डा. केसीलाई समर्थन गर्दै फेसबुकमा कविता अभियान (पाँच कवितासहित)


डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनमा ऐक्यबद्धता जनाउँदै कविहरूले फेसबुकमा कविता अभियान सुरु गरेका छन्। उनीहरुले शुक्रबार साँझ ७ बजे एकसाथ आफ्ना कविता फेसबुकमा पोस्ट गरेका छन्।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी ११ औं पटक अनसनमा छन्। आज उनको अनसनको १९औं दिन हो।

अनसनको १९ दिन पुग्दा पनि सरकार संवेदनशील नभएको भन्दै कविहरूले फेसबुकमा कविता अभियान चलाएका हुन्। फेसबुकमा पोस्ट गरिएका दर्जनौं कवितामध्ये पाँचवटा हामीले यहाँ साभार गरेका छौं।

नायक अनायक लोकतन्त्र

  • सरिता तिवारी

लोकतन्त्रमा

‘लोक’तन्त्रको अर्थ के हो ?

तपाईंहरू भन्न सक्नुहुन्छ ?

यति सिधा प्रश्नको सरल उत्तर

भेट्न नसकेर

ट्वाँ परेको छ कवि

प्रधानमन्त्री निवास,

दूतावास-भेटघाट

पार्टी मुख्यालयका खुसामद

यहाँ कसैलाई झुक्किएर पनि नसोध्नोस

परिकथाजस्तो

लोकतन्त्रको परिभाषा

पाउनुहुनेछ खस्रो स्वरमा जवाफ-

म किन भनुँ तँलाई उत्तर ?

को हो तँ प्रश्न सोध्ने ?

के छ तेरो हैसियत ??

जब सोधिने छ यसरी तपाईंलाई हैसियत

बुझ्नुस

कहाँ पुगेको छ यो मुलुकमा

लोकतन्त्रको हैसियत !

खोज्न जानुस्

सिंहदरबारका फाइलभित्र

विकासका योजना र परियोजनाका हस्ताक्षरभित्र

कहिँ देख्नुहुन्न तपाईं लोकको चिन्ता

कहिँ भेट्नुहुन्न लोकको आवाज

खाली देख्नुहुने छ

लोकको नाममा

बाघको छालामा झैं रजाईं गरिरहेका

स्यालहरूको भोज !

‘लोकतन्त्र’ फलाकेरै घाँटी सुकाउने त्यो संसद

दाँत ङिच्याउँदै विज्ञप्त त्यो विश्वविद्यालय

अदालत

अस्पताल

र प्रशासनको वल्लो लबिदेखी पल्लो कुनासम्म

कहिँ गर्न सक्नुहुन्न लोकतन्त्रको अनुभूति

सरकार /प्रतिपक्ष जोसुकै भन्नुस

त्यहाँ बज्छ केवल कर्पोरेटहरूको बाँसुरीधुन

चल्छ केवल माफियातन्त्रको ब्रेकडान्स !

तर एउटा मान्छे

त्यो पगला,बहुला मान्छे

जो एक्लै पुग्छ सुदूर गाउँमा

कोही कसैले नसकेको ठाउँमा

झोलामा ओखती बोकेर

बर्खे खोलामा एक्लै लौरो टेकेर

यो भुलभुलैयाजस्तो ब्यवस्थासँग

एक्लै भिड्न तयार

हो,बहुला नै हो यो मान्छे

जो हिंडेको छ खै कुन्नी कुन जुनूनले

माफियाहरूको जुठ्यानमा लुट्पुटिएर बदनाम

लोकतन्त्रको परिभाषा खोज्न

जब नायकहरू सक्दैनन् नायकत्व रक्षा गर्न

यही तथाकथित पागल

बन्दोरहेछ आफ्नै जुनूनको बलले

लोकतन्त्रको नायक !

साथीहरू

के हामी तयार छौं

लोकतन्त्रको नायक बन्न?

