राप्रपाका २७ वर्ष: पाँच विभाजन, चार एकता


आइतबार पशुपति शम्शेर राणाले पार्टी विभाजन गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ पटक औपचारिक रुपमा विभाजित भएको छ। २७ वर्षको इतिहासमा पूर्वपञ्चहरुको पार्टी पाँच पटक विभाजित भएको छ भने, चार पटक पुन: जोडिएको छ।

२०४७ सालमा पञ्चायतको अन्त्य भएपछि गठित यो पार्टी गठन हुने प्रकृयामानै विभाजित भएको थियो। बहुदलीय व्यवस्था स्थापना भएपछि पूर्वपञ्चहरूले राजनीतिक दल गठन गर्ने प्रयास सुरू गरे।

यो प्रयासमा पञ्चायतकालमा प्रधानमन्त्री भइसकेका नेताहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै पञ्चायतका हस्तीहरु मन्त्रीहरू प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा, कमल थापा, बुद्धीमान तामाङ, पद्मसुन्दर लावती, रविन्द्रनाथ शर्मा, राजेश्वर देवकोटालगायत संलग्न थिए।

केही महिनाको प्रयासपछि उनीहरू पार्टी गठन गर्न सहमत भए, पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने निर्णय भयो।

तर नेतृत्वमा कुरा मिलेन। नेतृत्वको हानाथापका कारण पार्टी गठनको औपचारिक घोषणा हुनुभन्दा पहिल नै दुई समूहमा विभाजन भयो। एउटा समूहको नेतृत्व सूर्यबहादुर थापाले र अर्को समूहको नेतृत्व लोकेन्द्र बहादुर चन्दले गरे।

अन्तत: एकै दिन, २०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भयो।

बहुदल स्थापनापछि भएको पहिलो चुनावमा यी दुवै पार्टीले भाग लिए। तर, नतिजा सुखद भएन। देशभरका २०५ निर्वाचन क्षेत्रमा चन्द पक्षले तीन र थापा पक्षले एक सिटमात्रै जित्यो।

राप्रपा (चन्द) बाट पशुपतिशम्शेर राणा (सिन्धुपाल्चोक, प्रकाशचन्द्र लोहनी (नुवाकोट) र रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए। दार्चुलाका अकबरबहादुर सिंह राप्रपा (थापा) बाट जित्ने एक्लो सांसद बने।

चुनावमा नराम्रो पराजय भोगेपछि नेताहरूले पार्टी एकताको प्रयास सुरू गरे। चुनावी हारले पूर्वपञ्चहरुको एकीकृत पार्टी निर्माण सम्भव तुल्यायो।

२०४८ माघमा एकिकृत पार्टी बन्यो, पार्टी अध्यक्ष बने सूर्यबहादुर थापा।

२०५१ सालमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद भंग गर्दै मध्यावधि चुनाव गराए। यो एकताले राप्रपालाई संसदीय राजनीतिमा केही शक्तिशाली बन्ने अवसर प्रदान गर्‍यो।

२०५१ सालको मध्यावधि चुनावमा राप्रपा संसदको तेस्रो शक्तिको रूपमा उदय भयो। उसले देशभरमा १९ सिट जितेको थियो।

मध्यावधि चुनावमा कुनै पार्टीले बहुमत नल्याएपछि एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गर्‍यो। यो सरकारलाई नौ महिनामा लडाएर कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउने खेलमा राप्रपा पनि सहभागी भयो। देउवा प्रधानमन्त्री बने।

केही महिना पछि देउवा सरकार ढाल्न एमाले नेताहरु सक्रिय भए। राप्रपाको एउटा पक्षले एमालेलाई साथ दियो। लोकेन्द्रबहादुर चन्दले आफू प्रधानमन्त्री बन्न पाउने आश्वासन पाएसँगै एमालेलाई साथ दिए। २०५४ सालमा राप्रपा-एमालेको गठबन्धनबाट चन्द प्रधानमन्त्री बने।

राप्रपाभित्र बिवाद बढ्दै गयो। अध्यक्ष सूर्यबहादुर थापा चन्द नेतृत्वको सरकार ढालेर कांग्रेसको सहयोगमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयमा पुगे। पार्टी गठन भएको एक वर्षभित्र आफ्नै पार्टी नेतृत्वको सरकार गिराउँदै राप्रपाले अर्को सरकार गठन गर्‍यो।

देउवा सरकार गिराउने खेलसँगै सुरू भएको राप्रपाभित्रको मतभेदले विस्तारै आकार ग्रहण गर्दै गयो। यो मतभेदले थापा प्रधानमन्त्री बनेपछि पार्टी विभाजनको रूप लियो। पार्टीको दुई पक्षबीचको मतभेद तथा अध्यक्ष थापा र चन्दको नेतृत्वको टकरावबाट त्यो बेला धेरै फाइदा लिने नेता मध्येका एक थिए-कमल थापा।

थापा देउवा सरकारमा स्थानीय विकासमन्त्री थिए। आफू मन्त्री हुँदाहुँदै उनी अविश्वासको प्रस्तावको पक्षमा उभिए। यसपछि बनेको चन्द सरकारमा उनले परराष्ट्र र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाए। सरकार परिवर्तन गर्ने खेल सुरू भएपछि क्याम्प परिवर्तन गर्दै आफ्नै सरकारविरूद्ध उनले सूर्यबहादुर थापालाई साथ दिए।

