बाबुरामजी एजेन्डा उठाइराख्नुस्, ५० वर्षमा त पूरा होला नि: प्रदिप गिरी


नेपाली कांग्रेसका नेता तथा राजनीतिक विश्लेषक प्रदीप गिरीले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई प्रत्यक्ष कार्यकारीको एजेन्डा निरन्तर रूपमा उठाइरहन सुझाएका छन्।

नयाँ शक्तिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले किन र कहिले हुन्छ भन्ने कुरामा ध्यान नदिइ निरन्तर आवाज उठाइरहन सुझाएका हुन्।

‘किन हुन्छ, कहिले हुन्छ भन्ने कुरा छोडिदिनुस्, निरन्तर प्रश्न उठाइरहनुस्,’ नेता गिरीले भने, ‘अबको पाँच वर्षमा पनि हुनसक्छ, दश वर्षमा पनि हुनसक्छ, अबको पचास वर्षमा पनि हुनसक्छ।’

उनले पचास वर्षलाई फेरि दोहोर्‍याएर र जोड दिएर भनेका थिए, ‘पचास वर्षमा भनेको छु, याद गर्नुस् है। पचास वर्षमा त पुरा होला नि!’

संयोजक भट्टराईले २०४७ सालमा नै संविधान सभाको कुरा उठाएको प्रसङ्ग सम्झाउँदै गिरीले भने,’यसका लागि अरू दुई दशक लाग्यो। तर दुई दशकपछि त भयो नि।’

यस्ता राजनीतिक एजेन्डा कार्यान्वयनका लागि शक्ति सन्तुलन र राजनीतिक परिस्थिति पनि मिल्नु पर्नेमा उनले जोड दिए। साथै, प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा पार्टीभित्र र सार्वजनिक रूपमा आफू सधैं बोलिरहने बताए।

नेता गिरीले आफू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिभन्दा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे।

उनले राष्ट्रपतिय प्रणली आउने बित्तिकै सबै समस्या समाधान नहुनेमा पनि सचेत हुनुपर्ने बताए।
संयोजक भट्टराईले मुलुकको विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनु अनिवार्य रहेको बताए।

‘अहिले हाम्रो पहिलो प्रश्न विकास र समृद्धि हो,’ उनले भने, ‘यसका लागि राजनीतिक स्थिरता आवश्यक पर्छ। संसदीय प्रणालीबाट स्थिरता सम्भव छैन भन्ने पुष्टि भइसक्यो। त्यसैले अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानु आवश्यक छ।’

उनले नेपालले विकासको फड्को मार्न २० वर्षसम्म निरन्तर दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्दै प्रतिव्यक्ति आय दश गुणा बढाउन जरूरी भएको बताए।

माओवादी नेता शक्ति बस्नेतले माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा नछोडेको बताए।

‘हामी अर्को आउने संसदीय निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्ड लिएर लड्छौं,’ उनले भने, ‘हामीले यो एजेन्डा छोडेका छैनौं।’

नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी हुन दिएनन्: योगेश भट्टराई

अन्तरक्रिया कार्यक्रममा उपस्थित एमाले सचिव योगेश भट्टराईले एमाले र कांग्रेसका पहिलो पुस्ताका नेताका कारण प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान नसकिएको प्रष्टीकरण दिए।

‘पार्टीहरूका अघिल्लो पुस्ताका नेताहरू प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान चाहेनन्,’ उनले भने, ‘निर्णायक स्थानमा युवा थिएनन्। त्यसैले संसदीय प्रणालीमा नै जानुपर्‍यो।’

अघिल्लो पुस्ताका नेताले संसदीय खेलको रस थाहा पाएकाले यसलाई छोड्न नचाहेको बताए। तर, युवा पुस्ताले राजनीतिक स्थिरता, विकास र समृद्धि चाहेकाले यसका निमित्त प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली हुनुपर्नेमा जोड दिए।

उनले एमाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा भए पनि छलफलका लागि खुला रहेको बताए।

उनीभन्दा अघि बोलेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले भने आलंकारिक राजतन्त्रयुक्त प्रणालीमा जानु पर्ने बताएका थिए।

राजनीतिक अस्थिरता अन्त्यका लागि उनले दुई विकल्प अघि सारेका थिए। पहिलो, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली र आलंकारिक राजतन्त्रतात्मक व्यवस्था  र दोस्रो,प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा र जातीय हिसाबले पूर्णसमानुपातिक राष्ट्रिय सभा। दोस्रो विकल्पमा जाँदा राष्ट्रिय सभालाई प्रतिनिधि सभाका केही अधिकार दिनुपर्ने उनले बताए।

 

लोहनी, भट्टराई र पाठकको घोचपेच

अध्यक्ष लोहनी र एमाले सचिव भट्टराईपछि बोलेका लेखक युग पाठकले दुवैमाथि व्यङ्ग्य कसेका थिए।

