राजपा अध्यक्ष मण्डलका दुई सदस्य निर्वाचन पक्ष, दुई विपक्ष र दुई तटस्थ

पार्टी एकीकरण कार्यक्रममा मधेसवादी ६ पार्टीका अध्यक्षहरू एक हुँदै। तस्बिरः अनिश रेग्मी/सेतोपाटी


निर्वाचनमा जाने विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा पक्ष, विपक्ष र तटस्थ गरी तीन धार देखिएको छ। अागामी रणनितिबारे छलफल गर्न आइतबारदेखि जारी पार्टी वैठकमा निर्वाचनबारे मिश्रित प्रतिक्रिया आएको हो।

राजपा अध्यक्ष मण्डलका सदस्यद्वय शरतसिंह भण्डारी र महिन्द्र राय यादव निर्वाचनमा जानुपर्ने पक्षमा छन्। आफ्ना एजेण्डा लिएर निर्वाचनमा जानुपर्ने धारणा उनीहरु निकट केन्द्रीय सदस्यहरुको छ।

राजेन्द्र महतो र अनिल झाले मधेसका माग संबोधन नभइ निर्वाचनमा जानु कुनै औचित्य नभएको तर्क गरेका छन्।

महन्थ ठाकुर र राजकिशोर यादव भने तटस्थ देखिएका छन्। यादवले संविधान संशोधन गर्न अझै पहल गर्नुपर्नेमा जोड दिइएको बताए।

‘हामी अप्ठ्यारोमा छौं। हाम्रो बाटो सहज छैन,’ उनले सेतोपाटीसँग भने, ‘संविधान संशोधन नभइ निर्वाचनमा जान कठिन छ। आन्दोलन गरेपछि राज्यसँगकै सम्बन्ध टुट्न सक्ने खतरा छ।’

बैठकमा ३० समूह बनाइ छलफल भएको थियो। सबै समूहका टोली नेताले आफ्नो रिपोर्ट पेस गरिसकेका छन्।

टोली नेताले मिश्रित धारणा पेस गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए।

राजपा केन्द्रीय कमिटी बैठक सकिनुअघि पदाधिकारी बैठक बसेको थियो। बैठकमा ९१ जना पदाधिकारीले आफ्ना धारणा राखेका थिए।

तिमध्ये ४३ जनाले संविधान संशोधन नभएपनि सरकारी तवरबाट हुनसक्ने माग पूरा गराएर निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए। संशोधन नभए त्यो एजेण्डालाई निर्वाचनमा लैजानुपर्ने उनीहरुको भनाई थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.