भ्रष्टाचारीलाई उम्मेदवार बनाउने संशोधन प्रस्ताव कांग्रेस कि सांसदको?


भ्रष्टाचार मुद्दा लागेर जेल सजाय काटेको तीन वर्ष पूरा गरे प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभाको उम्मेदवार बन्न पाउनुपर्ने संशोधन प्रस्ताव दर्तापछि नेपाली कांग्रेसको व्यापक आलोचना भैरहेको छ।

कांग्रेसका १९ सांसदले पार्टीको निर्णयअनुसारै संशोधन दर्ता गराएको जिकिर गरिरहेका छन्। केही नेताले भने यसबारे पार्टीमा छलफल नभएको बताए। ‘यो विषयमा पार्टीभित्र छलफल भएको मलाई थाहा छैन,’ कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सेतोपाटीसँग भनिन्, ‘केही सांसदको व्यक्तिगत धारणा होला, मलाई यसबारे केही भन्नु छैन।’

संशोधन प्रस्ताव राख्ने सांसदमा आनन्दप्रसाद ढुगांना, सीताराम महतो, राधेश्याम अधिकारी, भरतबहादुर खड्का, पुष्कर आचार्य, किरण यादव लगायत छन्। अधिकांश खुमबहादुर खड्का समूहका सांसद छन्। खड्का भ्रष्टाचारी ठहर भई जेल सजाय भोगेर निस्केका नेता हुन्। उनैको सल्लाहअनुसार यो संशोधन हालिएको कांग्रेस स्रोत बताउँछ। उनले शेरबहादुर देउवालाई समेत पास गराउन दबाब दिएको कांग्रेसका एक नेताले बताए।

कांग्रेस सांसद गगन थापा पनि यो संशोधन प्रस्ताव दर्ता गर्न पार्टीले कुनै निर्णय नगरेको बताउँछन्। पार्टीभित्र यस्ता विषयमा कम छलफल हुने गरेको भन्दै उनले संशोधन प्रस्ताव सांसदहरुको नितान्त व्यक्तिगत भएको बताए।

‘कुन विषयमा कस्तो संशोधन दर्ता गर्ने भनेर पार्टीमा छलफल हुँदैन। प्रतिनिधि र प्रदेश सभा सदस्यको अयोग्यतासम्बन्धी जुन विषय छ, यसबारे संशोधन हाल्ने निर्णय पार्टीले गरेको छैन,’ उनले भने, ‘भ्रष्टाचारी ठहर भैसकेका व्यक्ति जेल र जरिवानापछि पनि सांसद, मन्त्रीजस्तो पदका लागि योग्य नहुने मेरो व्यक्तिगत धारणा छ।’

सार्वजनिक संस्थामा काम गरेर एकपटक भ्रष्टाचारी प्रमाणित भैसकेका व्यक्तिलाई सजाय भोगिसके पनि केही पदका लागि योग्य मान्न नहुने थापाले बताए। ‘सजाय भोगिसकेपछि उनीहरु जुनसुकै कुराका लागि योग्य हुन्छन् तर सार्वजनिक पदका लागि हुनुहुँदैन,’ उनले भने।

विधेयकको दफा १३ मा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधान छ। भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार लगायत कसुरमा सजाय पाएको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था विधेयकले गरेको छ।

संशोधन प्रस्ताव दर्ता गर्ने सांसद राधेश्याम अधिकारीले भने यसमा आफ्नो सैद्धान्तिक अडान भएको बताए। कुनै पनि व्यक्तिलाई अपराधबापत जेल सजाय भुक्तान गरेपछि जिन्दगीभरि राजनीतिमा प्रतिबन्ध लगाउन नहुने उनको जिकिर छ। उनले मंगलबार एक कार्यक्रममा यो विधेयक पास हुनैपर्छ भनेर आफूले लबिङ नगरेको पनि बताए।

‘जेलैमा बसेर आइसकेको मान्छेलाई राजनीति गर्न जिन्दगीभरि प्रतिबन्ध गर्नु हुँदैन भनेर मैले यस्तो संशोधन हालेको हुँ। संसदमा अरु साथीहरुले पनि के गरेको यो तपाईंले भनेर भन्नुहुन्छ। तपाईंहरुकै लागि हो भन्ने गरेको छु। यो मेरो धारणा हो तर यही संशोधन पास हुनुपर्छ भन्ने छैन। त्यसका लागि मैले लबिङ गरिरहेको पनि छैन। यो पास नभए पनि केही छैन,’ उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.