कीर्तिपुर उपमेयर भन्छिन्– रञ्जु दर्शनाहरू ठूला पार्टीलाई चुनौती बन्दै छन्

कीर्तिपुर उपमेयर भन्छिन्– रञ्जु दर्शनाहरू ठूला पार्टीलाई चुनौती बन्दै छन्

कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्का आफ्ना छोराछोरीसँग। तस्बिर: नारायण महर्जन/सेतोपाटी




सहर भने पनि पक्की घर हटाइदिने हो भने कीर्तिपुरको मच्छेगाउँ कुनै टाढाको गाउँजस्तै लाग्छ।

चारैतिर खेतबारी छन्। थोरै माथि डाँडोमा जंगल बाक्लो छ। अस्ताउन लागेको पहेँलो घाम टल्किएको ओसिलो सडक पार गर्दै हामी हालैको एक साँझ त्यही मच्छेगाउँ दोबाटो पुग्यौं, जहाँ सरस्वतीको घर छ।

मकैबारीले ढाकेको घर। छिप्पिँदै गरेका ती मकै सरस्वतीले नै रोपेकी हुन्। खुर्सानी, काँक्रोलगायत तरकारी र फलफूल पनि फलाएकी छन्। मकैबारीभित्र फर्सीको लहरा कतै लत्रिएको त कतै मकैको बोटलाई थाँक्रो बनाउँदै हलक्क बढिरहेको छ।

सरस्वती आँगनको कुर्सीमा फर्सीको मुन्टा केलाउँदै थिइन्। भर्खरै टिपेको फर्सीको मुन्टा र एउटा बांगिएको काँक्रो अगाडि थालमा थियो।

हामी पुग्नेबित्तिकै सरस्वतीले छोरालाई काँक्रो काट्न अह्राइन्। छोरीलाई चिया पकाउन लगाइन्। भान्छादेखि चिया ओसार्ने काम छोराकै भागमा पर्यो। ‘म यी दुवैलाई घरको बराबरी काम लगाउँछु, जसले जे जानेको छ उसलाई त्यही भन्छु, जुन काम बढी छोरी मान्छेले गर्छन् त्यो छोरालाई लगाउँछु,’ सरस्वती भन्छिन्, ‘ताकि कामका आधारमा छोरीलाई महिला हुनुको महसुस नहोस्।’

सरस्वती खड्का कीर्तिपुर नगरपालिकाका निर्वाचित उपमेयर हुन्। पहिले उनी साँझ–बिहान घर सम्हाल्थिन्, दिउँसो पसल। भृकुटीमण्डपका सयौं छाप्रामध्ये एउटामा कपडा बेच्थिन्। पसल अहिले पनि त्यहीँ छ, जुन उनका श्रीमानले सम्हाल्छन्। उनी भने नौ वर्ष त्यहाँ दिएको समय नगरपालिकालाई दिन थालेकी छन्। साँझ–बिहान गृहिणीको जिम्मेवारी त उस्तै नै छ।

भृकुटीमण्डपमा सामान बेच्न नानावली बोलेर ग्राहक फकाउनुपर्ने सरस्वतीलाई उपमेयर जितेपछि जनताको गुनासो बढी सुन्नुपर्छ। उनी सबैका कुरा सुनेर आश्वासन दिन्छिन् र कर्मचारीलाई निर्देशन। एमालेबाट निर्वाचित उनी पार्टीका काममा पनि उत्तिकै व्यस्त रहन्छिन्।

३६ वर्षीया सरस्वतीको राजनीतिक झुकाव र घरमा छोराछोरीलाई गर्ने व्यवहारको तालमेल छ।

‘छोरी हुनुकै कारण मैले जे भोग्नुपर्यो, त्यसले मलाई कम्युनिस्ट राजनीतितिर आकर्षित गर्यो,’ आँगनमा फर्सीको मुन्टा केलाइरहेकी सरस्वती अतीततिर फर्किइन्।

हाँसो–ठट्टा गरिराख्ने, चित्त नबुझे झर्किने र बेलाबेला चिच्याउनधरि पछि नपर्ने सरस्वतीलाई उनका छरछिमेकी र सहकर्मी ‘फरासिली, हँसिली, निडर, निर्धक्क र स्पष्ट’ नेतृका रूपमा चिन्छन्। उनको अतीत सुन्दा पनि लाग्छ– यो स्वभाव उनले पुर्ख्यौली घर रसुवाबाटै लिएर आएकी हुन्।

