‘ठूल्ठूला भ्रष्टाचार पर्दाफास गर्न पत्रकारितामा लगानी भएकै छैन’


संसदीय रिपोर्टिङ थालेको ६ वर्ष पुगेको थियो।

हरिबहादुर थापा सिंहदरबारमा हिँडिरहेका थिए। लाउडा काण्डले संसद तातिरहेको बेला थियो त्यो। एमाले सांसद सुवासचन्द्र नेम्वाङसँग भेट भयो। थापाले लाउडाकै बारे नयाँ तथ्य नेम्वाङसँग सोधे।

त्यो दिन नेम्वाङले सूचना मात्र दिएनन्, आइडिया पनि दिए, ‘किताब लेख्नुहोस्, समाचारमा मात्र अल्झेर काम छैन।’

त्यो आइडिया थापालाई मन पर्यो। एकाध वर्षमा उनले ‘भ्रष्टाचारको शल्यक्रिया’ नै गरिदिए, आफ्नो पहिलो पुस्तकमार्फत्। संसदीय समितको रिपोर्टिङ गर्न जाँदा उनले त्यसको छायामा भइरहेको भ्रष्टाचार देखेका थिए। कान्तिपुर दैनिकमा तिनै भ्रष्टाचारबारे लेख्ने गर्थे। यसरी सुरु भएको थियो, उनको किताब लेखनयात्रा।

‘भ्रष्टाचारको शल्यक्रिया’ बाहेक वैदेशिक लगानीको दुरुपयोग, कर्मचारी र राजनीतिको स्वार्थ अनि दलीय द्वन्दसम्बन्धी किताब उनले लेखिसकेका छन्। भर्खरै उनको अर्को किताब आएको छ ‘रजगज’ जसमा पञ्चायतकालदेखिका भ्रष्टाचार प्रकरण समेटिएका छन्।

‘पत्रकार भएकैले किताब लेख्न सकेको हुँ। पत्रकारितामा हुँदा समाचारका लागि खोजिएका सूचना र प्रमाण किताब लेख्दा निकै काम लाग्दा रहेछन्,’ उनले भने।

साढे दुई दशकभन्दा बढी समयदेखि राजनीति तथा भ्रष्टाचारमा कलम चलाउँदै आएका थापाले भ्रष्टाचारविरुद्धको पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाएका छन्। कर्मचारीतन्त्र र भ्रष्टाचारमा उनको खास विशेषज्ञता छ। ‘कान्तिपुर’ दैनिकका समाचार सम्पादक थापाको किताब विमोचन समारोहमा आएका अतिथिले उनलाई भ्रष्टाचारविरुद्ध अभियन्ताका रूपमा चित्रित गर्दै भने, ‘उहाँको अभियान हो यो, हामी सबैले उहाँलाई एक्लै नछोडौं।’

‘के पत्रकारिताले नेपाली राजनीतिमा भइरहेका भ्रष्टाचार उजागर गर्न सकेको छ?’

उनले प्रस्ट जवाफ दिन सकेनन्। भने, ‘केही हदसम्म सकेको छ। र, सकेको छैन पनि।’

उनले अनुभवका आधारमा आफ्नो जवाफ प्रस्ट्याए।

थापालाई ०५२ सालमा संसदीय समितिहरूको रिपोर्टिङमा खटाइएको थियो।

त्यो समय दरबारका तत्कालीन एडिसी भरत गुरुङ र पूर्व प्रहरी महानिरीक्षक डिबी लामा प्रकरण संसदमा चलिरहेको थियो। संसद किनबेचदेखि लाउडासम्म अनेक काण्ड चलिरहन्थे। प्रधानमन्त्रीसम्म संलग्न त्यस्ता काण्ड पनि पत्रिकाले नै लेखेर बाहिर आएको उनी ठान्छन्।

