाको अतीत सजीव हुँदै गयो।

उनी ६ वर्षकी थिइन्।

ठूली आमाकी छोरीले कौसीमा जान रोकेपछि दौडिँदै ठूलोबाकहाँ पुगिन्। भुइँमा गोडा बजार्दै भनिन्, ‘मलाई पनि दुईवटा कौसी भएको घर चाहियो!’

उनले सम्झने पहिलो लडाइँ यही हो। त्यो बेला उनलाई के थाहा र, जिन्दगीमा कति ठूल्ठूला लडाइँ झेल्दै अघि बढ्नुपर्छ।

ठूलोबा राणाकालका काजी थिए। घरमा उनकै बोली अन्तिम हुन्थ्यो। उनले सत्यभामालाई ओमबहालमा दुईवटा कौसी भएको घर दिलाए।
केही समयमै उनकी आमा र सौतेनी दाजुहरूबीच मुद्दा चल्यो। सत्यभामाका तीनवटी आमा थिए। आफ्नी आमाकी उनी एक्ली छोरी थिइन्। जेठी आमाका छोरासँग उनकी आमाले मुद्दा लड्नुपरेको थियो। दाइहरू भने बहिनीले सम्पत्ति पाउँछिन् भनेर मुद्दामा गएका थिए।

यो मुद्दापछि आमा सत्यभामालाई लिएर असनको मामाघर आइन्। त्यहीँ उनले एउटी साथी भेटिन्, शंकरमाया। दुईको खुब मितेरी जम्यो।

छोरीहरूलाई अदबमा राखिने त्यो जमानामा उनीहरू दुई भने फुक्काफाल हिँड्थे। सहरभन्दा टाढा टुँडिखेलसम्म पुग्थे। गल्ली–गल्लीमा केटाहरूसँग गुच्चा खेल्थे। झगडा गर्थे। दिनभरि डुलेर साँझ घर फर्किन्थे।

‘शंकरमायाको स्वारी पसल थियो। बिहान हामी त्यहीँबाट मिठाइ झिकेर हिँड्थ्यौं, त्यही खाँदै भिमसेनथान, टुँडिखेल कहाँकहाँ पुगिएन?’ उनका आँखा चम्किला भए र ओठमा बालसुलभ हाँसो छचल्कियो।

एकदिन उनीहरू खेल्दै खेल्दै न्यौखा पुगे। एउटा सत्तलबाट केटीहरूको चर्को आवाज आइरहेको थियो। सत्यभामाले च्याप्प शंकरमायाको हात समातिन्। दुवै आवाज आएतिर बढे। त्यहाँ ‘कन्या मन्दिर’ भन्ने स्कुल खुलेको रहेछ। तत्कालीन प्रधानमन्त्री पद्मशमशेर राणाले केटीहरूका लागि ठाउँठाउँमा स्कुल खोलेका थिए। यो तीनैमध्ये एक थियो।

उनीहरू एकछिनसम्मै त्यहाँ भुलिरहे। सत्तलका भजनघर, छिँडी जताततै आफ्नै उमेरका केटी थिए। झ्यालबाट चिहाएका दुई सखालाई मास्टरले डाके।

‘किन आको?’ मास्टरले सोधे।

‘हामी खेल्दै खेल्दै,’ सत्यभामाले भनिन्।

‘तिमीहरू पढ्ने हो?’ उनले फेरि सोधे।

त्यतिबेला स्कुलमा बच्चीहरू ल्याउन कम गाह्रो थिएन। दुई जना आफैं आएको देखेर मास्टर खुसी भए। उनले दुवैलाई तत्काल भर्ना गरिदिए। स्कुलका प्रधानाध्यापक थिए, केदारनाथ न्यौपाने।

स्कुल भर्ना हुन पैसा नचाहिने त्यो बेला उनीहरू पढ्न थालेको घरकाले थाहै पाएनन्।

केही वर्ष बिते।

सत्यभामा चार कक्षा पुगिन्। स्कुलमा निबन्ध लेख्ने प्रतिस्पर्धा भयो। उनले खेलकुद विषयमा निबन्ध लेखेर पुरस्कार जितिन्। त्यो दिन हातभरि कापी, कलम, किताब बोकेर घर पुग्दा आमा छक्क परिन्।

‘कहाँ बाट आएको यो?’ आमाले सोधिन्।

‘स्कुलमा हामीलाई पुरस्कार दे को नि,’ सानी सत्यभामाले फुर्किंदै भनिन्।

‘स्कुल जाने गरेकी छेस् र?’ आमाका आँखा ठूला भए।

‘छु नि,’ उनले भनिन्।

‘कहिले?’

