कामको रासमा ‘अलमलिएका’ काठमाडौं मेयर

तस्बिर: नारायण महर्जन/सेतोपाटी


काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय निर्वाचनअघि नै ‘सय दिनमा एक सय एक काम गर्ने’ प्रतिबद्धता जनाएका थिए। आफैंले तोकेको यो अवधिमा लगभग आधा उनले काट्नै लागेका छन्।

यो ५० दिनमा राजधानी जस्ताको तस्तै छ। धुलोधुँवादेखि अव्यवस्थित निर्माण र सार्वजनिक यातायातका बेथिति सबै उस्तै छन्। बरु यहीबीच गएको शुक्रबार सडक र ढलनिकासको बेथितिले एक स्कुले नानीको नालीमा डुबेर ज्यान गयो। नालीमै डुबेकी अर्की नानीको पनि बल्लतल्ल उद्धार गरियो। यी घटनापछि मेयर शाक्य आलोचित बनेका छन्। सबैको प्रश्न छ- ‘सय दिनमा १०१ काम गर्छु भन्ने विद्यासुन्दर ५० दिनसम्म के गर्दैछन्?’

जेठ १७ गते पदभार ग्रहण गरेका विद्यासुन्दरको भदौ २२ गते सय दिन पुग्छ। दिन जति घर्किंदैछ, उसोउसो उनका १०१ योजनाको प्रगति विवरण खोजिँदैछ।

यही ‘काउन्टडाउन’ बीच हामीले विद्यासुन्दरको प्रतिबद्धतापत्र केलाउँदै त्यसमा के प्रगति भइरहेको छ भनेर उनैलाई सोध्यौं।

उनको प्रतिबद्धता पत्रमा कयौं आकर्षक योजना छन्। ‘भोकरहित जनता – शोकरहित महानगर’, ‘काठमाडौं महानगर झिलिक्क – घरघर टिलिक्क’, ‘सही समय सही ठाम – नो ट्राफिक जाम’ देखि सडकका खाल्डाखुल्डी पुर्नेसम्मका बाचा गरेर मेयर बनेका हुन् उनी।

‘महानगरबासीसमक्ष गरिएका यस्ता बाचालाई चटक्कै बिर्सेर आखिर कहाँ हराए विद्यासुन्दर?’

हाम्रो यो प्रश्नमा उनले सिधा जवाफ दिए, ‘म हराएको छैन। हो, अलमलिएको भने छु। यसलाई होइन भन्न मिल्दैन। किनभने अपेक्षा धेरै छन्। सुरुआत कहाँबाट गर्ने भनेर अलमल भएकै हो?’

उनी आफू अलमलिनुमा तीन कारण देखाउँछन्।

पहिलो, महानगर कर्मचारीको ढिलासुस्ती।

‘चुनावबाट आएका जनप्रतिनिधिले जनताका बीचमा राखेका एजेन्डा कार्यान्वयन गर्न खोज्छन्। त्यसमा कर्मचारीले सहयोग गर्न सकेन भने द्वन्द्व हुन्छ,’ मेयर शाक्यले भने, ‘कर्मचारीहरु नियमकानुनमा कहिले यो मिल्दैन, कहिले त्यो मिल्दैन भन्छन्। जनप्रतिनिधिहरु तुरुन्तै ‘एक्सन’ मा जान खोज्छन्, कर्मचारी भने प्रक्रिया मिलाउन बढी ‘टाइम’ लगाइदिन्छन्।’

दोस्रो, आन्तरिक कर्मचारी व्यवस्थापनको समस्या।

‘महानगरमा १८ सय कर्मचारी छन्। ती कर्मचारी कहाँ गएका छन्, के गरिरहेका छन् भन्ने रिपोर्ट आउँदैन। १८ सय कर्मचारी छन् भन्दा मान्छेले नपत्याउने अवस्था छ। तलबमा मात्र अर्बौं जान्छ। तर, सबैले कर्मचारी पुगेन, काम भएन मात्र भन्छन्। अब त हामी १ सय ६२ जना जनप्रतिनिधि पनि थपिएका छौं। अब नीति बनाउने ठाउँमा उहाँहरुले टाउको दुखाउन परेन। कार्यान्वयनमा मात्र ध्यान दिए हुन्छ भन्ने मेरो अपेक्षा छ। त्यसपछि बल्ल कहीँ नअलमिइकन अगाडि बढ्न सकिन्छ,’ शाक्यले भने।