सांसद खरिद, पजेरो खरिददेखि चूडामणि शर्मा प्रकरणसम्म आइपुग्दा थापालाई लाग्छ, नेपाली पत्रकारिताले थुप्रै भ्रष्टाचार उजागर गर्न सकेको छ। ‘त्यो बेला पनि हामीले संसदमा हुने र संसदमा आइपुगेका भ्रष्टाचारका विषयमा लेख्न सक्यौं, अहिले नयाँ पुस्ताले पनि त्यो काम गर्न सकेको छ,’ उनले भने।

यति हुँदाहुँदै भ्रष्टाचारका आयाम फराकिलो हुँदै गएको उनको अनुभव छ। आफ्नो रिपोर्टिङ काल उनलाई याद आइरहन्छ। त्यतिबेला भ्रष्टाचारको विषयलाई लिएर दुई महिनासम्म संसद अवरुद्ध हुन्थ्यो। लाउडा प्रकरणलाई लिएर एमालेले ५८ दिन संसद अवरुद्ध गरेको थियो। त्यसविरुद्ध नेताहरू बोल्थे।

‘अहिले परिस्थिति फेरियो। कर फर्छ्यौट आयोगको त्यत्रो प्रकरण सार्वजनिक भयो। चूडामणी शर्मा समातिएर छुटे, आयल निगमको जग्गा प्रकरण आइरहेको छ। एक जना नेता चुइँक्क गर्दैनन्। न त त्यसबारे संसदमा पहिलेजस्तो कुरा उठ्छ,’ उनले भने।

भ्रष्टाचारबारे मिडियामा समाचार आएपछि संसदमा हंगामा हुने गरेकोमा त्यस्तो सक्रियता घट्दै गएको थापाले बताए।

‘मिडियाले लेखेको समाचारलाई लिएर सत्यतथ्य जाँच हुन्थ्यो। विरोध हुन्थ्यो। अहिलेको संसद त्यस्तो छैन, नेता त्यस्ता रहेनन्। उनीहरूको मौनता अचम्मको छ,’ उनले भने, ‘कुनै न कुनै हिसाबले नेताहरू नै भ्रष्टाचारमा संलग्न हुन्छन्। त्यही खुल्छ भनेर मौन बसेका हुन सक्छन्।’

उहिले र अहिलेको भ्रष्टाचार प्रवृत्तिमा पनि परिवर्तन आएको उनी बताउँछन्। पहिले कमिसन र आर्थिक भ्रष्टाचार बढी हुन्थ्यो भने अहिले नीतिगत भ्रष्टाचार बढेको उनको अनुभव छ। सरकार वा संसदले नीति बनाउने र त्यसबापत फाइदा लिने वर्गसँग पैसा उठाउने प्रवृत्ति बढेको उनी देख्छन्।

‘जथाभाबी मेडिकल कलेज खोल्न दिने गरी नीति बनाउने र मेडिकल व्यापारीसँग पैसा लिने पनि एकप्रकारको नीतिगत भ्रष्टाचार हो,’ उनले भने, ‘नीतिगत भ्रष्टाचारमा पैसाको लेनदेन विदेशमा हुन्छ, त्यसको प्रमाण यहाँ भेट्न गाह्रो छ।’

‘पत्रकारले त्यस्ता भ्रष्टाचारबारे समाचार लेख्न सकेका छन् त?’

‘छैनन्,’ उनले प्रस्ट जवाफ दिए, ‘राज्य संयन्त्रले नै त्यस्ता खालका भ्रष्टाचार समात्न सकेको छैन, पत्रकारले कसरी सक्छ?’