‘भात खाएपछि सधैं हामी स्कुल जाने त हो।’

‘खेल्न जाने गरेको हैन?’

‘हैन।’

‘किन नभनेकी त मलाई?’

‘थाहै भएन।’

झन्डै ७० वर्षपछि यो संवाद सम्झँदा सत्यभामाको अनुहार धपक्क बल्यो। आँखाभरी त्यही बालसुलभ खुसी नाच्यो। उनले भित्तामा झुन्ड्याएको आफ्नी आमाको श्यामश्वेत फोटो पुलुक्क हेरिन्।

त्यो दिन आमाले स्कुल जान रोकेकी भए, सत्यभामाको जिन्दगीले सायद अर्कै मोड लिन्थ्यो।

उता शंकरमायाले पनि मञ्जुरी पाइन्।

अर्को वर्ष शंकरमायाले भागेर बिहे गरिन्। हलगोरूजस्ता साथी छुटेपछि सत्यभामाको सहारा किताब मात्र भए। त्यो पनि लामो समय टिकेन।

‘छोरीमान्छेले पढ्न हुन्न’ भन्ने मामाले उनका किताब च्यातिदिए। र, उर्दी सुनाए, ‘अबदेखि स्कुल जानु पर्दैन।’

सत्यभामाका आँखा धमिला भए।

‘मनै बटारियो। पहिलोपटक मलाई त्यति धेरै पीडा भएको थियो। त्यो दिन म कहिल्यै बिर्सिन्नँ। त्यही दिन हो, मेरो मनमा विद्रोहको मुना पलाएको,’ उनले भनिन्।

मामाको उर्दीपछि पढाइ बन्द भयो। शंकरमायाको बिहेपछि आधा एक्लिएकी सत्यभामालाई पढाइ छुटेपछि पूरै एक्लो अनुभूति भयो। उनी निस्सासिइन्। धेरैपटक शंकरमायालाई लिन गइन्। शंकरमाया फर्केर आए पढ्न पाइन्छ भन्ने उनलाई आस थियो।

जहाँ इच्छा त्यहाँ उपाय।

उनले सँगै गुच्चा खेल्ने केटाहरूलाई भनिन्, ‘तिमीहरूसँग पढ्ने कुरा केही छैन?’

ती केटाले जासूसी उपन्यासहरू ल्याएर दिए। त्यसमा उनको रुचि त थिएन, तै मन बहलियो।

एकदिन उनले ‘जिन्दगीको बदलो’ भन्ने राहुल सांस्कृत्यायनको किताब पढ्न पाइन्। त्यसपछि उनको जिन्दगीले अर्कै लय समात्यो।

संयोगले त्यही बेला उनको सम्पर्क ‘जनवादी’ भन्ने संस्थासँग भयो। त्यहाँ प्रेमबहादुर कंसाकार, माणिकलाल अमात्यजस्ता कम्युनिस्ट नेताहरू थिए। उनी सदस्य भइन्। त्यो राणाविरोधी अभियान जुर्मुराएको बेला थियो। क्रान्तिको आगोले सत्यभामाजस्तो मनमा आगो लिएर हिँडेकालाई नछुने कुरै भएन। पछि ‘जनवादी’ संस्थाले नै उनलाई निःशुल्क पढाइदिने भयो।

२००७ फागुन ७ गते। दरबारबाट भागेर दिल्ली पुगेका राजा त्रिभुवन स्वदेश फर्कंदै थिए। विमानस्थलबाट मोटरमा दरबार फर्किएको हेर्न सत्यभामा डिल्लीबजार पुगिन्, शंकरमायाका दाजुको घर। उनीहरुले कौसीबाट तल बाटोमा राजा त्रिभुवनलाई देखे। फूलमाला र अबिर बर्साए।

त्यही बेला सत्यभामाले तल हुलमुलमा झुलुक्क शंकरमायालाई देखिन्।

‘आमा हेर्नु त उ शंकरमाया …’

