मधेसी महिला मन्त्री मिथिलाको सोलार सपना

मिथिला चौधरी


त्यसै पनि हामीकहाँ महिला ‘क्याबिनेट’ मन्त्रीको संख्या औंलामै गन्न सकिन्छ। त्यसमाथि मधेसी समुदायबाट मन्त्री भएका महिला त अझ विरल छन्।

रेणु यादव, चित्रलेखा यादव, सरिता गिरी र सीतादेवी यादव- यी यस्ता महिला हुन्, जो मधेसी समुदायबाट आएर ‘क्याबिनेट’ मन्त्री बने।

यही सूचीमा यसपालि नयाँ नाम थपिएको छ – मिथिला चौधरी।

शेरबहादुर देउवा सरकारका तीन महिला मन्त्रीमध्ये चौधरी एक हुन्। उनी नेकपा संयुक्तबाट वातावरण मन्त्री बनेकी छन्। २७ सदस्यीय देउवा मन्त्रिपरिषदमा उनीसँगै कांग्रेसबाट अम्बिका बस्नेत र माओवादी केन्द्रबाट आशा खनाल छिन्।

भारतको बिहारमा जन्मे-हुर्केकी मिथिला २०४० सालमा बिहेपछि नेपालको राजनीतिमा सक्रिय भएकी हुन्। बिहे भएको एक वर्षभित्रै अर्थात् २०४१ देखि उनी राजनीतिमा लागिन्। उनका पति नेकपा संयुक्तमा आबद्ध थिए। बिहे अघिसम्म राजनीतिबारे नसोचेकी मिथिला पारिवारिक वातावरणमै प्रजातान्त्रिक आन्दोलनको हिस्सा बन्न पुगिन्। प्रजातन्त्रका लागि जारी संघर्षमा उनले पतिको साथ लागेर आन्दोलन गरिन्। श्रीमान् जेल पर्दा सडकको मोर्चा सम्हालिन्।

चौधरीका श्रीमान् पार्टीका पोलिटब्युरो सदस्य छन्। उनी कानुन व्यवसायी पनि हुन्।

मधेसमा घुम्टो ओढेर हिँड्नुपर्ने अवस्थाबाट राजनीतिमा होमिनु आफ्नो लागि चुनौतीपूर्ण रहेको चौधरी बताउँछिन्।

‘घुम्टो हटाउनुपर्‍यो, बाहिर मान्छे भएको ठाउँमा जानुपर्‍यो, यही पनि चुनौतीपूर्ण कुरा हो,’ उनी भन्छिन्, ‘दस जना मान्छे भएको ठाउँमा गयो भने धेरैथरी कुरा काटिन्छ। म नगरको बोर्ड हुँदा मेरो पनि धेरै कुरा काटिए।’

२०४६ को जनआन्दोलन बेला उनलाई प्रहरीले पटक-पटक पक्राउ गर्‍यो। त्यतिबेला जेलमा महिला राख्ने ठाउँ थिएन। ‘दिनभर थुनेर प्रहरीले छाड्थे अनि भोलिपल्ट फेरि पक्रन्थे,’ मिथिला आफ्नो राजनीतिक अनुभव सुनाउँछिन्, ‘मैले राजनीति गर्नें बेला सांसद हुन्छु, मन्त्री बन्छु भनेर सोचेकै थिइन, पार्टीले मेरो र परिवारको भूमिका मूल्यांकन गरेर यो जिम्मेवारी दिएजस्तो लाग्छ।’

मिथिलाले मन्त्रीका रुपमा आफ्नो मन्त्रालयको काम र जिम्मेवारी राम्ररी बुझ्न पाएकी छैनन्। उनले केही योजना भने बनाएकी छन्। पार्टीकै जयदेव जोशी यसअघि वातावरणमन्त्री रहेकाले मन्त्रालयका काम-कारबाही बुझ्न केही सहज हुने उनको भनाइ छ।

त्यसो त वातावरण मन्त्रालयसँग नेकपा संयुक्तको रोचक पक्ष के छ भने, चौधरी उक्त पार्टीबाट वातावरण मन्त्री हुने पाँचौ हुन्। त्यही अनुभवका आधारमा बिजुली नपुगेको ठाउँमा सोलार पुर्‍याउने चौधरीको पहिलो योजना छ। ‘सरकारबाट अनुदानमा दिएर भए पनि म सोलार पुर्‍याउँछु,’ उनले भनिन्।

चुरे क्षेत्र दोहनले तराई मरुभूमिमा परिणत हुने खतरा बढ्दै गएको अवस्थामा वातावरण मन्त्रालय तर्फबाट चुरे संरक्षण योजना बनाएर काम गर्ने चाहना रहेको उनले बताइन्। काठमाडौंको बढ्दो प्रदूषण रोक्ने चिन्ता पनि छ मिथिलालाई। यसको योजना भने बनाउन पाएकी छैनन्। यसका लागि मन्त्रालयका कर्मचारी र विज्ञहरुसँग छलफल गरेर योजना बनाउने उनले सुनाइन्।

‘राम्रो गरौं भन्ने छ। अब योजनाहरु बनाउँछु, मन्त्रालय गएको पनि एक दिन मात्र भयो, काम गर्छु,’ उनले दृढतासाथ भनिन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.