‘मलाई ताज्जुब लाग्छ, हामी कहाँ कति सजिलै आन्दोलनबाट अस्वीकृत स्वरहरू दोहोरिन थाल्छन्,’ पाठकले लोहनीलाई भने, ‘कति सजिलै राजतन्त्र चाहिन्छ भनेर डा.लोहनीले भन्न सक्नुहुन्छ।’

अध्यक्ष लोहनीले समानुपातिक प्रणालीले अस्थिरता बढाएको र सांसदको टिकट खरिदबिक्रीसम्म भएको भन्दै यसलाई हटाउनु पर्नेमा जोड दिएका थिए। उनीपछि बोलेका एमाले सचिव योगेश भट्टराईले यसलाई खण्डन गरे।

‘समानुपातिक प्रणालीले केही विकृति पनि ल्याएको छ,’ सचिव भट्टराईले भने, ‘यसको अर्थ अब हामीले समानुपातिक प्रणाली हटाउनु पर्छ भन्ने होइन। अबको केही दशकसम्म यो प्रणाली हामीले अभ्यास गर्नुपर्छ। यो हाम्रो समाजको आवश्यकता हो। यहाँ भएका जातिय, लैङ्गिक लगायतका विभेद कम गर्न ल्याइएको हो। सबै समान अवस्थामा नपुगेसम्म यो व्यवस्था अभ्यास गर्नु जरूरी छ।’

यही प्रसंग लेखक पाठकले पनि दोहोर्याएका थिए । तर उनले सचिव भट्टराईलाई पनि व्यंग्य गर्न भ्याए।

सचिव भट्टराईले भारत र चीनसँगको सम्बन्ध राम्रो बनाउनका लागि मुलुकमा स्थिर र बलियो सरकार चाहिएको बताएका थिए।

‘दिल्ली र बेइजिङ गएर आँखामा आँखा जुधाएर कुरा गर्ने नेतृत्व हामीलाई आवश्यक छ,’ उनले भने, ‘संसदीय प्रणालीबाटै यस्तो प्रधानमन्त्री पाउन सम्भव छैन।’

उनलाई जवाफ दिँदै पाठकले भने, ‘कसैसँग आँखामा आँखा जुधाउन भन्दा पनि नेपाली समाजका समस्याहरू हल गर्न हामीलाई स्थिर र बलियो सरकार चाहिएको हो। दिनका दिन सयौं युवा कामका लागि विदेश पठाउने, मुलुकका सबै संस्थाहरूलाई कमजोर राख्ने, आन्तरिक उत्पादन प्रणाली कमजोर बनाउने अनि प्रधानमन्त्री बलियो खोजेर हुन्छ?’

उनले मुलुकलाई बलियो बनाएमात्रै प्रधानमन्त्री वा राष्ट्रपति बलियो हुने उनले बताए।

 

भीमार्जुन आचार्य: संसदीय व्यवस्थाका तीन कमजोरी र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका पाँच फाइदा

संविधानविद भीमार्जुन आचार्यले संसदीय प्रणालीका तीन कमजोरी र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका पाँच फाइदा बताउँदै प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने बताए।

उनले केलाएका संसदीय प्रणालीका तीन बेफाइदा यस्ता छन्:

-संसदीय शासन प्रणालीमा जवाफदेहीता हुन्छ भन्ने सिद्धान्त हो। तर, हामी कहाँ यो प्रणालीमा जवाफदेहीता शुन्य भयो।

-हामीले संसदीय प्रणालीमा कहिल्यै स्थायित्व पाउन सकेनौं।

– सर्वसाधारण जनताले सरकार भएको अनुभूति कहिल्यै गर्न पाएनन् तर टाढाबाठाले धेरै फाइदा उठाए।

उनले केलाएका प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीका पाँच फाइदा यस्ता छन्:

-शासनका जनताको प्रत्यक्ष सहभागीता हुन्छ। जनताले प्रत्यक्ष रूपमा सरकार प्रमुख चुन्न पाउँछन्।

– राजनीतिक स्थायित्व हुन्छ र सरकारले लामो समय काम गर्न पाउँछ। यसका लागि राष्ट्रपतिलाई संसदबाहिरबाट मन्त्री बनाउने अधिकार दिनुपर्छ र संसदलाई व्यवस्थापकिय अधिकार मात्र दिनुपर्छ।

– यो प्रणालीमा छिटो निर्णय लिन सहज हुन्छ।

– पार्टीको ह्वीप र प्रभावबाट सरकार मुक्त रहन्छ

– जवाफदेहीता हुन्छ।

 

ली क्वान यु चाहियो: पूर्वगभर्नर रावल

कार्यक्रममा सहभागी भएका पूर्वगभर्नर तिलक रावलले नेपाललाई सिंगापुरका ली क्वान युजस्तै नेता आवश्यक भएको बताए।

नयाँ शक्तिले आइतबार माइतीघर मण्डलामा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीका लागि धर्ना समेत दिएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.