अलमलिनुको तेस्रो कारण बेथितिको अथाह रास समेट्न कहाँबाट सुरु गर्ने भन्ने अन्यौल पनि भएको उनी बताउँछन्।

‘चुनाव लड्दा मोनोरेल भनियो, कतिपयले सपना बाँड्यो भने। तर, म यहाँ आएलगत्तै कल्पनाभन्दा धेरै प्रस्ताव आए। हामी एमओयू (समझदारीपत्र) गर्छौं भनेर धाउने मान्छे पनि छन्। केबलकारको प्रस्ताव छ। विदेशी कम्पनीको प्रस्ताव आएको आयै छ। उनीहरु आ-आफ्नो देशमा लगेर हामी तपाईंलाई प्रविधि देखाएर ल्याउँछौं भन्न आइरहेका छन्,’ उनले भने, ‘हाम्रो सोच पनि सुविधासम्पन्न काठमाडौं बनाउँछौं भन्ने नै हो। गर्नुपर्ने काम धेरै भएकाले सुरु कहाँबाट गर्ने भनेर अलमलिएको मात्र हो।’

‘हिजो नभएका सबै काम तुरुन्तै हुनुपर्यो भन्ने जनताको अपेक्षा छ,’ विद्यासुन्दर भन्छन्, ‘जनताको अपेक्षा यति छ, मेरा वडाध्यक्षहरु व्यस्त छन्। एक घन्टा मिटिङलाई कुर्नुपर्दा पनि कराइहाल्छन्।’

अनेक अड्चन र अलमलबीच पनि केही कामको सुरुआत गराएको उनले जानकारी दिए।

महानगरले सार्वजनिक यातायातका रुपमा साझाको उपस्थिति बढाउन पाँच करोड रुपैयाँ दिएको छ। सिटी बस सञ्चालनको प्रतिबद्धताअन्तर्गत नै आफूले साझालाई प्राथमिकता दिएको शाक्य बताउँछन्।

उनका अनुसार ‘क्लिन द सिटी’ अभियान सुरु भइसकेको छ। भूकम्पपीडितलाई घरको नक्सा पास गर्न लाग्ने शुल्क मिनाहा गरिएको छ। सुधारको सुरुआत भइसक्दा पनि अथाह कामको सूचीमा ‘बालुवामा पानी हालेजस्तो’ भइरहेको उनलाई पनि थाहा छ। आफूले गरेका १०१ प्रतिबद्धतामा केही काम तत्काल पूरा गर्न नसकिने उनी बताउँछन्।

‘धुलो-हिलोरहित र खाल्डाखुल्डीरहित सहरको अपेक्षा पूरा गर्न नसकेको अवस्था छ,’ उनले भने, ‘खाल्डाखुल्डी पुर्न असारअघि प्रत्येक वडालाई २२/२२ लाख पठायौं। बर्खा याम भएकाले कतिपय ठाउँमा काम भएन होला। भेलले बगाउने डरले खर्च पनि भएन होला।’

राजधानीका खाल्डाखुल्डीको समस्या तत्काल हल गर्न नसकिने स्वीकार गर्दै उनले भने, ‘अहिले मौसम पनि त्यस्तै छ। पानी पर्ने मौसम भनेको काम नदेखिने मौसम हो। विडम्बना के भने, धेरै गुनासो आउने समय पनि यही हो।’

राजधानीका सडकमा बर्खाको पानी बाढी बनेर पसेको अवस्थाप्रति उनले दु:ख व्यक्त गरे। यो पुराना गल्तीको नतिजा भएको उनको भनाइ छ।

‘हामीले धेरै खोला पुर्यौं। राजकुलो पुर्यौं। ढलमाथि घर बनायौं। पानी प्राकृतिक रुपले बग्ने बाटो निषेध गर्यौं। यी सबै मानवसिर्जित दोष हुन्,’ उनले भने, ‘तराईमा बाँध बाँध्दा हाम्रा जमिन डुबेका छन्। काठमाडौंमा पनि त्यस्तै छ। हरेक खोलानाला हामीले मिच्दै गयौं। पानी पर्दा जाने ठाउँ नै छैन। बग्ने ठाउँ नै छैन। यसमा महानगरपालिका मात्र दोषी होइन, सिंगो राज्य कमजोर छ।’