उनका बाबु पढेलेखेका थिए। गाउँमै कृषि फार्म र नर्सरी चलाउँथे। महिलाविरुद्ध सामाजिक जकडमा आवाज उठाउँथे। यसैको प्रभाव सरस्वतीमा पर्यो। उनले दाजुभाइ सरह नै शिक्षा पाइन्। र, घरका सबै काममा पनि हिस्सेदार भइन्– चाहे त्यो छोराले गर्ने भनी तोकिएकै नहोस्।

‘खेतबारीमा बलको काम छोरीले गर्नुहुँदैन भनिन्थ्यो। आली लगाउन नहुने, कोदोबारी खन्न नहुने, बाउसे गर्न नहुने। त्यस्ता काम छोरालाई मात्र लगाइन्थ्यो, म भने त्यही गर्न अघि सर्थें। अहिले हेर्नुस्, यहाँ खेतको सबै काम म आफैं गर्न सक्छु,’ सरस्वतीले भनिन्।

स्कुलमा पनि उनी उस्तै थिइन्।

भलिबल र फुटबल केटाहरूले मात्र खेल्थे। सरस्वतीलाई पनि नखेली भएन। हुँदाहुँदा कहिलेकाहीँ त केटासँगै मुक्कामुक्की गर्थिन्। शिक्षकहरू त्यही भएर उनलाई ‘युरोपियन स्टाइल’ की केटी भन्थे रे।

यही हुर्काइले उनमा विद्रोही स्वभावको बीज रोपियो। उनी कम्युनिस्ट राजनीतिसँग नजिक हुँदै गइन्।

पञ्चायती व्यवस्थाको अन्तिम समयतिरको घटना हो। सरस्वती ६/७ कक्षा पढ्थिन्। कक्षाभित्र दुई–चार जना नौला व्यक्ति छिरे। सामाजिक असमानताबारे भाषण दिए। कम्युनिस्ट पार्टीले त्यही असमानता निर्मूल पार्ने विश्वास दिलाए। यसले सरस्वतीको मन छोयो।

उनी उतिखेरै अनेरास्ववियु, स्कुल इकाइ समितिको सदस्य भइन्।

महिना दिनमा एकपल्टजसो राजनीतिक प्रशिक्षण हुन थाले, जहाँ उनले जात र लिंगका आधारमा हुने विभेदले समाज कसरी पछाडि परेको छ भन्ने थाहा पाइन्। त्यस्ता विभेद उनले गाउँमा देख्दै आएकी थिइन्। ती व्यक्तिगत अनुभवले विस्तारै राजनीतिक रूप लिँदै गयो।

प्रशिक्षणकै क्रममा उनी बोल्न पनि सिपालु भइन्। कुनै पनि किसिमको भेदभावविरुद्ध उनको प्रस्तुति खरो हुँदै गयो।

यति बेलासम्म उनी पार्टीको आँखामा परिसकेकी थिइन्। उनलाई पार्टी प्रशिक्षणका लागि सदरमुकामबाट बोलावट आउन थाल्यो। उनी ठूल्ठूला नेताहरूसँग निर्धक्क बोल्थिन्। तर्क–वितर्क गर्थिन्। यसले उनको परिचय फैलिँदै गयो।

उनको यो राजनीतिक उडानमा विवाहपछि पनि ‘ब्रेक’ लागेन।

सिँचाइ विभागको जागिर सिलसिलामा कीर्तिपुरबाट रसुवा आएका व्यक्तिसँग उनको विवाह भयो। सरस्वतीले भर्खर एसएलसी दिएकी थिइन्। विवाहपछि पढाइ टुट्ने हो कि भन्ने उनलाई डर थियो।

उनको खुसी त्यतिबेला दोब्बर भयो, जब बिहेपछि गाउँभरीबाटै कलेज जाने एक्ली बुहारी भइन्।

‘काठमाडौंमा समेत एसएलसी दिनेबित्तिकै छोरीको बिहे गरिदिने चलन थियो,’ सरस्वती भन्छिन्, ‘यो टोलबाट कलेज पढ्ने बुहारी मात्र होइन, छोरी भेट्न पनि मुश्किल थियो। त्यस्तो बेला मलाई मेरो ससुराबाले गाडी भाडा दिएर आरआर कलेज पढ्न पठाउनुहुन्थ्यो।’

