पेट्रोल व्यवसायी आन्दोलित


बाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनले सरकारले आफूहरुको माग पूरा नगरेको भन्दै मंगलबारदेखि पेट्रोलियम पदार्थको खरिद बिक्रि ठप्प पारेका छन्।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले ‘सिंकेज लस’ र ‘वर्किङ लस’को कारण व्यवसायीले व्यहोर्दै घाटा सम्बन्धि मागलाई सम्बोधन नगरेपछि व्यवसायी आन्दोलित भएका हुन्। निगमले सिंकेज लस र वर्किङ लसको अध्ययन अनुगमन गरी छानविन टोलीले झण्डै एक वर्ष लगाएर तयार पारेको प्रतिवेदनलाई कार्यान्वयन नगरी सो छानविन समिति नै भंग गरी अर्को समिति गठन गरेपछि व्यवसायी आन्दोलित भएका हुन्। उनीहरुले तीन दिन भित्र माग पूरा नभए सबै पेट्रोलियम पदार्थको खरिद बिक्री रोक्ने चेतावनी दिएका छन्।

बागमति पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष अच्युत खड्का भने, ‘पहिलो चरणमा तीन दिन पेट्रोल नउठाउने अप्रिय निर्णय गर्न बाध्य भयौं। यदि तीन दिनभित्रमा पनि माग पूरा नभए सबै पेट्रोलियम पदार्थ खरिद बिक्री गर्न समर्थ हुने छैनौं।

पेट्रोलियम पदार्थको कारोबार गर्दा पेट्रोल र डिलेजमा धेरै घाटा भएका कारण व्यवसाय नै बन्द गरेर हड्ताल गर्नु परेको व्यवसायीको गुनासो छ। सरकारी निकायहरुको रोहवरमा पटकपटक गरिएको परिक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिएको वास्तविकता नस्वीकारी पुन समिति गठन गर्नुले आफूहरुको मागप्रति सरकार गम्भीर नभएको स्पष्ट भएको व्यवसायीको आरोप छ।

वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयन, नाप तौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायत संघसंस्थाका प्रतिनिधि संग्लग्न छानबिन समितिले यसअघि नै पेट्रोलियम कारोवार गर्दा तेल नपुगेको प्रमाणित गरेका थिए। समितिले एक वर्ष लगाएर तयार पारेको अध्ययन प्रतिवेदनमा भारतीय आयल निगमबाट तेल भर्ने क्रममा, बाटोमा हुने चोरी, तापक्रमका कारण तथा प्राविधिक कारणले इन्धनमा धेरै घाटा देखिएको उल्लेख छ। सो प्रतिवेदन कार्यान्वयन नगरी निगम सञ्चालक समितिको सोमबारको बैठकले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका एक, नास्टका एक, आयल निगमका एक र दुई व्यवसायी रहने गरी नयाँ समिति बनाएपछि व्यवसायी पुन आन्दोलित भएका हुन्।

खड्काले अर्को समिती बनाएर आफ्नाे मागलाई बेवास्ता गरिएका कारण अान्दोलनमा जान बाध्य भएको बताए।

भारतीय आयल निगमबाट तेल भर्ने समयदेखि राजधानी ल्याउने समयसम्म हुने प्राविधिक घाटाको पुर्ति निगमबाट हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.