कांग्रेसले उठायो वीरगञ्जमा अजय द्वीवेदी, जनकपुरमा मनोज साह


स्थानीय तह निर्वाचनको तेस्रो चरणको निर्वाचन हुन लागेको एउटा मात्र महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले पूर्व सांसद अजय द्वीवेदिलाई टिकट दिएको छ। अर्को महत्वपूर्ण उप-महानगर जनकपुरधामका लागि भने कांग्रेसले मनोज साहलाई मेयर र उपमेयर निलमकुमारी कर्णलाई उठाउने निर्णय गरेको छ।

यी दुवै नगर प्रदेश नम्बर २ का महत्वपूर्ण स्थानीय तह मानिन्छन्।

महानगरमा अझै उपमेयर कसलाई बनाउने भन्ने टुंगो नलागेको कांग्रेस कार्यालयले जनाएको छ।

वीरगञ्ज : अजय द्वीवेदी

वीरगञ्ज महानगरपालिकामा कांग्रेसले मेयरको टिकट दिएका ५५ वर्षीय द्विवेद्वी विद्यार्थीकालदेखि नै राजनीतिमा  सक्रिय हुन्। नेविसंघ हुँदै उनी पार्टी राजनीतिमा आएका हुन्। बहुदल लगत्तै स्थानीय चुनाव जितेर वीरगञ्ज नगरको उपमेयर भएका थिए। वीरगञ्ज कांग्रेसमा निरन्तर धेरै समय काम गरेका उनी पार्टी सभापति शेरबहादुर देउवासँग राम्रो सम्बन्ध भएका स्थानीय नेता हुन्।

पछिल्लो महाधिवेशनबाट उनी जिल्ला पार्टी सभापति बने। राजनीतिमै सक्रिय उनको कुनै पेसा छैन। श्रीमती ठाकुरराम कलेजमा प्राध्यापक छिन्।

पहिलो संविधानसभा चुनावमा पर्सा २ बाट सभासद् चुनिएका द्विवेद्वी २०७० सालमा भने एमालेका विचारी यादवसँग ८ सय मतले हारेका थिए।

जनकपुर : मनोज साह

लगभग ४० वर्षका मनोज साह जनकपुर नगर सभापति हुन्। यसभन्दा अघि उनी वडा सभापति थिए। उनका बुबा पञ्चायत कालिन स्थानीय राजनीतिमा सक्रिय भए पनि पछि कांग्रेस भएका थिए। साहको परिवारमा श्रीमति, छोरा र छोरी छन्। जनकपुरको कांग्रेस राजनीतिमा धेरै उनी नयाँ अनुहार हुन् तर कनिष्ठ भए पनि  बलियो सम्भावना भएका नेता मानिन्छन्। जनकपुरको सामाजिक गतिविधिमा उनी  सक्रिय भएको स्थानीयहरु बताउँछन्।

उनको पारिवारीक पेशा कृषि नै हो। राजनीति बाहेक उनको अरु पेशा छैन।  राजनीनिमा उनको सबै भन्दा ठूलो योग्यता चाँहि  विमलेन्द्र निधिसँगको निकै राम्रो सम्बन्ध हो।

‘मनोजको यहाँ धेरै राम्रो छ। युवा पनि छन् र व्यापारिक समुदायको भोट पनि उनलाई आउँछ,’ सेतोपाटीसंग कुरा गर्दै धनुषाका कांग्रेस सभापति रामसरोज यादवले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.