देख्नेबित्तिकै परिवारकाले समातेर ल्याए।

‘ऊ धेरै रोई। पढाइ छोडेर त्यो पराई घर गएको मलाई मनै परेको थिएन। ऊ रोएको देखेर मलाई भाउन्न भयो। मैले फकाएँ, हामी सँगै बसौंला, सँगै पढौंला भनेर भनेँ। मलाई त पढाइकै रन्को थियो। लोग्ने–स्वास्नीको सम्बन्ध म बुझ्दिनथेँ,’ उनले भनिन्।

आफ्नी साथीले दुलाहाको घरमा सुख नपाएको पनि उनलाई थाहा थियो। दिनभरि रुमाल–मोजा बुन्नुपर्थ्यो। कलम समात्ने हात त्यसरी कुरुसमा अल्झेको उनलाई मन परेको थिएन।

‘म जाँदा देखेकी थिएँ, मैलो लुगा, मैलो कपाल र कपालमा स्याउँस्याउँ जुम्रा। ऊ यहाँ कस्ती पुतलीजस्तै थिई। पराई घर पुगेर उसको रूपै फेरिएको थियो। मेरो मन कटक्क खान्थ्यो त्यो देखेर। त्यसैले पनि मैले उसलाई लोग्नेको घर नजा भनेर फकाएकी थिएँ,’ उनले भनिन्।

फर्काएर त ल्याइन्, तर उनको माइतीमा फेरि अचम्मको दृश्य देखिन्।

शंकरमायालाई माइतीमा भान्छाबाट बाहिरै राखेर खुवाइँदो रहेछ। छुट्टै। सत्यभामाको चित्त दुख्यो। उनले शंकरमायाकी आमालाई सोधिन्, ‘किन यसो गरेको?’

‘छिपा (तल्लो जात) सँग पोइल गएपछि यसको जात झर्यो नि!’

उनको अनुहार रिसले रातो भयो। आँखा खुम्चिए। निधारको बीचमा गाँठो पर्यो।

‘मलाई लाग्यो, शंकरमायालाई उसको लोग्नेसँग छुटाएर मैले अपराधै गरेछु,’ उनले भनिन्, ‘तर ऊ फर्केर त्यो घर कहिल्यै गइन।’

‘तल्लो जात’ सँग बिहे गरे आफ्नो पनि जात झर्छ भन्ने शंकरमायाको मनमा कतिसम्म गढेछ भने, उनले सधैं परोपकारमा पैसा दिन थालेकी थिइन्।

‘अब म विजातकी भएँ, मरेँ भने उठाउने यही परोपकारले हो भन्थी र दिनदिनै दानपेटिकामा पैसा खसाल्थी। यस्तो देख्दा मलाई कता कता दुःख लाग्थ्यो,’ सत्यभामाको अनुहार साथीलाई सम्झेर गम्भीर भयो।

उनीहरू दुवैले ‘प्राइभेट’ जाँच दिएर एसएलसी पास गरे। शंकरमाया पढ्नमा तेज थिइन्। उनले अमृत साइन्स क्याम्पस पढिन्। सत्यभामा भने नेसनल कलेजमा कमर्स पढ्न थालिन्।

यसबीच सौतेनी दाजुहरूसँगको सम्पत्ति मुद्दामा सानैदेखि अदालत धाइरहेकी सत्यभामाका लागि कानुनी कुरा सामान्य भइसकेका थिए। उनी हातभरि फाइल च्यापेर मुद्दाको तारेख धाउँथिन्। अदालतका पेसी र बहसमा जान्थिन्।

माथेमा खलकमा ‘धर्मपत्र’ भन्ने निजी नियम थियो, जसअनुसार छोरीबेटीले तराईमा भएको जग्गा खान वा दाबी गर्न पाउँदैनथे। दाइहरू त्यही नियम तेर्स्याएर सत्यभामालाई सम्पत्ति नदिन चाहन्थे। धेरै वर्ष मुद्दा लडेपछि सर्वोच्च अदालतले त्यस्तो पारिवारिक लिखतले मान्यता नपाउने भन्दै २०२४ सालमा फैसला गरिदियो।

मुद्दा खेपेको २० वर्षपछि सत्यभामाकी आमाको जित भयो। उनले आफ्नी आमाको ‘अपुताली’ लिन पाउने भइन्। त्यो समय छोरीले पैतृक सम्पत्ति पनि अपुतालीका रूपमा मात्रै पाउँथे।

