सरकारले तोकेको मितिमा निर्वाचन गराउन आयोग प्रतिबद्ध छ: प्रमुख आयुक्त यादव


प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सरकारले तोकेको मितिमा निर्वाचन गराउन आफू तयार रहेको बताएका छन्।

आजको मन्त्रिपरिषद बैठकले मंसिर १० गते प्रदेश सभा र संघीय प्रतिनिधि सभाको निर्वाचन एकसाथ गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय लगत्तै सेतोपाटीसँगको कुराकानीमा प्रमुख आयुक्त यादवले तोकिएकै मितिमा दुवै निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको बताएका हुन्।

मन्त्रिपरिषदको निर्णयबारे औपचारिक जानकारी पाइनसके पनि निर्वाचन गराउन आफू तयार रहेको उनले बताए।

‘मन्त्रिपरिषदले के निर्णय गरेको हो, औपचारिक जानकारी त पाएको छैन,’ उनले भने, ‘हामी सरकारले तोकेको मितिमा चुनाव गराउन तयार छौं। सरकारले आफ्नो जिम्मेवारी समयमा पूरा गरोस्।’

यसअघि प्रदेश र संघको चुनाव एकसाथ गर्ने भए दुई चरणमा मतदान गराउनु पर्ने प्रस्ताव गरेको थियो। मन्त्रिपरिषदले भने मंसिर १० गते मतदानको एउटा मात्रै मिति तय गरेको छ। यसअघि आयोगले जे प्रस्ताव गरेपनि सरकारकै निर्णय अनुसार निर्वाचन सम्भव तुल्याउने उनले बताए। ‘हामी सरकारले तोकेकै मितिमा निर्वाचन सम्भव बनाउँछौं,’ प्रमुख आयुक्त यादवले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.