 

बौलाहा इतिहास

  • सीमा आभास

यहाँका शासक प्रशासन र ब्वाँसो उस्तैउस्तै लाग्छन्
नानीहरु हिँड्ने बाटोमा खाल्डा खन्छ
विश्वविद्यालयका घाँटी समात्छ
बिरामीका आँखा, नाक, कान घाँटी कलेजो मुटु
सबैसबै झिरमा उनेर उत्सब मनाउँछ ।
यहाँको सन्काहा एउटा शासकले
देउता काटेर मान्छे बनायो
अर्को बौलाहा शासकले
मान्छे काटेर देउता बनायो ।
मान्छेकै खुनले नुहाएको यो शासक
ठूलोस्वरमा बोले उग्रवादी भन्छ
नरम स्वरमा बोले कातर ठान्छ ।
यो बौलाहा इतिहास
नरवली उत्सब मनाउनेहरुलाई देशभक्त भन्छ
नागरिक सलकसलक निल्ने अजिंगरहरुलाई नायक भन्छ
घडीको सुइले कान कोट्याउने सन्ठीहरुलाई बिद्धवान भन्छ
मन्दिरमा भाकल गरेर मूर्ति चोर्नेहरुलाई पुजारी भन्छ ।
पसिनाले माटो मुछेर बाँच्नेहरुलाई चिन्दैन
ढाकरमा देश बोक्नेको तोक्मा चिन्दैन
लहरापहराका गानमा देश सुम्सुम्याउनेहरुलाई परिचय दिँदैन
देशभरि देश खोज्दै ढलेका गाेविन्द केसीहरुकाे आवाज सुन्दैन
सिंगाे देशले गुहार मागिरहँदा मस्तसँग घुरीरहेको छ शासक ।
बहादुरीको नाममा आफ्नै खप्परबाट हामफालेर
पटकपटक ठिँगुरा भाँचेर हिँडेको यसले
एकनास पिइरहेको छ देशभक्तको रगत
सद्दे भनिने यो बौलाहाको इतिहासले
युगयुगदेखि थिचिरहेको छ हामीलाई

 

नाथुराम गोड्सेको अनुहार

  • घिमिरे युवराज

हिजो राज्यलक्ष्मी
जङ्गबहादुर
महेन्द्र
वा ज्ञानेद्र सत्तामा हुँदा जसरी फिल्टर गरेर सुन्थे जनताको कुरा
त्योभन्दा नालायक छ आजको सत्ता ।
चेतनाहीन, प्राज्ञिकताहीन, मानवताहीन
यो मुलुकको सत्ता जिब्रो लटरपटर पार्छ र आफैँले बोलेको कुरा पनि बिर्सन्छ।
यो मुलुकको सत्ता र प्रतिपक्षको भ्रष्टाचारी अनुहार त ठ्याक्कै उस्तै छ
फोटोकपी
नत्र किन मिल्थ्यो मत यिनीहरुको गोबिन्द केसीलाई मार्ने योजनामा ?
मिलेर खाने बानी परेको छ
एउटा बोल्दै बोल्दैन
अर्को बढी बोल्छ, एउटा मिल्दैमिल्दैन
अर्को दोचारे छ
तर भेट्दा राज्यसत्ताको ढुकुटीको पैसाले फेरिदिएको नक्कली दाँत देखाएर ङिच्च
नक्कली मुस्कानमै एकअर्काको चरित्रको प्रसंशा गर्छन् लाज पचाएर
नत्र किन चोसो मिलाउँथे यिनीहरु
जनतालाई लुट्ने योजनामा ।
वरिपरि छन्ः कुरौटे र विबेकहीन आसेपासेहरु
चुरोटको फिल्टर जस्तो आम मान्छेका दुःख र यथार्थ दैनिकी
फिल्टर गरेर सुनाउँछन् आफ्ना भ्रष्ट देउताहरुलाई ।
बनाउँदैछन् यो देशलाई क्यान्सरग्रस्त ।
उनीहरुले भुले सायद फिल्टरले क्यान्सर रोक्दैन, बरु झन् सङ्क्रमित बनाउँछ देशलाई ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासद, सचिव, निर्देशक वा बडाहाकिमहरु
र तिनका आसेपासे, ढोकेहरु
सबका सब लागिपरेका छन् मिलेर खान ।
तिनका अनुहार ठ्याक्कै उस्तै देखिन्छ अचेल
अचेल झल्झल्ती देखिरहेछु, उनीहरुको खुट्टामा उभिएर एक हुल नाथुराम गोड्सेहरु
एउटा महापुरुषको अनसन स्थलतिर लम्किरहेका छन् ।
र सुरेन्द्र पाण्डेहरुले लेख्ने किताबको नाम हुनेछ: ‘किन गरियो डाक्टर केसीको हत्या’
यस किताबको बिमोचन गर्ने छन् देउवा, ओली र पुकदाहरुले
र थपिनेछ नेपाली ईतिहासमा अर्को कलंक ।