सानैदेखि अदालत धाएकी र कानुनी लडाइँ लडेकी सत्यभामामा कानुनी विषयले गहिरो जरो गाड्यो। कमर्समा स्नातक गरेपछि २०२१/२२ सालतिर उनी कानुन कलेज भर्ना भइन्। उनी पाटनको मदन मेमोरियलमा पढाउन पनि जान्थिन्।

त्यतिखेरैको कुरा हो, उनकी साथी शंकरमाया ‘ब्रेन ह्यामरेज’ का कारण बितिन्। साथीको अपमानजनक अन्त्येष्टि सम्झँदा सत्यभामालाई अहिले पनि नमजा लाग्छ। अस्पतालमा बितेकी शंकरमायाको शव उठाउन उनका आमाबा कोही आएका थिएनन्। विजातसँग बिहे गरेको भन्दै छोरीलाई आगो दिन पनि उनीहरू हच्किए।

परिवारकै सदस्य पछि हट्दा सत्यभामा अघि सरिन्।

उनी र उनका साथीले शोभाभगवतीमा शंकरमायाको अन्त्येष्टि गरे।

‘आमाबाले नउठाएपछि हामीले उसको शव उठायौं र अन्त्येष्टि गरिदियौं,’ सत्याभामाका आँखा भरिए, ‘मेरो हृदयमा निकै ठूलो चोट लाग्यो। मर्ने बेला उसका आँखाबाट तर्रर आँशु बगेका थिए। कस्तो दुःख थियो कुन्नी, ऊ धेरै बोलिहाल्न सक्दिनथी, मरेर जाने बेला पनि सकिनँ।’

‘जिन्दगीका धेरै अध्याय रंग्याएको मितेरी सकियो। त्यसपछि पनि यति लामो जिन्दगी त बाँकी नै रहेछ,’ उनले भनिन्।

सत्यभामाले २०२४ सालमा कानुनमा स्नातक पास गरिन्। कानुन मन्त्रालयमा करार सेवामा नाम निकालिन्। त्यहीँ हुँदा उनले लोकसेवा पनि पास गरिन्। सर्वोच्च अदालतमा एक जना महिलाको खाँचो रहेछ। कानुन सचिवले उतै पठाइदिए।

सानैदेखि आफ्ना लागि बोल्न नडराउने सत्यभामाले सर्वोच्च आएको पहिलो वर्षमै न्यायाधीशसँग झन्डै झगडा गर्नुपरेको थियो।

उनी इजलास अधिकृत थिइन्। इजलास अधिकृतले न्यायाधीशको निर्देशनअनुसार फैसला लेख्नुपर्थ्यो। एक जना न्यायाधीशले ‘बहस सुनेको आधारमा फैसला लेख’ भने। उनले लेखेर लगिन्। भएन। फेरि लेखिन्। दुईपटक लेखेर लाँदा पनि नभएपछि उनले भनिन्, ‘के लेख्ने भन्नुस् न, लेखेकोमा के मिलेन भन्नुस् अनि लेख्छु। तपाईंको फैसला हो, मलाई कसरी थाहा हुन्छ तपाईंको मनमा के छ?’

न्यायाधीशले आँखा ठूला पारे। उनी फर्किइन् र रजिस्ट्रार सुरेन्द्र सिंहकहाँ पुगिन्।

‘म सबै काम गर्छु, तर यो न्यायाधीशकोमा इजलास अधिकृत बस्दिनँ,’ उनले भनिन्।

रजिस्ट्रारले उनलाई अर्को न्यायाधीशकोमा सारिदिए।

२०२५ सालतिरको कुरा हो। एकदिन अदालत पस्नेबित्तिकै रजिस्ट्रारले हातमा एउटा कागज थमाए, जसमा उनी जिल्ला न्यायाधीशमा बढुवा भएको बेहोरा थियो।

अदालत प्रवेश गरेको एक वर्षमै सत्यभामा न्यायाधीश भइन् – नेपालकै पहिलो महिला न्यायाधीश।

उनी तुरुन्तै हाजिर हुन भक्तपुर पुगिन्।

मेला हेर्न आएका रमितेझैं भिड जम्मा थियो। पानीमाथि फूलका थुंगा तैरिएका दुई घडा गेटैमा थिए। बाटोका दुई छेउमा अटेसमटेस भिड थियो। भिडमा कसैले नेवारीमा भनेको थियो, ‘यही हो आइमाई न्यायाधीश। ल आइमाई पनि न्यायाधीश हुने रहेछ है। के गर्ला खै यसले!’