नेपाली पत्रकारितामा ठूल्ठूला भ्रष्टाचार पर्दाफास गर्न लगानी  नभएको उनले बताए। सरकारी निकायसँग भएका प्रमाण मात्र नेपाली मिडियाले खोज्न सक्ने र त्यसभन्दा बाहिर गएर पत्रकारिताले भ्रष्टाचारको अनुसन्धान नगरेको उनले स्वीकार गरे।

मिडियामा आएका भ्रष्टाचारका समाचारले भ्रष्टाचारीलाई कारबाहीको दायरामा भने ल्याएको उनको तर्क छ।

तथ्यपरक सूचना संकलनका लागि अहिलेको समय झन् सहज बन्दै गएको उनलाई लाग्छ। ‘त्यति हो, स्रोतले कुनै सूचना किन दिइरहेको छ भन्ने पनि हामीले ख्याल गर्नुपर्छ। प्रमाण भए त जुनसुकै स्वार्थका लागि दिएको भए पनि लेख्नुपर्यो,’ उनले भने।

लामो समय कर्मचारी प्रशासनमाथि पनि रिपोर्टिङ गरेका थापाले कर्मचारीहरूको एउटा प्रवृत्ति सुनाए।

कर्मचारी एकअर्काबारे निकै सूचना राख्छन्। आफ्नो सहकर्मीका राम्रा–नराम्रा सबैखाले कामको हिसाब राखेकै हुन्छन्। जब जब बढुवा हुने बेला आउँछ, तब आफ्ना प्रतिस्पर्धीका तिनै काम मिडियामा भन्न आतुर हुन्छन्। यस्तो बेला पत्रकारले आफू प्रयोग भइरहेको छु कि छैन भनेर सोच्नुपर्ने उनले बताए।

‘यस्तो अवस्थामा कतिपय पत्रकार जानेर वा नजानेर प्रयोग हुन्छन्,’ उनले भने।

‘पत्रकार आफैं कत्तिको भ्रष्ट छन् त?’

यो प्रश्नको जवाफमा उनले नवलपरासीको उदाहरण दिए। एकपटक नवलपरासीका प्रहरी अफिसरले ‘हरिबहादुरले पैसा माग्यो’ भनेछन्। चिनजानका भाइबहिनीले थापासम्म कुरा पुर्याइदिए। उनले आफैं ती अफिसरलाई फोन गरेर भनेछन्, ‘मै हो हरिबहादुर। कसैले पैसा घुस माग्यो भने बोलाउनुस् अनि कारबाही गर्नुस्, अधिकार छ नि तपाईंलाई।’

यस्ता खालका हल्ला धेरै हुने उनले बताए। केहीअघि पत्रकारले घुस लिँदै गरेको टेप सार्वजनिक भएको थियो। थापालाई भने त्यस्ता पत्रकारलाई बिर्सेर ‘प्रोफेसनल’ र इमानदार पत्रकार बढ्दै छन् भन्नेमा सन्तुष्टि हुन्छ।

‘पत्रकार पनि पैसा लिएर काम गर्छन् भन्ने खबर आइरहन्छन्। केही त साँचो पनि होला। धेरै हल्ला हो जस्तो लाग्छ,’ उनले भने, ‘पत्रकारको आवरण भिर्ने तर बिचौलियाको काम गर्ने मान्छे नभएका होइनन्। यति हुँदाहुँदै प्रोफेसनल पत्रकारको संख्या बढिरहेको छ। भ्रष्ट बिचौलियाहरू आखिरमा गएर पत्रकारभन्दा बिचौलिया भनेरै चिनिन्छन्।’

धेरै मिडिया भ्रष्टाचारविरुद्ध लेख्ने गरेकोमा उनलाई शंका छैन। मिडिया धेरै भएकाले कति चाहिँ भ्रष्टाचारीको पक्षमा उभिने गरेको पनि उनले देखेका छन्।

‘पहिलेजस्तो थोरै माध्यम छैनन्। अहिले सञ्चारमाध्यम धेरै भए। तिनैमध्ये कतिले भ्रष्टाचारीलाई सघाउ पुग्ने गरी नै लेखेको देखिन्छ,’ उनले भने, ‘भ्रष्टाचारबारे अझै धेरै लेखिनुपर्छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.