राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र राजसंस्था पार्टीको विधानबाट हटाउने निर्वाचन आयोगको निर्णय अस्वीकार गरेको छ। हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्वाचन आयोग निर्णयप्रति आपत्ति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले अस्वीकार गर्ने निर्णय गरेको हो।
संविधानसँग मेल नखाएपछि शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउने निर्णय गरेको थियो। सोही सम्बन्धमा छलफल गर्न शनिबार विहान बोलाइएको पार्टीको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले पार्टीको विधाननै परिवर्तन गर्ने गरी निर्वाचन आयोगले गरेको निर्णय आपत्तिजनक एवम् संविधानको मर्म र भावना विपरित रहेको ठहर गरेको हो।
पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्नेगरी आएको निर्वाचन आयोगको सो निर्णय अस्वीकार गर्ने निर्णय लिइएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए। राप्रपाले पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउने निर्णय पुनर्विचार गर्न पनि निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ।
निर्वाचन आयोगको निर्णयले स्थानीय तहको निर्वाचनको वातावरण धमिलिन सक्नेतर्फ भन्दै राप्रपाले चिन्ता पनि व्यक्त गरेको छ।राप्रपाले संविधानप्रति आफनो पार्टी मन, बचन र कर्मले प्रतिवद्ध रहेको पनि स्पष्ट पारेको छ। पार्टी केन्द्रीय कार्य समिति बैठकले विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् गर्ने काम निर्वाचन आयोगले गर्न नहुने भन्दै आपत्ति समेत जनाएको छ।
पार्टीले पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै आगामी ७ गते देशभरको निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाउने र एक घण्टा निर्वाचन आयोगको कार्यालयमा धर्ना दिने सहितको दवावमूलक कार्यक्रम पनि घोषणा गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र राजसंस्थालाई पार्टीको मूल मान्यताको रुपमा अघि सार्दै आएको छ । राप्रपाले निर्वाचन चिन्ह गाईलाई अघि सार्ने निर्णय गरेपनि गाई राष्ट्रिय जनावर भएकाले निर्वाचन आयोगले निर्वाचन चिन्हको रुपमा गाई नदिने वा नदिने भन्ने पनि अन्यौल देखिएको छ।
यसैबीच, निर्वाचन आयोगले संविधान प्रतिकूल हुने भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउने निर्णय लिएको स्पष्ट पारेको छ । निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले संविधान देशको मूल कानुन भएको र त्यसको मर्म र आचरण अनुकूल चल्न सबै बाध्य हुने स्पष्ट पारे। उनले राप्रपाको विधानबाट संविधान प्रतिकुल हुनेगरी राखिएका केही शब्द मात्रै हटाइएको पनि स्मरण गराए।
निर्वाचन आयोगले संविधान देशको मूल कानुन भएको र त्यस अनुकूलको आचारण र व्यवहार गर्नु सबै नागरिकको कर्तव्य हुन आउने संवैधानिक व्यवस्थाप्रति सचेत रहन पनि सबैमा आग्रह गरेको छ।