कर तिरेर सबैका आँखाको तारो बनेका ती प्रशासक

कर तिरेर सबैका आँखाको तारो बनेका ती प्रशासक


२०६८ वैशाखमा बंगलादेशस्थित तत्कालीन नेपाली राजदूत प्रदीप खतिवडाले परराष्ट्र मन्त्रालयलाई एउटा चिठी पठाए। त्यो वैदेशिक भत्ताबापत सरकारलाई तिर्नुपर्ने कर थियो, झन्डै चार लाख रुपैयाँ।

लामो समय कर नतिर्ने र पछि सरकारी निर्णयमार्फत् कर फर्छ्यौट गराउन पल्केका व्यापारी र तिनलाई राजस्व लुटमा भरथेग गर्ने कर्मचारीमाझ उनले कानुनबमोजिम कर तिरेको खबर आगोझैं सल्कियो। तत्कालीन परराष्ट्रमन्त्रीमाथि दबाब पर्यो। उनले करस्वरुप प्राप्त रकम खतिवडालाई फिर्ता गरिदिए। यतिले नपुगेर उनलाई अवधि सकिनु केही महिनाअघि नै फिर्ता बोलाए।

यसरी ‘लोभीपापी’ हरुका बीचमा रहेर पनि कानुन पालना गरेरै आफ्ना सहकर्मीलाई हायलकायल पारेका उनै खतिवडाको सोमबार क्यान्सरका कारण मृत्यु भएको छ। इमानका साथ जिन्दगी बिताउँदै ‘लो-प्रोफाइल’ मा बस्न रुचाउन खतिवडाको अन्तिम यात्रा पनि लो-प्रोफाइलकै रह्यो। उनको निधनको खबर निकट साथीहरुबाहेक अरुले थाहै पाएनन्।

‘उहाँ निर्भीक र इमान्दार हुनुहुन्थ्यो,’ खतिवडाका साथी तथा सहकर्मी दिनेश भट्टराईले बुधबार सेतोपाटीसँग भने, ‘हामीले लामो संगत गर्‍यौं, धेरै लामालामा कुराकानी गर्‍यौं, अन्तिमपटक भेट्दा भने उहाँले बोल्दाबोल्दै थाकेँ भन्नुभयो र सुत्नुभयो। मैले पाँच दिनअघि मात्र उहाँलाई भेटेको, यति छिट्टै जानुहोला भन्ने त सोचेकै थिइनँ।’

चितवन घर भएका खतिवडा ६८ वर्षका थिए। उनको परिवार पञ्चायतकालमा चितवन आसपास चर्चित थियो। उनका बाबु माल अड्डाका हाकिम थिए। त्यही भएर भरतपुर एयरपोर्ट नजिकै पर्ने उनको टोलको नामै हाकिम चोक रह्यो। पञ्चायती माल अड्डाका हाकिम भएर पनि उनी तत्कालीन विद्रोही समूह कांग्रेसलाई समर्थन गर्थे। त्यसैले उनी पञ्चायती सरकारको तारो बने।

पारिवारिक वातावरणको प्रभाव प्रदीपमा नपर्ने कुरै भएन। उनी पनि सरकारी सेवामा डेमोक्रेट भनेर चिनिन्थे। यो पहिचान उनले कहिल्यै लुकाएनन्। आफ्नो मत-अभिमत निर्धक्क व्यक्त गर्ने उनको स्वभाव रहेको भट्टराई सम्झन्छन्।

‘उहाँ निकै बोल्ड हुनुहुन्थ्यो, लागेको कुरा भनिहाल्ने र गरिहाल्ने। यही बानीले उहाँलाई कतिपयले मन पराउँदैनथे,’ उनले भने, ‘उहाँलाई भने यसको कहिल्यै वास्ता भएन।’

आफ्नो जीवनको लामो समय सरकारको परराष्ट्र सेवामा बिताएका खतिवडाको जागिरे जिन्दगी निकै उतारचढावले भरिएको थियो। निजी जिन्दगी भने निकै सामान्य हिसाबले चलाएको उनका शुभचिन्तकहरु बताउँछन्।

आफ्ना विचार निर्धक्क राखेकै कारण उनी पटकपटक शासकहरुको आँखाको कसिंगर बनेको भट्टराई बताउँछन्।

यस्तै हक्की स्वभावका कारण शुभचिन्तकहरु उनलाई आदर्शवान् मान्छन्।

उनको मृत्युको खबर सुनेपछि न्यूयोर्कका लागि नेपालका महावाणिज्यदूत कृषु क्षत्रीले मंगलबार झन्डै ११ सय शब्दको समवेदना नोट आफ्नो फेसबुकमा पोस्ट गरे।

बंगलादेशमा खतिवडासँगै काम गरेका क्षत्रीले उनलाई हक्की र इमानदार कर्मचारी भनेका छन्। ‘लोभलालच, स्वार्थ र अहम् कहिल्यै नभएको एउटा विशिष्ट पात्र हो प्रदीप खतिवडा,’ उनले लेखेका छन्।