क्याम्प परिवर्तन गर्दै आफ्नै सरकार विघटन गर्न भूमिका खेलेका कमल थापालाई लोकेन्द्रबहादुर चन्दले ‘मुसा प्रवृत्तिको’ भनेर आलोचना गरेका थिए। चन्दले पानीजहाजमा प्वाल पारेर पानी पस्ने बाटो खोल्ने र जहाज डुब्न लागेपछि समुद्रमा हाम फाल्ने मुसाको चरित्रसँग कमल थापालाई दाँजेका थिए।

कमल थापामाथि यो ‘मुसा प्रवृत्ति’को आरोप अहिलेसम्म लाग्नेगर्छ।

सत्ताको जोडघटाउमा सुरू भएको राप्रपाभित्रको मनमुटावका कारण सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला पार्टी विभाजन भयो। एकता भएको ६ वर्षपछि पार्टीमा दोस्रो पटक विभाजन भएर एकतापूर्वकै अवस्थामा पुग्यो-राप्रपा (चन्द) र राप्रपा(थापा)मा पार्टी विभाजित भयो।

२०४८ सालमा जस्तै, चुनावी हारले राप्रपालाई फेरि पाठ सिकायो। २०५६ को आम निर्वाचनमा दुवै राप्रपाको नराम्रो हार भयो। थापा पक्षले ११ सिट जितेर चित्त बुझायो भने राप्रपा (चन्द) ले एक सिट पनि जित्न सकेन।

यो हार पछि पुन: नेताहरू एकीकरणको तयारीमा जुटे। पहिलो एकीकरणको नौ वर्षपछि र विभाजनको तीन वर्षपछि २०५७ सालमा पार्टी एकीकण भयो।

यो एकीकरण त्यति लामो समय टिक्न सकेन। २०५९ सालमा राजा ज्ञानेन्द्रले देउवा सरकार बर्खास्त गरेसँगै राप्रपामा पुन: फुटको बिजारोपण भयो।

सूर्यबहादुर थापा राजा ज्ञानेन्द्रको हस्तक्षेपको विपक्षमा थिए। तर, राजाको प्रस्ताव स्वीकार गर्दै लोकेन्द्र बहादुर चन्द प्रधामन्त्री बने।

यतिबेला सूर्यबहादुर थापाको साथमा रहेका कमल थापाले पनि पछि राजालाई साथ दिए। कमल थापाले राजालाई साथ मात्रै दिएनन्, पार्टी पनि विभाजन गरे। २०६२ पुसमा छुट्टै भेला बोलाएर राप्रपा नेपाल गठन गरे र आफू अध्यक्ष भएको घोषणा गरे।

राजालाई साथ दिन तेस्रो पटक राप्रपा फूटाएका कमल थापा राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीको जिम्मेवारी पाए।

कमल थापाले राप्रपा नेपाल गठन गरेलगत्तै सूर्यबहादुर थापाले पनि अध्यक्ष पशुपति शम्शेर राणासँग असन्तुष्टी राख्दै पार्टी छोडे। थापाले राष्ट्रिय जनशक्ति पार्टी नामको नयाँ पार्टी गठन गर्दै राप्रपा चौथो पटक फुटाए।

यसरी पार्टी स्थापनाको एक दशकमा पूर्वपञ्चहरू राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी गरी तीन पार्टीमा विभाजित भए। २०६४ मा भएको संविधान सभाको पहिलो निर्वाचनमा यी तीनै पार्टीले भाग लिएका थिए।

संविधानसभा निर्वाचनमा हार व्यहोरेसँगै पूर्वपञ्चहरूले एकताको तेस्रो पाठ पढे। हारको खल्लो बोकेर राप्रपा र राजपा एकीकरणका लागि जुटे। २०७० सालमा जेठमा यी दुई पार्टीहरूबीच एकता भयो। राणा र सूर्यबहादुर थापा एकै ठाउँमा आइपुगे। नयाँ पार्टीको नाम राप्रपा नै राखियो। यद्यपि थापाको जिवित रहुन्जेल नेतृत्वका लागि छिनाझम्टी भने चलिरह्यो। २०७२ वैशाखमा थापाको निधन भयो। लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर राणा आलोपालो गरी पार्टी हाँक्न सहमत भएका थिए।

दोस्रो संविधान सभा निर्वाचनमा राप्रपा र राजपा नेपाल दुई पार्टीले भाग लिए। प्रत्यक्षमा कुनै सिट जित्न नसके पनि हिन्दु धर्म र संवैधानिक राजतन्त्रको मुद्दा बोकेको कमल थापाको राप्रपा नेपालले समानुपातिकमा २४ सिट प्राप्त गर्‍यो। राप्रपाले भने प्रत्यक्षमा तीन र समानुपातिकमा ९ सिट प्राप्त गर्‍यो।

यी दुई पार्टीबीच गत मंसिर ५ गते एकता भयो। कमल थापा पार्टी अध्यक्ष र राणा राष्ट्रिय अध्यक्ष बने। यो पार्टीको चौथो एकता थियो।

तर, यो एकता पनि लामो समय टिक्न सकेन। सरकारमा सहभागिताको विषयमा कुरा नमिलेपछि हिजो पशुपतिशम्शेर राणाले पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) गठन गरे। प्रकाशचन्द्र लोहनीले यसअघि नै कमल थापासँग असन्तुष्टी जनाउँदै पार्टी छोडिसकेका छन्। अर्का नेता लोकेन्द्रबहादुर चन्द भने राप्रपा नेपालमै छन्। राप्रपाको इतिहासमा यो पाँचौं विभाजन हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.