कालो कविता

  • केदार शर्मा

तिम्रो धन कालो होइन, रातो
तिम्रो मन कालो होइन, रातो
हाम्रा भागमा परेको अपशकुनी रङको, कालो होइन
तिम्रा झण्डाहरूको गौरवशाली रङको तिम्रो धन
तिमीले बगाएको रगतको खोलाको रङको तिम्रो मन
थपमा, अलिकति आलो रगत –
बिरामीहरूको लागेको
जो एम्बुलेन्ससित दलाली गरीगरी
ल्याइन्छन् र चुसिइन्छन्
र तिम्रो रातो मन चम्किँदै जान्छ
र तिम्रो रातो धन चुलिँदै जान्छ
तर के तिम्रो रातो धनको धरहराले
तिम्रो धनको रातो धरहराले
हाम्रो कालो धिक्कारको भूकम्प सहन सक्ला र?
जसरी कहिल्यै पनि थेग्न सकेन तिम्रो अमित भोगेच्छाले
एउटा सरल अनशनकारीको भोकको राप
जसरी कहिल्यै जित्‍न सकेन तिम्रो सत्ताग्रहले
एउटा निर्दोष सत्याग्रहीको मौनताको बल
र गरिरह्यौ राता राता षडयन्त्रहरू
र गरिरह्यौ छलेर राता राता प्रहारहरू
काला होइन राता षडयन्त्र
काला होइन राता प्रहार
जुन रातो रङ कुनै बेला
जनताको मुक्तिको रङ भनेर चिनिन्थ्यो
त्यसैले रङको बुरूसले
घोटी घोटी मुक्त भईरह्यौ आफ्ना प्रतिबद्धताहरूबाट

मलाई हिजोआज रातो रङसित डर लाग्छ
मलाई हिजोआज रातो रङसित लाज लाग्छ
मलाई हिजोआज रातो रङसित घीन लाग्छ

हामी लेख्दैछौँ काला कविता
काला, काला, काला कविता
र फ्याँक्दैछौँ तिम्रो रातो धनको धरहरातर्फ
तिम्रो धनको रातो धरहरातर्फ
तिम्रो रातो धरहराले
हाम्रो कालो धिक्कारको भूकम्प
साँच्चै सहन सक्छ?

हरेक बिहान

  • सौरभ कार्की

दैनिकजसो पढ्छु समाचारः
बेचिएका डेट एक्सपायर औषधीबारे
अपरेसन गर्दा पेटमा कैची छुटेको तीतो यथार्थ
गलत औषधी उपचारले अस्पतालमै ज्यान गुमाउनेहरुका कथा
गरिबीले उपचार गराउन नसक्नेका ब्यथा
लगत्तै कतै अर्को हेडलाईन
डा. गोबिन्द केसी फेरी अनसन बस्दै ।
माग उही पुरानै ।
म चुपचाप पत्रिका थन्काउछु र फेसबुक खोल्छु ।
फेसबुकमा
राजनीतिका बहसमा घन्टौ फेसबुकमा अल्झिदिनेसँगै अल्झिन्छु ।
ओठ चुच्चो पारेको सेल्फी पोष्टमा क्युट लेखिदिन्छु ।
कसैका गजल र कवितामा वाह वाह भनेर उचालिदिन्छु ।
छिटफुट डा. केसीको नामको प्रोफाईल पिक्चर लाईक गरिदिन्छु
र म पनि यदाकदा ह्यासट्याग कमेन्ट गरिदिन्छुः #IamwithDrKC
यो ह्यासट्याग पनि कत्ति लेख्नु
जत्ति लेखे नि कसैले सुनेनन् ।
के सुर चल्दो कुन्नि डाक्टरलाई
सुन्दैनन् थाहा छ र पनि बसिदिन्छन् अनसन ।
सनकी बुढा ।
एउटा गीत सम्झन्छु
“एउटा मरेर जान्छ हामी हजार जुट्छौ ।”
मलाई थाहाछैन सरकार के गरिरहेछ ।
मलाई यो पनि थाहाछैन अरु के गरिरहेछन् ।
म के गरिरहेछु मलाई यो पनि थाहाछैन ।
यदाकदा आफैलाई प्रश्न गर्छुः
के अरु जस्तै म पनि डा. केसीको मृत्यु कुरिरहेछु ?
भो अब त मेरो अफिस जानु छ ।
म काममा गईन भने पेटमा माड लाग्ने वाला छैन ।
कोही बिरामी परिहाले औषधो उपचारको खर्च जुटाउने पैसो पनि त छैन ।
हरेकले सोच्ने आफ्नै बारेमा हो ।
माफ गर्नुस्, मलाई अरु धेरै कुरा सोच्ने फुर्सद नै छैन ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.