पार्टी छोडेको ५ वर्षपछि एमालेमा फर्कने तयारीमा रामचन्द्र झा

पार्टी छोडेको ५ वर्षपछि एमालेमा फर्कने तयारीमा रामचन्द्र झा


पार्टी छोडेको पाँच वर्षपछि नेता रामचन्द्र झाले एमाले प्रवेश गर्ने तयारी थालेका छन्। उनी २०६९ जेठमा एमाले छोडेर माओवादी प्रवेश गरेका थिए। बाबुराम भट्टराईसँगै माओवादीबाट अलग भएपछि उनी नयाँ शक्तिमा थिए। तर उनले नयाँ शक्ति छोड्ने निश्चित भएको छ।

‘अहिलेसम्म छोडी नै सकेको त होइन,’ नेता झाले भने, ‘अब छोड्ने मनस्थिति बनाइसकेको छु।’
नयाँ शक्ति छोडेरपछि उनी पुरानै पार्टी एमाले फर्कनका लागि छलफलमा छन्। यो विषयमा एमालेका विभिन्न स्तरका नेताहरूसँग छलफल गरिरहेका छन्। नेता प्रदीप ज्ञवालीले झाको घरफिर्तीको विषयमा छलफल चलिरहेको पुष्टी गरे। करीब चार/पाँच महिनादेखि झालाई एमाले फर्काउन दुई नम्बर प्रदेशका केही नेताहरूले प्रयास शुरू गरेको उनले बताए।

पछिल्लो समय भने केन्द्रीय नेताहरूले पनि नेता झासँग भेटेर छलफल गरेका छन्। ‘चार/पाँच महिना अगाडि जनकपुरकै साथीहरूले पहल थाल्नुभएको हो,’ सेतोपाटीसँग नेता ज्ञवालीले भने, ‘अहिले केन्द्रीय नेतृत्वमा पनि केही छलफल भएको छ। तर उहाँ आउने नआउने निश्चित भने भएको छैन।’

नेता झाले पनि एमाले नेताहरूसँग विभिन्न पटक अनौपचारिक छलफल भएको स्वीकार गरे। ‘छलफल त भइरहेको छ,’ उनले भने,‘अनौपचारिक छलफल भएको छ, तर अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकिएको छैन।’ आफूले उठाएको मुद्धामा एमाले उदार भए आफू एमाले फर्कन तयार रहेको उनले बताए। ‘एमालेबाट राजनीति गर्न मलाई पनि सहज हुन्छ,’ उनले भने, ‘म फर्किए हुन्थ्यो भने उहाँहरूको पनि चाहना छ। तर, चाहनामात्रै भएर भएन नि। मुद्धामा उहाँहरू छलफल गर्नै चाहनुहुन्न। यसै त म फर्कन्न।’

नेता झालाई पार्टीमा फर्काउन सके प्रदेश सभाको निर्वाचनमा पार्टीलाई ठूलो शक्ति मिल्ने एमालेको आंकलन छ। एमालेमा हुँदा झा मधेशबाट प्रतिनिधित्व गर्ने सबैभन्दा प्रभावशाली र वरिष्ठ नेता थिए। मधेशमा राम्रो प्रभाव र छवि भएका कारण झा पार्टीमा फर्किए प्रदेश सभा निर्वाचन लड्न सहज हुने एमाले नेताहरूको बुझाइ छ। झासँग अहिले पनि ठूलो संख्यामा कार्यकर्ता रहेको हुँदा स्थानीय निर्वाचनमा पनि उनले साथ दिए केही स्थानको परिणाम प्रभावित गर्न सक्नेछन्।

झा भने पार्टी मधेशका मुद्धामा उदार हुनुपर्ने अडानमा छन्। ‘म यसै झोलाझिम्टी बोकेर पार्टी फर्कने होइन,’ उनले भने, ‘विचारको कुरा हो। मैले जुन विचार लिएर हिजो छोडेको थिएँ,त्यो छोड्न सक्दिनँ। तर, पार्टी उदार हुन्छ भन्ने फर्कन पनि सक्छु।’

दोस्रो संविधान सभाको निर्वाचनअघि मधेशका मुद्धामा एमाले अनुदार बन्दै गएको आरोप लगाउँदै झासहित एमालेका केही नेताहरूले पार्टी छोडेका थिए। यसको केही अघि जनजाति मुद्धामा अनुदार भएको भन्दै अशोक राई लगायतका नेताहरूले पार्टी परित्याग गरेका थिए। झा भने माओवादी प्रवेश गरेका थिए।

बाबुराम भट्टराईले माओवादी छोडेपछि झा पनिसँगै निस्किए। यसपछि उनी नयाँ शक्ति अभियानमा लागे। तर, नयाँ शक्तिले स्थानीय निर्वाचनमा सफलता हासिल गर्न नसकेको र पार्टी निर्माणको दिशामा बलियो ढंगले अगाडि बढ्न नसकेको कारण उनी सन्तुष्ट हुन सकेनन्। नयाँ शक्ति बसाईको अवधिमा भट्टराईसँग घनिष्टता बढ्नुको साटो दूरी बढ्दै गयो। अन्तत :उनी पार्टी छोड्ने निष्कर्षमा पुगे।

उनीसँगै एमाले छोडेका मधेशी केही नेता कार्यकर्ता एमाले फर्किरहेका छन् भने अन्य पार्टीका कार्यकर्ता पनि एमाले प्रवेश गरिरहेका छन्।
राजपाको कोषाध्यक्ष समेत रहेकी अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ एमाले प्रवेश गरेका छन्। झा निकटका मिथिला संस्कृतिविद् तथा कलाकार रमेशरञ्जन झा पनि केही समयअघि एमाले फर्किएका थिए।

मधेशका विभिन्न ठाउँमा पनि अरू पार्टीका कार्यकर्ता एमाले प्रवेश गरिरहेका छन्। वीरगञ्जमा बसरूद्धिन अन्सारी, लाहानका मुन्नीलाल साह, राजविराजका सुखीराम यादव लगायतका व्यक्तिहरू एमाले प्रवेश गरेका छन्। उनीहरूसँगै अरू केही कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्, जसमा नेता रामचन्द्र झासँगै एमाले छोडेका कार्यकर्ताको संख्या उल्लेख्य छ।

झासँगै एमाले छोडेका कार्यकर्ता पार्टीमा फर्किएको हुनाले उनलाई एमाले नेताहरूसँग छलफल गर्न सहज भएको छ। झासँग महासचिव ईश्वर पोखरेल, नेता ज्ञवाली लगातयका नेताहरूले छलफल गरिरहेका छन्। पूर्वमहासचिव माधव कुमार नेपालले पनि उनीसँग केहीपटक कुराकानी गरेका छन्।

एमाले अध्यक्ष ओलीसँग भने अहिलेसम्म भेट नभइसकेको झाले बताए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.