अदालतका मुख्य न्यायाधीशले स्वागत गर्नु ठिकअघि, त्यही भिडबाट उछिट्टिएर अर्को आवाज उनको कानमा स्वाट्ट पस्यो, ‘कस्तो लाज नभएकी स्वास्नीमान्छे रहिछे!’

बाहिरकाले मात्र हैन, मुख्य न्यायाधीशले पनि उनलाई त्यही नजरले हेरिदिए। एकदमै होच्याएर सामान्य चोरी मुद्दा दिए। सत्यभामाले फटाफट बयान गराइन्।

‘मुख्य न्यायाधीशले यसले के गर्न सक्ली र भन्ने दृष्टि राखेका थिए,’ उनले भनिन्, ‘छिन्दिएँ मैले पनि। कानुन र प्रमाण हेर्ने अनि आफ्नो दिमागले देखेको फैसला लेख्ने त हो।’

भक्तपुरमा एक वर्ष न्यायाधीशका रूपमा काम गरेपछि उनी फेरि सर्वोच्च आइन्। उपरजिस्ट्रार भइन्। त्यहाँबाट बारा जिल्ला पुगिन् जिल्ला न्यायाधीश भएर। पछि कास्की क्षेत्रीय अदालतको भवनदेखि मिसिलसम्म खडा गर्ने जिम्मेवारी सर्वोच्चले उनलाई सुम्पियो। बजेट खर्च गर्दा एकसुका तलमाथि हुन दिइनन् भनेर धेरै उनीसँग रिसाए। उनले त्यही भएर क्षेत्रीय अदालतको रजिस्ट्रार हुनै मानिनन्। उनलाई फेरि कास्कीको जिल्ला न्यायाधीश बनाएर पठाइयो।

कास्कीमै छँदा क्षेत्रीय अदालतसँग द्वन्द्व चर्कियो। क्षेत्रीय अदालत म्याद तामेलदेखि फैसला कार्यान्वयनसम्म जिल्ला अदालतले गरिदेओस् भन्ने चाहन्थ्यो। त्यस्तो परिपत्र आएपछि उनले थप कर्मचारी र बजेट माग गरिन्।

क्षेत्रीय अदालतले त्यही बेहोराको अर्को निर्देशन लेख्यो। त्यसपछि भने सत्यभामालाई झोक चल्यो। उनले कानुनको व्यवस्था खुलाउँदै लेखिन्, ‘यी काम क्षेत्रीय अदालतले आफैं गर्नुपर्ने हुन्। क्षेत्रीय अदालतका मुद्दामा म्याद तामेलदेखि फैसला कार्यान्वयन गर्ने प्रक्रियागत काम जिल्ला अदालतले गर्नू भनेर कानुनमा लेखिएको छैन। यो जिल्लाको क्षेत्राधिकारभित्र पनि पर्दैन।’

यस्तो जवाफले क्षेत्रीय अदालतका मुख्य न्यायाधीशको अहंमा ठेस नपुग्ने कुरै थिएन। यो विवाद सर्वोच्च पुग्यो। उनले सर्वोच्चलाई नै पत्र लेखिन्। त्यतिबेला नयनबहादुर खत्री प्रधानन्यायाधीश थिए। उनले दुवै अदालतलाई एउटै पत्र पठाए, ‘क्षेत्रीय अदालतले सम्पूर्ण काम आफैं गर्नू, बजेट थपिएपछि जिल्लाले गर्नू।’

यसरी यो द्वन्द्व सल्टियो।

‘नभए त क्षेत्रीय र अञ्चल अदालतका न्यायाधीश मिलेर मलाई निलम्बन गर्न आँटेका थिए। मैले थाहा पाएँ र यो द्वन्द्व समाधानका लागि तुरुन्तै कुनै आदेश माग गर्दै प्रधानन्यायाधीशलाई चिठी लेखेकी थिएँ,’ उनले भनिन्।

आफ्नो यस्तै बानीले सत्यभामाले कहिले मुख्य न्यायाधीश त कहिले प्रधानन्यायाधीशसँग भिड्नुपरेको थियो।