‘जुन दिन हाम्रा घर–घरमा बुहारीलाई पनि छोरीझैं ठानिनेछ र छोरीजस्तै ठूली मान्छे बनाउँछु भनेर सोचिनेछ, त्यो दिन यहाँ धेरै सरस्वतीहरू जन्मनेछन्,’ उनले भनिन्।

घरपरिवारकै सहयोग र प्रोत्साहनले उनको पढाइ मात्र होइन, राजनीति पनि रोकिन पाएन।

सरस्वतीलाई काठमाडौंको राजनीतिमा प्रवेश गराउने खुड्किलो गाउँकै वन उपभोक्ता समिति बन्यो। उनी त्यहाँ सदस्य भएर छिरिन् र वन उपभोक्ता महासंघको केन्द्रीय सदस्यसम्म भइन्। उनी काठमाडौं निकट जिल्लामा महिला स्वावलम्बन तालिम दिन गइरहन्थिन्। श्रीमान र सासु–ससुराले समेत उनलाई रोकतोक गरेनन्।

‘महिलाहरू कि कार्यक्रममा आउँदै आउँदैनन्, आए पनि बोल्दैनन्,’ सरस्वतीले सुनाइन्, ‘धेरैजसो महिला गुम्सेर बस्छन्। मनको कुरा खुलेर भन्ने आँट गर्दैनन्। मेरो उद्देश्य नै महिला निर्णायक भूमिकामा आउनुपर्छ भन्ने हो। त्यो प्रशिक्षण नै महिलाहरुलाई कसरी आत्मनिर्भर बनाउने र कसरी नेतृत्वमा ल्याउने भन्नेमा केन्द्रित थियो। त्यस्ता प्रशिक्षणले मेरो पनि आत्मविश्वास बढ्यो।’

उनी त्यसपछि एमालेको वडा इकाइ समिति र अखिल नेपाल महिला संघमा सदस्य भइन्। यही क्रममा चम्पादेवी सामुदायिक वन उपभोक्ता समितिमा पूरै महिला पदाधिकारीसहित अध्यक्ष भइन्। अहिले पनि त्यहाँका पूरै पदाधिकारी महिला छन्।

राजनीतिमा एकोहोरिँदै जाँदा घरको आर्थिक गर्जो टार्न उनलाई आफ्नै व्यवसाय गर्न मन लाग्यो।

उनले आरआर पढ्दाकी साथीबाट भृकुटीमण्डपभित्र पसल मिलाइदिने व्यक्ति भेट्टाइन्। तीन लाख साठी हजार त खाली ठाउँलाई मात्र पर्यो। करिब नौ वर्षअघिको घटना हो, सरस्वती सामाजिक कार्यकर्ताबाट व्यापारी भइन्।

‘त्यहाँ छिरेपछि अचम्म लाग्यो, काठमाडौं घर भएका कोही छैनन्, काठमाडौं घर नभएका कोही छैनन्,’ सरस्वती सुनाउँछिन्, ‘मतलब सबै राजधानीबाहिरका। तर, सबैले काठमाडौंमा घर ठड्याएका छन्।’

सरस्वतीले पनि व्यापारबाटै घर ठड्याइन्। महिनामै उनी डेढ लाखसम्म कमाउँथिन्। उनको फरासिलो स्वभावले व्यापारमा पनि राम्रै सघायो। अरू पसले भन्दा रहेछन्, ‘सरस्वती पसलभित्र छिरिन् कि लक्ष्मी छिरिन्!’

उनले भृकुटीमण्डपभित्र पनि राजनीतिलाई ताजा राखिन्। व्यापारिक समितिमा सदस्य हुँदै प्रवेश गरेकी उनी अखिल नेपाल महिला संघ, भृकुटीमण्डप इकाइको अध्यक्षसम्म भइन्। यस क्रममा पार्टीका शीर्ष नेताहरुसँग उनको सम्बन्ध बढ्यो। भृकुटीमण्डपको राजनीतिले पनि शीर्षनेतासँगको सम्बन्ध सहज बनेको उनी बताउँछिन्।

र, यही राजनीतिक निरन्तरताले उनलाई यसपालि स्थानीय निर्वाचनमा उपमेयरको टिकटसम्म दिलायो।

कीर्तिपुर एमालेमा उपमेयरका लागि आठ जना महिला आकांक्षी थिए। पढेलेखेकी बुहारीका रूपमा चिनिएकी सरस्वती उहिल्यैदेखि बैठकका निर्णय लेख्न अघि सर्थिन्। उपमेयर आकांक्षीमा पनि आफैंले नाम चढाइन्। उनले यो श्रीमानलाई समेत सुनाएकी थिइनन्।