खतिवडा करिअर डिप्लोम्याट हुन्। उनी त्यस्ता डिप्लोम्याट हुन् जसले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा दरबारको खुलेर आलोचना गरेका थिए। तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेसँग एक्लै भिडेका थिए। त्यही भएर उनले दिल्लीस्थित नेपाली दूतावासबाट अवधि नसकिँदै फिर्ता आउनुपरेको थियो।

‘दरबारले दूतावासहरुलाई कुकुरको दाना, मिठाई र रानीहरुलाई सारी किन्ने गोठालो मात्र राख्न खोजेको’ भन्दै उनले पत्रिकालाई अन्तर्वार्ता दिएका थिए। भारतीय अखबारले डेमोक्रेट डिप्लोम्याट भनेर छापेपछि दिल्ली दूतावासको सेकेन्ड-म्यानबाट दुई वर्ष अवधि बाँकी रहँदै उनलाई मन्त्रालय फिर्ता तानिएको भट्टराई सम्झन्छन्।

शक्तिसँग डराउने र चाकरी गरेर एकचित्त पोस्टिङमा मात्र लाग्ने परराष्ट्र कर्मचारीहरुको जमातमा खतिवडा अपवाद हुन् भन्नेहरु धेरै छन्।

त्यो बेला दिल्लीबाट झिकाइएका खतिवडालाई मन्त्री पाण्डेले मन्त्रालयमा हाजिर हुनसमेत दिएका थिएनन्। पाण्डेको कोपभाजनमा परिएला भनेर अरु कर्मचारी खतिवडासँग बोल्दैनथे।

त्यही बेला खतिवडा राजाको सरकारले पक्राउ गरेर महाराजगञ्जमा राखेका शेरबहादुर देउवालाई भेट्न गए। यही झोँकमा पाण्डेले परराष्ट्र सेवाका सहसचिव खतिवडालाई निर्वाचन आयोग सारिदिए।

राजाले नगरपालिका चुनाव घोषणा गरेको समय थियो त्यो। प्रजातन्त्रमा आस्था राख्ने र त्यसप्रति प्रतिबद्ध खतिवडाले प्रतिक्रिया दिइहाले, ‘दलहरुले भाग नलिई के को चुनाव?’

राजाविरुद्ध आन्दोलनमा ओर्लिएका कांग्रेस र एमालेबिना चुनाव हुन्न भन्ने प्रतिक्रियापछि उनलाई निर्वाचन आयोगमा समेत जिम्मेवारी विहीन बनाइयो। आयोगबाट उनलाई सामान्य प्रशासन मन्त्रालय पठाइएको थियो। पछि अतिरिक्त सेवामा सारियो।

२०२८ सालमा सरकारी सेवामा प्रवेश गरेका खतिवडा ०४२ सालतिर मात्र परराष्ट्र सेवामा आएका हुन्। ०४६ सालको जनआन्दोलनताका उनी दिल्लीस्थित दूतावासमा थिए। जनआन्दोलनअघि र पछि भारतले १५ महिनासम्म नेपालमा नाकाबन्दी लगाएको थियो। त्यो बेलाका अनुभव र काम संगालेर उनले र भट्टराईले संयुक्त किताब निकालेका छन्- ‘नेपाल इन्डिया: डेमोक्रेसी इन द मेकिङ अफ म्युचुअल ट्रस्ट।’

त्यसपछि उनी २०५१ सालमा अमेरिकाका कार्यवाहक राजदूत बने। शान्ति सेनामा जाने नेपाली सुरक्षाकर्मी अर्को कुनै देशको हैन, संयुक्त राष्ट्रसंघको कमान्डमा मात्र जानुपर्ने विचार राखे। ‘उहाँ यस्ता कुरा बोल्ने मात्र हैन, कागजातमा समेत लेख्ने साहस राख्नुहुन्थ्यो,’ भट्टराईले भने।

एमाले सरकारले उनलाई कांग्रेस भएकै आरोपमा दुई वर्षमै अमेरिकाबाट फिर्ता गरेको थियो। कृषुका अनुसार उनी अरुको काममा खासै हस्तक्षेप त गर्दैनथे, तर आफ्नो कुरामा अड्डी छाड्दैनथे।

विद्यार्थीकालमा खतिवडा गणित विषयमा अब्बल थिए। विश्वविद्यालयमा गणितका गोल्डमेडलिस्ट पनि हुन्। २०२८ सालपछि उनले कक्षा ९ मा पढाइने बीजगणित (अल्जेब्रा) को किताब लेखे।

हिसाबमा अब्बल विद्यार्थी भए पनि करिअरमा भने ‘लाभहानी’ को कहिल्यै हिसाब किताब नगर्ने भनेर खतिवडाले आफ्नो परिचय बनाएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.