तत्कालीन प्रधानन्यायाधीश रत्नबहादुर विष्टले जिल्ला अदालत भवन सार्ने निर्णय गरेका थिए। पानी चुहिने नाजुक छाना भएको बस्नै डरलाग्दो भवन थियो। अदालतकी न्यायाधीश थिइन्, सत्यभामा। उनले इन्जिनियरलाई देखाएर इस्टिमेट पठाइन्। झन्डै ३० हजारको हिसाब निस्कियो। एक जना वकिलले ‘यो त म १२ हजारमै सक्दिन्छु’ भनेर कुरा पुर्याएछन्। यसले प्रधानन्यायाधीश विष्ट सत्यभामासँग रुष्ट भए।

ती कर्तव्यज्यानसम्बन्धी एउटा मुद्दाका वकिल थिए। सरकारले अभियुक्त भनेका व्यक्तिलाई सत्यभामाको इजलासले सफाइ दिएको थियो।

‘प्रमाण नपुगेपछि सफाइ त दिनैपर्यो, तर त्यो दिन अदालतै घेराबन्दी गरिएको थियो। मैले पनि आफ्नो फैसला सुनाएँ। त्यसपछि ती वकिल मसँग रुष्ट थिए। पछि भवन मर्मत बेला साटो फेर्न बीचमा आए। प्रधानन्यायाधीशले उनैको कुरा सुने,’ सत्यभामाले भनिन्, ‘गल्ती नगरेपछि म प्रधानन्यायाधीशसँग पनि डराउँदैनथेँ।’

प्रधानन्यायाधीशले जागिरबाटै निकाल्नेसम्म कुरा गरेछन्।

उनले खबर पठाइन्, ‘सरुवा त मागेकै छु, गरिदिए खुसी हुन्थेँ। प्रधानन्यायाधीशले जागिर दिएको हो र गलहत्याएर निकाल्न। के गर्न सक्दा रहेछन् म पनि हेर्छु।’

नभन्दै उनलाई बागमती अञ्चल सरकारी वकिल कार्यालय सरुवा गरियो।

अदालतभित्रै थुप्रै लडाइँ लडेकी सत्यभामालाई समकालीनहरू ‘लडाकु न्यायाधीश’ भनेर सम्झिन्छन्। पूर्व न्यायाधीश शारदा श्रेष्ठले ‘सत्यभामा बोल्न नडराउने र जिद्दी स्वभावकी महिला भएको’ बताइन्।

समकालीन तथा पूर्व न्यायाधीश बलराम केसीका शब्दमा उनी ‘हकी महिला’ हुन्। ‘काममा भिडिहाल्ने स्वभावकी हुनुहुन्थ्यो। सरकारी वकिलको कार्यालयमा छँदा पनि उहाँ अनुसन्धानका लागि फिल्ड गइरहेको मैले देखेको थिएँ,’ उनले भने।

बागमतीपछि उनी नारायणी अञ्चल पुगिन्। त्यहाँबाट फेरि बारा जिल्ला न्यायाधीश भएर आइन्। त्यसपछि जुम्ला पुगिन्। जनकपुर गइन्। उनको एउटा विशेषता के भने, सरुवा भएर जहाँ पुग्थिन्, उनको घर त्यहीँ हुन्थ्यो। उनी आमालाई आफूसँगै लैजान्थिन्। काखेछोरा पनि सँगै हुन्थ्यो।

यही क्रममा उनकी आमाको २०३२ सालमा पोखरा न्यायाधीश क्वार्टरमा मृत्यु भयो।

दागबत्ती उनैले दिइन्। अन्तिम संस्कार आफैंले गरिन्।

‘त्यहाँको समाजले बिहे गरेकी छोरीले दाहसंस्कार गर्न हुँदैन भनेर विरोध गरेका थिए। मैले मेरी आमाको दाहसंस्कार किन नगर्ने? उनीहरूको कुरा कसले सुन्छ र?’ उनले भनिन्।

उनले आफ्ना पतिलाई समेत आमाको दाहसंस्कारमा बोलाइनन्।

सत्यभामाको अन्तिम सरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भयो। यतिका वर्ष निष्ठापूर्वक काम गरेकी उनले अख्तियारबाट विदा लिँदा भने नराम्रो घटना बेहोर्नुपर्यो।