सडक विस्तारलाई पूर्णता दिने कतिपय काम भने अदालतका कारण रोकिएको उनले बताए। कुनै अवरोध हटाउन खोजे ‘स्टे अर्डर’ आइहाल्ने अवस्थाले समस्या भएको उनको तर्क छ।

त्यसो भन्दैमा आफूले निर्वाचनअघि ल्याएको प्रतिबद्धताबाट भाग्न भने नखोजेको विश्वास दिलाउँदै विद्यासुन्दरले भने, ‘ती सबैलाई महानगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेको छु। विगतमा पुरानो संरचना र पुरानो बजेटमा रहेर काम गर्नुपर्ने अवस्थाले कतिपय काम हुन सकेका थिएनन्। अब नयाँ बजेटमार्फत् सबै काम सहज रुपमा अघि बढ्छ।’

उनले केही उदाहरण दिए।

सडकको खाल्डा पुर्न मात्र जनसंख्या तथा भूगोलका आधारमा प्रत्येक वडालाई बजेट विनियोजन गरिएको छ। सबैभन्दा सानो वडालाई १ करोड ५ लाख र ठूलोलाई २ करोड २५ लाखसम्म बजेट प्रस्ताव गरिएको उनी बताउँछन्। नयाँ बजेट कार्यान्वयनपछि र बर्खा सकिएपछि मात्र काम हुने उनको भनाइ छ।

‘जेष्ठ नागरिकलाई घर-घरमा स्वास्थ्य सेवा भन्यौं। ८८ वर्षमाथिका नागरिकलाई घरमा उपचार कार्यक्रम सुरु पनि गर्यौं। त्यसमा डाक्टर घर आएपछि अरुले ‘मेरो पनि हेर्दिनू’ भन्न थाले, डाक्टरले नाइँ भन्न सकेनन्। धेरैले सुविधा पाए। एकातिर बजेटको लक्ष्यअनुसार प्रगति भएन र केही छुटे होलान् तर अर्कातिर सुविधा पाउने त थपिए नि,’ उनले आफ्नो प्रतिबद्धताका केही व्यवहारिक अप्ठेरा सुनाए।

काठमाडौं महानगरपालिकाको नगर सभा उद्घाटनमा प्रमुख अतिथि रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै नगरका लागि उदाहरण बन्न महानगरलाई सुझाव दिएका थिए। राजधानी आसपासका नगरलाई पनि साथमा लिएर नहिँडे विकास प्रभावित हुने उनको भनाइ थियो।
आफैं अलमलिएका मेयरले त्यसको नेतृत्व लिइहाल्ने अवस्था भने छैन। राजधानीका अरु मेयरसँग छलफलको योजना भए पनि ठोस काम नभएको विद्यासुन्दर बताउँछन्।

‘नगर-नगर साझेदारीलाई प्रोत्साहित गर्छौं भनेर नीतिमा समेटेका छौं। यही क्रममा लतिपुरको मेयरलाई मैले नगर सभा अगाडि भेटेँ,’ उनले भने, ‘काठमाडौं १० नगरले घेरिएको छ। मान्छे रिङरोडमा हिँड्दा कहिले काठमाडौं आउँछ, कहिले ललितपुर पुग्छ थाहै हुन्न। सबै मेयरहरुसँग सहकार्य नगरी अगाडि बढ्न सकिँदैन। हाम्रो भूगोल सानो छ, जनसंख्या मात्र ठूलो हो,’ विद्यासुन्दर भन्छन्, ‘रिङरोडमा मोनोरेल चलाउने हो भने ललितपुरको सहयोगविना सम्भवै छैन।’

अन्य नगरसँग सहकार्यका लागि पनि योजना विशेषमा काम भइरहेको उनले बताए। जस्तो, महानगरभित्र ‘रिक्रियसन सेन्टर’ बनाउन सक्ने अवस्था छैन। यहाँ खुल्ला ठाउँ नै छैन। वरिपरिका कुनै नगरपालिकाले हामी बनाउँछु भन्यो भने साझेदारीमा लगानी गर्न सकिने उनले बताए।

राजधानीको टेकुमा सात रोपनी जग्गामा बहुतल्ले पार्किङका लागि प्रस्ताव आह्वान भइरहेको उनले जानकारी दिए। ‘बनाउँछु भन्ने छन्, हामी नेपाली लगानीकर्तालाई प्राथमिकता दिन्छौं,’ उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.