राति फोन आयो, ‘बधाई छ, आगामी दिनका लागि शुभकामना! तपाईंले उपमेयरको टिकट पाउनुभएको छ।’

सरस्वतीको निम्ति सिंगो नगरमा सबभन्दा ठूलो चुनौती आफ्नै घर थियो। उनका ससुरा बितिसके, ओमशान्तिका अनुयायी सासु एक्लै बस्छिन्। घरमा भोट दिन पाउने श्रीमान मात्र थिए। उनलाई श्रीमतीको उम्मेदवारीसँग लगाव थिएन। उनी त भोट माग्न पनि हिँडेनछन्।

अर्कातिर, सानो उमेरका छोरालाई राजनीतिमै फिटिक्कै रुचि छैन। छोरी छिन्, जसको ध्यान आमातिर भन्दा काठमाडौंकी मेयर उम्मेदवार रञ्जु दर्शनमा बढ्ता थियो। मोबाइलमा तारन्तार रञ्जुका खबर आउँदा छोरी खुसी हुँदै भन्थिन् रे, ‘मिल्ने भए रञ्जु दर्शनालाई भोट दिन्थेँ।’

सरस्वती र रञ्जु एकै क्षेत्रबाट उठेका थिएनन्। तर, उनले रञ्जुलाई सधैं आफ्नो प्रतिद्वन्द्वी ठानिन्। आफ्नै छोरी अर्को उम्मेदवारको कुरा गरेर बस्दा उनलाई छटपटी हुन्थ्यो। एकदिन त उनले छोरीलाई घोषणापत्र देखाउँदै सम्झाइन्, ‘तिमी जुन रञ्जु दर्शनाको कुरा गर्छौ, यो–यो बुँदाचाहिँ ऊसँग हाम्रो पनि मिल्छ।’

उनी आफैं पनि रञ्जु दर्शनाबाट प्रभावित छिन्। ठूला राजनीतिक दलहरूका निम्ति रञ्जु दर्शनाहरू चुनौती बन्दै गएको उनको भनाइ छ।

‘यसपालि रञ्जु दर्शनाप्रति देखिएको जनलहर हाम्रा ठूला पार्टीहरूको निम्ति चुनौती हो,’ उनी भन्छिन्, ‘हामीले यसबाट जनताको अपेक्षा के हो बुझ्नुपर्छ।’

पाँच वर्षको कार्यकालमा कम्तीमा छोरीले खोजेजस्तै काम गरेर देखाउनुलाई उनले आफ्नो चुनौती मानेकी छन्। ‘रञ्जु र मेरो एजेन्डा फरक छन्, तर म छोरीलाई चित्त बुझ्ने काम गर्छु,’ उनले भनिन्।

उनले चुनाव प्रचार क्रममै जनताका एक–एक गुनासो टिपेर राखेकी छन्। उनी त्यहीँ भन्थिन्, ‘मैले कापीमा टिपेर राखेको छु, पछि मेरो बलले भ्याएसम्म गरेर देखाउँछु।’

उपमेयर भएपछि अचेल सरस्वतीको दिन फेरिएको छ। भृकुटीमण्डप छाप्राको याद मात्र छन्। अफिसको काममा दिनभर व्यस्त रहन्छिन्। जब घर फर्कन्छिन्, मच्छेगाउँको टुप्पोमा घाम देख्दा उनलाई साँझको भृकुटीमण्डपको झल्को आउँछ। यसबीच घर स्याहार्ने, छोराछोरी स्याहार्ने जिम्मा उस्तै छ। फुर्सद बेला परिवारसँग समय बिताउँछिन्। बारीमा भुल्छिन्। र, त्यहाँ उम्रेका ताजा तरकारी टिपेर परिवारलाई खुवाउँछिन्।

छोराको भने गुनासो छ– ‘उपमेयर भएपछि आमाले घुमाउन लग्नुभएन।’

गुनासो सही हो। कुनै बेला ग्राहकसँग धक नमानी कुरा गर्ने सरस्वती अचेल सार्वजनिक थलोमा निस्कनुअघि झसंग हुन्छिन्, ‘कतै केही मिलेको छैन कि? कतै क्यामराले पो पछ्याइरहेको छ कि?’

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.