उनले अख्तियारमा हुँदा हेरेको एउटा मुद्दा उनका पतिको रहेछ। आफ्नो मात्र हैन, बाबुको नामसमेत फेरेर उनका पतिले सरकारी जग्गा आफ्नो नाम गरेका रहेछन्। त्यही मुद्दा सत्यभामाको अघि आइपुग्यो। उनले थाहै पाइनन्। कसैले उजुरी हालेपछि मात्र उनी खङरङ्ग भइन्। धन्न, उनीमाथि कुनै विभागीय कारबाही भएन। त्यसपछि उनले अवकाश भने लिनुपर्यो।

यो घटनापछि उनले जागिर मात्र होइन, लोग्ने पनि छाडिदिइन्।

वास्तवमा पतिसँग उनको कहिल्यै समझदारी भएन। उनले आमाकै मन राख्न बिहे गरेकी थिइन्। आमाले पनि कर गरेको त्यही एकचोटि हो, नभए छोरीलाई उनले चराझैं उड्न छाडेकै थिइन्।

लोग्नेलाई छाडेको दिन ‘जिन्दगीमा बिग्रिएको काम सपारेझैं सन्तोष’ भएको उनी बताउँछिन्।

भित्तामा झुन्डिएका पुराना तस्बिरमुनि बसेर पुराना सम्झना केलाउँदा–केलाउँदै सत्यभामाले भनिन्, ‘जिन्दगी भनेकै संघर्ष रहेछ। कहिले आफ्नो हकका लागि, कहिले अर्कैको न्यायका लागि, कहिले आफ्नो पहिचानका लागि त कहिले आफ्नै रहरका लागि– जिन्दगी अनवरत संघर्षमै बित्छ।’

यति भनेर उनले लामो सास तानिन्।

‘मलाई जिन्दगीसँग गुनासो छैन। बुढेसकाल त झन् रमाइलो लागिरहेको छ,’ उनले भनिन्, ‘एक्लै बस्छु। न्यास्रो लागे साथीभाइ भेट्न जान्छु। समाजसेवा गर्छु।’

उनी सुकन्या वाइवाहरूसँग मिलेर एउटा संस्था चलाउँछिन्। आमाबाबु जेलमा रहेका केटाकेटी स्याहार गर्ने र पढाउने काम त्यो संस्थाले गर्छ।
साहित्यमा रुचि भएकी सत्यभामा नेपाल भाषामा कविता–कथा लेख्ने गर्छिन्। नेपालीमा पनि लेख्छिन्। ‘मलाई यसमा आनन्द लाग्छ, लेख्न र पढ्न पाए सबै भुलिन्छ,’ उनी मुस्कुराइन्, ‘एक्लै भएको पनि पत्तो हुन्न।’

पोखरामा न्यायाधीश हुँदाको कुरा हो। उनी एकाबिहानै दौडिँदै फेवातालको माथिसम्म पुगिन्। त्यहाँ ‘मर्निङ वाक’ मा आएका राजा वीरेन्द्र भेटिए।

‘तपाईं न्यायाधीश हैन?’ उनले सोधे।

त्यसअघि राजा वीरेन्द्र अदालत निरीक्षणमा आउँदा उनको भेट भएको थियो।

‘हो सरकार,’ उनले जवाफ दिइन्।

‘एक्लै आएको?’ राजा वीरेन्द्रले सोधे।

‘हजुर’

‘यति टाढा नजानुस्, फर्किनुस तपाईं,’ उनले भने, ‘छोरी मान्छे भएर एक्लै यति टाढा सुनसान बाटो आइछौ। कसैलाई साथमा किन नल्याएकी?’

‘म दिनदिनै हिँड्छु सरकार यहाँ,’ उनले भनिन्।

‘हो हिँड्नुस्, अलिकति परसम्म,’ राजा वीरेन्द्रले सम्झाए, ‘टाढासम्म एक्लै नजानुस् है।’

राजा वीरेन्द्र यति भनेर हिँडिहाले, उनले जवाफ दिनै पाइनन्।

‘मलाई त्यतिबेला भन्न मन थियो, हिँड्न सक्ने भएरै त म एक्लै यति लामो यात्रामा निस्केकी हुँ सरकार,’ सत्यभामाले भनिन्।

सबै तस्बिर: अनिश रेग्मी/सेतोपाटी

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.